पेन्टिङको कथा
आज नेवार समुदायको नयाँ वर्ष हो। आजकै दिन नेवारहरू आफूले आफैलाई पूजा गर्ने म्ह पूजा (आत्मपूजा) पनि मनाउँदै छन्।
यसै अवसरमा म बुबा हरिप्रसाद शर्माले बनाउनुभएको नेवार संस्कृतिसँग सम्बन्धित माथिको पेन्टिङबारे चर्चा गर्दैछु।
बुबाले ८६ वर्ष उमेरमा बनाउनुभएको यो पेन्टिङले नेवार संस्कृतिमा सदियौंदेखि चल्दै आएको रक्सी पार्ने चलनलाई जीवन्त उतारेको छ। यो पेन्टिङ कसरी बन्यो? यसका लागि हामीले के-कस्ता तयारी गर्यौं? यिनै विषय समेट्दै म यो स्टोरीमा पेन्टिङ पछाडिको कथा लेख्नेछु।
बुबाले जीवनमा कहिल्यै जाँड-रक्सी खानुभएन। जाँड-रक्सीप्रति उहाँको सकारात्मक धारणा पनि छैन। तर उहाँले आफ्नो पूरा जीवन नेवार संस्कृतिका विभिन्न आयामबारे कला-साधना गर्दै बिताउनुभयो। त्यसैले जाँड-रक्सी नेवार संस्कृतिको अविभाज्य र उत्प्रेरक तत्त्व हो भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
यो विश्वास यस कारण पनि पलाएको हुनसक्छ, किनभने बुबाले करिब ४० वर्ष काठमाडौं लगनटोलको नेवार बस्तीमा बिताउनुभयो। म आफै पनि नेवार बस्तीमै जन्मेँ र १७-१८ वर्ष त्यहीँ बसेँ।
त्यही बसाइले दिएको अन्तरंग अनुभूतिलाई चित्रकार बुबाको रंग र ब्रसमार्फत् सदृश्य बनाउँदै जाने प्रयत्नमा हामी छौं।
बुबाले नेवार संस्कृतिभित्र जाँड-रक्सी खाएर आनन्द र रोमाञ्च अनुभूति गर्ने सामाजिक तथा वैयक्तिक अवसरका चित्र धेरै बनाइसक्नुभएको छ। त्यसैमध्ये एउटा चित्रमा जाँडको मात लागेका एक प्रौढ नेवार पुरूष बत्ती कात्दै गरेकी आफ्नी पत्नीलाई पनि पिउन आग्रह गर्दै गरेका देखिन्छन्।
त्यो रतिरागात्मक चित्र धेरै वर्षदेखि मानिसहरूको प्रिय छ। यसबाहेक जात्रापर्व र भोजभतेरमा जाँड-रक्सी खाएका अन्य चित्र पनि उहाँले बनाउनुभयो।
मलाई भने नेवार परम्परामा रक्सी पार्दै गरेको दृश्य चित्रकलामा उतार्नुपर्छ भन्ने धेरै वर्षदेखिको धोको थियो।
बुबाले सुरूमा त आनाकानी गर्नुभयो। नेवार संस्कृतिमा जाँड-रक्सीको महत्त्वबारे लामो छलफल गरेपछि बल्ल उहाँ त्यस्तो चित्र बनाउन तयार हुनुभयो।
चित्रको तयारी निम्ति बुबा, म र मेरी श्रीमती सुनिता सन्दर्भ सामग्री खोज्न कीर्तिपुरको नेवार बस्ती गयौं। हामीले त्यहाँका स्थानीय मिसा पुचःका महिलालाई भेटेर उहिलेको रक्सी पार्ने चलनबारे कुराकानी गर्यौं। रक्सीका मूल उपभोक्ता पुरूष भए पनि रक्सी पार्ने काम उहिलेदेखि महिलाकै भागमा पर्ने गरेको उनीहरूले बताए।
रक्सी पार्दा अर्काको आँखा लाग्यो भने बिग्रिन्छ भन्ने चलन रहेछ। त्यसैले घरभित्र छिँडीको कोठामा कसैले नदेख्ने गरी परालको धुस्नु र गहुँको छ्वाली बालेर रक्सी पार्ने गरेको ती महिलाहरूले जानकारी दिए।
उनीहरूका अनुसार रक्सी पार्ने तयारीमा सबैले सहयोग गरे पनि पाको र अनुभवी महिलाकै नेतृत्वमा आगोको आँच अड्कल्नेदेखि रक्सीको स्वाद चाख्नेसम्मका काम हुन्थे। सबभन्दा मिठो रक्सी पार्नेमा सुनचाँदीका गहना बनाउने बाँडा महिलाहरू पर्थे भनेर कीर्तिपुरका महिलाहरूले सुनाउनुभयो।
राम्रो आर्थिक हैसियतले पनि होला, बाँडा महिलाहरूले रक्सी पार्दा दालचिनी, सुकुमेल जस्ता मसला राखेर उत्तम कोटीको बनाउँदा रहेछन्।
हामीले कीर्तिपुरबाट रक्सी पार्न प्रयोग गरिने विभिन्न भाँडाकुँडा र परिवेशका फोटाहरू खिचेर ल्यायौं। इन्टरनेट, युट्युब र अन्य स्रोतबाट पनि धेरै जानकारी बटुल्यौं।
रक्सी पार्ने काम घरको अँध्यारो चोक वा छिँडीमा धुँवाको मुस्लोबीच हुने भए पनि हामीले चित्रमा अलि फरक र उमंगमय वातावरण दिने निर्णय गर्यौं। कीर्तिपुरका महिलाले परस्पर सहयोगको वातावरणमा रक्सी पार्दाको परिवेश पनि वर्णन गरेका थिए। त्यही वर्णनका आधारमा नेवारी शैलीको भित्री चोकमा महिलाहरू एकअर्कासँग ठट्टा गर्दै रक्सी पार्दै गरेको चित्र बनाउने हामीले सल्लाह गर्यौं।
वातावरणलाई रोमाञ्चक बनाउन एउटी युवती रक्सी लागेर मातेका पुरूषको हाउभाउ अभिनय गर्दै मनोरञ्जन दिइरहेकी र सबै जना उसको चाला देखेर मरी मरी हाँसिरहेको दृश्य हामीले कल्पना गर्यौं।
त्यसपछि सुरू भयो चित्र बनाउने प्रक्रिया।
रक्सीले मातेकी युवतीको अभिनय गर्न मैले आफ्नी श्रीमती सुनितालाई लगाएँ। उनको अभिनयको फोटो हेरेर बुबाले दुरूस्त उतार्नुभयो।
यसबाहेक महिलाहरूले इनारबाट पित्तलको गाग्रोमा पानी भरेर रक्सी पार्ने ठाउँसम्म ओसारेको र माटोको घ्याम्पो, फोसी र पित्तलको बाटामा जम्मा गरेको दृश्य पनि बनाउनुभयो।
मैले पुरानो घरका झ्यालबाहिर लसुन र खुर्सानी सुकाउन राखिएको दृश्य चित्रण गर्न बुबालाई सघाएँ। बुबाले उति बेला आफूले देखेका घरको गारो, पेटी र झ्यालढोकामा पुरानो नेवारी रहनसहनको छाप प्रस्ट निकाल्नुभयो।
यी त भए चित्रमा देखिने कुरा। अब चित्रमा नदेखिने तर बुझ्नुपर्ने भावको चर्चा गरौं।
यो चित्रकलाको मूल भाव भनेको काठमाडौं उपत्यकाको नेवार समुदायसँग जोडिएको रक्सीको उल्लास, उन्माद र व्यथाको कथा उजागर गर्नु हो।
नेवार समुदायमा खेतीपाती, चाडपर्व र अतिथि सत्कारका लागि जाँड-रक्सीको प्रयोग सदियौंदखि हुँदै आएको छ। यसको मुख्य कारण उपत्यकाको अत्यधिक उर्वरा शक्ति हो।
कुनै बेला ठूलो तलाउको पानीले निकास पाएर बनेको यो उपत्यकामा धेरै किसिमका अन्नपात फल्थे। तीमध्ये धान आदिवासी नेवारहरूको मुख्य खेती र उपभोग्य खाद्यान्न थियो। काठमाडौं उपत्यकाको एक वर्षको राम्रो उत्पादनले दुई-तीन वर्ष सजिलै खान पुग्थ्यो। त्यही भएर नेवार समुदायमा बिहान र बेलुकी दुवै छाक भात र दिउँसो खाजामा पनि धान कुटेर बनाइने चिउरा खाने चलन थियो। धानबाटै बन्ने चामलको जाँड खाजाका रूपमा पनि प्रयोग गर्न थालियो।
प्रशस्त अन्नपात उब्जनी र सञ्चयले नै उपत्यकामा उन्नत खाद्य संस्कृति, संगीत परम्परा, पहिरन तथा जात्रापर्व विकास भएको थियो। त्यो संस्कृति र परम्पराले आजसम्म निरन्तरता पाइरहेको छ।
आज पनि नेवार समुदायमा चाडबाड र जात्रापर्व धुमधामका साथ मनाइन्छ। जात्रापर्व भन्नेबित्तिकै शास्त्रीय पद्धतिका पूजाआजा, बाजागाजा, नाचगान र भोजभतेरकै प्रधानता रहिहाल्छ। सामाजिक अर्थतन्त्रलाई गति दिन पनि यस्तो उत्प्रेरक परम्पराको खाँचो हुन्छ। यसले मानिसहरू नजिकिँदो चाड वा जात्रापर्वको तयारीका लागि सामान्यभन्दा बढी परिश्रम गर्न र आयआर्जन हुने इलममा डुबेर लाग्न तयार हुन्छन्।
यस्तै प्रेरणाले होला नेवारहरू दिनरात खेतीपातीमा खटिन मात्र होइन, शिल्पकलाका साथै सीमापार भोटसम्म व्यापार गर्न जान्थे। आफ्नो रीति-परम्परा थाम्न आफूलाई सम्पन्न राख्ने प्रयत्नले नै समाजमा आर्थिक गतिशिलता सिर्जना हुने त हो!
वर्षभरि चलिरहने जात्रापर्वमा जाँडको हल्का मात लागेर दौंतरीहरूसँग सकी-नसकी जात्राको खट बोक्नु, आँखामा आँखा जुधाएर, तालमा ताल मिलाएर बाजा बजाउनु, जात्राको समय हाकुपतासी र अन्य शृंगारमा सजिएका सुन्दर युवतीहरूका अगाडि जीउ मर्काएर नाच्नु युवादेखि वयस्कहरूको परिकल्पनामा सधैं रहिरहने रहर हुन्। जात्रापर्वको उत्कर्ष चाहिँ अन्तीबाट झरेको धारा माटाको सलिंचामा थापेर पिइने रक्सीको मादकताले दिने आनन्द हो।
यस अर्थमा रक्सी सम्पूर्ण नेवारी सांस्कृतिक परम्परा र उत्सवहरूको शिखर तत्त्व हो, मन्दिरको गजुरजस्तो! माहौललाई धप्प बाल्ने आगोको फिलिंगोजस्तो!
रक्सीबारे ख्याल राख्नुपर्ने नकारात्मक पक्ष चाहिँ यसको अत्यधिक सेवनले ल्याउन सक्ने पारिवारिक विपत्ति र विग्रह हो। महिलाहरूले त्यति दु:ख गरेर बनाउने रक्सीकै कारण घरझगडा भएका र त्यसले सबभन्दा बढी महिलाहरू नै प्रताडित भएका घटना हामी धेरै सुन्छौं। यति हुँदा हुँदै रक्सीको प्रयोग बन्द गर्न सांस्कृतिक र आर्थिक कारणले पनि सम्भव छैन।
नेपालमा नेवार लगायत सबै आदिवासी तथा जनजाति समुदायले आफूले खाने रक्सी आफै पार्छन्। लोकल रक्सी भनेर चिनिने यस्तो मदिरा खुला रूपमा बनाउन र बजारमा बेच्न भने निषेध छ।
स्थानीय रूपमा बनाइएको रक्सी प्रहरी कारबाहीमा पर्छ भने विदेशी ब्रान्डका रक्सी आयातमा देशले हरेक वर्ष ठूलो धनराशि खर्च गर्छ। यसको सट्टा गुणस्तर मापदण्ड पालना गर्दै नेपालको आफ्नै प्राचीन प्रविधि र सीपयुक्त लोकल रक्सीलाई ब्रान्डिङ गर्न सके प्रशस्त आर्थिक लाभ हुने थियो।
अन्त्यमा, समस्त नेवार समुदायलाई म्ह पूजा र नेपाल सम्बत् ११४५ को हार्दिक शुभकामना!
(लेखक त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन्।)
यी पनि पढ्नुहोस्: