बेइजिङ डायरी
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार २१ देखि साउन ३ गतेसम्म बेइजिङमा आयोजना भयो।
बैठकमा केन्द्रीय समितिका २०५ सदस्यमध्ये १९९ जना र वैकल्पिक १७१ मध्ये १६५ जना सहभागी थिए। यसबाहेक सिपिसीका विभिन्न विभागका अधिकारी र विभिन्न क्षेत्रका विशेषज्ञहरू पनि आमन्त्रित थिए।
सिपिसीको तेस्रो पूर्ण बैठक निकै महत्त्वपूर्ण हुन्छ। यो बैठकको प्रभाव चीनमा मात्र नभएर विश्वभर पर्छ। बैठकका निर्णयमाथि विश्वले गहन नजर पनि राखेको हुन्छ। चीनको आर्थिक, भूराजनीतिक र सामाजिक विकासमा नीति र निर्देशन जारी गरिने भएकाले चीन र बाह्य दुनियाँले यसप्रति चासो राखेका हुन्। किनकि चीनले अँगालेको सुधार तथा खुलापन नीतिको मियो नै सिपिसीको तेस्रो पूर्ण बैठक हुँदै आएको छ। त्यसमाथि चिनियाँ शैलीको आधुनिकीकरणले विश्व जगतको ध्यान आकृष्ट गर्दै आएको छ।
सन् २०१२ मा सिपिसीको १८ औं राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङ महासचिव निर्वाचित भए। त्यति बेला विश्व जगतमा ठूलो चासो थियो। सी चिनफिङ निकै कडा स्वाभावका नेता मानिन्थे। उनले सुधार र खुलापनभन्दा अझ कठोर र नियन्त्रित आर्थिक व्यवस्था अवलम्बन गर्लान् भनेर एक प्रकारको आशंका विश्व बजारमा थियो। चीनले लिने आर्थिक नीतिले त्यहाँ लगानी गरेका ठूला विदेशी कम्पनीलाई प्रत्यक्ष प्रभाव पार्नु स्वाभाविक हो। त्यसमाथि चीनले विदेशमा गरेको विशाल लगानीलाई पनि चिनियाँ आर्थिक नीतिले फरक पार्थ्यो।
विश्वको ध्यान आकर्षित गर्ने बैठक
विश्व अर्थतन्त्रले अनिश्चितता र चुनौती सामना गरिरहेको अवस्थामा, स्थिर शक्तिका रूपमा चीनको भूमिका पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ। यो तेस्रो पूर्ण बैठक चीनको आर्थिक लचिलोपन बलियो बनाउने, प्राविधिक आविष्कारहरू अगाडि बढाउने र दिगो विकास प्रवर्द्धन गर्नेमा केन्द्रित देखिन्छ। यी प्राथमिकताहरू सबै हिसाबले मध्यम समृद्ध समाज निर्माण गर्ने र शताब्दीको मध्यसम्म 'महान आधुनिक समाजवादी देश' बन्ने लक्ष्य हासिल गर्ने सिपिसीको दीर्घकालीन दृष्टिकोणसँग मेल खान्छन्।
यति बेला विश्वव्यापी रूपमै अर्थतन्त्र उथलपुथल छ। यो बैठकले आन्तरिक उपभोग उत्प्रेरित गर्ने, विदेशी लगानी आकर्षित गर्ने र नवप्रवर्तन प्रोत्साहन गर्ने नीतिहरू प्रस्तुत गरेर अर्थतन्त्र सक्रिय बनाउने नीति लिएको छ। यसले चीनमा स्थिर आर्थिक वृद्धिदर कायम राख्ने र विश्वव्यापी आर्थिक स्थायित्वमा चीनको योगदान बढाउन खोजेको देखिन्छ।
सी चिनफिङ महासचिव भएपछि सन् २०१३ मा सिपिसीको १८ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले असामान्य रूपमा आर्थिक नीति पारित गरिदियो। सो बैठकले आर्थिक र राजनीतिक उदारीकरणका लागि आशा जगायो र अन्तर्राष्ट्रिय जगतमा पनि एक प्रकारको उत्प्रेरणा ल्यायो।
सिपिसीको यो बैठकको महत्त्व चीनको सिमानाभन्दा बाहिर पुग्नुको मुख्य कारण चीन एक प्रमुख विश्वव्यापी खेलाडी हुनु हो। चीनको नीति र निर्णयले विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्छ। स्थिर र समृद्ध चीनले विश्व शान्ति र विकासमा योगदान पुर्याउँछ। आर्थिक लचिलोपन, प्राविधिक नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकता दिएर चीनले आफ्नो भविष्य सुरक्षित मात्र गर्दैन, त्यस्ता चुनौतीसँग जुधिरहेका अन्य देशका लागि पनि नमूना ढाँचा प्रस्तुत गरेको छ।
विश्व अर्थतन्त्रमा अनिश्चितता देखा परेसँगै कोभिड महामारीपछि आर्थिक मन्दी छाइरहेका बेला चीनले अर्थतन्त्र सुधारमा केकस्ता नयाँ नीति ल्याउँछ भनेर विश्वले आँखा गाडिरहेको थियो।
यही पृष्ठभूमिमा सिपिसीको भर्खरै सम्पन्न बैठकमा विश्वले ध्यान दिनुपर्ने केही मूलभूत कारण थिए। जसमध्ये चीनमा भइरहेको नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको केन्द्रीयता, बजारको शक्ति र निजी क्षेत्रको रणनीतिक उपयोगसँगै चीनमा वित्तीय सुधार र वित्तीय जोखिम व्यवस्थापनमा लिइने सरकारी नीति कस्तो रहन्छ भन्ने प्रमुख हुन्। किनभने, यी नीतिबाट दुई सयभन्दा बढी मुलुकले चीनमा गरेको लगानीलाई धेरथोर प्रभाव पार्ने निश्चित छ। अनि विश्वका विभिन्न मुलुकमा भइरहेको चिनियाँ लगानी र व्यापारसँगै सहयोगका कार्यक्रम पनि उल्लिखित नीतिमै भर पर्छन्।
यसबाहेक बैठकमा चीनले लिने समाज कल्याण प्रवर्द्धन र विदेशी व्यापार सुनिश्चित नीति र यसको कार्यान्वयन तथा व्यवस्थापनमा आउने परिवर्तनले पनि सबैको ध्यान तानेको थियो।
तेस्रो पूर्ण बैठकको ऐतिहासिक पक्ष
चीनमा ७५ वर्षदेखि सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) मा महाधिवेशनपछि सबभन्दा शक्तिशाली अंग पूर्ण बैठक हो। सिपिसीको दुई महाधिवेशनबीचको पाँच वर्षमा पाँचदेखि सातवटासम्म पूर्ण बैठक हुन्छ।
पहिलो पूर्ण बैठकले पार्टीको नेतृत्व चयन गर्छ। सिपिसीको इतिहासमा महासचिव महाधिवेशनले चयन गरेको छैन। महाधिवेशन लगत्तै बसेको पहिलो पूर्ण बैठकले चयन गर्छ।
त्यसको केही महिनापछि दोस्रो पूर्ण बैठकले चीन सरकारको नेतृत्व चयन गर्छ। यही बैठकले आगामी पाँच वर्षका लागि महत्त्वपूर्ण राजकीय पदहरूको बाँडफाँट गर्छ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतको जिम्मेवारीमा को हुने भनेर निश्चित गर्छ। त्यसपछि बस्ने चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनले ती पद पूर्ति गर्छ।
पहिलो र दोस्रोजस्तै तेस्रो बैठकको पनि महत्त्व उत्तिकै रहन्छ। किनभने, तेस्रो बैठकले नीति तथा कार्यक्रम अन्तर्गत आधुनिक चीनको पहिचानका रूपमा रहेको खुला तथा सुधारका कार्यक्रमहरू मूलभूत रूपमा पारित गर्छ। यही बैठकमा यसलाई मुख्य विषय बनाउनुपर्ने कारण पनि रोचक छ।
एघारौं केन्द्रीय समितिको तेस्रो बैठकले सबभन्दा पहिले सुधार र खुला बजारको सिद्धान्त अंगीकार गरेको थियो। सन् १९७८ डिसेम्बर १८ देखि २२ सम्म चलेको सो बैठक नै आधुनिक चीनको एउटा महत्त्वपूर्ण घुम्तीका रूपमा रह्यो, जहाँ चीन पर्दा उघारेर विश्व रंगमञ्चमा देखापरेको थियो। बाहिरी दुनियाँका लागि ढोका खुकुलो बनाउँदै तत्कालीन चिनियाँ नेता तङ स्याओफिङले कठोर साम्यवादी अर्थतन्त्र बदलेर चिनियाँ चरित्रको बजारमुखी र समाजवादी अर्थतन्त्र अँगाल्ने निर्णय गराएका थिए।
तत्कालीन अवस्थामा यसलाई सुधार र खुलापन भनिएको थिएन। साम्यवादी र पुँजीवादी दुवैका असल कुरा समेटिएको चीनको नवीन अर्थ व्यवस्थालाई सन् १९९२ मा सिपिसी चौधौं केन्द्रीय समितिको तेस्रो बैठकले 'चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति' भनेर नामकरण गर्यो।
सन् २००३ मा सोह्रौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले केही संरचनात्मक सुधारहरू गरेर सरकार र राज्य-स्वामित्वका उद्यमहरूलाई क्रमशः खुला गर्ने निर्णय गरेको थियो। त्यस्तै सन् २००८ मा, सत्रौं केन्द्रीय समितिको तेस्रो बैठकले चीनको ग्रामीण क्षेत्रको विकासलाई सम्बोधन गरेको थियो।
सन् १९७८ को तेस्रो बैठक विशेष गरी राजनीतिक कारणले महत्त्वपूर्ण थियो। तर इतिहासले उक्त कोशेढुंगालाई सधैं आर्थिक एजेन्डामा केन्द्रित गर्यो। सन् १९७६ मा सांस्कृतिक क्रान्तिको अवसानपछि तङ स्याओफिङ सत्तामा फर्किएका थिए। त्यो बेला चार जनाको गुट 'चण्डाल चौकन्डी' (ग्याङ अफ फोर) ले आतताही मच्चाए। त्यस्तो अवस्थामा सिपिसी एघारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेको राजनीतिक सम्बोधन नै कालान्तरमा चीनका लागि राजनीतिक सुधार र खुलापनको ढोकाका रूपमा कोशेढुंगा सावित भयो। त्यसपछि सिपिसीका हरेक तेस्रो बैठक सुधार र खुलापनकै लागि सर्वाधिक चर्चामा रहन थाले।
सी चिनफिङ सत्तामा आएपछि
चिनियाँ बुद्धिजीवीहरू सन् १९७८ पछिको सबभन्दा उल्लेखनीय तेस्रो बैठक सी चिनफिङ सत्तामा आएपछिको बैठकलाई मान्छन्। सन् २०१३ नोभेम्बरमा भएको १८ औं केन्द्रीय समितिको उक्त तेस्रो पूर्ण बैठकलाई सी चिनफिङ आफैले पनि 'सन् १९७८ को जत्तिकै युग-निर्माणको घटना' का रूपमा वर्णन गरेका छन्।
सो बैठकले नीतिगत स्थिरता ल्याउने र अघिल्लो दस वर्षमा मौलाएको भ्रष्टाचारमाथि निर्मम प्रहार गर्दै आर्थिक सुधार गर्ने निर्णय गरेको थियो। त्यही बैठकले धेरै मुद्दाहरूमा व्यापक र गहिरो सुधार सम्बन्धी निर्णयहरू गर्यो।
उदाहरणका लागि, संशाधन बाँडफाँटमा बजारको भूमिका निर्णायक बनाउँदै ब्याजदर, सम्पत्ति अधिकार, वित्तीय बजार र विदेशी लगानी जस्ता क्षेत्रमा उदारीकरणको ढोका खोलियो।
त्यसैगरी एक सन्तान नीतिको अन्त्य, व्यापारमा कर प्रणाली घटाउने, बजारमा आधारित ऊर्जा मूल्य थप गर्ने, प्रतिस्पर्धा नीतिलाई सुदृढ गर्ने, निजी बैंकहरूलाई अनुमति दिने, ब्याजदर उदारीकरणमा प्रगति गर्ने, वातावरण संरक्षण र जलवायु कार्यलाई संस्थागत गर्ने मुद्दा प्रमुख थिए।
बैठकले विकास अवधारणालाई पूर्ण, सही र व्यापक रूपमा पालना गर्ने, जोडतोडसँग उच्च गुणस्तरलाई अघि बढाउने, विस्तृत रूपमा सुधारलाई गहन पार्ने, आर्थिक पुनरूत्थानलाई सकारात्मक दिशातर्फ लैजाने र समाजवादी आधुनिक राष्ट्रको सम्पूर्ण निर्माण गर्ने सन्दर्भमा पाइला चाल्ने निर्णय पनि गरेको छ।
नयाँ युगको सुरूआतदेखि व्यापक सुधारको सफल अभ्यास र उपलब्धिको उच्च मूल्यांकन गर्दै, अझ सम्पूर्ण रूपमा सुधार गहन पार्ने, चिनियाँ शैलीको आधुनिकीकरण अघि बढाउने र समस्याको अनुसन्धान गर्ने काम पनि भएको छ।
सन् २०१२ को सिपिसी १८ औं राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङ सत्तामा आएपछिको समयलाई चीनले 'नयाँ युग' नाम दिएको छ।
वर्तमान र आउँदो समय चिनियाँ शैलीको आधुनिकीकरणमा आधारित भएर सशक्त राष्ट्र निर्माण र पुनरूत्थानको काम अघि बढाउन ज्यादै महत्त्वपूर्ण अवधि भएको किटान पनि गरिएको छ।
सम्पन्न चीनको सपना
सुधार गहन पार्ने सन्दर्भमा, सी चिनफिङद्वारा प्रस्तुत शृंखलाबद्ध नयाँ विचार, नयाँ दृष्टिकोण र नयाँ निष्कर्षको अनुसन्धान गर्दै चिनियाँ शैलीको आधुनिकीकरणका लागि बलियो शक्ति र प्रणालीगत सुनिश्चितता प्रदान गर्ने निर्णय बैठकले गरेको छ।
थप व्यापक सुधारको लक्ष्य भनेको चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई निरन्तर रूपमा पूर्णता दिलाउनु र विकसित गर्नुका साथै राष्ट्रको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण प्रवर्द्धन गर्नु रहेको ठहर बैठकले गरेको छ। सन् २०३५ सम्म, उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणाली पूर्ण रूपमा निर्माण हुने, चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थाले अझ पूर्णता पाउने र राष्ट्रिय शासन प्रणाली तथा शासन क्षमताको आधुनिकीकरण मोटामोटी रूपमा पूरा हुने बैठकले बताएको छ। अनि यसै शताब्दीको मध्यकालसम्म समाजवादी आधुनिक शक्तिशाली राष्ट्र निर्माणका लागि बलियो जग बसाल्ने कुरा बैठकले दोहोर्याएको छ। सन् २०२२ मा सम्पन्न सिपिसीको बीसौं राष्ट्रिय महाधिवेशनले पनि यी लक्ष्य किटान गरेको छ।
त्यस्तै सुधार र खुलापनको सुरूआतदेखि विशेषत: नयाँ युगसम्म आउँदा, सम्पूर्ण सुधार गहन पार्ने क्रममा प्राप्त मूल्यवान् अनुभवको निचोड निकालेर सदुपयोग गर्नुपर्नेमा बैठकले जोड दिएको छ। यसबाहेक पार्टीको व्यापक नेतृत्व कायम राख्ने, जनतालाई केन्द्रमा राख्ने, संस्थागत निर्माणलाई मियोका रूपमा लिने, कानुनी शासन बमोजिम राष्ट्र सञ्चालन गर्ने लगायत सिद्धान्त अक्षरश: पालना गर्नेमा जोड दिएको छ।
बैठकले थप सुधारका लागि प्रणालीगत व्यवस्था गर्ने, उच्चस्तरीय समाजवादी बजारमूलक आर्थिक प्रणाली निर्माण गर्ने, गुणस्तरीय आर्थिक विकास प्रवर्द्धन गर्ने, प्रणाली र संरचना सुधार गर्ने र व्यापक सिर्जनशील व्यवस्था निर्माण गर्ने विषयमा जोड दिएको छ। बैठकले उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणाली नै चिनियाँ शैलीको आधुनिकीकरणको ग्यारेन्टी भएको बताएको छ। त्यसैले बजार संयन्त्रको भूमिका अझ राम्रो बनाउने, थप निष्पक्ष र जीवन्त बजार सिर्जना गर्नुपर्ने पनि बैठकले जनाएको छ।
तेस्रो पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ — उच्च गुणस्तरीय विकास, समाजवाद र आधुनिकीकरण नै राष्ट्रको पूर्ण निर्माणका प्रमुख कार्यभार हुन्। चिनियाँ शैलीको आधुनिकीकरणका लागि आधारभूत र रणनीतिक साधन भनेको शिक्षा, विज्ञान-प्रविधि र योग्य व्यक्ति हो। समष्टिगत नियन्त्रण र सरकारको प्रभावकारी शासन समाजवादी बजारमूलक आर्थिक व्यवस्थाको श्रेष्ठता खेलाउने आन्तरिक माग हो। ग्रामीण क्षेत्र र सहरी समायोजन विकास चिनियाँ शैलीको आधुनिकीकरणका लागि अपरिहार्य हुन्। खुलापन नै चिनियाँ शैलीको आधुनिकीकरणको स्पष्ट पहिचान हो। साथै सम्पूर्ण प्रक्रियामा जनवादी विकास चिनियाँ शैलीको आधुनिकीकरणको मौलिक आवश्यकता हो। यसबाहेक, कानुनी शासन चिनियाँ शैलीको आधुनिकीकरणको महत्त्वपूर्ण प्रत्याभूति हो। त्यस्तै चिनियाँ शैलीको आधुनिकीकरण भौतिक र बौद्धिक सभ्यता समेटिएको समन्वयात्मक आधुनिकीकरण हो।
सी चिनफिङको नयाँ नाराः चिनियाँ शैलीको आधुनिकीकरण
हालै सम्पन्न तेस्रो पूर्ण बैठकले सी चिनफिङलाई अझै शक्तिशाली बनाएको छ। उनले अगाडि सारेका चिनियाँ शैलीको आधुनिकीकरण नारालाई प्राथमिकताका साथ बैठकका विभिन्न एजेन्डामा समेटिएको छ।
विकासको प्रक्रियामा जनजीवनको प्रत्याभूति र सुधार नै चिनियाँ शैलीको आधुनिकीकरणको प्रमुख र महत्त्वपूर्ण कार्यभार ठानिएको छ। मानव र प्रकृतिबीच मेलमिलाप र सुमधुर सहअस्तित्व नै चिनियाँ शैलीको आधुनिकीकरण हो भनेर किटान गरिएको छ। राष्ट्रिय सुरक्षालाई दीर्घकालीन र स्थिर रूपमा विकसित हुँदै जाने महत्त्वपूर्ण जग मानिएको छ। राष्ट्रिय प्रतिरक्षा र सैन्य फौजको आधुनिकीकरण महत्वपूर्ण भाग हो भन्दै पार्टीको नेतृत्व सुधार र चिनियाँ शैलीको आधुनिकीकरण प्रवर्द्धन मूलभूत प्रत्याभूति हो भन्नेमा जोड दिइएको छ।
त्यसैगरी बैठकमा शान्तिपूर्ण विकासको मार्ग अपनाउने आधुनिकीकरणका रूपमा यसलाई अगाडि सारिएको छ। यसबाहेक बैठकमा स्वतन्त्र र आत्मनिर्भर, शान्तिपूर्ण, कूटनैतिक नीति दृढतापूर्वक पालना गर्नुपर्ने भनिएको छ। राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितको पनि दृढतापूर्वक संरक्षण गर्नुपर्ने कुरामा स्पष्ट अडान प्रस्तुत गरिएको छ। वर्तमान परिस्थिति र कार्यभारको विश्लेषण गर्दै वार्षिक, आर्थिक र सामाजिक विकासका लक्ष्य अडानका साथ साकार तुल्याउने कुरामा बैठकले जोड दिएको छ।
तेस्रो पूर्ण बैठकपछि जारी विज्ञप्तिमा केन्द्रीय समिति सुधार र खुलापनको झन्डा उठाउँदै, हृदय र शक्ति एकीकृत गरी, उन्नति र प्रयास गर्न सबै पार्टी, सेना र जनतालाई आह्वान गरिएको छ।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)