शिक्षाको वर्तमान परिदृश्यमा सफल विद्यालयको अवधारणा शैक्षिक उपलब्धि र ज्ञान सिर्जनाभन्दा धेरै पर पुगिसकेको छ। विद्यालयले शिक्षाको समग्र दृष्टिकोण अवलम्बन गर्न सक्ने र ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्छ।
सफल विद्यालय शैक्षिक कार्यसम्पादनमा उत्कृष्ट त हुन्छ नै; यससँगै विद्यालयले विद्यार्थी, शिक्षक र कर्मचारीहरूका लागि सकारात्मक र सहयोगी वातावरण पनि बनाउँछ। यस्तो विद्यालय समाजको अभिन्न अंगका रूपमा विकास भएको हुन्छ। शिक्षाको व्यापक र सन्तुलित दृष्टिकोणलाई महत्त्व दिएका विद्यालय नै कालन्तरमा सफल हुन्छन्।
सफल हुने चाहना भएर मात्र पुग्दैन, विद्यालयको अल्पकालीन र दीर्घकालीन नीति–योजना व्यवहारमा उतार्ने क्षमतावान र लगनशील टिम पनि आवश्यक पर्छ। नियमनकारी निकाय र समाजको रचनात्मक सहयोग हुनुपर्छ। सबै सरोकारवालाहरूबीच निरन्तर बहस, छलफल, समीक्षा र मूल्यांकन अनिवार्य हुन्छ।
सफल विद्यालयले विद्यार्थीहरूको आवश्यकता र हितलाई प्राथमिकता दिन्छ। सिकाइ रोचक बनाउन विभिन्न सिकाइशैलीहरू पहिचान गर्छ, सिकाइको सकारात्मक र समावेशी वातावरण बनाउँछ। पाठ्यक्रमको सही उपयोग गरी विद्यार्थीहरूमा समीक्षात्मक सोच, रचनात्मकता र समस्या समाधान गर्ने सीप विकासको नीति लिएको हुन्छ।
विद्यालयको सफलाताका सूचकहरू यिनै हुन् भनेर ठोकुवा गर्न सकिँदैन। तैपनि विद्यालयले समाजमा पारेको प्रभाव, बहन गरेको सामाजिक उत्तरदायित्व, विद्यालयबाट उत्पादित विद्यार्थीले हासिल गरेका पेसागत तथा व्यावसायिक सीप, विद्यार्थीमा विकसित संस्कार प्रमुख सूचक हुन सक्छन्।
विद्यालयको वातावरण, सिकाइशैली, स्रोतसाधनको परिचालन, शिक्षक–कर्मचारी तथा व्यवस्थापन टिमको दक्षता र लगनशीलता, आन्तरिक कार्यविभाजन तथा शैक्षिक र अतिरिक्त क्रियाकलापमा विद्यालयले प्राप्त गरेका नतिजाहरू पनि सफलता मापनका आधारहरू हुन सक्छन्।
सकारात्मक परिवर्तन स्वीकार नगरी यथास्थितिमै रहने, विद्यार्थीहरूलाई व्यावहारिक सीप सिकाउनमा ध्यान नदिने, प्रविधिको प्रयोगबाट अध्ययन–अनुसन्धान तथा अन्वेषणमा ध्यान नदिई सिद्धान्तमात्र सुनाउने हो भने विद्यालय सफल हुन सक्दैन।
विद्यार्थीको मनोविज्ञान, रूचि र क्षमता पहिचान गरेर त्यसअनुसार ज्ञान दिन र सीप सिकाउन नसक्ने विद्यालय सफल हुँदैन। सरोकारवालाहरूबीच द्वन्द्व हुने, अनुचित रूपमा राजनीतिक वा अन्य हस्तक्षेप हुने अवस्थामा पनि विद्यालय सफल हुन सक्दैन। राजनीतिक वा कुनै हस्तक्षेपबाट आएको व्यक्तिको नेतृत्व छ भने पनि विद्यालय सफल हुन मुस्किल पर्छ।
स्पष्ट नीति–योजना, समयानुकूल परिमार्जन र नेतृत्वको दृढ संकल्प नै विद्यालय सफल बनाउने मूलमन्त्र हो। यस्तै केही पक्षमा विचार गरौं–
१. अल्पकालीन र दीर्घकालीन योजना तथा रणनीति
निर्दिष्ट उद्देश्य र लक्ष्य हासिल गर्न स्पष्ट योजना आवश्यक पर्छ। सुस्पष्ट ढंगले अल्पकालीन र दीर्घकालीन योजना तथा रणनीति बनाएर अघि बढेको विद्यालय सफलताको बाटोमा हुन्छ।
विद्यालयको दैनिक क्रियाकलाप चुस्त–दुरस्त रूपमा सञ्चालनको मार्गदर्शनका लागि अल्पकालीन योजना आवश्यक पर्छ। अल्पकालीन योजनाले तत्कालीन चुनौतीहरू सामना गर्न मद्दत गर्छ। दीर्घकालीन लक्ष्य हासिल गर्ने आधार तयार गर्छ। आवश्यक पर्ने रणनीतिक निर्णय गर्न विद्यालयलाई सहयोग गर्छ।
शिक्षा क्षेत्र अत्यन्त गतिशील हुन्छ। पाठ्यक्रम कार्यान्वयन र प्रविधिको उपयोग तथा समयानुकूल शिक्षण विधि विकासका लागि अल्पकालीन योजना आवश्यक पर्छ। यही योजनामा रणनीति पनि तय भएको हुन्छ।
यस्तो योजना नभएको विद्यालय सधैं दैनिक कार्यसम्पादनमा मात्रै अल्झिने हुन्छ। एकजना शिक्षक एक दिनका लागि अनुपस्थित छन् भने पनि सिकाइ अवरूद्ध हुन नदिने योजना हुँदैन। एकै दिन एकभन्दा बढी शिक्षक वा एक शिक्षक लगातार केही दिन अनुपस्थित भएको अवस्थामा त सिकाइमा प्रतिकूल प्रभाव पर्ने हुन्छ।
विद्यालयको समग्र दृष्टि र लक्ष्यका निम्ति दीर्घकालीन योजना आवश्यक पर्छ। यस्तो योजनाले संस्थाको दिशा निर्धारण गर्छ र उद्देश्यहरूलाई लक्ष्यसँग जोड्छ।
दीर्घकालीन योजनाले पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यहरू पूरा गर्न सहयोग गर्छ, विद्यार्थीको उज्ज्वल भविष्य निर्माणको वातावरण सिर्जना गर्छ। विद्यालयलाई भविष्यका आवश्यकताहरू पहिचान गर्न र प्रभावकारी रूपमा स्रोतहरू जुटाउन तथा बाँडफाँट गर्न पनि मार्गदर्शन दिन्छ।
दीर्घकालीन योजनाले नयाँ कार्यक्रमहरू पहिचान र कार्यान्वयन गर्छ। शिक्षकको व्यावसायिक दक्षता अभिवृद्धिका लागि लगानी गर्छ। विद्यालयको पूर्वाधार विस्तारमा रणनीतिक निर्णय लिन सक्षम बनाउँछ।
माथिल्लो निकायले तोकेका मापदण्डअनुसार काम भइरहेको छ भन्ने सुनिश्चित गर्न पनि दीर्घकालीन योजना आवश्यक पर्छ। यस्तो योजनाले विद्यालयलाई समुदायसँग जोड्छ र सामूहिक स्वामित्वको भावना विकास गराउँछ।
सुस्पष्ट रूपमा अल्पकालीन र दीर्घकालीन योजना तथा रणनीति बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विद्यालय मात्र सफल हुन्छ। संस्थाको दिगोपन सुदृढ हुन्छ।
२. दूरदर्शी नेतृत्व र समर्पित शिक्षक
विद्यालयको नेतृत्व जिम्मेवार, दूरदर्शी र परिवर्तनगामी छ भने अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा हुन्छ। योजना कार्यान्वयनका लागि रणनीति तय हुन्छ।
यस्तो नेतृत्वले मात्र सबै सरोकारवालालाई विद्यालयको भौतिक तथा शैक्षिक समृद्धिका लागि एकट्ठा गर्न सक्छ। विद्यालयको नेतृत्व गर्ने मुख्य पदाधिकारीसँग प्रभावकारी सञ्चार कौशल हुनुपर्छ। तथ्यांकहरू व्यावहारिक ढंगले बुझाउन सक्ने र ठीक समयमा उचित निर्णय लिन सक्ने क्षमता हुनुपर्छ।
यस किसिमको दक्ष नेतृत्व वर्तमानको आवश्यकता हो जसले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरित गराउँदै उद्देश्य र लक्ष्य प्राप्तिमा केन्द्रित गराउन सकोस्। सबैका विचार सुन्न सक्ने, खुला सञ्चारमा विश्वास राख्ने, उपलब्ध स्रोतसाधनको उपयोगमा प्राथमिकता निर्धाण गर्न सक्ने क्षमता उत्तिकै आवश्यक पर्छ।
नेतृत्वमा रहने व्यक्ति नैतिकवान, अध्ययनशील, शिक्षाका परिवर्तित सन्दर्भ र आयामसँगै हिँड्न सक्ने अनि विद्यालयलाई सोहीअनुसार सफलताको बाटोमा डोहोर्याउन सक्ने हुनुपर्छ।
सामान्यतया विद्यालयको नेतृत्व प्रधानाध्यापकले नै गरेको हुन्छ। यसको अर्थ उपर्युक्त दक्षता भएको प्रधानाध्यापक चाहिन्छ भन्ने नै हो। यस्तो प्रधानाध्यापकलाई राज्यको नीति र कानुनअनुसार स्वतन्त्र ढंगले काम गर्न दिने हो भने विद्यालय सफलताको बाटोमा अघि बढ्छ।
नेतृत्व अर्थात् प्रधानाध्यापकपछि कुरा आउँछ शिक्षकको। सामान्यतया शैक्षिक योग्यताका हिसाबले छानिएको व्यक्ति नै शिक्षक भएर आएको हुन्छ। यस्तो शिक्षक आफ्नो क्षमताको अधिकतम प्रयोगबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धिमा समर्पित हुन सकेन भने उसको योग्यता कागजमा सीमित रहन्छ।
शिक्षकले नयाँ प्रविधि र शिक्षणविधिमा आफूलाई अद्यावधिक गर्न सक्नुपर्छ। बालमोनोविज्ञान तथा विद्यार्थी मनोविज्ञान अनुसार घुलमिल हुन सक्नुपर्छ। प्रस्तुतीकरणको क्षमता अब्बल हुनुपर्छ। समूहमा काम गर्ने तत्परता चाहिन्छ।
सामूहिक प्रयास र सत्कर्मले सिकाइ प्रभावकारी बनाउँछ। यस अवस्थामा विद्यालय सफलताको बाटोमा अघि बढ्छ। शिक्षकलाई नवीनतम शैक्षिक अभ्यासमा अद्यावधिक बनाउन पेसागत क्षमता विकास आवश्यक पर्छ। यसका लागि विद्यालयले पनि कार्यक्रमहरू चलाउनुपर्छ। राज्यको पनि यथोचित योगदान आवश्यक पर्छ।
३. शिक्षणविधि
सबै विद्यार्थीहरूको क्षमता एकै हुँदैन, उनीहरू फरक–फरक क्षमताका हुन्छन्। कोही छिटो सिक्छन्, कोही अलिक ढिलो। कोही कक्षाकोठाको पढाइमा भन्दा खेल, गीतसंगीत, नृत्य, चित्रकला, अभिनय वा यस्तै अन्यमा ध्यान दिने खालका हुन्छन्।
यस्ता विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर निर्धारित पाठमा बराबर जान्ने बनाउने सर्वमान्य नियम वा तरिका छैन। यस्तो विविधतामा सिकाइ प्रभावकारी बनाउन विद्यालयले आन्तरिक बहस चलाउनुपर्छ, बहसमा अभिभावकलाई पनि सहभागी गराउनुपर्छ। यस्तो बहसले विकल्पहरू खोज्न सहयोग पुग्छ।
फरक–फरक सिकाइ क्षमता भएका विद्यार्थीका लागि फरक–फरक प्रयोग गरेर उपलब्धि हासिल गर्न पनि सकिन्छ। यसकारण विद्यालयले प्रत्येक विद्यार्थीको सिकाइ क्षमता पहिचान गरी त्यसका आधारमा सिकाइ अघि बढाउनुपर्छ। विद्यार्थीका व्यक्तिगत विवरण र सिकाइयोजना तयार गरेर सिकाइमा प्रेरित गर्नुपर्छ।
सिकाइका सन्दर्भमा जोन डिवेको एउटा अत्यन्त सान्दर्भिक भनाइ छ– आजका बालबालिकालाई हिजोको तरिकाले सिकाइयो भने उनीहरूको भोलि बार्बाद हुनेछ।
समयले धेरै फड्को मारिसकेको हुने तर तरिका पुरानै हुने अवस्थामा सिकाइ प्रभावकारी हुँदैन। पाठ्यवस्तुलाई दैनिक जीवनसँग जोडेर सिकाउने विधि आजको आवश्यकता हो। विद्यार्थीले प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्न सकेको हुनुपर्छ। यसो भयो भने मात्रै सिकाइ उत्साहजनक र उपलब्धिमूलक हुन्छ।
हाम्रो सन्दर्भमा सिकाइ सम्बन्धी मुख्य समस्या विद्यार्थीको जबर्जस्ती सहभागिता हो। विद्यार्थीको उत्साहबिना सिकाउन र अधिकतम उपलब्धि हासिल गर्न खोज्नु जबर्जस्ती गर्नु हो। जबर्जस्ती नगरी सिकाउने उपाय पहिल्याउने विद्यालय नै सफल हुन सक्छ।
विभिन्न प्रयोगहरूबाट सिकाइको 'प्रोग्रेसिभ मोडल' विकास भएको छ। यस मोडलले जबर्जस्ती सहभागितालाई सक्रिय सहभागितामा परिवर्तन गर्छ, विद्यार्थीमा सिकाइप्रति उत्साह सिर्जना गर्छ।
यस मोडलले सिकाइको केन्द्रमा विद्यार्थीलाई राख्छ अनि उसको अनुभव, पूर्वज्ञान र अन्तर्क्रियाबाट छिटो र बढी सिक्न सक्छ भन्ने पुष्टि गरेको छ। आजकालका विद्यार्थीको बढी समय इन्टरनेट प्रविधिमा बित्ने भएकाले त्यसलाई सिकाइसँग जोड्ने उपाय अपनाउनु उचित हुन्छ।
४. खुसी विद्यालय
नेपालमा पनि छिटफुटबाहेक धेरै विद्यालय भौतिक रूपमा सुन्दर देखिन थालेका छन्। ठूला भवन बनेका छन्। विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, पुस्तकालय, सुविधायुक्त कक्षाकोठा, शौचालय इत्यादि छन्। यसरी विद्यालयको भौतिक अवस्था सुधार हुने क्रम बढ्दो छ।
विद्यालय सफल हुन भौतिक पक्षको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। भौतिक रूपमा सम्पन्न कतिपय विद्यालय बाहिरबाट मुस्कुराइरहेका जस्ता देखिए पनि शिक्षक र विद्यार्थीको खुसी भने छेउ लागेको हुन्छ। अपवादबाहेक न शिक्षक खुसी देखिन्छन् न विद्यार्थी।
शिक्षकमा आफ्नो पेसा र पेसागत भविष्यबारे स्पष्टता छैन। विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा छैन। जहाँ खुसी र उत्प्रेरणाको सञ्चार हुँदैन त्यहाँ राम्रो सिकाइ सम्भव हुँदैन।
खुसीको प्रवाह करेन्टभन्दा तीव्र हुन्छ। शिक्षक र विद्यार्थीमा खुसी प्रवाह गर्न सक्ने विद्यालयमा सिकाइको अनुकूल वातावरण तयार हुन्छ। यस्तो विद्यालयमा शिक्षक–विद्यार्थीबीच आपसमा उच्च सद्भाव हुन्छ। आपसी सम्मान हुन्छ। यस्तो विद्यालयमात्र सफल हुन सक्छ।
विद्यालयलाई खुसी उत्पादन र प्रवाह गर्ने थलोका रूपमा विकास गर्न सबै सरोकारवालाहरू जाग/"क हुन आवश्यक पर्छ। शिक्षकको पेसागत उन्नयनको सुनिश्चितता नभई शिक्षक खुसी हुँदैन। सिक्ने उत्प्रेरण नभई विद्यार्थी खुसी हुँदैन। विद्यार्थीको उपलब्धि सन्तोषजनक नभई अभिभावक खुसी हुँदैन।
विद्यालयले विद्यार्थीका समस्या सुन्नुपर्छ, सिकाइ सम्बन्धी र अन्य समस्या समाधानमा सहयोगी बन्नुपर्छ। यसरी मात्र विद्यालय खुसी उत्पादनको केन्द्र बन्न सक्छ।
यसर्थ, विद्यालयलाई खुसीको स्रोत बनाउन सबै सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक पर्छ।
५. अभिभावकको सहभागिता
विद्यालय तहको सिकाइमा शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ।
अभिभावकको सक्रियता र चासो बढी रहेका विद्यालयहरू छोटो समयमै कायापलट भएका उदाहरण छन्। विद्यालयमा भइरहेको सिकाइ क्रियाकलाप, सिकाइबाट विद्यार्थीमा विकास भएको ज्ञान र सीप तथा विद्यार्थीको दैनिक जीवनमा हुँदै गरेको परिवर्तन अभिभावकले नजिकबाट नियाल्नुपर्छ।
आफूलाई चित्त नबुझेको कुरा विद्यालयमा भन्नुपर्छ। यसो भयो भने बालबालिकाले घरमा पनि सिकाइको उपयुक्त वातावरण प्राप्त गर्छन्।
यसर्थ अभिभावक र विद्यालयबीच निरन्तर अन्तक्रिया आवश्यक हुन्छ। अभिभावकसँग निश्चित समयको अन्तरालमा व्यक्तिगत र सामूहिक छलफल चलाउनुपर्छ। अभिभावकको सक्रियता बढाउन प्रधानाध्यापक र शिक्षकहरू अग्रसर रहनुपर्छ। यसरी विद्यालयको शैक्षिक योजनामा अभिभावकलाई सहभागी गराउने विद्यालय नै सफल हुन्छ।
६. निरन्तर मूल्यांकन र पृष्ठपोषण
विद्यालयमा मूल्यांकन जटिल र अति महत्त्वपूर्ण पक्ष हो। विषयको प्रकृति, विषयगत आवश्यकता, उद्देश्य, विद्यार्थीको तह, उमेर र शैक्षिक संस्थाको संस्कृतिका आधारमा मूल्यांकनको ढाँचा तय गर्नुपर्छ। मूल्यांकनका अनेक मोडलहरू छन्, आवश्यकता अनुसार विद्यालयले प्रयोग गर्न सक्छ।
विद्यालयमा उपलब्धिका विभिन्न रूब्रिकहरू निर्धारण गर्नुपर्छ। शिक्षकले विद्यार्थीको समग्र व्यवहार गहिरो अध्ययन गरेर पूर्वनिर्धारित रूब्रिकसँग तुलना गरी सिकाइस्तर निर्धारण गर्नुपर्छ। यसो गर्दा विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउँछ।
मूल्यांकनमा शिक्षक र विद्यार्थी दुवै पक्षको सहभागिता हुने भएकाले दुबैले सुधार गर्नुपर्ने पक्षहरूमा तत्काल पृष्ठपोषण प्राप्त गर्छन्। यस्तो मूल्यांकनमा विद्यार्थीहरू सक्रिय रूपमा सहभागी हुन्छन्।
विद्यालय सफल हुनु भनेको शैक्षिक कार्यक्रमका निर्धारित उद्देश्य र लक्ष्य हासिल गर्नु हो। यसो गर्न व्यापक र एकीकृत दृष्टिकोण चाहिन्छ। दूरदर्शी नेतृत्व (प्रधानाध्यापक), योग्य र जागरूक शिक्षक, प्रभावकारी शिक्षणशैली, विद्यार्थी केन्द्रित कार्यक्रम, सामुदायको संलग्नता इत्यादि उच्चस्तरको हुनुपर्छ।
पाठ्यक्रम र प्रविधिको एकीकरण, प्रभावकारी व्यवस्थापन र निरन्तर सुधार उत्तिकै आवश्यक हुन्छ। यसो भए मात्र आजका विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न र अवसरको सदुपयोग गर्न तयार पार्न सकिने छ। यसरी जनशक्ति तयार पार्न सके मात्रै विद्यालय सफल ठहरिने छ।
(लेखक सक्सेस एकेडेमी, धादिङका प्रधानाध्यापक हुन्)