यो लेख पढिरहँदा तपाईं-हामीलाई चिनाउन प्रयोग गरिने आधुनिक मानव (होमो सेपियन्स) को सिंगो परिवारको जनसंख्या आठ अर्बमा थप भइसकेको छ। प्रतिसेकेन्ड यो संख्यामा बढोत्तरी भइरहेको छ। गएको नोभेम्बर १५ तारिखका दिन विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघीय जनसंख्या एकाइले घोषणा गरेको छ।
एघार वर्षअघिसम्म विश्व जनसंख्या सात अर्ब थियो। सात अर्बौं जनसंख्याका मानक पात्र बंगलादेशका सदिया सुल्तान र छ अर्बौं जनसंख्याका मानक पात्र बोस्निया हर्जगोविनाका अडनान मेविकलाई मानिएको थियो। अहिले आठ अर्ब जनसंख्या पुर्याउने गरी जन्मिएका होमो सेपियन्स परिवारका नयाँ सदस्य फिलिपिनी भाइनिस माबनसाग भएको दाबी अघि सारिँदा डोमिनिकन रिपब्लिकमा जन्मिएका डेमियन पनि आठ अर्बौं बच्चा भएको दाबी गर्दै समाचारहरू आइरहेका छन्।
मान्छेको कायाकल्प: के मान्छेको पुर्खा बाँदर थियो?
आज आठ अर्ब संख्या नाघिसकेको होमो सेपियन्स अर्थात् अतिबुद्धिमान मानिस भनिने आधुनिक मानवको पृथ्वीमा उपस्थितिको सबभन्दा पुरानो प्रमाण करिब तीन लाख बीस हजार वर्ष पुरानो अस्थि अवशेषका रूपमा प्राप्त भएको छ। उक्त जीवाष्म मारेक्कोको जेबेल इरहाउड (इरहौड) मा फेला परेको हो। यसको अर्थ आधुनिक मानव स्वरूप चिनाउने सबभन्दा पुरानो प्रमाण तीन लाख बीस हजार वर्ष आसपासको छ।
त्यसयताका तीन लाख वर्षमा यसको जनसंख्या बढेर आठ अर्ब पुगेको छ, नोभेम्बर १५, २०२२ को दिन।
मारेक्कोमा अस्थिपञ्जरमार्फत् आफ्नो जातिको पहिलो ब्लूप्रिन्ट छाडेर गएको उक्त होमो सेपियन्सको स्वरूप र बनावट ठ्याक्कै कस्तो थियो भन्ने यकिनसाथ भन्न सकिन्न। यति चाहिँ निर्धक्क भन्न सकिन्छ – लाखौंलाख वर्ष निरन्तर जारी उद्विकासको बाटो पार गर्दै चेतना, बनावट, प्रवृत्ति, खोपडी, उचाइ लगायतमा कायाकल्प भएरै उक्त व्यक्तिले होमो सेपियन्सको पहिलो पात्र बन्ने संयोगको धर्सो आफ्नो ब्लूप्रिन्टमा अंकित गरेको थियो।
होमो सेपियन्सको उक्त सर्वपुरातन पुर्खाको स्वरूप जे जस्तो थियो, बितेका तीन लाख वर्षभन्दा बढी अवधिमा यसमा भव्य कायाकल्प भइसकेको छ। तीन लाख वर्षपहिले मानव प्रजातिमा भएको कायाकल्पको निरन्तरता र तीन लाख वर्षयता आफैंभित्र भएका कायाकल्पको योगमा आज हामी आफैंलाई बुद्धिमान मानिस, आधुनिक मानिसको अलंकार भिराइबसेका छौं।
आज हामी जे जस्तो अवस्थामा छौं, यहाँसम्म आइपुग्न हामीले र हाम्रा पुर्खा प्रजातिहरूले कायाकल्पका अनेकन गल्छेँडाहरू पार गरेका छौं। उद्विकासको यात्रा पार गर्दै यहाँसम्म आइपुग्न अनेकन असजिला र चर्का पहराहरू भत्काएर सम्याएका छौं। कायाकल्प (उद्विकास) को यो लम्बेतान यात्रालाई अलिकति तन्काएर हेरौं।
डाइनोसर विनाश हुन थालेको समयकालतिरै अर्थात् ६ करोड ६० लाखदेखि ५ करोड ६० लाख वर्षअघि (यो समयकाल ९ करोड वर्ष अघिसम्म जानसक्ने अनुमान पनि सार्वजनिक भएको छ) को समयबीच पहिलो प्राइमेट्सका रूपमा पुर्गाटोरिअसको उद्विकास भयो। आरम्भिक नरवानर गण (प्राइमेट्स) को विकास डाइनोसर विलुप्त भएको समयकालतिरै रातमा सक्रिय रहने सानो (कीराफट्यांग्रा खाने) स्तनपायी जीवबाट भएको मानिन्छ। ट्री श्र्युज (Tree Shrews) र कोलुगोस (Colugos) हरूलाई प्राइमेट्सको नजिकका जीवित नातेदार मानिन्छन् (Barbara Helm Welker – The History of Our Tribe : Hominini, 2017)।
प्राइमेट्सको मस्तिष्कको आकार शरीरको तौलको अनुपातमा पहिलेको स्वरूपको जीवभन्दा ठूलो थियो। उसमा दृष्टि क्षमताको वृद्धि, हातको स्वरूपमा भिन्नता, नङ्ग्राको स्थानमा नङको विकास, सहज हिँडडुल गर्न सक्ने गरी शरीरमा कंकालको विकास र मस्तिष्कको अघिल्तिरको स्वरूप विकास भएको थियो।
दुई करोड ३० लाखदेखि ५३ लाख वर्षबीचको समयकालमा प्राइमेट्सले आफूलाई थप विकसित गर्यो। अर्थात्, अघिल्लो कालको भन्दा उसको शारीरिक र मानसिक स्वरूपमा भिन्नता आयो। नरवानर गण (प्राइमेट्स) बाट एन्थ्रोपोइड्सको उद्विकास भयो।
आरम्भिक एन्थ्रोपोइड्सको स्वरूप मान्छेभन्दा बढी बाँदरको जस्तो थियो। तर ती न आजका बाँदरजस्ता थिए, न मानिसजस्ता। बरू एन्थ्रोपोइड्सबाट नयाँ र पुरानो भूगोलका बाँदरहरूको उद्विकास भयो। ती मात्रै उद्विकास भएनन्, साथमा 'एप्स' अर्थात् पुच्छर नभएको बाँदररूपी मानव स्वरूपको पनि विकास भयो।
जीवनको लामो विकास क्रम पार गर्दै प्राइमेट्स (नरवानर गण) बाट विकसित भएर एप्स (पुच्छरविहीन बाँदर स्वरूप) हुँदै लामो कालखण्डपछि पहिले आधा बाँदर र आधा मान्छेको स्वरूपको जीव पछि मानिसको स्वरूपमा विकसित भयो। करिब साठी लाख वर्षअघि एउटी स्त्रीलिंगी ‘एप्स’ का दुई छोरी भए। तीमध्ये एउटा चिम्पान्जीहरूका पूर्वज भइन् भने अर्की आजका मानवहरूको पूर्वज (Yuval Noah Harari- Sapiens, A brief History of Humankind, 2013)।
एप्सको मस्तिष्कको आकार शरीरको तौलको तुलनामा प्राइमेट्सको भन्दा ठूलो थियो भने उसको दृष्टि क्षमता, हातखुट्टाको स्वरूप र हिँडडुल गर्नसक्ने अवस्थामा पनि धेरै भिन्नता आइसकेको थियो। समयक्रममा एप्स विभिन्न शाखामा विभक्त भयो। पहिले आरोङओटनका पुर्खा पृथक भए। पछिबाट क्रमशः गोरिल्ला, गिब्बोन र चिम्पान्जीका पुर्खा मानिसका पुर्खाको हांगाबाट पृथक भए।
पृथक भए भन्नुको अर्थ, तिनको शारीरिक एवं मानसिक स्वरूपमा पृथकता आयो र ती एकअर्काभन्दा भिन्न स्वरूपमा विकसित भए।
आरोङओटनका पुर्खा अफ्रिकाबाट बाहिर निस्किएर एसियामा विस्तारित भएको पुच्छररहित बाँदरको एउटा प्रजातिमा पर्छ। शिवपिथेकस/रामापिथेकस (शिवपिथेकसका पोथी) हरू नेपालसम्म आइपुगेको कुरा यसको जीवाष्म नेपालको तिनाउ खोलाबाट प्राप्त भएबाट प्रमाणित हुन्छ।
बीसदेखि ३० केजी तौल भएको, करिब ४ फिट उचाइ र करिब ५०० क्युबिक सेन्टिमिटर मष्तिस्क भएको पूर्ण शाकाहारी शिवपिथेकस आजका आरोङओटनका पुर्खा थिए (Michael J. Benton-The History of Life: A Very Short Introduction,2008), मान्छेका पुर्खा होइन।
शिवपिथेकसका पुर्खा अफ्रिकी एप (चिम्पान्जी र गोरिल्ला) र मानवको समान पुर्खाबाट अलग भएका थिए। त्यसैले अझै पनि रामापिथेकस, शिवपिथेकसलाई मानव पुर्खाका रूपमा, नेपालमा मानव जातिको प्राचीन उपस्थितिका रूपमा या रामापिथेकसलाई नेपालका आदिवासीहरूको प्राचीन पुर्खाका रूपमा प्रचार गर्ने र त्यही कुरा दोहोर्याइरहनु हास्यास्पद छ।
जीवाष्मशास्त्रीहरूले मानिस, गोरिल्ला र चिम्पान्जीको साझा पुर्खा र आरोङओटनका पुर्खा १ करोड ५० लाख वर्षजतिअघि नै एकआपसबाट अलग भएको उल्लेख गरेका छन्। त्यसैगरी गोरिल्लाको पुर्खा मानिस र चिम्पान्जीको साझा पुर्खासँग ८५ लाख वर्षजति अघि अलग भएको पाइएको छ। मानिस र चिम्पान्जीको पुर्खा भने ७५ लाखदेखि ५५ लाख वर्षअघिको समयबीच अलग भएको उल्लेख देखिन्छ।
आधुनिक जीव विज्ञानले कुनै समय मानिसको स्वरूप बाँदरको जस्तै थियो भनेको विषयलाई गहनतामा नबुझी विज्ञानले बाँदरलाई मानिसको पुर्खा भन्यो भन्ने तहमा टिप्पणी गर्ने गरेको पनि पाइन्छ, परम्परागत समाजले। यस्तो बुझाइ हाम्रोजस्तो विज्ञानको कम अध्ययन र बहस हुने समाजमा सामाजिक बुझाइको स्तर नै संक्रमित छ।
खासमा आधुनिक मानव बाँदरको सन्तान होइन। मस्तिष्क, शरीरको बनावट, हातखुट्टाको प्रयोग आदिका आधारमा नरवानर गण, पुच्छररहित बाँदर हुँदै मानिसको कायाकल्प (उद्विकास) त्यही जराबाट भएको हो, जुन जराबाट बाँदरको पुर्खाको हाँगोको पनि कायाकल्प भयो।
आजका बाँदरका पुर्खा र मानवका पुर्खा एकआपसबाट करिब ३ करोड ५० लाख वर्षअघि अलग भएका थिए। त्यसरी अलग हुँदा बाँदर र मानिसका पुर्खा अर्थात् समान पुर्खा एकै थिए। भन्नुको मतलब, मान्छे र बाँदर दुवैका पुर्खा प्राइमेट्स थिए। तर मानिस र बाँदर कोही पनि एकअर्काका पुर्खा थिएनन्। ती न आजका बाँदरजस्ता थिए, न आजका मानिसजस्ता।
त्यसैले आजको स्वरूपमा रहेका कुनै पनि प्राइमेट्स या बाँदर कोही पनि मानिसका पुर्खा होइनन्। विकट अतीतका ‘नातेदार’ भने हुन्।
०००
चिम्पान्जीसँगको साझा पुर्खाबाट विकास भएर एउटा हाँगोले थोरै मानव स्वरूप ग्रहण गर्यो। सत्तरीदेखि साठी लाख वर्ष पुरानो मानिएको मानव हाँगोको सबभन्दा जेठो स्वरूप सहेलान्थ्रोपस ट्चडेन्सिसको जीवाष्म सन् २००१ मा पश्चिम–मध्य अफ्रिकाको चाडबाट प्राप्त भएको छ। यसको जीवाष्म अष्ट्रालोपिथेकसको भन्दा भिन्न र पुरातन मानिसको जीवाष्मसँग मिल्दो पाइएको छ।
सन् २००० मा ६० लाख वर्ष पुरानो चिम्पान्जी आकारको ओर्रोरिन टुगेनेन्सिसको जीवाष्म अफ्रिकाको केन्यामा फेला परेको छ। सन् १९९७ मा इथियोपियाबाट ५८ लाखदेखि ५२ लाख वर्ष पुरानो मानिएको आर्डिपिथेकस कडब्बाको जीवाष्म प्राप्त भएको छ।
इथियोपियाबाटै सन् १९९७ र २००७ मा कडब्बाभन्दा पछिको र त्यसैको उत्कर्षमा विकास भएर उदाएको ४४ लाख वर्ष पुरानो मानिएको आर्डिपिथेकस रामिडसको जीवाष्म प्राप्त भएको छ। सहेलान्थ्रोपसबाट क्रमशः मानव स्वरूपतिर उद्विकासको बाटो पकडिएर विकसित हुँदै गएका यी प्राणी पछि मानव स्वरूपसँग झन् निकटको (आनुवांशिक हिसाबले समेत) अष्ट्रालोपिथेकसको वंशका रूपमा विकास भयो।
उत्तरी केन्याबाट प्राप्त करिब ४२ देखि ३९ लाख वर्ष पुरानो जीवाष्म अष्ट्रालोपिथेकस अनामेन्सिसको भएको प्रमाणित भएको छ। योसँगै अष्ट्रालोपिथेकसको वंशारम्भ भएको पाइन्छ। अष्ट्रालोपिथेकस वंशजकै इथियोपिया, केन्या र तान्जिनियाबाट प्राप्त ३८ लाख ५० हजारदेखि २९ लाख ५० हजार वर्षबीचको मानिएको जीवाष्मलाई अष्ट्रालोपिथेकस अफारेन्सिस (लुसी) भनिन्छ। यसलाई अफ्रिकाको दक्षिणी एप भन्ने नाम दिइएको छ।
यसलाई प्राग बाँदर स्वरूपबाट अलग भएर विकास भएको र हालसम्म प्रस्ट तवरले जानिएको मानिस स्वरूपको, रूखबाट झरेर जमिनमा सिधा भएर उभिने अभ्यास थालेको सबभन्दा प्राचीन पुर्वज मानिएको छ।
सन् १९६० देखि १९६३ बीच गरिएको उत्खननबाट तान्जिनियामा प्राप्त २३ लाखदेखि १४ लाख वर्ष पुरानो जीवाष्मले पुच्छररहित बाँदरको स्वरूपबाट मानिसको स्वरूपमा विकसित भइरहेको तर अझै पनि चेतना, शारीरिक बनावट, खानपान, हिँडडुलले विकसित मानिस नभइसकेको अवस्थाबाट मानव पुर्खाको परम्परागत स्वरूपमा क्रमभंग भएको तथ्य प्रकाशमा ल्यायो।
यसअघिको स्वरूपलाई अष्ट्रालोपिथेकस भन्ने गरिएकोमा यो जीवाष्म र यसपछि प्राप्त अस्थि अवशेषलाई होमो (मानव) समूहमा राख्न थालियो। ल्याटिन भाषाको 'होमो' शब्दले मानव अर्थात् मान्छे भन्ने जनाउँछ। उक्त जीवाष्मलाई होमो पदावली प्रयोग गरिनुका पछाडि आधुनिक मानवसँग त्यस प्रजातिको निकट सम्बन्ध छ भन्ने जनाउनु हो। यसले मानिसको स्वरूपमा धेरै विकास भइसकेको प्राणीको जीवाष्मको दर्जा पाउन सफल भयो। त्यसैले २३ लाखदेखि १४ लाख वर्ष पुरानो मानिएको उक्त जीवाष्मको नाम होमो ह्यबिलिस (हैबिलिस) राखियो। यसलाई 'ह्यान्डी म्यान' उपनाम समेत दिइएको छ।
होमो ह्यबिलिसलाई आधुनिक मानवको सबभन्दा प्राचीन स्वरूप मानिएकोमा सन् २०१० मा दक्षिण अफ्रिकाबाट प्राप्त २४ लाख वर्षजति पुरानो जीवाष्म, जसको नाम 'होमो गाउटेन्जिन्सिस' राखिएको छ, त्यो नै मानव वंशको या हाँगाको आजसम्म प्राप्त प्रमाणका आधारमा सबभन्दा पुरानो जरो मानिएको छ।
होमो ह्यबिलिसको जीवाष्म इथियोपिया, केन्या, दक्षिण अफ्रिका र तान्जिनियाबाट प्राप्त भएको छ। अष्ट्रालोपिथेकसको तुलनामा यसको मस्तिष्कको आकार ठूलो छ। अष्ट्रालोपिथेकसको मस्तिष्क औसतमा ४५० क्युबिक सेन्टिमिटर रहेकोमा होमो ह्यबिलिसको मस्तिष्क ६०० देखि ७५० क्युबिक सेन्टिमिटर रहेको पाइएको छ।
अल्जेरिया, मोरोक्को, इथियोपिया, केन्या, तान्जिनिया, दक्षिण अफ्रिका आदिको भूगोलमा विभिन्न समयमा उत्खनन गर्दा प्राप्त जीवाष्मलाई 'होमो इर्गास्टर' नामाकरण गरिएको छ। अफ्रिकाको एकल स्थानमा मात्रै नभई विभिन्न स्थानबाट यसको जीवाष्म प्राप्त भएकाले होमो इर्गास्टरलाई पहिलोपटक अफ्रिकाका विभिन्न भूगोलमा विस्तार भएको मानव वंशको पहिलो प्रजाति मानिएको छ। यसको जीवाष्म सबभन्दा पहिले सन् १९४९ मा दक्षिण अफ्रिकाबाट उत्खनन गरिएको थियो।
समयक्रममा यसका पूर्ण जीवाष्महरू अफ्रिकाको विभिन्न स्थानबाट उत्खनन गरिए, जसको समयकाल १८ लाख वर्षदेखि १३ लाख वर्ष बीचको मानिएको छ। यसलाई काम गर्ने मानिस (Work Man) भन्ने गरिन्छ। किनभने, यसले ढुंगाको हतियार प्रयोग गरेर शिकार गर्ने तथा विभिन्न कार्यमार्फत् जीवनयापन गर्ने कामको आरम्भ गरेको पाइएको छ। यसको मस्तिष्क ८०० दखि १२०० क्युबिक सेन्टिमिटर रहेको पाइएको छ।
सन् १८९१ मा इन्डोनेसियाको जाभाबाट पहिलोपटक उत्खनन गरिएको जीवाष्म, जसलाई 'होमो इरेक्टस' नाम दिइएको छ, त्यसको जीवाष्म विश्वका विभिन्न भागबाट प्राप्त भएको छ। चीन, भारतको नर्मदा, टर्की, अल्जेरिया, मोरक्को, केन्या, तान्जानिया लगायत स्थानबाट प्राप्त उक्त जीवाष्मलाई पहिले जाभा मानव, पेकिंग मानव आदि समेत नाम दिइएको थियो। यो मानव प्रजाति १९ लाख वर्षअघिदेखि २७ हजार वर्ष अघिसम्म अस्तित्व रहेको प्रमाण यसको जीवाष्मको अध्ययनबाट प्राप्त भएको छ।
सिधा उभिएर हिँड्ने होमो इरेक्टसको मस्तिष्कको आकार ९३० देखि १२३० क्युबिक सेन्टिमिटरसम्म रहेको पाइएको छ। यो अफ्रिकाबाट बाहिर निस्किएर विश्वभर फैलिएको मानव वंशको पहिलो प्रजाति मानिएको छ।
होमो इरेक्टसलाई सबभन्दा लामो समय आफ्नो अस्तित्व यो पृथ्वीमा कायम राख्न सफल पहिलो मानव प्रजाति मानिन्छ। आधुनिक मानव अर्थात् होमो सेपियन्सको उद्विकास भएपछिको निकै लामो समयसम्म अर्थात् आजभन्दा २७ हजार वर्षअघिसम्म होमो इरेक्टस पृथ्वीमा उपस्थित थियो। यसको आधुनिक मानवसँग साक्षात्कार, सके सहकार्य र सम्भोगसमेत भएको थियो भन्ने आकलनका आधारमा त्यसमाथि थप वैज्ञानिक अध्ययन जारी छन्।
सन् १९०७/८ मा जर्मनीको हिडेलबर्गमा प्राप्त जीवाष्मको नाम होमो हिडेलबर्गेन्सिस राखिएको छ। हिडेलबर्गेन्सिसको जीवाष्म जर्मनीका अलावा स्पेन, फ्रान्स, इटली, हंगेरी, ग्रिस, मोरक्को, इथियोपिया, जाम्बिया, तान्जानिया, चीन लगायत स्थानबाट प्राप्त भएको छ। जीवाष्मको अध्ययनबाट यो ७ लाख वर्षदेखि १ लाख वर्षअघिसम्म अस्तित्वमा रहेको प्रमाण प्राप्त भएको छ। यसको मस्तिष्कको आकार होमो इरेक्टसको भन्दा ठूलो रहेको पाइएको छ।
होमो इरेक्टसको मस्तिस्कको अधिकतम आकार १२३० सिसी रहेकोमा हिडेलबर्गेन्सिसको मस्तिष्कको आकार न्यूनतम ११०० क्युबिक सेन्टिमिटरदेखि अधिकतम १४०० क्युबिक सेन्टिमिटरसम्म रहेको पाइएको छ।
आरम्भमा बेल्जियमबाट सन् १८२९ मा उत्खनन गरिएको जीवाष्म निकै लामो समयसम्म सग्लो परिचयबाट वञ्चित भइरहेको थियो। पछि सन् १८५६ मा जर्मनीको नियन्डर उपत्यकाबाट उत्खनन गरिएको ४० हजार वर्ष पुरानो जीवाष्मको नाम 'होमो नियन्डरथलेन्सिस' राखिएपछि पहिले उत्खनन गरिएको जीवाष्म पनि यही नियन्डरथलकै चरित्रको भएको प्रमाणित भयो। नियन्डर उपत्यकामा फेला परेको अस्थि अवशेषका कारण उक्त जीवाष्मलाई नियन्डरथल राखिएको हो।
यसको जीवाष्म जर्मनीका अलावा दक्षिणपूर्वी एसियाबाट पनि प्राप्त भएको छ, जसको मष्तिस्कको आकार १२०० सिसीदेखि १७५० सिसीसम्म र औसतमा १४५० सिसी रहेको पाइएको छ। यो होमो सेपियन्स अर्थात् आधुनिक मानिसको भन्दा बढी हो।
नियन्डरथलको पुर्खा र आधुनिक मानवको पुर्खा ७ लाख ७० वर्षअघिदेखि ५ लाख ५० हजार वर्षबीचको समयमा एकआपसबाट अलग भएको जीवाष्म वैज्ञानिकहरूले उल्लेख गरेका छन्। आजसम्मको उत्खननबाट प्राप्त नियन्डरथलको सबभन्दा पुरानो जीवाष्म ४ लाख ३० हजार वर्ष पहिलेको छ। नियन्डरथल ३५ हजार वर्षअघि पृथ्वीबाट विलुप्त भएको मानिन्छ।
नियन्डरथलभन्दा पुरानो तर त्योभन्दा झन्डै सात हजार वर्षपछिसम्मको जीवाष्म पाइएको मानव प्रजाति 'डेनिसोवन होमिनिन' को अस्थि अवशेष रूसको अल्टाइस्थी डेनिसोवन गुफाबाट प्राप्त भएको छ। सोही गुफाबाट प्राप्त जीवाष्म भएकाले त्यसलाई डेनिसोवन नाम दिइएको थियो। डेनिसोवनको जीवाष्म युरोपका अलावा दक्षिणपूर्वी एसियाका विभिन्न स्थानमा पनि पाइएको छ।
आजभन्दा ५० हजार वर्षअघिसम्म पृथ्वीमा आधुनिक मानव एक्लो मानव प्रजातिका रूपमा ढलिमली गरिरहेको थिएन। आधुनिक मानव अर्थात् होमो सेपियन्सका अलावा होमो इरेक्टस, होमो नियन्डरथलेन्सिस, डेनिसोवन, होमो फ्लोरेन्सिसहरू पनि मौजुद थिए।
माथि सुरूमै उल्लेख गरिएको उत्तरी मोरक्कोको साफी सहरबाट ५० किमी टाढाको जेबेल इरहउडबाट उत्खनन गरिएको जीवाष्म आधुनिक मानव अर्थात् होमो सेपियन्सको (३ लाख २० हजार वर्ष पुरानो) भएको विवरण सन् २०१७ जुनमा प्रसिद्ध जर्नल 'नेचर' ले प्रकाशित गरेको छ।
अफ्रिकाबाहिर फैलावट
सबभन्दा पहिले ३ लाख २० हजार वर्षअघि मोरक्कोमा देखापरेको होमो सेपियन्स लामो समयकालमा अफ्रिकाभर फैलियो। अफ्रिकाको वातावरणीय सन्तुलनमा आएको बदलाव, फैलँदो जनसंख्याका लागि आवश्यक भोजनको खोजी, नयाँ भूगोलप्रतिको सम्भावित जिज्ञासा आदिका कारण अफ्रिकामा विस्तारित होमो सेपियन्स अफ्रिकाबाट बाहिर निस्कन अनेकनपटक असफल भयो। उसले फेरि पनि प्रयास जारी राख्यो।
अन्ततः पहिलोपटक करिब २ लाख २० हजार वर्षपहिले अफ्रिकाबाट बाँकी संसारमा मानव जनसंख्याको आबादी भर्न निस्कियो। तर, त्यसले बाँकी भूगोलमा आबाद गुल्जार गराउने काममा सफलता पाएन। त्यसपछि अफ्रिकाबाट निस्किएर बाँकी भूगोलमा आफ्नो आबादी फैलाउने प्रयास निरन्तर जारी रहे पनि लगभग सत्तरी हजार वर्षअघि भएको निर्णायक अफ्रिका निष्क्रमणमा आएकाहरूले मात्रै आफ्ना उत्तराधिकारीहरू अफ्रिकाबाहिर फैलाउने सफलता प्राप्त गरेको आनुवांशिक अध्ययनले पुष्टि गरेको छ।
बसाइसराइको ज्ञान त्यस बखतको चेतनामा नभए पनि आवश्यकता, बाध्यता, जिज्ञासा र सहजताको खोजीले एउटा भूगोलबाट अर्को भूगोलको लम्बे यात्रामा अघि बढ्ने यात्री बन्यो। प्रचलित अभ्यासबाट माथि उठेर जोखिम मोल्ने साहसिक बाटोमा अभिसारित भयो। नयाँ खोज, विकास र आविष्कारमा अघि बढ्यो।
आज हामी जति पनि अफ्रिकाबाहिरका मानिस छौं, सबै सत्तरी हजार वर्षजति अघि अस्तित्वमा आएको माइटोकन्ड्रिअल हाप्लोग्रुप भएकी एउटी आमाका उत्तराधिकारी हौं। त्यही डिएनए बोकेर अफ्रिकाबाट आप्रवासनमा निस्किएकी प्राग–जिजूआमाबाट जन्मिएर फैलिएका सन्तान हौं। तिनै प्राग–जिजूआमा र उनले अफ्रिकामै छाडेर आएका नातेदारहरूबाट जन्मिएर बढेको संख्या जोडिँदै आज हामी पृथ्वीमा कोलाहल मच्चाइरहेका आठ अर्ब सदस्य रहेको विशालतम परिवार बनेका छौं।
आज आठ अर्ब पुगेको विश्व जनसंख्या नौ अर्ब पुग्न पन्ध्र वर्ष लाग्नेछ। सन् २०३७ मा यो नौ अर्ब पुग्नेछ। सन् २०३० सम्म विश्व जनसंख्या ८.५ अर्ब पुग्ने आकलन गरिएको छ।
राष्ट्रसंघीय प्रक्षेपणअनुसार, सन् २०५० सम्म ९.७ अर्ब जनसंख्या पुग्ने र सन् २१०० सम्म यो संख्या बढेर विश्वभर आधुनिक मानवको जनसंख्या १०.४ अर्ब पुग्नेछ। यसरी जनसंख्या बढेर सन् २१०० सम्म १०.४ अर्ब पुग्ने सम्भावना ९५ प्रतिशत रहेको उसको प्रक्षेपण छ।
साथै, विविध महामारी, जलवायु परिवर्तनजस्ता वातावरणीय संकट, खाद्यान्न संकट, युद्ध आदि कारणले सन् २१०० मा मानव जनसंख्या घटेर अहिले रहेको जनसंख्याको आधाभन्दा कम अर्थात् ३.५ अर्बमा झर्न सक्ने सम्भावना पनि देखाइएको छ।
अफ्रिका र युरोप: फैलावट र गिरावट
संयुक्त राष्ट्रसंघले अहिले रहेको जनसंख्या र सन् २०५० मा पुग्ने जनसंख्याबीच जुन बदलाव रहन्छ, त्यसरी बढेको जनसंख्याको आधाभन्दा बढी हिस्सा अफ्रिकाले ओगट्ने प्रक्षेपण गरेको छ।
अहिले नै सबभन्दा बढी जनसंख्या वृद्धिदर अफ्रिकाकै छ। सन् २०५० सम्म अफ्रिकी उप–सहारा क्षेत्रको जनसंख्या अहिलेको भन्दा दोब्बर हुनेछ। आगामी दशकभित्रै अफ्रिकाले विश्व जनसंख्याको आकार निर्धारण र विश्वभर आप्रवासनमार्फत जनसंख्याको फैलावटमा मूख्य भूमिका निर्वाह गर्नेछ। यसरी हेर्दा यसले सत्तरी हजार वर्षअघिको आधुनिक मानवको आप्रवासनको शृंखला दोहोर्याउन गइरहेको संकेत दिन्छ।
अफ्रिकामा यसरी तीव्र रूपमा जनसंख्या वृद्धि भइरहेका बेला युरोपको जनसंख्या भने भारी संख्याले घट्नेछ। सन् २०५० सम्म विश्वका ६१ देशको जनसंख्यामा कमसेकम १० प्रतिशत गिरावट आउने र यसको ठूलो हिस्सा युरोपले ओगट्ने प्रक्षेपण राष्ट्रसंघीय जनसंख्या विभागले गरेको छ। कैयन देशको जनसंख्या गिरावट १५ प्रतिशतसम्म पुग्नेछ। यसमा एसियाली देश जापानसमेत सामेल छ। यसका अतिरिक्त युक्रेन, सर्विया, रोमानिया, बुल्गेरिया, क्रोयसिया, हंगेरी, लाटभिया, लिथुवानिया लगायत देश १५ प्रतिशतसम्म जनसंख्या गिरावटको बाटोमा जाने देशहरूको सूचीमा समाविष्ट छन्। चीनसमेत सन्तान उत्पादनको घट्दो प्रवृत्तिबाट गुज्रनेछ।
अहिले पनि जनसंख्या वृद्धि भएर विश्व जनसंख्या आठ अर्ब नाघेको धेरै मानिस जन्मिएर मात्र होइन। जन्मेका मानिसको औसत आयु वृद्धि भएर पनि हो। मानिसको औसत आयु २०१९ को आँकडामा ७२.८ वर्ष छ। प्रक्षेपणअनुसार सन् २०५० मा यो बढेर ७७.२ वर्ष पुग्नेछ।
अहिले सिंगो युरोपेली देशहरूको सन्तान उत्पादन दर युरोपको दीर्घकालीन जनसंख्या निरन्तरता दरको आवश्यकताभन्दा कम छ। कैयन देशमा सन्तान उत्पादन दर युरोपको जनसंख्या प्रतिस्थापनका लागि आवश्यक दरभन्दा कम हुन थालेको केही दशक पुग्न लागिसकेको छ। हाल विश्वव्यापी प्रजनन क्षमता (दर) २.३ छ भने यो सन् २०५० सम्म २.१ मा झर्ने आकलन गरिएको छ। युरोपमा अहिले नै प्रजनन दर २.१ प्रतिशभन्दा तल झर्न थालिसकेको छ।
नयाँ तथ्यांकअनुसार भारतको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ भने चीनको जनसंख्या १ अर्ब ४५ करोड छ। भारतले चीनको जनसंख्यालाई २०२३ मै उछिन्ने र विश्वकै सबभन्दा ठूलो जनसांख्यिक देश बन्ने राष्ट्रसंघीय जनसंख्या एकाइको आर्थिक तथा सामाजिक मामिलासम्बन्धी विभागको प्रक्षेपण छ। उक्त विभागले जारी गरेको प्रक्षेपणअनुसार सन् २०५० सम्म चीनको जनसंख्या २.७ प्रतिशत अर्थात् ४ करोड ८० लाख आसपासको संख्यामा कम हुनेछ।
भारतको जनसंख्या वृद्धिदर १७.६ प्रतिशत छ भने चीनको ७.१ प्रतिशत छ। नाइजेरियाको ६ प्रतिशत, अमेरिकाको २.७, पाकिस्तानको ४.३, इथियोपियाको ३.६, कंगोको ३.५, इन्डोनेसियाको ३.१, इजिप्टको २.४, बंगलादेशको २.३ प्रतिशत छ। यी देशले विश्वको बढेको १ अर्ब जनसंख्याको ५२.६ प्रतिशत हिस्सा ओगटेका छन्।
जनसंख्या वृद्धिमा छलाङ
दस हजार वर्षअघिसम्म विश्व जनसंख्या ५० लाख थियो भन्ने अनुमान गरिएको छ। यो संख्या बढेर इस्वी सम्बत् आरम्भ हुने घडीसम्म बीस करोड हाराहारी पुगेको अध्येताहरूले उल्लेख गरेको पाइन्छ। कसैले पचास करोड रहेको पनि भनेका छन्।
सन् ००१ मा बीस करोड रहेको जनसंख्या सन् १००० मा २७ करोड पुगेको र सन् १५०० मा ४५ करोड हाराहारी पुगेको विवरण छ। यो जनसंख्या बढेर सन् १६५० मा ५० करोड र सन् १७५० मा ७० करोड पुगेको थियो। विवरणअनुसार सन् १८०४ मा मानिसको जनसंख्या १ अर्ब पुगेको थियो। सन् १८०० मा मानव जनसंख्या ९८ करोड ५० लाख ८३ हजार ७ सय ३५ जना थियो। यसरी करोडबाट उक्लेर एक अर्ब जनसंख्या पुग्न १८०० वर्ष लागेकोमा त्यसको १२३ वर्षपछि नै अर्थात् सन् १९२७ मा मानव जनसंख्या एक अर्बबाट बढेर दुई अर्ब पुगेको थियो।
त्यसपछि मानव जनसंख्या तीव्र गतिले बढ्न थाल्यो। सन् १९५० मा मानव जनसंख्या २ अर्ब ५० करोड पुगेको थियो। दुई अर्ब जनसंख्या पुगेको ३३ वर्षपछि नै १९६० मा ३ अर्ब पुग्यो भने त्यसको चौध वर्षमै एक अर्ब थपिएर सन् १९७४ मा ४ अर्ब पुग्यो।
त्यसपछिको थप एक अर्ब जनसंख्या तेह्र वर्षमै बढेर सन् १९८७ जुलाईमा मानव जनसंख्या ५ अर्ब पुग्यो।
त्यसको १२ वर्षपछि सन् १९९९ मा जनसंख्या वृद्धिले छलाङ मार्दै थप एक अर्ब बढेर ६ अर्ब पुग्यो। अक्टोबर ३१, २०११ मा मानव जनसंख्या ६ अर्बबाट बढेर ७ अर्ब पुग्यो। यसपछि थप एक अर्ब बढेर आठ अर्ब पुग्न एघार वर्ष लाग्यो।
सन् २०२१ जुलाई १ मा ७ अर्ब ९० करोड पुगेको मानव जनसंख्या त्यसको करिब सोह्र महिनापछि २०२२ नोभेम्बर १५ मा ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले घोषणा गरेको छ। यसमा एक अर्ब जनसंख्या थप हुन १० देखि १४.५ वर्ष लाग्ने आकलन राष्ट्रसंघले गरेको छ।
सन् १९५० मा प्रतिकिमी १९.२ जना जनसंख्या रहेकोमा सन् २०२२ मा बढेर प्रतिकिमी ६१ जना पुगेको छ। १९५० मा सय जना महिलाको जनसंख्या बराबर ९९.३ जना पुरूष रहेकोमा सन् २०२१ जुलाईमा सय जना महिला बराबर १०१.१ जना पुरूष पुगेको छ। यो भिन्नतामा व्यापक वृद्धि हुँदै १०० जना छोरी जन्मँदा १०५ जना छोरा जन्मिरहेको यथार्थबाट मानव समाज गुज्रिरहेको छ। गर्भमै लिंग परीक्षण गर्ने र छोरीको भ्रूण हत्या गर्ने विकासोन्मुख देशमा विद्यमान प्रवृत्तिले छोरीको संख्या घटिरहेको छ भने छोराको संख्या बढिरहेको छ।
समग्रमा जनसंख्याको आकार निकै ठूलो भए पनि जनसंख्याको बृद्धिदर भने यताको समयमा निकै नै घटिरहेको छ। सन् १९५० मा जनसंख्या वृद्धिदर १.७३ प्रतिशत रहेकोमा २०२१ जुलाईमा आइपुग्दा ०.८२ प्रतिशतमा झरेको छ।
पहिले जनसंख्या लगभग ४० वर्षमा दोब्बर हुने गरेकोमा अहिले जनसंख्याको विशाल आकार र वृद्धिदरको संकुचनका कारण पनि जनसंख्या दोब्बर हुन ८४.७ वर्ष लाग्ने प्रक्षेपण राष्ट्रसंघीय जनसंख्या कोषले गरेको छ।
सन् १९५० मा १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउने किशोरीहरूको संख्या १ करोड थियो। तत्कालीन जनसंख्याको आकारका आधारमा यो कुल जनसंख्याको ०.४५ प्रतिशत र महिलाको कुल जनसंख्याको १ प्रतिशत थियो। अहिले १५ देखि १९ वर्ष उमेरमा बच्चा जन्माउने किशोरीहरूको संख्या १ करोड २० लाख हाराहारी छ। यो कुल जनसंख्याको ०.१५ प्रतिशत र महिलाको जनसंख्याको करिब ०.३० प्रतिशत हो।
बदलिँदो यथार्थ
जनसंख्या प्रतिस्थापनभन्दा कम दरमा सन्तान उत्पादन भइरहेका देशमा समेत कुल जनसंख्या वृद्धि हुनुमा अन्तर्राष्ट्रिय आप्रवासनको दर उच्च रहनु नै कारक देखिन्छ। तर कालान्तरमा यसले सिंगो विश्वको जनसंख्या वृद्धिको दर घटाउने प्रमुख कारकका रूपमा भूमिका खेल्नेछ।
सन्तान उत्पादन गर्ने उमेर भएका युवा जनसंख्याको विशाल हिस्सा आप्रवासनमा जाँदा त्यसले नयाँ भूगोलमा गएर आफूलाई व्यवस्थित गर्ने, शिक्षा, रोजगार लगायत प्राथमिकताको उल्झनमा पर्दा विवाह र सन्तान उत्पादनको दरमा व्यापक गिरावट आउने देखिन्छ।
महिलाहरू जति जति शिक्षित, रोजगार र स्वनिर्भर बन्दै जान्छन्, उति नै तीव्र गतिमा सन्तान उत्पादन दर पनि तीव्र मात्रामा घट्दै जाने देखिन्छ। गुटमाखर इन्स्टिच्यूटले गरेको अनुसन्धानअनुसार विकासोन्मुख देशका २० करोडभन्दा बढी इच्छुक महिलाहरू परिवार नियोजनका साधनको पहुँच या त्यसको साइड इफेक्टको डर, अनेकन सामाजिक, धार्मिक प्रचलनको कारणबाट परिवार नियोजनका साधनको प्रयोगबाट वञ्चित छन्। उनीहरू गर्भवती हुन चाहँदैनन् तर परिवार नियोजनका साधनको अभाव, यसको सम्भावित असर, धार्मिक/सामाजिक रूढी आदिका कारण सन्तान उत्पादन गरिरहेका छन्।
महिलाहरू शिक्षित, रोजगार र स्वनिर्भर हुनासाथ परिवार नियोजनका साधनमाथि उनीहरूको पहुँच र त्यसको प्रयोगको निणर्य तीव्र हुनेछ। यसले सन्तान उत्पादनको दर अत्यधिक कम हुनेछ। कतिपय देशले लिएको सीमित सन्तानको राष्ट्रिय नीतिले समेत सन्तान उत्पादनको दरमा फेरबदल भइरहेको छ। चीन, जापान, कोरिया, थाइल्यान्डजस्ता देशमा जनसंख्याको आकारमाथि पटकपटक नीतिहरू फेरबदल भइरहेका छन् र त्यसले सिंगो मानव जनसंख्याको आकारमाथि प्रभाव पारेको छ।
जनसंख्यामा सम्पन्न गरिब राष्ट्र
सात अर्बबाट आठ अर्ब पुग्दा बढेको एक अर्ब जनसंख्याको सत्तरी प्रतिशत न्यून या न्यून–मध्यम आय भएका देशहरूबाट थपिएका छन्। विश्व जनसंख्या कोषको वेबसाइटमा राखिएका सामग्री विश्लेषण गर्दा यिनै देशबाट अब बढ्ने एक अर्ब जनसंख्यामा ९० प्रतिशत योगदान हुने देखिन्छ। निसन्देह उप-सहारा अफ्रिका र प्राचीन भारतीय उपमहाद्वीपको वर्तमान भूगोलबाट जनसंख्याको यो बढोत्तरीमा विशाल योगदान हुने देखिन्छ।
आज रहेको जनसंख्या ८ अर्बबाट बढेर सन् २०५० सम्म ९.७ अर्ब पुग्दा बढेको जनसंख्याको आधाभन्दा बढी हिस्सा ८ वटा देशले ओगट्नेछ। भारत, पाकिस्तान, फिलिपिसन्स, नाइजेरिया, कंगो, इथियोपिया, तान्जिनिया, इजिप्टले त्यसरी बढेको जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने राष्ट्रसंघीय जनसंख्या कोषले प्रक्षेपण गरेको छ।
कोषका अनुसार आउने शताब्दीमा बढ्ने आधा जनसंख्याको हिस्सा आजको तुलनामा सन्तान उत्पादन दर अर्थात् प्रजनन दर घट्दा पनि अफ्रिकी उप–सहारा क्षेत्रले नै ओगट्नेछ। यताका केही दशकमा कायम उच्च सन्तान उत्पादनको प्रवृत्तिले अफ्रिकी उप–सहारा क्षेत्रको जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा २५ वर्षभन्दा कम उमेरकाले ओगटेको छ। यसले विशाल संख्या सन्तान उत्पादनको सम्मुखमा रहेको देखिन्छ।
विकासोन्मुख देशहरूमा हाल जनसंख्या वृद्धिदर व्यापक भए पनि त्यहाँको जनघनत्व ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा केन्द्रित भइरहेको छ। मानिसहरू अकल्पनीय संख्यामा ग्रामीण क्षेत्रबाट सहरी या सहरोन्मुख क्षेत्रमा बसाइँ सरिरहेका छन्। सहरी क्षेत्रबाट भने अर्को देशतिर बसाइँ सर्ने क्रम तीव्र भएको छ।
०००
होमो सेपियन्स परिवारको आठ अर्ब सदस्यको आधारभूत आवश्यकता पूरा गर्ने गरी स्रोत र साधनको न्यूनतम व्यवस्था गर्न हाम्रो पृथ्वीको स्रोत र साधनले मात्रै नथेग्ने अवस्था सिर्जना भएको छ। सन् २०५० सम्म बढेर पुग्ने जनसंख्याको माग पूर्ति गर्न २.५ वटा पृथ्वीको स्रोत आवश्यक पर्ने आकलन गरिएको छ। अहिल्यै पनि ८ अर्ब मानिसका आधारभूत आवश्यकता पूर्ति गर्ने गरी स्रोत व्यवस्थापन गर्न दुईवटा पृथ्वीको प्राकृतिक स्रोतले पनि नथेग्ने अवस्था आइसकेको अध्येताहरूले सचेत गराइरहेका छन्।
निरन्तर बढिरहेको जनसंख्याले पृथ्वीमा मौजुद अन्य प्राणीहरूको अत्यधिक खपत/दुरूपयोग हुने, जलवायु परिवर्तनको दर तीव्र बन्दै जाने, चराचुरूंगी, जीव-जनावर, वनस्पति, मानिस लगायतको बसोबास स्थल विनाश हुँदै जाने अवस्था सिर्जना हुनेमा समेत विज्ञहरूले सचेत गराएका छन्।
खासमा समस्या भनेको आजको जनसंख्यालाई पृथ्वीको स्रोत र साधनले थेग्दैन भन्ने पनि होइन। मुख्य समस्या स्रोत र साधनहरूको असमान वितरण हो। स्रोत र साधनमाथि मानिसहरूको पहुँचको हो। निश्चित मानिसहरूसँग,देशसँग असीमित स्रोत र साधनहरूको स्वामित्व केन्द्रीकरण हुने र विशालतम जनसंख्याले भने आधारभूत स्रोत र साधनमाथि समेत पहुँच नपाउने अवस्था विद्यमान छ। यसले स्रोत र साधनमाथि पहुँच नभएकाहरूलाई अतिशय गरिबीको रेखामुनि बाँच्न विवश बनाइदिएको छ।
अत्यधिक जनसंख्या र सीमित देश, जनसंख्याले गरिरहेको उच्च उपभोगले वातावरणीय संकट सिर्जना भइरहेको छ। आउने दिनहरूमा जलवायु परिवर्तन, जैविक विविधताको विनाश, स्रोतको कमीजस्ता वातावरणीय उच्च संकटबाट मानव समाज थप प्रताडित हुनेछ। यसको कारकका रूपमा तीव्र गतिले बढिरहेको मानव जनसंख्यासँगै मानिसहरूले गरिरहेको उच्च उपभोग र स्रोत र साधनको अधिकतम दोहन र केन्द्रीकरण नै रहनेछ।
हरेक वर्षजसो हामीले पृथ्वीमा ८ करोड सदस्य (जनसंख्या) थप गरिरहेका छौं। यसको परिणाममा हाम्रो जनसंख्या यति ठूलो भएको छ, यसको सामना गर्न, यसलाई थेग्न पृथ्वीले (स्रोत, साधनले) संघर्ष गर्नुपरिरहेको छ।
एउटा स्थानको स्रात र साधनले या एउटा स्थानमा संशोधन र प्रशोधन गरी परिचालन गरिएको स्रोत र साधनले नथेगेपछि मानिसहरू अलिक सजिलो जीवन निर्वाहको थाक्रो खोज्दै एक स्थानबाट अर्को स्थानमा भौंतारिने क्रम पनि तीव्र भइरहेको छ। एउटा ध्रुवबाट अर्को ध्रुवमा आप्रवासनका लागि लाम लागेर गइरहेका मानिसको ताँती सत्तरी हजार वर्षयताको मानव समाजको इतिहासकै सबभन्दा ठूलो संख्याको रेकर्ड बनिरहेको छ।
संयुक्त राष्ट्रसंघीय आप्रवासन सञ्जालको आकडाअनुसार विश्वभर झन्डै २८ करोड ५० लाख मानिस आप्रवासनका लागि एउटा भूगोलबाट अर्को भूगोलमा भौंतारिएका छन्। कति रोजगारीका लागि, कति शिक्षाको बहानामा त कति देशै बदल्ने आकांक्षाका साथ। रोजगारीका लागि आप्रवासनमा गइरहेकाहरूको संख्या १६ करोड ४० लाख छ। यसमा वैदेशिक रोजगारीका लागि खाडीका देश ताकेर बत्तिएकादेखि संसारभर अवसर र रोजगारीका लागि या तैबिसेक जिन्दगीको बाटो खोज्न भौंतारिएका नेपालीहरूको संख्या पनि समावेश छ। विश्वको कुल जनसंख्याको ३.१ प्रतिशत मानिस आजका दिनमा आप्रवासनका लागि चलायमान भइरहेका छन्।
एउटा अनौठो र रोचक संयोग लगभग सत्तरी हजार वर्षपछि फेरि दोहोरिइरहेको छ। आज अफ्रिका बाहिरको जति पनि जनसंख्या छ, त्यसको पुर्खा करिब सत्तरी हजार वर्षअघिसम्म एउटै थियो। सत्तरी हजार वर्षअघि अफ्रिकाबाट निस्किएर समयकालमा आधुनिक मानव संसारभर आबाद गुल्जार गराउन छरियो। अफ्रिकाबाट निस्किएपछि आधुनिक मानव मध्य तथा दक्षिणपूर्वी एसियामा आइपुग्यो र त्यहाँबाट फेरि विस्तारित भएर बाँकी विश्वमा पुग्यो भन्ने प्राग-आनुवांशिक अनुसन्धाताहरूको भनाइ छ।
अहिले चलिरहेको मानव आप्रवासनले ठ्याक्कै त्यही दृश्य दोहोराइरहेको देखिन्छ। अहिले आप्रवासनमा निस्कने सबभन्दा ठूलो संख्या अफ्रिकी उपसहरा क्षेत्रको छ भने त्यसपछिको विशालतम संख्या मध्य तथा दक्षिणपूर्वी एसियाको रहेको अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी अध्ययनहरूले देखाएका छन्।
नेपाल हिँडिरहेको बाटो
नेपालको सन्दर्भमा हेर्दा पहाडी ग्रामीण बस्ती रित्याउने तवरले आन्तरिक बसाइसराइ मैदानी भेगमा या पहाडी भेगकै पनि सहरी या सहरोन्मुख क्षेत्रमा व्यापक भइरहेको छ। पहिले घरैपिच्छे हैसियतअनुसारको देशमा रोजगारी या शिक्षाका लागि अस्थायी तवरले बाह्य देशमा आप्रवासनमा जाने। दु:खसुख अलिक रेमिट्यान्स जम्मा गरेपछि भिराला पहाडी पाखाबाट अलिक सहरोन्मुख बस्तीतिर या मैदानी भेगका भित्री पातला बस्तीतिर बसाइँ सर्ने प्रवृत्ति व्यापक भएको छ। ग्रामीण क्षेत्रमा बाध्यता र निरन्तरताको जेलाइमा परेर रोकिएको बा पुस्तापछि विशालतम पहाडी बस्तीहरू मानवविहीन हुने दिशातिर अग्रसर छ।
सहरी या ठूला सहरी क्षेत्रका युवा पुस्तामा भने सम्पन्न र विकसित भनिएका देशहरूमा शैक्षिक आवरणमा आप्रवासनमा जाने प्रवृत्तिको ‘महामारी’ चलेको छ। यो महामारी फैलाउन ग्रामीण क्षेत्रले पनि सहरी प्रवृत्तिलाई आफ्नो क्षमताअनुसार पछ्याइरहेको छ। पछिल्लो एक दशकमा चलेको आप्रवासनको यो दर यही गतिमा जारी रहे सन् २०५० सम्म आजका ठूला सहरी भागहरूबाट आजको जनसंख्या विस्थापित भइसक्ने र त्यसको स्थान आजका सहरोन्मुख स्थानमा रहेका मानिसहरू त्यहाँबाट उठेर आएर भर्ने देखिन्छ।
समग्रमा हेर्दा ग्रामीण भेग रित्तिने छ। सहरी इलाका आजको गाउँजस्तो ज्येष्ठ नागरिकको मात्रै थलो बन्ने (आज रहेको जनसंख्यामा थप बाहिरी इलाकाबाट बसाइसराइमा आउने जनसंख्या नहुने हो भने) देखिन्छ। गाउँ रित्तिएर सहरोन्मुख भेग ठूला सहरी क्षेत्रमा रूपान्तरण हुनेछ। ती इलाका पनि बिस्तारै रित्तिएर ठूला सहरी क्षेत्रमा केन्द्रित हुनेछ। कर्णाली र सुदूरपश्चिमका भूगोलको हकमा यो प्रक्रिया दुई दशक ढिलो हुनेछ। तर, ढिलोचाँडो त्यो भूगोलले पनि यही बाटो समात्नेछ।
आजसम्म वैदेशिक रोजगारीका नाममा विशालतम संख्या भारत जान्छ, कर्णाली र सुदूरपश्चिमबाट। अबको एक दशकमा त्यो संख्या आज अन्य भेगबाट गएको लाम समात्दै खाडीतिर सोझिनेछ। त्यसको दुई दशकपछि यो भूगोलको जनसंख्याले पनि पहिलो विश्वतिरै आफ्नो बाटो सोझ्याउनेछ। अहिले खाडीतिर लाम लागेकाहरूको सन्तानले डेढ–दुई दशकभित्र अस्ट्रेलिया, जापान, युरोप, अमेरिका, क्यानडा, चीनजस्ता देश ताक्नेछ। आज पहिलो विश्व पुगिसकेकाहरूले दुई दशकभित्रै उतै स्थायी थातथलो बनाउने काम फत्ते गरिसकेका हुनेछन्।
यो प्रक्रिया तीव्र हुँदै उत्कर्षमा पुग्दा कर्णाली र सुदूरपश्चिममा सन् २०५० सम्म अनेकन सहरी इलाकाको विस्तार हुनेछ। अग्ला उचाइका पहाडी भेगहरू मानिसले परित्याग गरेको बस्तीमा बदलिने छन्। धनगढी, सुर्खेत, कोहलपुर, दाङ, बुटवल, चितवन, हेटौंडा, सिमरा, बर्दिवास, लालबन्दी, विराटनगर, इटहरी, दमकजस्ता अहिलेका सहरले बढ्दो आन्तरिक आप्रवासनको वेग थेग्न नसक्ने काठमाडौंजस्ता सहर बन्न डेढ दशक समय पनि लाग्ने छैन।
गण्डकी, बागमती र प्रदेश १ का हिमाली या उच्च पहाडी बस्तीहरूमा पर्यटनमा संलग्नबाहेकको जनसंख्या अबको तीन दशकमा त्यहाँबाट सत्तरी प्रतिशतले निख्रनेछ। त्यसको वेग पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणका समथर भेगमा अत्यधिक मात्राले पर्नेछ।
आजसम्म उक्त मैदानी भेगमा अलि अलि भए पनि जति खेतीयोग्य जमिन छ, सन् २०५० सम्म उक्त खेतीयोग्य जमिनको साठी प्रतिशत जमिनमा घरहरू ठडिनेछन्। आजकै सरकारी नीति र आप्रवासनको प्रवृत्ति कायम रहे सन् २०५० सम्ममा नेपाल नब्बे प्रतिशत खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुग्नेछ। यति त तथ्यांकशास्त्रको विद्यार्थी नभए पनि भन्न सकिन्छ।
सन् २०६० सम्म नेपालमै रहने जनसंख्यामा युवाहरूका तुलनामा ज्येष्ठ नागरिकको संख्या दोब्बर हुनेछ। अत्याधिक संख्याका सहरी घरहरूसमेत विदेशिएका सन्तानको बाटो हेरेर बुढ्यौलीको कहर खेपिबसेका ज्येष्ठ नागरिकले कुरिबसेका हुनेछन्, जसरी आज सहर पसेका सन्तानको बाटो हेरेर दुर्गम ग्रामीण भेगमा जीवनको कहर खेपेर बसिरहेका छन् ग्रामीण बाआमाहरू।
संयोगवश सन् २०६० तिरको त्यो विशालतम संख्या आज तीसदेखि चालीसको उमेर आसपास रहेका तपाईं-हाम्रै हुनेछ। हाम्रा सन्तानहरू यो देशमा उभिइरहेका हुने छैनन्। आजको दिनमा शैक्षिक प्रमाणपत्र, नागरिकता, लाइसेन्स, पासपोर्ट आदि इत्यादि लिने लाइनमा बस्दाबस्दै हाम्रा सन्तानहरू यति थाकिसकेका हुनेछन्, उनीहरूमा यो देशमा थप उभिने आत्मबल बाँकी रहने छैन। त्यसमाथि बेरोजगारीको थकानले भविष्य सुरक्षाको बाटोतिर घचेट्नेछ। घचेट्दै घचेट्दै उनीहरूलाई देश बाहिर हुत्याउनेछ।
त्यही थकान बोकेर आजै पनि विशाल संख्यामा नेपालीहरू विदेशिइरहेका छन्। एक दशकमा यो प्रवृत्तिले वेग हान्नेछ। आजको दिनमा प्लस-टू सकेका सयमा नब्बे विद्यार्थी यो देशमा अडिने आत्मभरोसासहित हुर्किरहेको छैन। एक दशकपछि देशको यही अवस्था निरन्तर रहे सयमा अन्ठानब्बे उच्च मावि तह उतीर्ण विद्यार्थी यो देशमा अडिने अभिलाषासहित हुर्किरहेको हुने छैन। अभिलाषालाई आकार दिने सामर्थ्य कतिले राख्नेछन्, त्यो बेग्लै कुरा हो।
नेपालमा बाह्य आप्रवासनको तीव्रता देशमा माओवादीले हिंसात्मक राजनीति सुरू गरेपछि अकल्पनीय ढंगमा बढेको देखिन्छ। हिंसात्मक राजनीति सुरू हुनुअघि सन् १९९४ मा सत्ताइस हजार मानिस रोजगारी, शिक्षा या अन्य बहानामा आप्रवासनमा गएकोमा युद्ध सुरू भएपछि सन् १९९८ मा एक लाख नौ हजार पुग्यो। त्यो मात्रा बर्सेनि बढ्दै गएर सन् २००५ मा दुई लाख ९५ हजार पुग्यो। शान्ति प्रक्रियापछि पनि आप्रवासनको दर घटेको छैन।
माओवादी हिंसाले ग्रामीण क्षेत्र रित्याएपछि र वैदेशिक रोजगारी र पलायनको प्रवृत्तितिर जनसंख्यालाई अभ्यस्त गराएपछि आप्रवासनको बाटो ठेलमठेल भइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूको भीडले नै रोजगारी, शिक्षा या अन्य बहानामा आप्रवासनमा जानेहरूको बढोत्तरीको सामान्य संकेत गरिरहेकै छ।
सन् २०१३ मा तीन लाख त्रिहत्तर हजार रहेको आप्रवासनमा जानेहरूको संख्या २०१९ मा आइपुग्दा चार लाख पुगेको थियो। कोरोना कालयता भने यसको संख्यामा व्यापक गिरावट आएको छ। माथिको बाह्य आप्रवासनमा गएकाहरूको संख्यामा वैदेशिक रोजगारीका लागि भारत गएकाहरूको संख्या उल्लेख छैन।
यसो किन भइरहेको छ भने पृथ्वीको प्राकृतिक स्रोत र साधनको उपयोग, सदुपयोग र दुरूपयोग (शोषण र दोहन) मा नेपालजस्ता देशहरू पछाडि छन्। स्रोत र साधनको अत्यधिक उपयोग (दोहनको हदमा) गरेर सम्पन्न भएका देशहरूका मानिसको जीवनस्तरप्रति विपन्न देशका मानिसहरूमा चरम भोक बढिरहेको छ। त्यही भोक समन गर्न विपन्न देशका मानिसहरूमा सम्पन्न भनिएका देशहरूतिरको आकर्षण तीव्र छ। आप्रवासन तीव्र छ।
सम्पन्नताको भोकले डामिएको समाजमा मानिस मालमा परिणत भएको छ। वस्तुको एकल एकाइमा विभक्त भएको छ। यसले सामाजिकताबाट अलगथलग पारेर व्यक्तिलाई एक्लो बनाइरहेको छ। समाजमा बसेको छ, तर एक्लो छ। मानिसको ठेलमठेल भीडमा छ तर त्यो भीडमा पनि ऊ एक्लै छ। यसले सम्पन्न भनिएका देशमा चरम मानसिक समस्याबाट गुज्रने जनसंख्याको पैमाना अकल्पनीय तवरले विशाल हुँदै गइरहेको छ।
एकातिर मानिसले गरेको पृथ्वीको चरम दोहन (यो दोहनको मात्रा देश, भूगोल, संख्याअनुसार फरक छ) ले पृथ्वीमा रहेका मानिसबीच मात्र होइन, अन्य प्रजातिमा समेत कोलाहल मच्चाएको छ। शक्तिसम्पन्न राष्ट्रले गरेको चरम दोहनको असर अन्डमानका आदिवासीहरूले मात्र होइन, नेपालका आदिवासीले समेत भोग्नुपरेको छ। चरम जनसंख्या विस्तारको असरले असंख्य आदिवासीहरूको अस्तित्व लोप भएको छ भने कतिपय अस्तित्व संकटको चरम अवस्थामा पुगेका छन्। नेपालबाटै कुसुन्डाजस्ता आदिवासी जनसंख्या लोप हुन गएको छ भने राउटेहरू अस्तित्व संकटको डिलमा छन्।
भोजन, आवास, वातावरणीय संकट आदिले परम्परागत आदिवासीहरूले आफूलाई जोगाउन नसक्ने अवस्था सिर्जना भएको छ। मानिसको बढ्दो जनसंख्या र त्यसले गरेको चरम प्राकृतिक दोहनले आफूजस्तै मानिसलाई मात्र होइन, अनेकन जीव-जनावर, कीराफट्याङ्ग्रा, वनस्पतिहरूसमेत लोप भइसकेका छन् भने अरू कैयन लोपोन्मुख अवस्था सामना गरिरहेका छन्।
एकातिर बढ्दो जनसंख्याले पृथ्वीका सारा जीव-जनावर, वनस्पति, वातावरणमा कोलाहल मच्चाइरहेको छ भने अर्कातिर मानिस आफैंभित्र चरम कोलाहलको अवस्थाबाट मानसिक तनावको उत्कर्षमा छ। यसबाट निस्कन मानिसले प्रकृतिप्रतिको प्रेम, स्रोत–साधनको समुचित प्रयोग, उपभोगको पैमानाको न्यूनीकरण, सामाजिकीकरण र सामूहिकीकरणको बाटो समात्नु अनिवार्य छ। अन्यथा हामीले हाम्रा सन्ततिका लागि स्रोत र साधन निख्रिएर चरम तवरले टाट पल्टिएको पृथ्वी हस्तान्तरित गरिरहेका हुनेछौं।
त्यो अवस्थामा राष्ट्रसंघले प्रक्षेपण गरेकोभन्दा तल झर्ने गरी मानव जनसंख्याले भयानक संकट सामना गरिरहेको हुनेछ। पृथ्वीका सारा जीव-जनावर र वनस्पतिसमेत हामीले गरेको अत्याचारको मोल चुकाउन विवश भइरहेका हुनेछन्।