हिउँ पग्लिँदैछ। दिन लामा हुँदैछन्। चिसो गइनसके पनि मौसमले न्यानोतिर खुट्किला टेक्दैछ।
स्पर्शले ग्रीष्म ऋतुका लागि अब धेरै तयारी गर्नुछ। घर बनाउन उपयुक्त ठाउँ र चाहिने सामान खोज्नुछ। सबभन्दा ठूलो कुरा, गीत गाएर माया गाँस्नुछ।
ऊ त्यति राम्रो गायक भइसकेको छैन। धेरै सुरिलो स्वर भएका अरू पनि गायक छन्। उनीहरूलाई जित्न सक्दिनँ कि भन्ने उसलाई पिर छँदैछ।
तर, ऊ राम्रो घर बनाउँछु भनेर लाग्यो। त्यसको निम्ति सबभन्दा पहिले एउटा प्वाल खोज्नुपर्यो।
स्पर्श भँगेरा हो। भँगेराले जहाँ पायो त्यहाँ गुँड बनाउँदैन। कतै पहिल्यै भएका प्वालहरू चाहिन्थ्यो। जस्तो घरका इँट्टामा भएका वा अरू कुनै खोपी। प्वाल भएर मात्र हुँदैन, त्यो ठाउँ आसपास पोथी भँगेरा धेरै हुनुपर्यो। खाना खोज्न पनि सजिलो हुनुपर्यो।
गुँड बनाउने बेला नै उसले सोच्नुपर्छ, कसैगरी माया बसिहाल्यो भने, घरजम भइहाल्यो भने चल्ला हुर्किँदासम्म टन्नै कीरा-फट्यांग्रा चाहिनेछ।
स्पर्श त्यस्तो ठाउँ खोज्दै कहिले यता कहिले उता बत्तिइरह्यो।
त्यस्तो ठाउँमा गीत गाउन जान्ने अर्को 'नर' पुगिसकेको छ भने योजना फेल खान्थ्यो। नर भनेको वयस्क भँगेरा हो, जो पोथी फकाउन सिपालु भइसकेको हुन्छ। भँगेरीले नरलाई नै बढी मन पराउँछे भन्ने स्पर्शलाई थाहा छ।
गुँडको खोजीमा भौंतारिएको स्पर्शले केही दिनको मेहनतपछि भित्तामा टाँसिएको एउटा काठको बट्टा भेट्यो। बट्टा वरिपरि गाईगोठ र खेत पनि छ।
स्पर्शले सोच्यो- यहाँ गुँड बनाए राम्रै होला!
गुँड बनाउने निश्चितताले स्पर्शलाई झनै उत्सुक बनायो।
ऊ त्यहाँबाट भुर्र उड्यो। एउटा रूखको हाँगामा बस्यो र बलियो गुँड बनाउनेबारे गम्यो। घाँसे मैदान वा चउर वरिपरि छ कि छैन, हेर्नुपर्यो। त्यहाँ सुकेका घाँस वा काँसका त्यान्द्रा पाइएलान्! ऊ खोज्न खेततिर उड्यो।
'ए जानुपर्ने त घाँस भएको चउरतिर थियो' भन्ने सम्झेर फेरि फर्कियो। अर्को दिशातिर दस मिनेटजति उडेपछि खोला किनारमा घाँसे मैदान देख्यो।
त्यहाँबाट उसले चुच्चोले च्यापेर काँसका केही त्यान्द्रा उठायो। लगेर गुँड बनाउन लागेको प्वालमा खसाल्यो। गुँड बनाउन मिल्नेजति त्यान्द्रा ल्याउँदा आधा दिन लाग्यो। अब तिनलाई समेटेर गुँडको आकार बनाउनुछ।
उसले सुरूमा चारवटा त्यान्द्रा 'क्रस' पारेर ओच्छ्यायो। त्यसपछि अरू त्यान्द्रा टाँड पार्यो। तिनलाई उठायो, बीचबीचबाट अरू त्यान्द्रा ठड्याउँदै बेर्दै गयो।
काँसको गुँडभित्र नरम-नरम पराल ओछ्याउने सोच्यो। अब पराल खोज्न खेत छेउछाउतिर जानुपर्ला!
काँस र परालको गुँड गजबकै देखिएला भन्ने कल्पेर दंग पर्यो।
गएको साल उसको पहिलो वर्ष भएकाले राम्ररी गुँड बनाउन सकेको थिएन। यो वर्ष भने ऊ सबै कुरामा निपूण हुने गरी प्रेरित छ।
सजिलो कत्ति नभए पनि गुँड बनाउन ऊ पछि पर्नेवाला छैन। सबभन्दा राम्रो गुँड मै बनाउँछु भनेर कस्सिएको छ। तर यो पहिलो खुट्किला मात्र हो। गुँड बनिसकेपछि त्यहाँ बसेर गीत गाउन बाँकी नै छ।
भँगेराका लागि गीत गाउनु प्रजनन् सफलताको पहिलो र महत्वपूर्ण खुट्किला हो। भँगेराहरू 'सङ बर्ड' वा गीत चरामा पर्छन्। उसको 'भोकल कर्ड' धेरै विकसित भएको हुन्छ। सामान्य रूपमा भन्नुपर्दा तिनले राम्रो गीत गाउन सक्छन्। राम्रो गाउन नसके भँगेरी गुँडमै आउँदिन। ऊ आइन भने त्यत्रो गुँड बनाउन लगाएको ऊर्जा सत्यानास हुनेछ।
यस्तो डरले बेला बेला स्पर्श पनि झस्किरहन्छ। फेरि आफूलाई सम्झाउँछ- यसपालि त मेरो गुँड हरिप बन्ने छ।
गुँड बनाउँदा बनाउँदै कल्पनामा फसेको स्पर्शले बल्ल चाल पायो, दिनभरि केही खाएकै छैन। थकाइ बेस्मारी लागेको छ।
'आफ्नी प्रियसी भएको भए हरियो खेतमाथि डुल्न सँगै जान हुन्थ्यो। खोज्न हुन्थ्यो फट्यांग्रा। त्यो बेला त यति धेरै थकाइ पनि लाग्दैनथ्यो कि!' भन्ने सोचाइ उसको मनमा टुंग आइहाल्यो।
त्यो दिन आउन धेरै समय छैन भन्ने सोचेर उसको शरीर फेरि फुर्तिलो भइहाल्यो। ऊ भुर्र उड्यो।
साँझतिर उसले खेततिर भेटिएका फट्यांग्रा खाएर पेट भर्यो।
भोलिपल्ट झिसमिसेदेखि नै गुँड बनाउन लाग्नु थियो। गुँड सम्झिँदा उसले गीत पनि सम्झिन्थ्यो। उसले एकलट बनाउँदा बनाउँदैको गुँडमाथि बसेर गायो। यसपालि उसलाई आफ्नो स्वर निखारिएको जस्तो पो लाग्यो! अनि आफ्नै स्वर सुनेर दंग पर्दै गाइरह्यो। गाउँदा गाउँदै थाकेर ऊ सुत्यो।
भोलिपल्ट बिहानैदेखि सानो शरीरको सबै बल लगाएर बिहानभरी परालका राम्रा त्यान्द्रा खोज्यो। तिनलाई गुँडसम्म ओसार्न थाल्यो।
घरिघरि ऊ बनाउँदा बनाउँदैको गुँडमाथि थकाइ मार्थ्यो। त्यति बेला उसले आफ्नो छिमेकी गुँड हेर्थ्यो। कोही रहेनछ जस्तो लाग्यो भने भुर्र उडेर छिमेकीको गुँडतिर जान्थ्यो। भित्र छिर्थ्यो र हेर्थ्यो। छिमेकीले कस्तो गुँड बनाएको छ भनेर हेर्न उसलाई जरूरी छ। अरूको गुँड राम्रो भए त भँगेरीले आफूलाई रोज्दिन भन्ने उसलाई थाहा छ।
आफूले मेहनत नगरे भँगेरीले अर्कैलाई रोज्छे भन्ने उसले जन्मैदेखि सिकेर आएको हो। भँगेरीले नरमा अरू धेरै कुरा हेर्छे भन्ने उसले विस्तारै थाहा पाउँदै गयो। जस्तो छातीमा हुने कालो दाग (जो टेस्टास्टरोन हर्मोनले कायम राख्छ) कत्तिको चम्किलो छ, प्वाँखहरू कत्तिका राम्रा छन्, शारीरिक गुण कस्तो छ, राम्रो भएका नरले पक्कै खाना पनि राम्रो खोज्छन्, तिनमा जिन पनि राम्रो हुन्छ। यी सबै कुरा हेरेर, विचार गरेर मात्र पोथीले नर छान्छन्।
गएको वर्षको अनुभवबाट स्पर्शले धेरै कुरा सिकेको थियो।
उसले पहिलोपटक गीत गाउन सिकेको थियो। गुँड पनि पहिलोपटक नै बनाएको थियो। दुवै कुरा गर्न नजान्दा धेरै समय ऊ एक्लै पर्यो। तर उसले त्यही वर्ष पहिलो माया गाँसेको पनि थियो।
कति कुरा त उसले जान्दै जानेन। उसँगै घर बसाएकी भँगेरीको पनि पहिलो माया थियो। दुवैले निकै दुःख पाए। घर बसाउन त मौसम तातो हुँदासम्म कुर्नुपर्थ्यो। कीरा-फट्यांग्रा सक्रिय हुँदासम्म धैर्य गर्न सक्नुपर्थ्यो। तर दुवैलाई यी कुराको हेक्का भएन।
तातो मौसम नभएकाले उनीहरूका अन्डाले पर्याप्त न्यानो पाउन सकेका थिएनन्। चिसो भएर चल्ला बन्न चाहिने पर्याप्त आन्तरिक विकास नै हुन पाएन। उनीहरूले दोस्रोपटक पनि प्रयास गरे। त्यति बेला पर्याप्त तापक्रम त थियो तर बच्चालाई खुवाउने कीराकिरी धेरै हुने बेला भएको थिएन। भँगेराहरू 'ह्याच' भएदेखि १२ दिनमा उड्न सक्ने हुन्छन्। तर उनीहरूले उचित आहार पाउनुपर्छ। त्यसो नभए चल्ला बाँच्न नसक्ने सम्भावना बढ्छ।
हुन त भँगेराहरू जे खाएर पनि बाँच्ने पंक्षी हुन्। यस्ता पंक्षीलाई विज्ञानको भाषामा 'जेनरलिस्ट' (सामान्य) भनिन्छ। कुनै विशिष्ट आहार जरूरत हुने भएको भए वैज्ञानिकहरूले स्पेसलिस्ट (विशेष) वर्गमा राख्ने थिए।
भँगेराहरू जे पनि खाएर बाँच्न सक्ने भएकैले जस्तो ठाउँमा पनि बाँच्न सकेका हुन्। नभए त एसियाका आदिवासी भँगेरा संसारका धेरै ठाउँमा पुग्न सक्ने थिएनन्।
तर, भँगेराका चल्लालाई जे पनि भएर हुन्न, कीरा-फट्यांग्रा नै चाहिन्छ। त्यसैले कीरा-फट्यांग्रा सक्रिय हुने बेलासम्म नकुरी अन्डा पार्न वा चल्ला हुर्काउनतिर लागे ह्याच हुने बेलासम्म खुवाउने कुरा हुँदैन।
गुँड बनाउनेदेखि चल्ला हुर्काउने बेलासम्म प्रत्येक पल होसियार हुनुपर्दो रहेछ भन्ने स्पर्शले त्यही बेला जानेको थियो। भँगेराको जिन्दगी अर्थपूर्ण बन्न गुँड बनाएर भँगेरी पाएर मात्र हुन्न रहेछ। चल्ला हुर्काएर, गुँड छोड्ने बनाएर, आउने जाडो याम कटाएपछि अर्को वर्ष फेरि बच्चा पाउनसक्ने हुनुपर्ने रहेछ। अनि बल्ल पो सफल भइने रहेछ!
फेरि जिन्दगीमा यो सफलता एकपटक भएर हुँदैन रहेछ। आफ्नो जिन फैलिने गरी निरन्तर सफल भइरहनुपर्ने। त्यसलाई निरन्तरता दिएर, बच्चाहरू हुर्काएर ठूलो बनाएर राख्न सक्नुपर्ने। र, यो सानो मेहनतले हुँदा पनि हुँदैन।
यो कुरा पोहोरै सिकेको भएर स्पर्श अहिले पूरै खटिएको छ।
उसले विस्तारै काँस र पराल बुनेर गुँड बनायो। बनिसकेपछि वरिपरि हेर्यो। मान्छेको जस्तो 'फ्यान्सी' नभए पनि उसको घर कत्ति कम थिएन। ऊ मख्ख पर्यो।
'हेरम न त, कोही आइ हाल्छ कि!' यस्तो सोच्दै ऊ गुँडमा बसेर गाउन थाल्यो।
एक घन्टा बित्यो, दुई घन्टा बित्यो, तीन घन्टा...
उसलाई कसैले चासो दिएन। न कसैले गुँडतिर फर्केर नै हेर्यो। उसको छिमेकीको घरमा दुई भँगेरी आएर गइसकेका थिए। यसपालि पनि मेहनत खेर जाने भयो भनेर ऊ निराश हुन थाल्यो। हिम्मत भने हारिसकेको थिएन।
दिउँसो चराहरू खासै सक्रिय हुँदैनन्। ऊ पनि विश्राम गर्नतिर लाग्यो। सोच्यो- साँझतिर फेरि गाउँला!
ऊ यसपालि धेरै आश्वस्त देखिन्थ्यो। उसका प्वाँख धेरै चम्किला र राम्रा भएका थिए। उसलाई गाउन सक्दिनँ कि भन्ने चाहिँ थियो। हिजोदेखि भने आफ्नै स्वर खुब मन परिरहेको छ।
ऊ निरन्तर आफ्नो गुँडमाथि बस्थ्यो र वरिपरि हेर्थ्यो। साँझ पर्नुअघिको कुरा हो। केही पर उसले एउटा रातो चिज हावामा उडिरहेको देख्यो। मानिसले फालेका प्लास्टिक होला भनेर ऊ टोलाउन थाल्यो। एकै छिनमा अर्कोतिर पनि त्यस्तै रातो चिज उडेको देख्यो। यसपटक भने त्यो के रहेछ भनेर जान्ने मन भयो। गुँडबाट उड्यो।
नजिकै पुग्दा उसले थाहा पायो, त्यो पुतली रहेछ। हावाको वेग जित्न खोज्दै पुतली निरन्तर पखेटा हल्लाउँदै उडिरहेको थियो। निलो आकाशको पृष्ठभूमिमा रातो पुतली पखेटा फरफराउँदै उडेको देख्दा स्पर्शलाई रमाइलो लाग्यो। पुतली हुन पाए पनि रमाइलै हुन्थ्यो होला भनेर सोच्दै ऊ पनि एकछिन हावामा कावा खायो।
कल्पनामा दंग परेर बरालिने समय ऊसँग थिएन। गुँडमा फर्कियो। आफ्नै सुर, आफ्नै लयमा गाउनु थियो।
चिर्र...चिर्र...चिर्र...
दिन ढल्किन लागेकाले हावा पनि स्वारस्वार गर्दै बेपत्ता हुँइकिरहेको थियो। स्पर्श बेलाबेला त्यही हावाको वेगमा मिसिएर चिर्रचिर्र गर्दै परसम्म पुग्थ्यो। फेरि फर्किन्थ्यो। गुँडमा बसेर गाउँथ्यो। उसले जसलाई प्रतिक्षा गरेको थियो, ऊ को थिई?
आफ्नो गीत मन पराएर घर बसाउन आउने भँगेरी कस्ती होली भन्ने सम्झेर ऊ आत्तिन्थ्यो।
उसले यस्तो कुरा गुँडमा बसेर कल्पिरहेका बेला हावा पनि थामिएको थियो। यत्तिकैमा उसले देख्यो, कोही उसको गुँडतिर आउँदैछ।
ओहो! ऊ जून थिई। उसको गीत सुनेर उसको गुँड हेर्न आएकी भँगेरी!
जून आफूतिर आएको देखेर स्पर्शका खुट्टा लगलग काम्न थाले। उसले सुरूमा त जून आएकै हो कि भ्रम हो खुट्याउन सकेन। मान्छे भएको भए आफैंलाई चिमोट्दो हो।
एकछिन वाल्ल परेर हेरिरह्यो। जून उसकै गुँडअगाडि आएर बसी। ऊ अझै सोचमा डुबेर बसेको थियो। जूनको चिर्रचिर्र सुनेर झस्कियो। उसले आफैंलाई हेर्दै गरेको देखेर स्पर्शलाई के गरूँ गरूँ भयो। जून भने उसको गुँडतिर आँखा घुमाइ-घुमाइ नियाल्दै थिई।
'यसरी वाल्ल परेर हुँदैन, गीत गाउन पर्छ' भन्ने सम्झिन स्पर्शलाई केही बेर लाग्यो।
जब गीत गाउन खोज्यो तर आवाजै निस्किन्न त! के भएको?
ऊ चुप बसेको देखेर जून अरू गुँडतिर हेर्न थालिसकेकी थिई। त्यो देखेर स्पर्श अझै नर्भस भयो।
जून उड्न लागिसकी। ऊ दबाबमा पर्यो। त्यत्रो मेहनत उसले खेर फाल्नेवाला थिएन। एकैछिन बसेर लामो सास फेर्यो, अनि गाउन सुरू गर्यो।
यसपालि तिखै स्वर निस्कियो।
चिर्र...चिर्र...चिर्र...
सुनेर जून अडिई।
स्पर्श अझै उत्साहित भएर गाउन थाल्यो। उसलाई कस्तो गाउँदैछु भन्ने थाहा थिएन, त्यही पनि निरन्तर गाइरह्यो।
उसले सुरिलो स्वरमा, मिठो लयमा आजसम्म सिकेको जति सबै गीत गायो।
जून दंग परेर उसलाई हेर्थी। घरि गुँड हेर्थी। विस्तारै स्पर्शले जूनको आँखामा आँखा मिलाएर गीत गाउने आँट गर्यो।
ऊ जूनका आँखामा हराउनै लागेको थियो, ऊ त भुर्र उडी।
स्पर्श झस्कियो।
जून उसैको गुँडमाथि गएर बसी र वरिपरि नियाल्न थाली। एकछिन बाहिर हेरेर फुत्त गुँडभित्र पसी। भित्र के-कस्तो छ भनेर नियाल्न रहेछ। आफ्नो परीक्षा हुन लागेको थाहा पाएर स्पर्श एकछिन चुप लाग्यो र गुँडको प्वालतिर हेरेर बस्यो।
केहीबेर भित्र बसेर जून बाहिर निस्की।
स्पर्श बढो आशले उसलाई हेरिरहेको थियो। जून भने केही प्रतिक्रिया नदिई उडेर गई।
स्पर्शका आँखा जूनसँगै गए, ऊ कता जान्छे हेर्न। ऊ क्षणभरमै अलप भई।
उसले आफ्नो गुँड नियाल्यो, केही खोट देखेको थिएन। तर भँगेरीलाई के मन परेनछ कुन्नि!
अब छाडेर जानेलाई कतिन्जेल सम्झिनु र!
ऊ फेरि उदास हुँदै गाउन थाल्यो, जून गए पनि अरू कोही त आउली!
बिहानीपख भएकाले धेरै चराहरू सक्रिय देखिन्थे। छिमेकमै रहेको अर्को भँगेरा यताउता हेर्दै गाउँदै थियो। परपर अरू चराको आवाज पनि सुनिरहेको थियो। निलो आकाशमा फाट्टफुट्ट कालो थोप्लोझैं देखिने काग उड्थे त कहिले परेवाका बथान। कतै पर उसले बाज कराएको पनि सुन्थ्यो।
आकाश नियालेर ऊ फेरि गाउँदै थियो। कोही यतै आउँदै गरेको देख्यो।
त्यो त जून नै थिई।
यसपटक उसले आफ्नो चुच्चामा केही भुवाजस्तो जिनिस च्यापेकी थिई। ऊ गुँड नजिकै आई र उसलाई एकपल हेरी।
भित्र पसी।
गुँडको बनावट जूनलाई मनपरेको रहेनछ। आफूले ल्याएको भुवादार प्वाँख उसले स्पर्शले बनाएको गुँडमा सिउरी। अनि भित्र पसेर अलिअलि छरिएको पराल समेट्न थाली।
ऊ गुँड अझ राम्रो बनाउँछु भनेर पो गएकी रहिछे!
स्पर्श फुरूक्क पर्यो। नाच्दिऊँ कि क्या हो जस्तो भयो। उसले फुर्किँदै एकलट गीत गायो। तर उसका पखेटामा काउकुती लागेझैं भएर उड्यो। आकाशमा एकैछिन बत्तिइरह्यो।
धेरै फुर्किन पनि हुँदैन भन्दै ऊ फेरि गुँड फर्कियो। भित्र जून पराल मिलाउँदै थिई। उसले पनि सघायो। गुँड बाहिर पनि काँस यताउता फिँजारिएकै थियो। एक घन्टामा गुँड पहिलेभन्दा राम्रो देखियो।
यत्रतत्र भएको काँस र पराललाई मायाको सियोले गाँसेर गुँडलाई घरको स्वरूप दिएकी थिई जूनले।
गुँड बनाइसकेपछि जून थकाइ मार्न बसी। स्पर्शले गीत गाइदियो। जून मख्ख पर्दै स्पर्शलाई हेरिरही। अब त जूनको नजिक गए हुन्छ भन्ने कुरा उसले बुझ्यो। आफ्नो चुच्चोले मुसारेर जूनलाई माया गर्यो।
जून अन्डा पार्न तयार भई। वातावरण, कीराको संख्या अनि आफूले दिन सक्ने समयको हिसाब गरिसकेकी थिई। उसले मनमनै सोची होला- चारवटा अन्डा पार्न सक्छु।
स्पर्श मख्ख थियो। उसलाई थाहा थियो, अब खानेकुरा खोज्ने जिम्मा आफ्नै हो। ऊ बेलाबेला गुँडबाट निस्किन्थ्यो।
एकदिन फर्केर आउँदा उसले गुँडमा एउटा अन्डा देख्यो। खुसीले एकछिन उफ्रियो। रमायो।
यसपालि त आफ्ना बच्चा हुर्किन्छन् भन्ने उसलाई ढुक्क थियो। उसले केही कुराको कमी हुन दिएको थिएन। जून पनि धेरै मेहनत गरिरहेकी थिई।
स्पर्श बिहान वा साँझभर कीराको खोजीमा निस्किन्थ्यो। पहिले जूनका लागि खाना गुँडमा लिएर आउँथ्यो। अनि बल्ल आफू खान निस्किन्थ्यो।
अन्डा पारेपछि जून ओथारा बस्छे। अन्डा तातो राख्न उसले आफ्नो ज्यानले अन्डा छोपेर राख्नुपर्छ। पोथी चराको तल्लो शरीरमा रहेका प्वाँखरहित छालाले, जसलाई 'ब्रुड प्याच' भनिन्छ, अन्डा तातो राख्न सहयोग गर्छ। पोथीले आफ्नो शरीरको तातोपन त्यही छालाबाट अन्डासम्म पुर्याउँछन्।
अन्डा अलि समय मात्र चिसो भयो भने पनि खेर जान सक्छ। त्यसैले जून अब गुँडमै बसिरहन पर्छ।
स्पर्शले जूनलाई खुवाउने र संरक्षण गर्ने जिम्मा लिएको पनि त्यसैले हो। कहिलेकाहीँ भने स्पर्श पनि अन्डामा बस्थ्यो। त्यतिबेला जून बाहिर डुल्न निस्किन्थी।
१० दिनपछि...
चराहरू अन्डाबाट निस्किन सजिलो होस् भनेर भ्रुण अवस्थामा तिनको चुचोमा 'अन्डा दाँत' हुन्छ। जुन त्यो अन्डा फुटाउनलाई मात्र हुन्छ। जब चल्ला निस्किन तयार हुन्छन्, तब त्यो दाँतले अन्डाको खोल फुटाउँछन्।
एउटा अन्डाबाट चिँचीँ गर्दै चल्ला निस्केको देखेर जून र स्पर्श धेरै खुसी भए। यो उनीहरूको पहिलो सन्तान थियो।
अर्को दुई तीन-दिनमा बाँकी सबै चल्ला निस्किनेवाला थिए। दुवैको खुसीको सीमा थिएन। तर उनीहरूलाई डर पनि थियो, चार-चारवटा चल्लालाई नियमित अन्तरालमा खुवाउने कसरी?
दुवैको काम अब झन् बढ्दै थियो। एकछिन रमाएर स्पर्श फेरि कीरा खोज्नतिर लाग्यो। चार दिनपछि सबै चल्ला निस्किए। जून चल्लाहरूलाई तातो दिनमै व्यस्त भई। स्पर्श अझै धेरै समय कीरा समाउनतिर समर्पित भयो।
ऊ बाहिर गएर आउँदा चल्लाले एकसाथ चिँचीँ गर्दै आँ गर्थे। त्यति बेला बाबु हुनुको गर्वले उसलाई पखेटाले भन्दा ज्यादा उडाउँथ्यो। भुर्र...भुर्र...भुर्र...!
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)