‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला,’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखराको सार्बजनिक मञ्चबाटै आफूमाथि खतरा रहेको बताए।
प्रधानमन्त्रीको उक्त भनाईपछि सुरक्षा निकाय भित्र मात्र हैन बाहिर पनि एक किसिमको तरंग देखियो। हिजो खतरासँग खेलेका पूर्वसरकार प्रमुखलगायत पूर्वउच्च सुरक्षा अधिकारीका सुरक्षा घेरा साँघुर्याउँने निर्णय गरेका प्रधानमन्त्री स्वयं नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका करिब ३ सय सुरक्षाकर्मीको कडा चौघेराभित्र आफूलाई किन खतरा महशुस गरे होलान्?
करिब एक वर्ष अगाडिदेखि सिंहदरबार नगई बालुवाटारबाटै शासन चलाइरहेका प्रधानमन्त्रीको यो संकेत आफू वरपरका आफ्नै वर्गीय सहयोद्दाबाटै मडारिएको कालो बादलप्रति हो कि!
आजभन्दा करिब ७५ वर्ष अगाडि बि.सं. २००२ मङ्सिर १४ गते प्रधानमन्त्री भएका श्री ३ पद्म शमशेर जबराले सुरक्षा खतराकै कारण प्रधानमन्त्रीको अफिसियल निवास सिंहदरबार नसरी बालुवाटार छेउ विशालनगरस्थित आफ्नो विशालनगर दरबारबाटै शासनसत्ता चलाउने गर्थे।
प्रधानमन्त्री आफूलाई आफ्नै रोलवाला भाइ भतिजाबाट असुरक्षित महशुस गर्थे र बेलाबखत आफू असुरक्षित रहेको भन्दै बक्ने र रूने गर्दथे रे! एकदिन प्रधानमन्त्रीका हजुरिया जर्नेल कृष्ण शमशेर (शितल निवासका मालिक) जबरा समक्ष उनकै दाजुहरू मोहन शमशेर, बबर शमशेर, बहादुर शमशेर, शंकर शमशेरले भेटेर प्रधानमन्त्री पद्म शमशेरलाई पनि देब शमशेर जसरी राजीनामा दिन दवाब दिएछन्। तर हजुरिया जर्नेल कृष्ण शमशेरले उनीहरूको कुरा मानेनछन्। तब शंकर शमशेर (होटल शंकर रहेका दरबारका मालिक) ले ‘त्यसो भए गोली ठोकिदिन्छु’ भन्दै फन्किएर निस्किएछन्। त्यसपछि हजुरिया जर्नेल कृष्ण शमशेरले ऐन मौकामा प्रधानमन्त्री पद्म शमशेरलाई भनेछन्, ‘महाराज! सरकार अब दरिलो र शुरो हुनुपर्यो, यसप्रकार रोइबक्सनु हुँदैन, प्रधानमन्त्रीले जथाभावी बोलिबक्सनु हुँदैन, बोलेपछि सो कुरा पुर्याउन सक्नुपर्छ, तसर्थ बोल्दा विचार राखी बोलिबक्सनुपर्छ, मनको कुरा अरूलाई भन्नु हुँदैन, मौका पाए कसैले सरकारलाई छोड्दैन।’
आफ्नै हजुरिया जर्नेलले सुरक्षा सतर्कताको लागि सजग गराउँदा प्रधानमन्त्रीले उल्टो आफूलाई झन् असुरक्षित महशुस गर्दै आजभन्दा ठिक ७३ वर्ष अगाडि आजकै दिन फागुन १८ गते वि स २००४ सालमा आफ्नो उच्च रक्तचापको भारतमा उपचार गराउने भन्दै डेढ करोड रूपैयाँ निकालेर भारततिर लागे।
भारत जाने तयारीमा आफ्नो विशालनगर दरबारबाट निस्कने बेलामा उनले आफ्ना भाइ-भारदार सबैलाई उपस्थितिको उर्दी जारी गरेका थिए। प्रधानमन्त्री दरबारबाट निस्कनु अघि दरबार भित्र शंखध्वनी र रूवाबासीको आवाज एकैचोटी आउँदा सबै सतर्क भए।
प्रधानमन्त्री पद्म शमशेर टाउकोमा रूद्राक्षको माला र छातीमा भगवान रामको फोटो फ्रेम झुण्डाएर रूदै रूदै निस्किए। पछि खुले अनुसार, उनले छातीमा भगवान रामको फोटो झुन्ड्याउनुको कारण त्यति दवाब दिँदा पनि राजीनामा नदिइकन भारत जान लागेकोमा मोहन शमशेर गुटले छातीमा गोली नहानोस् भनेर रहेछ।
नेपाली राजनीतिको इतिहासमा हिजो माथवर सिंह थापा, फत्यजंग शाह, रणोदीप सिंह राणा, देब शमशेरको हबिगत सुने-पढ़ेकोले होला सायद प्रधानमन्त्री पद्म शमशेरले आफूलाई असुरक्षित महशुस गरे।
प्रधानमन्त्री चन्द्र शमशेरले आजभन्दा ११७ वर्ष अगाडि वि.सं. १९६० सालमा अब हुने प्रधानमन्त्रीले सिंहदरबारमा बस्न पाउनेछन् भनि २ करोडमा बेचेको सिंहदरबारमा कुनै पनि प्रधानमन्त्रीले आफूलाई सुरक्षित ठानेनन्। के त्यसैको निरन्तरता अहिलेका प्रधानमन्त्रीले पनि महशुस गरेका हुन् त? कि, पद्म शमशेरका हजुरिया जर्नेलले जसरी हालका प्रधानमन्त्रीका वरपरका हजुरियाले त्रास देखाइदिएका छन्? नत्र त आजभन्दा २६ वर्ष अगाडि सफल गृहमन्त्रीको रूपमा आफूलाई स्थापित गरिसकेका र पटक पटक सरकारको नेतृत्व गरेका हालका शक्तिशाली प्रधानमन्त्रीले यस्तो असुरक्षित महशुस गर्नुपर्ने अवस्था कसरी आयो? यो सोचनीय कुरा हो।
देशका सर्वेसर्वा प्रधानमन्त्रीले बोलेका अनि महशुस गरेका कुराले देशको यथार्थ अवस्थाको चित्रण गर्छ। प्रधानमन्त्रीले देखाएको आत्मविश्वासले जनता आफूलाई सुरक्षित महशुस गर्ने गर्छन्। त्यस बिपरित आत्मविश्वास कमजोर देखिँदा जनताले आफूलाई अझ असुरक्षित महशुस गर्छन्। त्यसैले देश हाक्ने कमान्डरले देशको वा आफू भित्रको कमजोरी हम्मेसी बाहिर आउन दिँदैनन्। उहाँहरूले बुझेको हुन्छ - आफ्नो जुँगा हेरेर जनता मात्र होइन आफू पछाडिका सुरक्षा निकाय अनि समुच्च कर्मचारीको मनोबल टिकेको हुन्छ। त्यसैले कमान्डरले जस्तै परिस्थितिमा पनि आफूलाई सम्हाल्छन्।
एउटा दृष्टान्त सम्झन्छु, विस २०५१ सालको मध्यावधि निर्वाचनको बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पूर्व क्षेत्रको चुनावी दौडाहाको क्रममा विराटनगरस्थित कोइराला निवासमा हुनुहुन्थ्यो। निवासमा उहाँको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले लिएको थियो, जसको कमाण्डमा मलाई खटाईएको थियो।
यस्तैमा एक दिन उहाँको वर्तमान प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापाको केर्खामा चुनावी कार्यक्रम बन्यो, उसै पनि ४८ को चुनावमा एमालेले मेची अञ्चलमा पुरै सिट जितेको, त्यसमा पनि मालेको उद्गमथलो झापा त्यसबेला साच्चै नै बामपन्थीको उग्र प्रभावमा थियो।
अहिलेका प्रधानमन्त्रीले जसरी संसद् विघटन (सर्वोच्च अदालतले सदर गरिदिएको) गरेर चुनावमा होमिएका प्रधानमन्त्री कोइरालामाथि व्यापक दवाब र सुरक्षा थ्रेट बढेको थियो। अहिलेका प्रधानमन्त्रीले जसरी रक्षामन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीलाई स्थानीय शाही नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्चाधिकारी समेतले कोइराला निवासको बरन्डामा भएको बैठकबाट आज प्रधानमन्त्री जान लाग्नुभएको केर्खामा उहाँमाथि सांघातिक हमलाको सम्भावना सुनिएको छ, स्थानीय सुरक्षा निकायबाट सुक्ष्म सुरक्षा थ्रेट मुल्यांकन गरेर रिपोर्ट आएको छ, त्यसैले सो कार्यक्रममा प्रधानमन्त्री जानु त्यति उपयुक्त छैन भनेर सुझाव दियो।
त्यसपछि प्रधानमन्त्री कोइरालाले पूर्व क्षेत्रका नेपाल प्रहरीका डिआइजी गोविन्द कर्म थापालाई सम्बोधन गर्दै भन्नु भएको थियो, ‘डिआइजी सा'ब, प्रधानमन्त्री आउने भनेर पूर्व निर्धारित कार्यक्रममा कम्युनिष्टले आक्रमण गर्छ भनेर प्रधानमन्त्रीले कार्यक्रम रद्ध गर्ने हो भने, कम्युनिष्टले सुरक्षा थ्रेटले गर्दा आक्रमण हुन्छ भनेर प्रधानमन्त्री आउन डरायो भनेर प्रचार गरिदिन्छन्, त्यसपछि त्यहाँका हाम्रो कार्यकर्ता अनि तपाईँको सुरक्षा निकाय र अरू कर्मचारी, त्यस्तै जनताको मनोबल कस्तो हुन्छ?, त्यसैले जनतामा सुरक्षा व्यवस्था ठिक छ भन्ने देखाउन अनि सुरक्षा निकायलाई प्रधानमन्त्रीले भरोसा गरेको छ है भन्ने संदेश दिन पनि म जानुपर्छ र जान्छु, बरू सुरक्षा ब्यबस्था कसरी मिलाउने त्यसको तयारीमा तपाईहरू लाग्नुहोस्।’
त्यस मिटिङमा रहेको सबैभन्दा कनिष्ठ सुरक्षा अधिकारी मलाई उहाँको कुराले लामो समयसम्म झंकित गराएको थियो। यसरी निकै ठूलो सुरक्षा थ्रेट छ भन्ने थाहा हुँदाहुँदै पनि सदा झैँ उही आत्मविश्वास देखाउँदै उहाँ (कोइराला) अहिलेका प्रधानमन्त्रीका गृह क्षेत्र केर्खा लाग्नु भो, त्यतिखेर अहिलेका प्रधानमन्त्रीको सुरक्षा व्यवस्था जिम्मा लिए जसरी सेनाले अग्रसरता लिदैनथ्यो, सिवाय अंगरक्षकको रुपमा प्रधानमन्त्री सवार गाडीमा तत्कालिन शाही नेपाली सेनाका एक जना क्याप्टेन हुन्थे, बाँकी सम्पूर्ण नेपाल प्रहरीले हेर्थ्यो। उहाँ केर्खा पुग्नुभएको केही समय पछि नै खबर आयो, ‘कार्यक्रम हुँदाहुँदै एमालेका कार्यकर्ताले मञ्चमै आक्रमण गर्दा प्रधानमन्त्रीका अंगरक्षक क्याप्टेनको दाँत भाँचियो, प्रहरी र कार्यक्रममा आएका धेरै घाइते भए तर प्रधानमन्त्री सुरक्षित हुनुभयो।
त्यसबखत प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कस्तोसम्म थियो भने, प्रधानमन्त्रीको अंगरक्षक सेनाका क्याप्टेनको दाँत भाचिएकोले अर्को क्याप्टेनसमेत तत्कालै खटाइएन। पूर्व क्षेत्र प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यवाहक समादेशकको रूपमा कार्यरत डिएसपी (पछि सशस्त्र प्रहरी बलको आइजीपी) दुर्ज कुमार राईलाई प्रधानमन्त्रीको बडीगार्डको रूपमा खटाइयो।
यति हुँदा पनि प्रधानमन्त्री कोइरालाले केही नभए झैँ गरी आत्मविश्वासका साथ् अन्य पूर्व निर्धारित कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। सरकारको नेतृत्वमा बसेकाले देखाउने आत्मविश्वासले सुरक्षा निकायको मनोबलमा निकै ठूलो प्रभाव पार्दोरहेछ।
अर्को दृष्टान्त सम्झन्छु, विस २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेले संसदमा सबैभन्दा ठूलो दलको रूपमा मंसिरमा सरकार गठन गर्यो। प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारी माघमा पूर्व क्षेत्र आउने कार्यक्रम बन्यो। उहाँको सुरक्षा कमान्डरको रूपमा मलाई नै खटाइयो। उहाँको पुर्ख्यौली थलो विराटनगरको एयरपोर्टमा उहाँ चढ्नु भएको प्लेन उत्रदै गर्दा यता विराटनगर कांग्रेस कार्यकर्ताले भरिएको थियो। उहाँको विरोधमा ठाउँ ठाउँमा ठूला ठूला प्रदर्शन भइरहेका थिए। उहाँ एयरपोर्टमा ओर्लिनु भयो। सुरक्षा थ्रेटको कारण उहाँलाई केही समय एयरपोर्टको भिआइपी कक्षमा राखेर तत्कालिन परिस्थिति बारे ब्रिफिङ भयो।
जब हामी उहाँलाई गाडीमा राखेर उद्योग वाणिज्य संघ विराटनगरले राखेको सम्मान कार्यक्रमका लागि कार्यक्रमस्थलतर्फ जादै थियौं। सबैभन्दा अगाडि ट्राफिक प्रहरीको मोटरसाइकल स्कर्टङ, त्यसपछि प्रहरीको गाडी, त्यसपछि प्रधानमन्त्री चढ्नुभएको राष्ट्रिय झन्डा फरफराएको सिँचाई कार्यालयको गाडीमा प्रधानमन्त्री र उहाँको पछाडि उस्तै गाडीमा म र अन्य ४ जना जुनियर प्रहरी अधिकृत थियौं। प्रदर्शनकारीलाई चक्मा दिन (झुक्याउन) को लागि प्रधानमन्त्री र हामी चढ्ने गाडी उस्तै थियो, उहाँले पनि दौरा सुरूवाल, हामीले पनि दौरासुरुवाल लगाएका थियौं, फरक यत्ति थियो कि प्रधानमन्त्री चढ्नु भएको गाडीमा झन्डा थियो, हामी चढेको गाडीमा झन्डा राख्ने स्ट्याण्ड मात्रै।
हाम्रो गाडीको पछाडि डिआइजी प्रदिप शमशेर जबरा (पछि आइजीपी) सा'बको गाडी, त्यसपछि अन्य सुरक्षा निकायको गाडीको लस्कर। बिस्तारै गाडी बिराटनगरतिर लाग्दै थियो, परिस्थिति अनुसार हामी उच्च सतर्कता अपनाउँदै थियौं। यस्तै विराटनगरको बरगाछी चोक पुग्ने बेलामा सेटबाट खबर आयो, ‘प्रदर्शनकारीले बरगाछी चोक पुरै ढाकेको छ, धेरैजसोको हातमा कालो झन्डासहित बाँसको भाटा लिएर नाराबाजी गर्दैछन्, त्यसैले त्यहाँबाट सवारी पार गराउन निकै गाह्रो छ।’
अब के गर्ने? भिडले बाटो पुरै ढाकेको बेला सवारीको गाडीको रफ्तार सुस्त हुन्छ, त्यस बखत प्रधानमन्त्री सवार गाडीमाथि आक्रमण हुनसक्छ। तब मेरो ध्यान प्रधानमन्त्री चढ्नु भएको गाडीमा फहराइरहेको झन्डामा पुग्यो, सोचेँ- हामी चढेको गाडी उस्तै उस्तै भएर प्रदर्शनकारी झुक्किए पनि गाडीमा फहराइरहेको राष्ट्रिय झण्डाको कारण प्रधानमन्त्री चढ्नु भएको गाडी चिनिन्छ र सबैको आक्रोश प्रधानमन्त्री चढ्नु भएको गाडीमा नै हुनेछ।
मैले सेटबाट प्रधानमन्त्रीको अंगरक्षक शाही नेपाली सेनाका क्याप्टेनलाई गाडी रोक्न भने, उहाँले यस्तो अवस्थामा किन गाडी रोक्ने?’ भनेर मलाई सोध्नु भो। मैले 'तुरून्तै रोक्नुस् न' भनेपछि गाडी रोकियो, म ओर्लिएर दौडिदै प्रधानमन्त्री चढ्नुभएको गाडीमा पुगे र प्रधानमन्त्रीलाई स्थिति बताउँदै 'झन्डाको कारणले हजुरको गाडी चिनेर प्रदर्शनकारीले आक्रमण गर्न सक्ने' कुरालाई ध्यानमा राखेर उहाँ चढ्नु भएको गाडीको राष्ट्रिय झन्डा निकाल्न अनुमति मागेँ, उहाँले ‘मैले के गरेको छु र? मलाई त्यस्तरी आक्रमण होला?’ भनेर उल्टो मलाई नै सोध्नु भो।
त्यतिन्जेल सम्ममा के भयो? भन्दै हतारिएर डिआइजी साब अनि जिल्लाका एसपी सा'ब सिडिओ सा'ब पनि आइपुग्नु भो, मैले उही कुरा भने। मेरो कुरामा उहाहरुले सहमति जनाउनु भो। तर भद्र प्रधानमन्त्री अझै पनि सोध्धै हुनुहुन्थ्यो ‘मैले के गरेको छु र? म माथि त्यस्तरी आक्रोश होला? तपाईँहरू हुनुहुन्छ त्यस्तो केही हुँदैन’ बरू हामी आत्तिएका थियौं, तर उहाँ शान्त अनि कस्तो आत्मविश्वास। हामी सुरक्षाकर्मीप्रति उहाँको कत्रो भरोसा। त्यसपछि उहाँले भन्नुभयो, ‘हुन्छ अब जे गर्नुहुन्छ।’
हामीले झन्डा निकालेर सवारी अगाडि बढायौं। सवारी बरगाछी पुग्दा प्रहरी र प्रदर्शनकारीको दोहोरो भिडन्त भइरहेको थियो। हामीले साइड बाइ साइड गर्दै सवारी पार गरायौं, दुवै गाडीमाथि भाटा र ढुंगा प्रहार भयो तर त्यस्तो क्षति केही हुन पाएन।
हामीले पछि आपसमा कुरा गर्यौं, ‘प्रधानमन्त्री कति शान्त अनि सुरक्षाकर्मी प्रति कत्रो भरोसा।’ तीन दिनसम्म पूर्व क्षेत्रको भ्रमणमा रहँदा उहाँ राजविराज, धरानलगायतका कार्यक्रममा जानुभयो। ठाउँ ठाउँमा विरोध प्रदर्शन भइरह्यो, आफूमाथि त्यत्रो प्रहार भयो तर कही पनि उहाँ उत्तेजनामा आएको देखिएन। आफ्ना सुरक्षाकर्मीप्रति पूर्ण भरोसा राख्नुभएको थियो। सायद सरकारको नेतृत्वमा बसेका प्रधानमन्त्रीले ख्याल गर्नु भएको थियो होला, आफूले बोलेका कुराले कति फरक पार्छ सुरक्षाकर्मी, कर्मचारी अनि जनतामा भनेर।
अझ त्यसबखत (पछि माओवादी जनयुद्वको उत्कर्षकालमासमेत) प्रधानमन्त्रीको सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीले लिएको थियो। जहाँ डिएसपीको कमाण्डमा एक प्लाटुन प्रहरी, शाही नेपाली सेनाको क्याप्टेन (थर्ड क्लास अफिसर) को कमान्डमा १ सेक्सन सैनिक र केही राष्ट्रिय अनुसन्धानका गुप्तचर। सम्पूर्ण सुरक्षा ब्यवस्था यसैका आधारमा मिलाइएको थियो। अहिलेको जस्तो अगुवा पछुवा त सेरेमोनियल कार्यक्रममा जाँदा मात्र हुन्थ्यो। सुरक्षा थ्रेट बरू त्यसबखत पो थियो।
पछि शान्ति प्रक्रियासँगै पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नेपाली सेनाको फुल कर्नेल (फर्स्ट क्लास अफिसर) को कमान्डमा करिब १ कम्पनी सैनिक, डिएसपीको कमान्डमा नेपाल प्रहरीको १ कम्पनी प्रहरी अनि इन्स्पेक्टरको कमाण्डमा १ प्लाटुन भन्दा बढी सशस्त्र प्रहरीको टुकडी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरको चौघेरामा प्रधानमन्त्रीले आफूलाई त्यस्तो असुरक्षित महशुश गर्नुपर्ने अवस्था देखिदैन।
सुरक्षाकर्मीको यत्रो संख्या भनेको सानोतिनो जिल्लाको सेना र प्रहरीको सम्पूर्ण संख्या बराबर हुन्छ। जसबाट १ लाख भन्दा बढी जनसंख्याको सुरक्षा ब्यवस्था मिलाइरहेको हुन्छ।
जे होस्, आफ्नो प्रधानमन्त्रीको सुरक्षा ब्यवस्था कुनै पनि देशको लागि अहम् कुरा हो। जब देशको प्रधानमन्त्रीले आफूलाई सुरक्षित महशुस गरेको हुँदैन, त्यो देशको सुरक्षा ब्यवस्था मात्र होइन सम्पूर्ण ब्यवस्थामाथि नै प्रश्न चिन्ह लाग्नसक्छ।
त्यति मात्र होइन दायाँ बायाँ नहेरी सरकार प्रमुखले बोलिदिँदा वरपर सबैतिर पर्नसक्ने दुरगामी प्रभावलाई कसैले नजरअन्दाज गर्न सकिदैन। अरू त अरू स्वयं आफ्नो सुरक्षा खतरा देख्ने प्रधानमन्त्रीले पनि गरेका हुन्नन्। अहिले प्रधानमन्त्रीले ‘आफ्नो ज्यान तल माथि हुनसक्ने’ कुरा बोल्नुभएझैं माथि उल्लेखित तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीले चाहीँ सायद फरक तरिकाले सोच्नुभयो होला।
प्रधानमन्त्रीलेनै आफूलाई असुरक्षित महशुस गरेर सार्वजनिक रूपमा बोल्दै हिँड्ने हो भने अरू सर्बसाधारण जनताले आफूलाई कति सुरक्षित ठान्लान्?’