आज शहिद दिवस। एक दिन भए पनि फेरि सबैतिर शहिदको गुनगान शुरू भएको छ। आजभन्दा असी वर्ष अगाडि प्रजातन्त्र र संवैधानिक व्यवस्थाको लागि आफ्नो ज्यानको पर्वाह नगरी शहादत प्राप्त गरेकाको प्रत्येक वर्ष सम्झना गरिन्छ। तर देश भने अझै उहाहरूले जुन कुराको लागि शहादत रोज्नुभयो, त्यसैको वरपर रूमल्लिरहेको देखिन्छ।
सरकारमा बस्नेले शहिदलाई यहीँ एक दिन सम्झिने तर सरकार चलाउदा बिर्सने प्रवृत्तिले यो अवस्था मुलुकले भोगिरहेको त हैन?
सिंहदरबार स्कुल घरबाट मृत्युदण्ड दिन लैजानुअघि बि. सं. १९९७ माघ १४ गते जेलमा सँगै भएका साथीसँग छुट्टिने बेलामा दशरथ चन्दले हात मिलाउँदै हिन्दीमा भन्नुभएको रहेछ, ‘तुम लोग तो जिए हो यार, काम करना। हम लोग तो चले हिँ जायगें, लेकिन फिर भी भूत बनकर यीनको (राणाओको) सताएंगें।’ सिंहदरबारमा बसेर शासन गर्ने राणालाई भुत बनेर तर्साउँछु भनि प्रण गरेका शहिद दशरथ चन्दले राणालाई चाहीँ पक्कै तर्साए होलान्। त्यहीँ भएर शहिद काण्डको ५ वर्षमै जुद्ध शमशेरले सिंहदरबार छाडे। अर्को ५ वर्षपछि राणाशासनले नै छाडे। तर शहिदले अहिले सिंहदरबारमा बसेर देश चलाउनेलाई तर्साए जस्तो लाग्दैन, तर्साएको भए पक्कै यिनको मति यस्तो हुने थिएन कि!
शहिद दिवस भनेर बाहिरी आवरण देख्नु र शहिद्कै भावना बुझ्नु फरक हुन्छ क्यारे। राजनीतिमा लागेर आफैं जेल नेल भोगे पनि सत्ताभोगमा पुगेपछि कतिले बाटो बिराएका छन् भने कतिले शहिदको भावना नभुलेको देखिन्छ। जसै वि.सं. १९९७ माघ ६ गते करिब ९० जना राजबन्दीलाई सिंहदरबारमा लहरै उभ्याएर ५ जना (त्यसबखत फरार रहेका पूर्ण नारायण प्रधानसमेत, तर पछि उहाँको ज्यान सजाय जन्मकैदमा परिणत गरिएको थियो) लाई झुण्डाएर मृत्युदण्डको सजाय दिने भनि सुनाइयो, त्यसमध्ये २ जना दशरथ चन्द र गंगालाल श्रेष्ठले आफूलाई गोली हानि मृत्युदण्ड दिइयोस् भनि माग गरे बमोजिम माघ १४ गते मृत्युदण्ड दिइने भएकोले परिवारलाई भेट्न बोलाइएकोमा गंगालाल श्रेष्ठका सबै परिवार आएका थिए। (उहाँकी धर्मपत्नी हसिनादेवी चाहीँ अघिल्लो दिन मात्रै जुम्ल्याहा छोरा पाएकीले आएकी थिइनन्)।
जसै जेलमा परिवारको पुनर्मिलन भयो, सबै रूवावासी गर्न थाले, तब गंगालाल श्रेष्ठले आफ्ना बाबा भक्तलाल श्रेष्ठलाई भने, ‘बुवा, तपाईं त गीताको ज्ञाता हुनुहुन्छ यो नाश भइ जाने देह नाश हुँदा किन चिन्ता गर्नुहुन्छ?’ भनि ढोगे। यो सबै पारिवारिक दृश्य देखेपछि दशरथ चन्दले सायद टाढा बैतडीमा रहेका आफ्ना परिवारलाई सम्झिए होलान्, त्यहीँ जेलमा सरसफाईको काम गर्ने राममाया च्यामिनीलाई सम्बोधन गर्दै भने, ‘राममाया, मेरा साथीहरु मारिए पछि उनीहरुका निम्ति त रूने आफन्त धेरै छन्, तर मेरा निम्ति रूने यस संसारमा कोही छैन, मलाई मारेपछि 'दाइ' भन्दै तिमी रोइदेउ है।’
यस्तो अवस्थामा शहिद भएकाको सपना कसले बुझिदिने? उता आफ्ना बाबुलाई ढोगेपछि गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाल श्रेष्ठ (कम्युनिष्ट पार्टीका संस्थापक महासचिव) लाई समात्दै ‘माइला, हामीले बालेको प्रजातन्त्रको दियोलाई निभ्न नदिनू है,’ भन्दै आफ्ना हिजो राति जन्मिएका जुम्ल्याहा छोराहरुको नाम रवि र शशी राख्न सुझाए।
सायद आफ्ना शहिद दाजुको कुरा मनन गरेर नै होला पुष्पलाल श्रेष्ठले जीवन पर्यन्त प्रजातन्त्रको लागि लडिरहे।
वि स २०१७ सालमा तत्कालिन राजा महेन्द्रले नेपाली कांग्रेसको दुई तिहाइको सरकार भंग गर्दै संसदीय ब्यवस्थामाथि प्रतिबन्ध लगाएर प्रधानमन्त्री विपी कोइरालालगायतलाई थुनामा राख्दा तत्कालिन नेकपा महासचिव केशरजंग रायमाझीलगायतले राजाको असंवैधानिक कदमको समर्थन गर्दा श्रेष्ठले आफू भारत निर्वासनमा बसेर पनि संसदको पुनर्स्थापनाको माग गरिरहे।
बरू त्यसो गर्दा आफ्नै सहकर्मीबाट ‘गद्धार पुष्पलाल’ भनिन तयार भए। अहिले शक्ति र सत्ताको लागि संविधानमाथि प्रहार हुँदा पनि हिसाव किताब गरेर पक्ष र बिपक्षमा उभिने कम्युनिष्ट कार्यकर्ताको लागि यो एउटा दृष्टान्त हुनसक्ला।
शहिदले आफ्नो जीवनको अन्तिम क्षणमा बोलेका शब्द कति प्रेरक र शक्तिशाली हुन्छ? गणेशमान सिंह र गंगालाल श्रेष्ठ एकै दिन धर्मभक्त माथेमाको हातबाट नेपाल प्रजापरिषदको सदस्य भए र पर्चाकाण्डमा एकैदिन पक्राउ परे। उमेरमा गणेशमान सिंह भन्दा ३ वर्ष कान्छो भए पनि गंगालाल श्रेष्ठ र गणेशमान सिंह एकदम मिल्थे भनिन्छ।
जसै गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिन लैजानु अगाडि गणेशमान सिंहसँग अन्तिम भेटमा उहाँको हात समात्दै अंग्रेजीमा ‘डन्ट फर्गेट माइ ब्लड गणेशमान दाइ’ भन्दै बिदा हुँदा गणेशमान सिंहले आँखा रसाएका थिए।
पछि गणेशमान सिंहले आफ्नो जीवनकालमै माथवरसिंह बस्नेतमार्फत साप्ताहिक रूपमा पुनर्जागरण पत्रिकामा लिपिबद्द गराउनु भएको ‘मेरा कथाका पानाहरु’ मा भन्नुभएको थियो, ‘शहिद गंगालाल श्रेष्ठको त्यहीँ अन्तिम वाक्यले नै मलाई राणा अनि राजासँग प्रजातन्त्रको लागि लड्न प्रेरणा दियो र यता उता सत्ताको लाभ हानिमा लाग्नबाट रोक्यो।
अहिलेका हाम्रा प्रधानमन्त्रीलगायतका सत्तारूढ अनि अन्य पार्टीका प्रमुख नेताले पनि अन्य शहिदको संगत गर्न भ्याएका छन्। आँखै अगाडि शहिद भएका देखेका छन्।
सायद धेरै ज्ञात अज्ञात शहिदलाई गणेशमान सिंह र पुष्पलाल श्रेष्ठले जस्तै हात मिलाएर शहादतको लागि बिदाइ पनि गरे होलान्। पक्कै पनि शहिद हुन जानुअघि शहिदले पनि राजनीतिक इमान्दारिताका लागि यस्तै त्यस्तै अन्तिम वाक्य बोल्नु भो होला। प्रजातन्त्र अनि सुब्यवस्थाको लागि केही त भनेर जानु भो होला। तर पनि हाम्रा सत्तामा पटक पटक पुगेका नेताले देशलाई शहिदले देखेका सपनाका बाटोमा डोर्याउन खोजेको देखिदैन।
अहिले ‘शहिदको खेति’ जस्ता भएको अवस्थामा सधैं सम्झिइने बिसं. १९९७ सालका यी चार शहिदमध्ये पहिले झुण्डाइएका शुक्रराज जोशीले माघ ९ गते टेकुमा झुण्डाउन लैजानुअघि जेलमा रहेकासँग बिदा हुँदै ‘सबै भाइलाई नमस्ते, मर्नु सबैले पर्छ तर यसरी मर्न पाउँदा मेरो नाम अमर भयो’ भन्दै बाहिरिएका उहाँको छातिमा ‘क्रान्ति गर्न खोज्नेलाई यस्तो सजाय भयो’ लेखिएको शवलाई नमस्कार गर्दै परिक्रमा गर्दै ८२ वर्षका सेतै फुलेका एक गेरू बस्त्रधारी सन्यासी (शुक्रराज जोशीका बुवा माधव राज जोशी) ले हिन्दीमा ‘स्यावास बेटा, तुम धन्य हो, तुमने मा-बापका ही नही कि देशका हि गौरव बढाया है, बेटा होना तो ऐसा।’
त्यसैगरी अर्का शहिद धर्मभक्त माथेमालाई माघ १२ गते सिफलमा झुण्डाएर मृत्युदण्ड दिनुअघि भेट्न जाने कोही भएनन् सिवाय उहाँको फुपुको छोरी सूर्यलक्ष्मी। अन्तिम भेटमा धर्मभक्त माथेमाले बहिनीलाई भन्नुभएछ, ‘मैले तिमीलाई धेरै दुःख दिए, अब भोलिदेखि त्यो दुःख पर्दैन है।’ उहाँका आफन्त दरबारमा काम गर्थे तर कोपभाजनमा पर्ने डरले उहाँको लास उठाउन कोही आएनन् र जुद्ध शमशेरले ती आफन्त नारायणभक्त माथेमालाई गाली गरेर ‘लाश उठा’ भनेपछि लम्जुङका ३ जना बाहुन खोजेर लास उठाएको सन्दर्भ कति मर्मस्पर्शी छ?
जसरी गंगालाल श्रेष्ठलाई पोडेले गोली हानेर मारेको हुँदा उहाँको लाश उठाउन उहाँको गुठियारले नमानेपछि आफन्त परिवारले लाश सदगद गर्नुपरेको दुःखद अवस्था थियो। झन् दशरथ चन्दको त लाश उठाउने आफन्त पनि कोही थिएनन्।
यी चार शहिदलाई मृत्युदण्ड दिने फैसला हुँदा करिब ९० जना अन्य राजवन्दीलाई पनि सिंहदरबारको पटानगिनीमा उभ्याइएर तत्कालिन राजा त्रिभुवनको उपस्थितिमा श्री ३ जुद्व शमशेरले हुक्का गुड्गुडाउँदै लिखित भाषण गर्दै, किराले हिरा (राजा) बिगार्यो, यस्ता गाथगादी ताक्ने राजद्रोहीलाई म के गरौं? भन्दै खुट्टा बजारे। बिचमै राजा त्रिभुवनले ‘मोडरेट गर्नुपर्छ’ भन्ने बित्तिकै महिला बडागुरूज्यूले मनुस्मृतिका श्लोक उद्धृत गर्दै, ‘राजद्रोही ब्राहमण नै किन नहोस्, त्यस्ता दुष्कर्मीलाई प्राणदण्ड दिन सकिन्छ। ‘तब अहिलेका हाम्रा नेताका वरपर नेताका इशारा कुरेर बसेका कार्यकर्ता जस्तै जुद्ध शमशेरका भारदार मध्येका एक कर्णेल यक्षविक्रम धमलाले भनिहाले ‘महाराज, यी सबैलाई काट्नुपर्छ।’
तब सजाय सुनाउन लाइनमा उभ्याई राखेका मध्ये शुक्रराज जोशी शास्त्री पनि खुट्टा बजार्दै नेल र सिक्रीको आवाजका साथ कुर्लिए, ‘प्रजालाई थिचोमिचो गरि आफ्नो स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ महाराज, उद्धृत गर्न पाउँ।’
तब भटाभट सजाय सुनाउन थालियो- उनै शुक्राराज जोशी शास्त्रीसहित ५ जनालाई मृत्युदण्ड अनि गणेशमान सिंह सहित १८ जनालाई अंश सर्वस्वसहित जन्मकैद।
अब त त्यसबखत कैद र जरीवाना सजाय पाउने कोही जीवित नहोलान्। तर उहाँहरूले देख्नुभएको सपना ज्यूका त्यूँ छन्। सायद उही सिंहदरबारमा नै बस्ने भएरै होलान्, हिजो प्रजातन्त्र र संविधानका लागि वर्षौ लडेका अनि जेल सजाय भोगेका नै अहिले सत्तामा पुगेपछि उही जुद्ध शमशेरकै पदचाप पछ्याएर आफ्नो शक्ति र सत्ता उन्मादमा स्वेच्छाचारी बनेका देखिन्छन्। त्यसैले काठमाडौंको बिच सडकमा अदबका साथ उभिएर शहिदगेट तिर हेर्दै गरे झैँ लाग्ने जुद्ध शमशेरको शालिकले तिनै शहिदहरुलाई जिस्काए झैँ लाग्छ, जुन शहिद मध्येकै एक शुक्रराज जोशीले कुशासकलाई धर्मशास्त्रमा तोकिएको सजाय सुनाउन खोजेका थिए। अनि अर्का शहिद दशरथ चन्दले उनै राणाशासकलाई ‘भुत’ बनेर तर्साउन खोजेका थिए।
त्यतिखेरको राणाशासकलाई तर्साएरै १० वर्षभित्र सिंहदरबारबाट भगाए जसरी उनै शहिदले बेलाबखत अहिलेका शासकलाई पनि झस्काउने गरे देशले सही बाटो लिन्थ्यो कि?
आजभन्दा ८० बर्ष अगाडि आफ्ना प्राण आहुति गर्ने ज्ञात- अज्ञात शहिदप्रति श्रद्धापूर्वक शब्द्सुमन्।