आफ्नै आँगनमा नाच्न, मातृभूमिमा बाँच्न कसलाई मन नलाग्दो हो? आफ्नै पिँढीमा थकाइ मार्न, दुःखसुखले दुई छाक टार्न कसलाई इच्छा नहुँदो हो।
तर, गरिबी, अभाव र अज्ञानताले ती सबै इच्छा मार्दो रहेछ। आँगन, थातथलो र पिँढीबाट टाढा सार्दो रहेछ। देशका सीमा पनि तार्दो रहेछ। भारत वा कुनै खाडी मुलुक पुग्न मजबुर पार्दो रहेछ।
यसरी मजबुर हुने लाखौं नेपाली मजदुर छन्। अरू देश जानेको त हिसाब छ, भारत जानेको छैन। सबभन्दा दयनीय अवस्था तिनकै छ।
अछामबाट भारत (बम्बई) जानेको संख्या ठूलो छ तर यकिन संख्या न स्थानीय तहसँग छ, न प्रदेशसँग। संघीय सरकारसँग पनि छैन। भारत जाने अछामीको संख्यामात्र होइन, दुःख पनि ठूलै छन्। तर, लुकाउनु परेको छ गुपचुप। उता चौकिदार यता आएर 'वाचम्यान' बन्नु परेको छ। उता भाँडा माझे पनि यता आएर 'घरखाता' भन्नु परेको छ। न कमाइ आकर्षक, न इज्जत।
तर पनि बम्बई नै सहारा छ, बेसहाराहरूको। 'बम्बई' ले अछामी बोलीचालीमा समग्र भारतकै प्रतिनिधित्व गर्छ। फर्किनेहरू भन्छन्, 'बम्बईमा सब चिज यहाँसे बेहतर छ।'
फर्किएका एक हुन् अछाम घुघुरकोटका ५१ वर्षीय कुले आउजी। १४–१५ को उमेरदेखि बम्बई आउजाउ छ। भन्छन्, 'बाबु अल्पायुमै गुमाएँ। सौतेनी आमाले खान लाउन दिएन। पढ्ने पढाउने कुरै भएन। कमाइ खाने जमिन रहेन। भागेर बम्बई पुगेँ।'
बम्बई त्यस्तो नगरी हो जहाँ खान नपाएर कोही मर्दैन। उनलाई पनि मर्न दिएन एउटा चाहा (चिया) दूकानले। रोजाना १० रूपैयाँ, मासिक तीन सय। चार वर्ष बिताए।
तनखाह बढी खोज्दै जाँदा छ सय पाउने गरी होटलको 'घरखाता'मा लागे। अर्थात भाँडावर्तन माझ्ने, टेबल साफ गर्ने काम। चार-पाँच वर्ष त्यहीँ बिताए। तर न घर बनाउन सके, न खातामा पैसा थुपार्न। जम्मा पारेको दस-बाह्र हजार लिएर गाउँ फर्किए। बिहे गरे। केही दिनमै नवविवाहितालाई रूवाएर एक्लै फर्किनु पर्यो।
बम्बई वापस जाँदा साविकको नोकरी थिएन। 'बोरिबली टेसन पास'मा आठ सय पाउने गरी ज्वेलरी दूकानमा काम पाए। जति बढी ग्राहकलाई बोलाउन र रिझाउन सक्यो, सेठ त्यति बढी खुसी हुने। वर्षौं ग्राहकलाई बोलाइरहे तर, मातृभूमिले बोलाएको पत्तै पाएनन्।
बरू दुई दिनको जिन्दगी जेनतेन दुःखसुख सँगै साट्न घरवालीलाई उतै बोलाए। बालबच्चा जन्मिए। परिवारमात्र होइन, दुःख र जिम्मेवारी पनि बढ्दै गयो। ज्वेलरी दूकानमा वर्षौं काटे पनि ज्वेलरीको नाममा श्रीमतीलाई एकजोर पाउजुबाहेक जोड्न नसकेपछि त्यहाँ पनि छोड्न बाध्य भए।
कोरोना अघिसम्म 'मलाड टेसन' नजिक एउटा सोसाइटीका 'वाचम्यान' थिए। आठ हजार तनखाह। श्रीमतीले अर्काको घरमा झाडुपोछा गरेर ६ हजार कमाउँथिन्। जेठो छोराले गाडी चलाएर कमाउने त्यस्तै ६–७ हजार। जेनतेन बुढाबुढी, तीन छोरा, एक बुहारी, दुई नातिहरूको गुजारा चल्दै थियो। कोरोना भाइरसले भताभुंग बनायो।
कोरोनाकै जोखिमका कारण सेठले नोकरीबाट निकाल्यो। 'कोरोना इतना फैलरहा है, तुमलोग इतने आदमी अब खोलीमे नहीं रह सकते। खोली खाली कर दो' भन्दै सोसाइटीले खोलीबाट निकाल्यो। अभाव र समस्याले बम्बईबाट निकाल्यो।
पूरै परिवार नेपाल आउन बोर्डरमा पुगे। तीसौं वर्षदेखि भारतमा बस्दा हिन्दीमा ढलिसकेको लवज। उतै जन्मे हुर्किएका छोराछोरीको वर्ण र हाउभाउ समेत भारतीयझैं देखेर भारतीय सीमा प्रहरी बलले भन्यो 'इन्डियनको जाने थोडी न मिलेगा? चलो वापस जाओ।'
पाँच घण्टा हारगुहारपछि भारतीय एसएसबीले त छोडे तर नेपाली सुरक्षाकर्मीले जे थिएन त्यही माग्दै भने 'नेपाली हो तो दिखाओ नागरिकता।'
अहिलेसम्म नागरिकता बनाउनुपर्छ भन्ने ज्ञानै नभएका उनीहरूले कहाँबाट ल्याउनु नागरिकता?
आफन्त गुहारे। बुझेर जिम्मा लिन अरू तीन घण्टा लाग्यो। आठ घण्टा सीमामै राष्ट्रविहीन, देशविहीन र पहिचान विहीन भएर बस्नु पर्यो। वर्ण, लवज र हाउभाउले भारतबाट निस्किन दिएन, नागरिकताले नेपाल छिर्न दिएन।
सीमामा उनीहरू न इन्डिएन भए, न नेपाली रहे।
बल्ल उनीहरूलाई लाग्यो 'नागरिकता चाहिने रहेछ।'
नेपाल आउने बित्तिकै नागरिकता बनाउने सोच बोर्डरमै पलाएछ। तर सोचेझैं जिन्दगी रइन'छ।
भन्छन्, 'अछाममा बस्न आफ्नो घर छैन। आठ जनाको परिवार आठ महिनादेखि आफन्तको घरगोठमा छौं। आम्दानी छैन। तीन कट्टा चामल राहत पाएका हौ। कसैले तेल ल्याइदिए, कसैले साबुन। कोइ धान दिँदाछन्, कोही धूलो। नातिहरू हिन्दी बोल्दा छन्, यहाँको भाषा बुझ्दैनन्।'
बम्बईको 'सोसाइटी'बाट निकालिएका उनीहरूलाई अछामी 'सोसाइटी'ले पनि अपनाइसकेको छैन।
वर्षौंदेखि बम्बईमा। न बाबुको ठेगान, न जन्म मृत्यु केही दर्ता। वंश खुल्ने प्रमाण छैन। नागरिकता सजिलै बनेन। नागरिकताका लागि प्रमाण जुटाउन कहिले वडा धाउँछन्, कहिले प्रहरी, कहिले प्रशासन।
दौडधुपमा निकै दुःख भएपछि छैटौं पटकमा सिडिओको कोठामा गुनासो गर्न छिर्छन् आउजी दम्पत्ति। छनछन् पाउजु बजाउँदै श्रीमती अगाडि अगाडि। ढोका छेवैमा चप्पल खोल्न खोज्छन्। यत्तिकै प्रवेश गर्न भन्छु। सोफामा बस्न आग्रह गर्छु। अप्ठ्यारो मानी मानी बस्छन्।
श्रीमती भन्छिन्, 'निकै दुःख पायौं हजुर। नागरिकता जसरी पनि बनाइ देऊ।'
म सोध्छु, 'यत्रो समय बस्दा भारतको आधार कार्ड, रासन कार्ड लिएको होला नि? खै देखाउनुस् त।'
'हामी चौकिदारी गर्ने, भाँडा माझ्ने गरिबलाई कल्ले दिन्या हजुर आधार कार्ड, रासन कार्ड!'
'नागरिकता बेलैमा नबनाउँदा पछि गाह्रो हुन्छ भन्ने लागेन?'
'थाहा भएन हजुर। टुहुरा थियौं। सौतेनी सासू। यिनले छोडेर गइहाले (श्रीमानलाई देखाउँदै)। म ठकुरीका गोरू हेरेर आफ्नो पेट पाल्थेँ। उतिबेला नागरिकता टोली गाउँमै आउँदा नागरिकता बनाउन एक सय रूपैयाँ लाग्थ्यो। सासूलाई पैसा माग्दा 'छैन मसँग, तेरै माइतीबाट ल्या' भनिन्। पैसा दिनु त टाढाको कुरा, किन चाहियो नागरिकता भनेर उल्टै हकारिन्। त्यतिबेला पैसा भएन, नागरिकता भएन हजुर।'
'सित्तैमा बन्ने नागरिकताका लागि कसले माग्यो पैसा?'
''गाउँकै एक जना थिए, फुटा खिच्न, अरू कागत बनाउन, क्या-क्या गर्न चाहिन्या रै'छ। दिन सक्यानौं। पछि नागरिकता नबनाई म पनि भारत गइहाल्या। अहिले पैसा थिया, नागरिकता सजिलै भएन।'
दस दिनअघि बडो मुश्किलले श्रीमानको नागरिकता बन्यो। दुखेसो, गुनासो सुन्दै सम्पूर्ण कागजात हेरेपछि वडासँग समेत समन्वय गरेर श्रीमती, दुइटा छोरा र एउटी बुहारीको समेत नागरिकता एकै दिन बनाउने व्यवस्था मिल्यो। केही घण्टामा उनीहरूको काम भयो।
नसोचेको कुरा भएपछि फर्किने बेला भन्दै थिइन्, 'बिहान त एकछिन रोईगयाउ, नागरिकता बन्दैन भन्यो। कसैले केइ भन्यो, कसैले केइ। पैसा पनि सक्किग्या, आउन जान गाडी भाडा नाइँ। हजुरसँग भेट भयो, नागरिकता बनी गयो। अस्ति भेट्नुपर्ने, जान्यौन।'
सिडिओलाई भेटेकै दिन सबै काम भयो भन्ने लागेको थियो सायद।
मैले भनेँ, 'आज बन्नु संयोग मात्र हो। धेरै कागजात मिलाएर ल्याउनुभएकै थियो। मैले सहजीकरण मात्र गरेको हुँ।'
बिहानदेखि भोकै हुन् कि भन्ने लागेर खाजा खान प्रस्ताव गरेँ।
भनिन्, 'हजुरले यति ठूलो काम त गरिदिनुभयो, उल्टै हजुरकै पैसाले खाजा खाया त पाप लागिजान्या हो।'
चार बजे बिदा हुने अफिस सवा पाँच बजिसकेको थियो। बोलेरो गाडीले परबाट एकोहोरो हर्न बजाएर बोलाउँदै थियो। बुहारीको नागरिकतासँगै परिवारका चार जनाको नागरिकता एकै दिन बन्दा तिनको खुसीको सीमै थिएन।
जानेबेला सोध्न मन लाग्यो, 'अब बम्बई जानुहुन्छ कि नाइँ?'
श्रीमान भन्छन्, 'कोरोनाले नोकरी छुट्यो, भाग्यले यसरी चुट्यो। समझमै छैन, यत्रो परिवार केले पाल्नु? अरू यही बस्न्या हुन्। म र जेठो छोरो गईजान्या हौं।'
जीवनका ऊर्जाशील पैंतीस वर्ष बम्बईमा कटाउँदा पनि कुले आउजीको परिवारका दिन फिरेका छैनन्। एक आना जमिन जोड्न सकेका छैनन् कतै। घर बनाउनु त टाढाको कुरा, जिन्दगी खोलीमै बित्छ जस्तो लाग्छ उनीहरूलाई।
आउजी परिवार इन्डियन कि नेपाली भन्ने दुविधा चाहिँ अब रहेन। नागरिकता बनाइसके। नेपालीको पहिचान पाइसके। त्यही पहिचान गोजीमा 'कोचेर' आउजाउ गर्दा बोर्डरमा समस्या हुने छैन। त्यसैले चाँडै ऋण काढ्ने छन्। एक दिन रातो टिकाले निधार रंगाउने छन्। अनि परदेशिनेको भीडमा उनीहरू पनि थपिने छन्।
आखिर बेसहाराको सहारा 'बम्बई' न हो।
(लेखक उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)