एउटा राष्ट्र सेवकको नाताले नियमित र स्वाभाविक प्रक्रियाका रूपमा मेरो सरूवा कञ्चनपुर जिल्लामा भएपछि गन्तव्यतर्फ जान झिटीझाम्टो कसिरहँदा धेरैले भने– कञ्चनपुर पो! निर्मला पन्त घटना भएको जिल्ला!
त्यति बेला जिल्लाको साख यो एउटै घटनाले गिरेको थियो।
उनीहरू भन्थे- सीमा विवाद, तस्करी, अपराधमा बढोत्तरी भएको, साना साना 'इस्यु' लाई अनावश्यक रूपमा ठूलो बनाउने तनावयुक्त ठाउँमा जिम्मेवारी बहन गर्न जादैछौं। राम्ररी काम गर्नू।
म भने फरक मत राखेर कार्यथलो कञ्चनपुर जाँदै थिएँ। लाग्थ्यो- हिमालबाट बग्दै, चट्टानमा ठोक्किँदै, बालुवा, माटो, पातपतिंगर बोकेर पनि कञ्चन भएर बग्ने महाकाली नदीको भूमि हो कञ्चनपुर। त्यसै कञ्चनपुर भएको होइन। नामजस्तै कञ्चन मन, कञ्चन विचार र कञ्चन व्यवहार भएका मानिस बस्ने ठाउँ हो कञ्चनपुर।
तै पनि वास्तविकता बुझ्न त ठाउँमै पुग्नुपर्छ। पुगेँ। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सत्र महिना काम गरेँ। यो सत्र महिने बसाइमा थुप्रै कञ्चन मन भएका मानिससँग भेट हुनु नै थियो। भयो।
कैयौं कुरा सिक्ने अवसर मिल्यो। कैयौं कुरा सिकाउन पनि सकेँ हुँला?
कञ्चनपुर बस्दाको अनुभव र सिकाइले प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ ठाउँमा काम लाग्दैछ। थुप्रै कुरा सिकाउने कञ्चनपुरका धेरै विषयवस्तु, केही राम्रा र केही चाम्रा कुरा जीवनपर्यन्त काम लाग्नेछन्। हाललाई कञ्चनपुरको बसाइ टुंग्याए पनि लामो समयसम्म कञ्चनपुरलाई 'मिस' गरिरहनेछु।
खासगरी यी कुराः
कञ्चनपुरका ९ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी जिल्ला प्रशासन कार्यालयको आँगनीमा निर्माणाधीन बगैंचा सबभन्दा बढी 'मिस' गर्नेछु। कोरोना कहरका बीच सारा देश तनावग्रस्त भइरहँदा नूरहरि सरको मस्तिष्कमा उब्जिएको विचारलाई बगैंचामा ढाल्ने काम भइरहेको छ। नूरहरि सरको 'नूर' बगैचामा चाँडै रंगीविरंगी फूल फूल्नेछन्। पर्खालमाथि लहरै झिलिमिली बत्तीहरू बल्नेछन्। बगैंचाको कुनामा बन्नेछ एउटा कलात्मक 'सेल्फी प्वाइन्ट'। जहाँ सेवाग्राहीहरू एकपटक फोटो खिचेर आफैं र बगैंचालाई समेत सामाजिक सञ्जालमा भाइरल बनाउनेछन्।
पूर्व गजरौलादेखि पश्चिम गड्डाचौकी सम्म महेन्द्र राजमार्गको करिब ४० किलोमिटर सडक खण्डमा कम्तीमा चालीस ठाउँमा हाइवे ओगटेर बसेका गाईगोरू 'मिस' नगर्ने कुरै भएन।
आखिर दुई-दुई पटक दुर्घटना मैले नै भोगेको छु। दुर्घटनाका बारेमा सुनेको र झेलेको त कति हो कति? जिल्लामा सडक दुर्घटनाको सर्वाधिक ठूलो कारण, आसपासको बालीनालीको लागि सर्वाधिक चुनौती र समग्र जिल्लाको चरित्र धमिल्याउने गरी चोकचोकमा, पुलपुलमा चौपायाहरूको यस्तो उपस्थिति अन्यत्र पाइने छैन।
बनेको ठ्याक्कै मिति पत्ता नलागे पनि चार दशक नाघिसकेको, ठाउँठाउँमा पिपल उम्रिइसकेको, अलिक बर्षा भए सिलिङ रसाएर पानी तप्किने 'खासियतवाला' 'बुढो क्वाटर'। चौखट र पल्ला मक्किएर टालटुल गरिएका छिद्रयुक्त कलात्मक कामचलाउ ढोकाहरू। यसपालिको वर्षामा दुई दिन निरन्तर पानी पर्दा गलेर गर्ल्यामगुर्लुम ढलेको बाउन्ड्री वाल। त्यही वालभन्दा ५० मिटर पर्तिरको सिद्धनाथ मन्दिरका नियमित ग्राहक भए पनि क्वाटरको आँगन, छतमा आएर सुस्ताउने बाँदरको झुण्ड।
यो सब त खोज्दा पनि कहीँ कतै नपाउने भएकाले जति पनि सरकारी क्वाटरमा पुग्नेछु, कञ्चनपुरको सहायक सिडिओको क्वाटर 'मिस' गरिरहनेछु।
एक 'कल' फोनको भरमा प्रशासनलाई जस्तोसुकै सहयोग गर्न तम्तयार जिल्लाभरका सरकारी कार्यालयका कार्यालय प्रमुखहरू 'मिस' गर्ने सूचीमै हुनेछन्। सम्भवतः मेरो फोन गलत वा स्वार्थपूर्ण कामका लागि छँदै थिएन।
स्थानीय तहका कार्यकारी भन्नुहुन्थ्यो, 'जिल्ला प्रशासनमा बजेट कम हुन्छ। जिल्ला अनुगमनमा जाँदा वा कार्यालयको अन्य कुनै प्रयोजनका लागि इन्धन वा अन्य केही 'लजिस्टिक सपोर्ट' चाहिएमा भन्नुहोला।'
तर उहाँहरूको वचन राख्न पनि त्यसो गर्नु परेन। बरू अरू थुप्रै कुरामा समर्थन र सहयोग नै गरे हुँला। त्यसैले लाग्छ मैले मात्र होइन, सम्भवतः उहाँहरूले पनि मलाई 'मिस' गर्नु हुनेछ कि!
कुल क्षेत्रफलको आधाआधी (४८ प्रतिशत) वनजंगलको सेरोफेरोको शीतलता। विजयसालको ठेकी र अम्खोरा। शुक्लाफाँटा, बागफाँटा, बीचफाँटा, पारीफाँटा, सुन्दरीफाँटा, उडियाफाँटा, सत्यालफाँटा, गुन्याफाँटा, अटनीफाँटा, ओखलफाँटा, मौरीफाँटा, बलुवाफाँटा, सिमलफाँटा।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ३ तले मचानहरू, हजारौं बिगाहमा फैलिएका फाँटहरू, सयौंको संख्यामा हुल बाँधेर कुद्ने बाह्रसिंगाको झुण्ड र हजारौंको संख्यामा उड्ने चराचुरुंगीका बथानको आत्मियता।
कृष्णसार संरक्षण क्षेत्र, हीरापुर। रानीताल, बेदकोट ताल, झिलमिला ताल, प्यारा तालका तरंगहरू। बतासे झरनाको झरझर। लिङ्गाधाम, भम्केनीधाम, शाश्वतधाम, सिद्धनाथ, ब्रह्मदेव र विष्णु मन्दिरको पवित्रता।
चुरेबाट कहिलेकाँही बेताल उर्लिने एकदर्जन भन्दा बढी खोलाहरूको हस्याङ् फस्याङ्। महाकाली नदी र यसबाट आएका तीनओटा सिँचाइ नहरहरू। कञ्चनपुरकै शानको रुपमा रहेको दोधारा चाँदनी झोलुंगे पुल र महाकाली नदीमा निर्माणाधीन चार लेनको अत्याधुनिक पक्की पुल।
राजा महेन्द्रको स्वप्न सहर मानिएको महेन्द्रनगर बजार र त्यही बजारलाई कुरूप पार्न सरकारी जमिनमा रातारात ठड्याइएका अवैध टहराहरू।
फेरि एअरपोर्ट बनाउने भनेर चर्चा गरिने कुनै बेलाको मझगाउँ एअरपोर्ट। सदरमुकामको उपाधि खोसिएको कुनै बेलाको सदरमुकाम बेलौरी। जताततै कालोपत्रे कञ्चनपुरका सडकहरू।
राना थारू संस्कृति। थुप्रै कथा, व्यथा र पीडा बोल्ने सिमानाका निर्जीव पिलरहरू। राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण दर्ता गर्न सञ्चालन गरिएको अभियान। ५ महिनासम्म निरन्तर सवारी पासका लागि मोबाइलमा बजेका रिङ टोनहरू। नकुदाउनुभन्दा भन्दै पनि जबरजस्ती सरकारी बिदाका दिन हुइँकाइने सरकारी गाडीहरू। रिसाउँदै झगडा गर्न आए पनि मुस्कुराएर फर्किने सेवाग्राहीहरू।
उत्तराखण्ड, सिमला (हिमाञ्चल), दिल्ली, बम्बै (मुम्बई), गुजरातमा काम गरेर पोका पुन्तुरासहित लालाबाला बोकेर फर्किने कामदारहरू।
कोरोना होस् वा अरू कुनै सुरक्षा चुनौती, हरेक मुद्दामा दक्ष सुरक्षा निकायका कुशल प्रमुखहरू र जिल्ला प्रशासन कार्यालयको कर्मठ र सहयोगी टिम।
यस्ता कैयन कुराहरू छन् जो स्मृतिमा सदैव रहनेछन्। यी सबै विषय, सन्दर्भ, अवस्था, अवस्थिति, कथा, व्यथा, घटना, परिघटनाले कञ्चनपुरलाई एउटा भूगोलमा मात्र सीमित नराखेर जीवन्तता दिएका थिए। मेरो कञ्चनपुर बसाइलाई उपलब्धिमूलक र सार्थक बनाउन सघाएका थिए।
फलतः कञ्चनपुर मेरा लागि एउटा कर्मथलो भन्दा पनि एउटा साथी वा 'यार' भएको थियो। त्यसैले साँच्चै 'मिस यु यार' कञ्चनपुर।
(लेखक जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)