गाउँ र सहर दुवै भएको नेपालमा यी दुवै ठाउँमा मान्छेको ओहोरदोहोर भइरहन्छ। मान्छे सहरबाट गाउँ जाँदा धेरै थोक लिएर जान्छ। पैसा, प्रविधि, सीप, उपकरण र अरू थुप्रै चिज।
तर गाउँबाट सहर छिर्दा उसले लैजाने सबभन्दा महत्वपूर्ण चिज या त आफैं हो, या हो- नागरिकता।
१८ वर्ष, १९ वर्ष, २२ वर्ष। कानुनतः १६ वर्ष पुगेपछि व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र बन्छ। व्यवहारमा भने यस्तै-यस्तै उमेर हो नागरिकता बनाउन आउने।
नागरिकता बनाई दिन साथमा आउँछन्- भरसक बा। नभए आमा। दाजु। बडा बा। काका काकी। तीन पुस्ता भित्रका कोही। कहिलेकाहीँ मावली पनि पुग्छन्। त्यो पनि नभए वडाध्यक्ष र गाउँका जान्ने बुझ्नेहरू।
साथमा आउने अधिकांशले आवश्यक कागजात बेरेर, केहीले फोल्ड गरेर र थोरैले सुरक्षित फाइलिङ गरेर यसरी बोकेका हुन्छन्, मानौं, अफिसको काम कारबाही, प्रक्रिया र कर्मचारी सबैको बारेमा पूरापूर जानकार छन्।
तर साँच्चै भन्नुपर्दा तिनले केही जानेका हुँदैनन्। एकाध पटक अरूको नागरिकता बनाइदिँदा कार्यालयको कोठा नं. सम्म थाहा भएको हुन सक्छ वा कसलाई भेट्ने भन्ने सम्म जानेका हुन सक्छन्। कतिपय त भरसक ठूलै नेताको, नभए पालिका प्रमुखको, त्यो पनि नभए वडाध्यक्षको 'सोर्सफोर्स' लगाउँदै पुग्छन्।
पिछलग्गु नामको वास्तविक सेवाग्राही निर्धक्क हुन्छ। किनकि उसलाई केही गर्नु छैन, ऊ जानेबुझेको मान्छेको साथ लागेर आएको छ। त्यसैले ऊ भर्खरै पाएको वा चाँडै पाउने नागरिकता ख्यालख्याल ठान्छ। न नागरिकताको महिमा बुझ्छ, न गरिमा।
फगत एक परिचयपत्र वा पासपोर्ट बनाउने आधार ठान्छ नागरिकतालाई। एकछिन फुर्किन्छ तर यो देशको नागरिक भइयो भनेर गर्व गर्दैन। राज्यले दिएको अधिकारसहितको प्रमाणपत्र पाइयो भनेर बुझ्दैन।
हातमा नागरिकतासँगै काँधमा कर्तव्य पनि आउँछन् भन्ने होसै हुँदैन। नागरिकता त साँच्चै लिनेले बेहोसीमै लिएको र दिनेले पनि बेहोसीमै दिएको देख्छु। दिनेको बेहोसी यस अर्थमा कि उसले एक जनालाई नागरिकता दिएको भन्दा पनि आफ्नो जागिर गरेको जस्तो देखिन्छ। लिनेको बेहोसी यस अर्थमा कि उसलाई सोध्नुस्- नागरिकता किन बनाएको?
उत्तर आउँछ, 'उमेर भइसक्यो त्यही भएर बनाएको।'
त्यो पनि गलत होइन। तर उसको उत्तर सुन्दा लाग्छ नागरिकताको ठाउँमा उमेरको प्रमाणपत्र दिए पनि फरक पर्दैन।
नागरिकताले के गर्छ त उसो भए?
'विदेश जान काम लाग्छ।'
विदेश किन जाने?
'नेपालमा रोजगारी छैन, अनि?, विकास छैन।'
कति पढेको छ त विदेश जानेले?
'९ क्लास। 'जस्ट' एसइई गरेको। पढाइ त छाडी सकियो।'
नागरिकताले अरु के गर्छन् यसबाहेक?
'भोट हाल्न पाइन्छ।'
अन्तिममा कुरा भोट वा भनौं राजनीतिको सेरोफेरोमा आएर टुंगिन्छ।
उसो भए यो पछाडिपट्टि वंशज लेखेको छ नि त्यसबारे केही जानकारी छ?
'खै कुन्नि त।'
...
२०४४ सालकी दिलसरा थापालाई २०७७ सालमा नागरिकता बनाएपछि सोधियो, 'नागरिकता भएपछि के हुन्छ?'
टेबलको कुनामा एक हात टेकेर अर्को हातको पछ्यौराले मुख छोपेर आँखा तन्काउदै अकमक्किएको भाव प्रस्तुत गरिन्।
नाकको फूली चोर औंलाले कोट्याउँदै भनिन्, 'श्रीमानले इन्डियाबाट पैसा पठाउँदा, आइ.एम.ई गर्दा, घर खर्चका लागि पठाएका पैसा बुझ्न नागरिकता चाइयो भन्यो, त्यसाइले आया। नागरिकता भयापछि पैसा पाइन्या भयो बेलामी (बेलामै)।'
कहाँ छन् श्रीमान्?
'गुजरातमा, १२ वर्षकै उमेरमै गयाका हुन् अरे।'
के गर्छन्?
'होटलमा काम गर्छन्।'
साथमा सानी छोरी ल्याएको देखेर सोधेँ, 'केटाकेटी कति छन् त?'
भनिन्, '५ जना।'
ओहो, ३३ वर्षमा ५ सन्तान! किन धेरै?
'भइ गया।'
अनि यतिका सन्तान कसरी हुर्काउनु हुन्छ? श्रीमान पनि घरमा छैनन्।
'जन्मिया पछि हुर्किजान्या रैछन्। १५ वर्षअघि दैलेखबाट आएका हौं। जग्गाजिमी (जमिन) खासै छैन। १०-१२ कठ्ठा छ। उई श्रीमानकै कमाइ हो।'
ए, श्रीमानको कमाइ कति छ?
'तनखा २५-३० हजार आइ.सी. (भारू)। महिना-महिनामा घरखर्च पठाउँदा छन्। पैसा बुझ्न्या बेला नागरिकता माग्छन्। त्यसाईले नागरिकता बनाउन आया आज। जसरी पनि नागरिकता बनाई दिहाल।'
...
हेर्दा पढेलेखेजस्तो देखिने। आधीजसो कपाल सेतो भएका। त्यसलाई पनि गुटमुट्याएर चुल्ठो पालेका। हाफ पाइन्ट लगाएका 'स्मार्ट' अधवैंशे प्रवेश गर्छन्।
केका लागि आउनुभयो?
'राष्ट्रिय परिचयपत्र बनाउन।'
कसको?
(छोरीको नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि भरेको फारम देखाउँदै) 'छोरीको।'
अनि छोरी खै त?
'बाहिर छिन्। बोलाऊँ?'
छोरीलाई लगाउनु नि छोरीको काममा, ल बोलाउनुस्।
'हुन्छ।'
छोरीलाई सोधेँ- आफ्नो काम आफैं गर्न पर्दैन?
'पर्छ। तर, बाबाले भरिदिस्यो अनि सप्पै काम बाबाले नै बुझिसेको छ नि त अनि।'
तिमीले भर्खरै पाएको आफ्नो नागरिकतामा भएका सबै विवरण 'भेरिफाइ' गर्यौ?
'बाबाले गरिस्यो होला।'
'स्पेलिङ', मितिहरू सबै मिलेको छ?
'ला ! त्यो त हेरिनँ।'
लकडाउनका बेला नागरिकता बनाउन भनेर काठमाडौंबाट सवारी पास लिएर आएका बाबुछोरीलाई सँगै राखेर सोधेँ- तिमीले पाएको नागरिकताको अर्थ, महत्व थाहा छ त?
'उम्म्म्म्म। हल्का।'
कहाँ पढ्छ्यौ?
'लिटिल एन्जल्स, सातदोबाटो।'
कुन लेभलमा?
'टुवेल्भ।'
आजदेखि नेपाली नागरिकताबाहक नेपाली नागरिक भयौ बधाइ छ। तर नागरिकताको प्राप्तिसँगै तिम्रो जिम्मेवारी र कर्तव्य पनि सुरू हुन्छन्, थाहा होला नि होइन?
मास्कभित्रको मुस्कान भनिरहेको थियो, 'अधिकार पो पाइयो। अबबाट जिम्मेवारी कसरी सुरू हुनु र?'
न उनलाई नागरिक हुनुको अर्थ थाहा भएको पाइयो न पाइयो कर्तव्यबारे जानकारी।
जहाँसुकै पढे पनि आधारभूत र जीवनोपयोगी कुरा सिकाए पो!
आज गएर नेपालको संविधानको धारा- ४८ हेर है?
'धारा!'
आर्टिकल फोर्टी-एट।
'के छ र त्यसमा?'
मैले भनेँ- नागरिकका कर्तव्य। राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने। संविधान र कानुनको पालना गर्ने। राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने। प्रत्येक नागरिकले पालना गर्नुपर्ने यति महत्वपूर्ण कर्तव्य त सबैले जान्नैपर्छ होइन र? ल अब जाऊ है।
'लाऽऽऽऽऽ ! त्यस्तो पनि गर्नुपर्छ?'
पर साक्षी बसेका छोरीका बाबु सायद धन्यवाद भन्न खोज्दै थिए। मलाई धन्यवाद पाउनुभन्दा पनि अर्को सेवाग्राहीको समस्यामा केन्द्रित हुनु थियो।
मैले हाँसेर दोहोर्याउँदै भनेँ, 'कन्ग्राचुलेसन्स् अगेन फर बिइङ अ नेपाली सिटिजन, बट डन्ट फर्गेट आर्टिकल फोर्टी-एट।'
(लेखक जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुन्)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)