नेपालमा दुइटा कुरा अर्को चरणमा प्रवेश गरेका छन् — कोरोना संक्रमण र नेकपाभित्रको शक्ति संघर्ष।
कोरोना संक्रमण दोस्रो चरणमा छ। केही दिनअघि उदयपुरमा एउटा गाउँका बासिन्दालाई संक्रमण देखिएपछि त्यसको स्रोत के हो भनेर खोजी भइरहेको छ। त्यसले संक्रमण दोस्रो चरणमै छ कि तेस्रोमा प्रवेश गरिसक्यो भन्ने यकिन गर्नेछ।
कम्युनिस्ट पार्टीभित्रको शक्ति संघर्ष पनि सोमबारदेखि अर्को चरणमा प्रवेश गरेको छ— स्थायी समिति सदस्य र सांसद तानातानको चरणमा।
एकातिर कोरोना संक्रमित कति भए भनेर पिसिआर र आरडिटी संख्या गन्ती भइरहेको छ। अर्कातिर, नेकपामा आ-आफ्ना पक्षमा कति सांसद र स्थायी समिति सदस्य छन् भन्ने गन्ती भइरहेको छ।
कसरी पुग्यो नेकपाको शक्ति संघर्ष अर्को चरणमा?
सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग कुरा गरे। उनले नेपाललाई पार्टीभित्रको झगडा मिलाउन कुनै 'अफर' गरेनन्। मिलेर जाउँ भने, नमिल्ने भए आउने परिस्थिति सामना गर्छु भने।
दिउँसो नेता नेपालको कोटेश्वर निवासमा भएको पूर्वएमाले नेताहरूको भेलामा पनि बालुवाटारबाट कुनै प्रस्ताव गएन। घुमाउरो पारामा आवश्यक परे केही मन्त्री र एउटा वा दुइटा मुख्यमन्त्री बदल्न सकिने कुरा प्रधानमन्त्रीनिकट नेताहरूले गरे। पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षको अपेक्षा भने ओलीले भरसक प्रधानमन्त्री, नभए पार्टी अध्यक्ष छाड्नुपर्छ भन्ने छ।
बालुवाटारले सोमबारदेखि नै 'परिआए सामना गर्ने' रणनीतिअनुसार सांसद र स्थायी समिति सदस्यहरूमाझ लबिङ सुरू गरेको छ। सके संसदीय दलमा बहुमत पुर्याउने, नसके नेपाल-प्रचण्ड पक्षका धेरै सांसद आफूतिर तानेर उनीहरूलाई दबाबमा पार्ने रणनीति बालुवाटारको छ।
प्रधानमन्त्रीलाई हटाउन अर्को क्याम्पले हस्ताक्षर सुरू गरेपछि आफूहरूले पनि लबिङ बढाएको बालुवाटारको दाबी छ।
सांसद र स्थायी समिति सदस्यको तानातानले नेकपाको शक्ति संघर्ष नयाँ चरणमा पुर्याएको छ। गएको आइतबारसम्म नेकपा नेता माधव नेपालले के निर्णय गर्छन् भन्नेमा पार्टीभित्रको शक्ति संघर्षले कसरी निकास पाउँछ भन्ने धेरै हदसम्म निर्भर थियो।
नेपालले के निर्णय लिन्छन् भन्नेले अझै पनि पक्कै अर्थ राख्नेछ। तर, आजका दिनमा त्योभन्दा ठूलो अर्थ कसको पक्षमा कति सांसद उभिने छन् भन्नेले राख्छ।
मंगलबार बिहान मात्रै पूर्वमाओवादी नेता तथा मन्त्री लेखराज भट्टले सेतोपाटीसँग कुरा गर्दै अहिलेको शक्ति संघर्षमा आफू प्रधानमन्त्री ओलीसँग भएको प्रस्ट संकेत गरे।
पार्टीभित्रको समीकरण परिवर्तन भएको हो भन्ने प्रश्नमा उनले भने, 'पार्टीको आन्तरिक समीकरणमा फेरबदल आइरहनु ठूलो कुरा होइन।' (हेर्नुहोस्: नेकपामा बदलिँदो समीकरण, प्रचण्ड छाडेर मन्त्री भट्टको प्रधानमन्त्रीलाई साथ)
भट्टसँगै अहिलेसम्म प्रचण्ड-नेपाल पक्षमा रहेका सुदूरपश्चिमका झन्डै एक दर्जन सांसद प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णयमा पुगेको बालुवाटारको दाबी छ। बालुवाटारले नेपाल-प्रचण्ड पक्षभित्र विभिन्न कारणले असन्तुष्ट रहेका सांसद तथा स्थायी समिति सदस्यलाई 'टार्गेट' गरेर फकाइरहेको अर्को खेमाका सांसदले बताए।
'बालुवाटारले हामीभित्रको अन्तरविरोध र असन्तुष्टिमा खेल्न खोजेको छ,' प्रचण्ड-नेपाल निकट एक नेताले भने, 'जति प्रयास गरे पनि संसदीय दलमा उनीहरूको बहुमत पुग्दैन।'
संसदीय दलमा कसका पक्षमा कति सांसद छन् भन्ने यकिन छैन। प्रधानमन्त्री ओलीका पक्षमा ४० प्रतिशत सांसद रहेकाले उनले आवश्यक परे पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको धेरैको अनुमान छ।
'वामदेव गौतम र विष्णु पौडेल प्रधानमन्त्रीसँगै हुँदाको अवस्थामा उतातिर झन्डै ४३-४४ प्रतिशत सांसद संख्या हो। उहाँहरू नरहनेबित्तिकै ४० प्रतिशत पनि नपुग्ने अवस्था छ,' प्रचण्ड-नेपाल पक्षका एक नेताले भने।
महासचिव विष्णु पौडेल एक यस्ता सांसद हुन्, जसलाई दुवै पक्षले आफूतिर गनिरहेका छन्।
प्रचण्ड-नेपालले 'टाउका गनेर' प्रधानमन्त्रीलाई दबाब दिन खोजेपछि आफूहरू पनि संख्या गन्ने भए, त्यही सही भनेर लागेको बालुवाटारनिकट एक नेताले बताए।
'प्रधानमन्त्रीले लामो समयदेखि 'टाउका गन्ने खेल' नगरौं भन्नुभएको हो। उहाँहरूले संख्याको बलमा प्रधानमन्त्रीलाई अनुचित दबाब दिन थालेपछि हामीले सांसद र पार्टी नेताहरूसँग कुरा गरेका हौं,' ती नेताले भने, 'तर अहिले पनि हाम्रो भनाइ संख्याको खेलमा नलागौं, त्यसले पार्टीको हित गर्दैन भन्ने नै छ।'
पार्टी र संसदमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा उनी अल्पमतमा छन्। त्यसमध्ये उनको स्थिति संसदीय दलमा अलिक राम्रो छ।
बालुवाटारले सोमबारदेखि सांसद र स्थायी समितिमा रहेका नेताहरूमाझ प्रधानमन्त्रीको पक्षमा लबिङ तीव्र बनाएपछि प्रचण्ड-नेपाल पक्ष पनि सक्रिय भएको छ। आफूहरूबाट प्रधानमन्त्रीतिर जान सक्ने सम्भावित नेताहरूलाई रोक्न उनीहरूले कुराकानी तीव्र बनाएका छन्। मन्त्री भट्टसँग पनि प्रचण्ड-नेपाल पक्षले विभिन्न नेतामार्फत् कुरा गरिरहेको छ।
थप नेताहरूलाई प्रधानमन्त्रीतिर जान नदिने रणनीति उक्त समूहको छ। अब केही दिन दुवै समूहबीच सांसद र स्थायी समिति सदस्यहरूको तानातान चल्नेछ। 'टाउको गन्ने' कामले नै अन्तत: दुई पक्षमध्ये को आक्रामक हुने र को मत्थर हुने भन्ने धेरै हदसम्म तय गर्नेछ।
पार्टीभित्रको अंकगणितले माधव नेपालले चाल्ने आगामी कदम पनि धेरै हदसम्म निर्धारित हुनेछ। पार्टी सचिवालयमा ओली इतरका पाँच मुख्य नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमध्ये नेपालबाहेक चारै जना प्रधानमन्त्री ओलीलाई हटाउनुपर्नेमा एकमत छन्। गएको शुक्रबारदेखि नै उनीहरू नेपालले अन्तिम निर्णय के गर्छन् भनेर कुरिरहेका छन्।
नेपाल भने सुरूदेखि नै दुबिधामा छन्। त्यसमा व्यक्तित्वजन्य कारण पनि छन् भने प्रधानमन्त्री ओलीसँग मुठभेडमा जाँदा पार्टीलाई पुग्ने सम्भावित क्षतिले पनि उनलाई पिरोलेको छ।
पहिले नेपालको व्यक्तित्वका पक्षमा कुरा गरौं।
सामान्यतया मानिस दुई खालका हुन्छन्— 'रिस्क टेकर' अर्थात् खतरा मोल्न अघि सर्ने र 'रिस्क अभर्स' अर्थात खतरा मोल्नबाट पछि हट्ने। नेपालको व्यक्तित्व 'रिस्क टेकर' को होइन।
नेपाल खतराबाट सधैं भाग्ने मानिस हुन् भनेको पक्कै होइन। पञ्चायत कालमा भूमिगत कम्युनिस्ट राजनीति गर्नु आफैंमा सानो खतरा थिएन। तर, पार्टीको आन्तरिक जीवन र राजनीतिमा भने भिड्ने, मुठभेडमा जाने उनको स्वभाव रहेन। संयोजनकारी भूमिकामा उनी धेरै सहज मान्छन्, उनको व्यक्तित्व त्यसैमा खुल्छ।
उनी चौध वर्षसम्म पार्टी महासचिव रहे। तर, चुनाव प्रतिस्पर्धा गरेर होइन। सबैले सर्वसम्मत् चुनेर। पहिलो संविधानसभा निर्वाचनमा पार्टी हारको जिम्मा लिँदै उनले महासचिवबाट राजीनामा दिए।
त्यसपछि २०६६ सालमा पार्टीको आठौं महाधिवेशन बुटवलमा भयो। कार्यवाहक महासचिव खनालले अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरे। त्यो बेला नेपाल-ओली एउटै क्याम्पमा थिए। ओलीले अध्यक्षमा लड्ने मनसुवा देखाए। उनले चुनाव नजित्ने, त्यसैले नेपाललाई नै चुनावमा उठाउनुपर्ने धेरैको राय आयो। ओलीले पनि माने आफू उठ्ने नेता नेपालले बताए।
ओलीलाई मनाउन उनले विश्वास गर्ने विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायत करिब आधा दर्जन नेता उनीकहाँ गए। उनको नेतृत्वमा चुनाव लडे झलनाथले जित्ने भन्दै नेपाललाई नै अध्यक्षमा उठाउन उनीहरूले प्रस्ताव गरे। अर्को महाधिवेशनमा उनी उठ्दा ठिक हुने र जितिने भनेर सम्झाए।
ओलीले सबैको कुरा सुने र अन्तिममा नाडीको घडी हेर्दै भने, 'अध्यक्षमा मनोनयन दर्ता गर्ने बेला भयो, म हिँडेँ। तपाईंहरू जे गर्ने हो, गर्नुहोस्।'
त्यसपछि सबै जना निराश भएर फर्किए। अन्तत: नेपाल पछि हटे। ओली चुनाव लडे र झलनाथ खनालसँग हारे।
नेपाल प्रधानमन्त्री बन्दा पनि पार्टीभित्र प्रतिस्पर्धा गरेर बनेका होइनन्। प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि गिरिजाप्रसाद कोइरालाले झलनाथ खनाल र नेपाललाई महाराजगन्जस्थित आफ्नो निवासमा बोलाए।
खनाल त्यो बेला पार्टीका निर्वाचित अध्यक्ष थिए। नेपाल संविधानसभा निर्वाचनमा दुई ठाउँबाट पराजित नेता र समानुपातिकअन्तर्गत संविधानसभामा तानिएका सांसद!
कोइरालाले दुवै नेतालाई सँगै राखेर भने, 'यसपालि एमालेको नेतृत्वमा सरकार बनाऔं। माधवजी प्रधानमन्त्री बन्नुहोस्।'
आफू पार्टी अध्यक्ष छ, प्रधानमन्त्री अर्को नेतालाई बनाउने कोइरालाको प्रस्ताव खनाललाई पक्कै निको लागेन। तर, माओवादी भर्खर सत्ताबाट बाहिरिएको थियो, कांग्रेसको समर्थनबिना त्यो बेला सरकार बन्न सम्भव थिएन। त्यसैले खनालले कोइरालाको प्रस्तावको प्रतिवाद गर्न सकेनन्। नेपाल प्रधानमन्त्री चुनिए।
संविधानसभाको म्याद थप्ने बेला रडाको मचियो। माओवादीले झलनाथ खनालसँग हिमचिम बढायो। नेपालले राजीनामा नदिए म्याद थप्न नमानेर संविधानसभा विघटन गराइदिने चेतावनी माओवादीले दिए। पार्टीभित्र खनाल पक्षले पनि नेपाललाई राजीनामाका लागि दबाब दिन थाल्यो।
नेपाली कांग्रेसले नेपाललाई भनेको थियो, 'माओवादीको धम्की मात्रै हो। राजीनामा नदिनुहोस्, तपाईंलाई हाम्रो साथ छ।'
ओली त्यो बेला संसदमा थिएनन्। तर, उनी नेपालले राजीनामा दिन नहुने पक्षमै थिए।
संविधानसभाको म्याद सकिने बेला आयो, माओवादीले दबाब बढाउँदै लगे। नेपालले राजीनामा दिने मनस्थिति बनाए। धेरैले सम्झाउँदा पनि उनी मानेनन्।
संविधानसभा विघटन र पार्टी विभाजनको कलंक आफूले बोक्न नसक्ने भन्दै उनले राजीनामा दिने निर्णय सुनाए। ओली अन्तिमसम्म राजीनामा दिनुहुन्न भन्नेमा अडेका थिए। उनलाई पनि प्रदीप ज्ञवाली लगायत सांसदले 'संविधानसभा विघटन हुने भयो, कलंक हाम्रो टाउकोमा आउने भयो, जोगाउनुहोस्' भन्दै हारगुहार गरे। सभासद नै नरहेका ओली राति संविधानसभा भवन गए र नेपालले राजीनामा दिने टुंगो लगाए।
नेपालले पार्टीभित्र चुनाव प्रतिस्पर्धा गरेको नवौं महाधिवेशनमा मात्र हो। उनले ओलीसँग चुनाव हारेका थिए। 'त्यो चुनाव पनि उहाँले अन्तिमसम्म प्रतिस्पर्धा गर्न चाहनुभएको थिएन,' उनीनिकट एक नेताले भने।
यसरी पार्टीमा भरसक प्रतिस्पर्धा र मुठभेड पन्छाएर यहाँसम्म आइपुगेका नेपाल एकीकृत कम्युनिस्ट पार्टीभित्रको अहिलेसम्मकै ठूलो घम्साघम्सीको केन्द्रमा छन्। उनले दुई-तीन दिनअघि नै प्रधानमन्त्री ओलीले पार्टी वा सरकार आफूसँग 'सेयर' गर्न नचाहे अघि बढ्ने निर्णय गरेका भए नेकपा आज अर्कै मोडमा पुगिसकेको हुन्थ्यो।
तर, पछिल्ला तीन दिनदेखि उनी आफूहरू निकटसँग परामर्शमा छन्। सायद आफ्नै मनको द्वन्द्वमा अल्झेका छन्— अघि बढौं कि नबढौं!
नेपालसँग लामो समय सँगै रहेर काम गरेका एक नेता भन्छन्, 'मिलेर जाने निर्णय गर्न, त्यस्तो कामको संयोजन गर्न उहाँलाई सहज हुन्छ, तुरून्तै तयार हुनुहुन्छ। तर, भिड्ने निर्णय गर्न उहाँलाई सधैं सकस हुन्छ।'
उनीनिकट अर्का नेता भन्छन्, 'उहाँले दिनभरि म अब अगाडि बढ्छु, देखाइदिन्छु भन्न सक्नुहुन्छ। भोलिपल्ट बिहान फेरि 'माधव नेपाल हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेता होइन' भन्नुहुन्छ!'
नेपाल आफैं नेतृत्वमा भएका बेला एमाले एकपटक फुटिसकेको छ। त्यसैले पार्टी फेरि फुट्ला भनेर उनले प्रधानमन्त्री पदबाट संविधानसभा कालमा राजीनामा दिएका थिए। यसपालि पनि यति ठूलो जनमतसहित चुनिएको पार्टी फुट्ला कि भनेर उनी पिरोलिएका छन्।
अर्कातिर दबाब बढ्दै गएर प्रधानमन्त्री छाडिहाल्लान् कि भन्ने पनि उनलाई झिनो आशा छ। 'आफैं रूख चढेर फल टिपेर खानेभन्दा रूखबाट झरेको फल खाने उहाँको बानी हो,' उनीनिकट एक नेता भन्छन्।
उनले त्यसैलाई अर्को तरिकाले पनि भने, 'उहाँ कथाले मागेपछि, सबैले भनेपछि नेतृत्व लिने मान्छे हो। आफैं पटकथा लेखेर त्यसको हिरो बन्ने होइन।'
लामो समयसम्म नेपालसँग संगत गरेका प्रधानमन्त्री ओलीलाई सायद उनको यो कमजोरी थाहा छ। पार्टी फुटाउने वा आफूसँग भिड्ने निर्णय नेपालले हत्तपत्त गर्ने छैनन् भन्ने उनको आकलन छ।
'नेपाल-प्रचण्ड आँट गरेर खोला तरेर आउने छैनन् भन्ठानेर ओली पारिपट्टि ढुक्कले बसेका छन्,' एक नेताले भने, 'अझ पारि बसेर वारिका मान्छे तर्साउँदै छन्।'
'परे सामना गर्छु' भन्ने प्रधानमन्त्री ओलीको भनाइ प्रचण्ड-नेपाललाई तर्साउने काइदा भएको उनले तर्क गरे, 'प्रचण्ड र नेपालले अघि बढ्ने निर्णय गरेका दिन प्रधानमन्त्रीको चुनौती सकिन्छ।'
परिस्थिति त्यति सजिलो पनि छैन। जसरी पार्टीभित्रका समीकरणमा फेरबदलका संकेत देखापरेका छन्, त्यसले नेता नेपाललाई थप झस्काएको छ। लेखराज भट्टको भनाइले पनि नेपाललाई थप हच्काएको छ।
प्रचण्ड-नेपालसामु अहिलेको एउटा प्रश्न, सरकारमा रहेका आफू पक्षका मन्त्रीले के गर्छन् भन्ने छ। उनीहरूमध्ये धेरै मिलेर जानुपर्छ भन्ने पक्षमा छन्। प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष छाड्नुपर्छ, नेपालले त्यसलाई स्वीकार गरेर पार्टीलाई एकबद्ध पारेर लैजानुपर्छ भन्ने उनीहरूको धारणा थियो।
प्रधानमन्त्री ओलीले नेपालसँग पार्टी र सरकारको नेतृत्व थप सेयर गर्ने पक्षमा कुनै चासो नदेखाएपछि उनीहरूले के भन्छन् त्यो महत्वपूर्ण छ। ओलीले मिल्नुको सट्टा प्रचण्ड र नेपाल दुवैसित 'खेल्न' खोजेपछि केही मन्त्री खिन्न छन्।
मिल्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर उनका विश्वासपात्र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल शुक्रबार साँझ नेता नेपालकहाँ पुगेका थिए। उनले त्यहाँ दुई घन्टा छलफल गरे। पूर्वएमाले पक्षधर, बहुदलीय जनवादका पक्षधर एकठाउँ आउनुपर्ने जिकिर गरे।
आइतबार फेरि पोखरेल नै मन्त्री वर्षमान पुनलाई लिएर प्रचण्ड निवास खुमलटार पुगे। त्यहाँ दुई पार्टीका एकीकरणकर्ता ओली र प्रचण्ड मिल्नुपर्ने प्रस्ताव राखे। पार्टीमा खटपट भइरहन्छ, तर दुई मूल नेता मिलेपछि समाधान निकाल्न सकिन्छ भनेर तर्क गरे।
त्यही दिन दिउँसो प्रचण्डले कोटेश्वर पुगेर नेपाल र उनीनिकट स्थायी समिति सदस्यलाई पोखरेल प्रधानमन्त्रीको प्रस्ताव लिएर आएको पोल खोलिदिए। नेपालनिकट नेताहरूमा त्यसले प्रधानमन्त्री ओलीप्रति थप शंका बढायो।
संयोजन मन पराउने र मुठभेड पन्छाउन रुचाउने नेपाललाई आजका दिनमा सम्भवत: उनको राजनीतिक जीवनकै सबैभन्दा महत्वपूर्ण प्रश्नले पनि उत्तिकै उद्वेलित बनाएको हुनुपर्छ— मैले यसपालि अघि बढेर प्रधानमन्त्री ओलीको सामना गरिनँ भने फेरि नेकपाको नेतृत्वमा पुग्ने बाटो सधैंका लागि बन्द हुन्छ कि हुन्न? आफूलाई नेता मानेर बसेका हजारौं नेता-कार्यकर्ताले फेरि आफूलाई भविष्यको नेताका रूपमा पर्खेर बस्छन् वा सदाका लागि लाखापाखा लाग्छन्?
एउटा राजनीतिज्ञलाई आफ्नो राजनीतिक अस्तित्वको प्रश्नभन्दा पेचिलो अरू कुनै प्रश्न हुन्न। तर, त्यो प्रश्नलाई केन्द्रमा राखेर निर्णय गर्नुअघि फेरि पनि नेपालले आफ्नो खेमा अंकगणितीय रूपमा कति बलियो छ भनेर यकिन गर्नुपर्नेछ।
त्यसैले आउने एक-दुई दिन नेकपाका दुवै खेमा सांसद र स्थायी समिति सदस्यको गन्ती गर्नमा व्यस्त रहने छन्।
यी पनि हेर्नुहोस्: