प्रधानमन्त्री केपी ओलीको भविष्यबारे शुक्रबारको मेरो लेख विक्रम सुब्बाको कविताको पंक्ति र केही प्रश्नमा टुंगिएको थियो। आजको लेख सुब्बाका तिनै पंक्तिबाट सुरू गर्छु, ताकि सिलसिला नटुटोस्।
आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडै पहाडको घुइँचो घारीमा
सबैभन्दा माथि उछिट्टिएर फक्रेको
हिमालको थुँगा उदांगै देखिन्छ
जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ!
एउटा कविले सगरमाथालाई वा एउटा बादशाहलाई सजिलै तिमी नांगै छौ भन्न सक्छ। तर, पार्टी नेता र कार्यकर्ताको भीडमा आफूलाई एक्लो सगरमाथा ठान्ने केपी ओलीलाई नेकपा नेताहरूले अब के भन्ने छन्?
तपाईं सही सलामत हुनुहुन्छ, केही गल्ती भा'छैन भन्ने छन्। वा, तपाईं त नांगै हुनुभयो, छिटो छोप्नुहोस् भन्ने छन्। वा, यति नांगिएपछि तपाईं सत्तामा बसिराख्न लायक हुनुहुन्न, छोड्नुस् भन्ने छन्?
अब केपी ओलीको होइन, नेकपाको निर्णयमा उनको भविष्य निर्भर गर्ने छ।
नेकपाले के निर्णय गर्ने छ त?
नेकपा अहिले एउटा भयंकर दुर्घटनापछिको परिवारजस्तै भएको छ। के गर्ने, कसो गर्ने? हस्याङफस्याङ जारी छ।
एउटा कुरा भने फरक छ— दुर्घटनापछिको स्थिति कसरी सम्हाल्ने भन्नेमा परिवारको प्राय: स्वार्थ एउटै हुन्छ। नेकपामा भने स्वार्थहरू विभाजित छन्।
नेकपामा तत्कालको विषय स्थायी समिति बैठक हो। स्थायी समितिका २० सदस्यले बैठक माग गर्दै अध्यक्षलाई लिखित पत्र बुझाएका छन्। पार्टी सचिवालयका बहुसंख्यक सदस्य पनि बैठक चाँडै बोलाउनुपर्ने पक्षमा छन्।
पार्टी अध्यक्ष ओलीले भने बैठक टारिरहेका छन्। उनले शुक्रबार र शनिबार पनि नेताहरूसँको भेटमा अध्यादेश खारेज भइसकेको अवस्थामा स्थायी समिति बैठक आवश्यक नरहेको तर्क गरेका छन्। बाहिर रहेका सदस्यलाई 'लकडाउन' को समय काठमाडौं आउन गाह्रो हुने पनि उनको जिकिर छ।
वास्तवमा प्रधानमन्त्री ओली बैठक डाक्नुअघि स्थायी समितिले केसम्म निर्णय गर्न सक्छ भन्ने जान्न चाहन्छन्। त्यसको निर्क्योल नहुञ्जेल स्थायी समिति टार्ने उनको योजना छ। बाहिर स्थायी समिति बैठक चाँडो बोलाउन माग गरे पनि पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले पनि आज वा भरे नै बैठक बसाउन चाहेको छैन। किनभने, प्रधानमन्त्री ओलीबारे के निर्णय गर्ने, कुन हदसम्म जाने भन्नेमा प्रचण्ड-नेपाल समूहबीच एकमत बनिसकेको छैन।
अहिलेको अवस्थालाई पहिले प्रधानमन्त्रीको कोणबाट हेरौं।
बिहीबार साँझ वामदेव गौतमको भैंसेपाटी निवासमा नेकपा सचिवालयका छ जना सदस्यबीच राति अबेरसम्म बैठक चल्यो। उक्त बैठक सकिएपछि राति ११ बजे प्रधानमन्त्री ओलीले नै वामदेव गौतमलाई फोन गरेर सोधे, 'तपाईंहरूको बैठकको निष्कर्ष के हो?'
गौतमले भने, 'बैठकको निष्कर्ष तपाईंलाई सुनाउने जिम्मा हामीले कमरेड प्रचण्डलाई दिएका छौं। उहाँ तपाईंलाई भेट्न भोलि बालुवाटार आउनु हुनेछ।'
प्रधानमन्त्री ओलीले गौतमलाई अबेर राति फोन गरेर सोध्नुको कारण छ। साँझ बैठक सुरू हुनुअघि पनि उनी र गौतमबीच कुरा भएको थियो।
गौतमले त्यो बेला प्रधानमन्त्रीलाई तुरुन्त स्थायी समिति बोलाउन सुझाएका थिए। ओलीले नबोलाए प्रचण्डले बोलाउने र त्यसले प्रधानमन्त्री हटाउने स्थिति आउने कुरा गौतमले जानकारी गराएका थिए।
शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेट भयो। प्रचण्डले फेरि पनि चाँडो स्थायी समिति बोलाउन माग गरे। प्रधानमन्त्रीले कतिपय सदस्य काठमाडौंबाहिर रहेको भन्दै टारे।
प्रधानमन्त्री ओलीलाई प्रचण्ड-नेपाल समूहले के निर्णय गर्छ, कसरी अघि बढ्ने तय गर्छ भन्ने पर्खाइ छ। तर, उनी त्यो मात्र पर्खेर बसेका छैनन्। उनले माधव नेपालसँग संवादको 'च्यानल' खोलेका छन्। अझ भनौं, संवादलाई तीव्रता दिएका छन्।
ओलीका विश्वासपात्र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अहिले राजधानी आएका छन्। उनले नेता नेपालसँग शुक्रबार साँझ दुई घन्टाभन्दा बढी कुरा गरे। नेपाल र पोखरेलको घर कोटेश्वरमा पाँच मिनेट पैदलदुरीमा छ।
शनिबार बिहान फेरि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेपाललाई भेट्न कोटेश्वर गए। शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफैं नेपालसँग बालुवाटारमा दुई घन्टा कुरा गरे।
नेपालसँग मिलेर अघि बढ्न संवादको च्यानल खोलेको यो पहिलोपटक होइन। सभामुखको निर्वाचन, अमेरिकी एमसिसी परियोजनाको संसदबाट अनुमोदन र वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे पार्टीभित्र अल्पमतमा परेदेखि नै ओलीले नेपालसँग संवाद जारी राखेका छन्। जनताको बहुदलीय जनवाद र लोकतन्त्रको रक्षाका लागि सँगै मिलेर जान उनी र उनीनिकटले नेपालसँग अनुरोध गरेका छन्।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघिल्लो दिन पनि ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर कुरा गरेका थिए।
ईश्वर पोखरेल र सुवास नेम्वाङलाई सँगै राखेर उनले नेपाललाई सोधे, 'सँगै मिलेर जान तपाईंलाई मैले के गर्नुपर्यो?'
नेपालले त्यो बेला केही जवाफ फर्काएनन्।
नेपाल के चाहन्छन् भन्ने ओलीलाई त्यतिखेर थाहा नभएको थिएन। ओली र नेपालनिकट नेताहरू दुई नेतालाई मिलाउन निरन्तर छलफलमा थिए। नेपालले उनीहरूमार्फत् प्रस्ट सन्देश पठाएका थिए, 'तपाईं प्रधानमन्त्री मात्र बस्नुहोस्। मलाई पार्टी अध्यक्ष छोड्नुस्। प्रचण्ड दोस्रो अध्यक्ष छँदैछन्। तपाईं सरकारमा बाँकी अवधि रहने कुराको ग्यारेन्टी म गर्छु। मिलेर पार्टी र सरकार चलाऔं।'
जवाफमा अर्को चुनाव र महाधिवेशन नहुञ्जेल आफू नै प्रधानमन्त्री र पार्टी अध्यक्ष कायम रहने, अर्को महाधिवेशनमा नेपाललाई सघाउने सन्देश प्रधानमन्त्रीले पठाए।
त्यसपछि 'अब उधारो आश्वासनले नचल्ने' भन्दै माधव नेपाल पछि हटे।
पछिल्ला दुई दिनमा शंकर र ईश्वर पोखरेलमार्फत् ओलीले नेपालकहाँ के सन्देश पठाए, थाहा छैन। आफूलाई अध्यक्ष बनाउनुपर्ने नेपालको माग ओलीले अहिल्यै माने भने पनि नेपाल-ओलीबीच सुलह हुन्छ वा हुन्न यकिन छैन। पछिल्लो तीन दिनमा राजनीति आनका तान फरक परेको छ। फेरि अहिले माधव नेपाल एक्लै त्यो निर्णय गर्न सक्ने ठाउँमा कति छन्?
अध्यादेश प्रकरणभन्दा केही समयअघि एक साँझ खुमलटारमा प्रचण्ड, नेपाल, गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच छलफल चलेको थियो। श्रेष्ठले प्रश्न गरे, 'माधव कमरेडलाई अध्यक्ष बनाउन प्रधानमन्त्री तयार भए भने के गर्ने?'
वामदेव र झलनाथले तुरुन्तै भने, 'अध्यक्ष बन्ने।'
प्रचण्डले केही बेर सोचेर भने, 'त्यस्तो होला? ओलीले त्यसो गर्लान् र?'
आजको स्थितिमा प्रचण्डको कोणबाट एकछिन सोचौं।
एकछिनका लागि ओलीले राजीखुसी नेपाललाई अध्यक्ष छाडे रे। त्यसले त प्रचण्डलाई झनै सशंकित बनाउने भयो— प्रधानमन्त्री ओली नै छन्। उनले भोलिका दिनमा नेपालसँगको सम्बन्ध झनै कसिलो बनाउने प्रयत्न गर्न सक्छन्। आउने महाधिवेशनमा पनि ओली र नेपाल मिलेर जाने सम्भावना बढ्छ। त्यसैले, प्रचण्ड नेपालले अध्यक्ष पदमा सम्झौता गरून् भन्ने चाहन्नन्। प्रचण्डनिकट सबैको मत ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने नै छ।
अब माधव नेपालको कोणबाट हेरौं।
अहिले निर्णय गर्ने ठाउँमा नेपाल छन्। त्यसैले, सबभन्दा दबाबमा पनि उनी नै छन्। उनको दुबिधाका दुई पाटा छन्।
पहिलो, अहिले पनि ओलीलाई प्रधानमन्त्री कायम राख्यो भने उनले आफ्नो तागत झनै बढाउनेछन्। पछि आफूलाई नै अप्ठ्यारोमा पार्न सक्छन्। त्यसले प्रचण्डसँग पनि आफ्नो दुरी बढाउनेछ। कालान्तरमा गएर ओली र प्रचण्ड नै मिल्ने अवस्था आयो भने आफू एक्लो पर्ने खतरा बढ्छ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा उनले कालान्तरमा पार्टी फुटाउँछन् कि भन्ने चिन्ता पनि उनलाई उत्तिकै छ। ओलीले वामदेव गौतमलाई भनेझैं उनलाई हटाउन खोजे 'म सामना गर्छु' भन्दै अघि बढे भने त्यसले पार्टीभित्र गहिरो मुठभेडको अवस्था ल्याउन सक्छ। ओली समूह एकातिर र प्रचण्ड-नेपाल अर्कातिर उभिने अवस्था आयो भने त्यो प्रधानमन्त्री हटाउने कुरामा मात्र सीमित हुने छैन।
अहिले ओलीनजिकका चार जना नेता मुख्यमन्त्री छन्— प्रदेश एकका शेरधन राई, बागमतीका डोरमणि पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र पाँचका शंकर पोखरेल। उनीहरू ओली पक्षमा खुलमखुल्ला उभिए भने वा नेपाल पक्षका मुख्यमन्त्रीका आकांक्षी नेताहरूले दबाब दिए भने उनीहरूलाई हटाउने अवस्था आउँछ। कर्णाली र सुदूरपश्चिममा भने पूर्वमाओवादी नेताहरू मुख्यमन्त्री छन्।
त्यसपछि राष्ट्रपतिको विषय पनि उठ्नेछ। शितल निवासमा बसेर राष्ट्रपतिले ओलीको पक्षपोषण गरेको र पार्टीभित्रको शक्तिसंघर्षमा प्रधानमन्त्री ओलीलाई साथ दिएको आरोप छ। अहिले ओलीविरूद्ध उभिएका झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी छन्। वामदेवको व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ।
यो अवस्थामा पुग्नुअघि नै ओलीले बरू आफूलाई प्रधानमन्त्री पद छाडिदिए त्यसपछि मुख्यमन्त्री र राष्ट्रपति चलाउन पर्दैन थियो भन्ने पनि नेपालको अपेक्षा देखिन्छ। त्यसले ओलीलाई अहिले प्रधानमन्त्रीमा कुनै हालतमा जारी राख्नु हुन्न भन्ने प्रचण्ड पक्षको माग पनि पूरा हुन्थ्यो। नेपाललाई सजिलो हुन्थ्यो।
राजनीति मलमलको ओछ्यान हुन्थ्यो भने नेकपा अहिलेको अवस्थामै आइपुग्दैन थियो। ओलीले स्वैच्छिक रूपमा प्रधानमन्त्री छाड्ने कमै सम्भावना रहेकोमा नेपाल नजिकका नेताहरू एकमत छन्।
प्रत्येक राजनीतिकर्मीले आफूलाई नै केन्द्रमा राखेर निर्णय गर्छन्। नेपालले अन्तत: एउटा अप्ठ्यारो छनौट गर्नुपर्ने अवस्था आइपर्नेछ — प्रचण्डलाई लिएर अघि बढ्दा कालान्तरमा आफू नेकपा नेताका रूपमा स्थापित हुन्छु वा ओलीलाई सँगै लिएर जाँदा?
निकासको एउटा बाटो यस्तो हुनसक्ने नेकपाका एक जना नेताले सुझाए— अहिले नेपालले सरकारको नेतृत्व गर्ने, महाधिवेशन र संसदको चुनावपछि नेपालले पार्टी र प्रचण्डले संसदीय दल वा सरकारको नेतृत्व गर्ने गरी दीर्घकालीन सम्झौता गर्ने!
नेपाल के गर्ने भन्ने निर्णयमा अझै पुगेका छैनन्। उनी आफू नजिकका स्थायी समिति सदस्यहरूसँग परामर्शमा छन्। आज र भोलिको परामर्शपछि उनी निर्णयमा पुग्न सक्छन्। उनीसामु ओलीप्रति नरमदेखि निर्मम हुनेसम्मका चार विकल्प छन्।
पहिलो, स्थायी समिति बैठकमा ओलीलाई आत्मालोचना गराउने, पार्टीमा सुलह गरेर अघि बढ्ने।
दोस्रो, आफूले अध्यादेश प्रकरणअघि नै माग राखेको पार्टी अध्यक्ष पद लिएर ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने।
तेस्रो, ओलीसँगको सहमतिमा प्रधानमन्त्री बन्ने, त्यसपछि मुख्यमन्त्री वा राष्ट्रपतिमा कुनै परिवर्तन नगर्ने।
चौथो, प्रचण्डसँगको साझेदारी दीर्घकालका लागि अघि बढाउने। प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रपति सबै परिवर्तन गर्ने र ओलीलाई पार्टीभित्र प्रतिपक्षमा सीमित गर्ने। वा, उनले भोलि छुट्टै पार्टी खोले भने त्यसको पनि सामना गर्ने।
नेकपा जुन नाजुक मोडमा आइपुगेको छ, त्यसमा निर्णय गर्ने बोझ माधव नेपालको काँधमा छ। उनले जे निर्णय गर्छन्, त्यसले धेरै हदसम्म ओली र नेकपाको भविष्य तय गर्नेछ।