मानव सभ्यताको इतिहासमा पहिलोपल्ट विश्वभरिका सम्पूर्ण जनसंख्यालाई चुनौती दिँदै कोरोनाको प्रलयकारी संक्रमण भूतलभरि फैलिँदो छ। यो रोगको कुनै औषधोपचार भेट्टाइएको छैन।
मानिसबाट मानिसमा संसर्ग र स्पर्सले सर्ने प्राणघातक रोग हुनाले यसबाट बच्ने एक मात्र उपाय मानिसबाट मानिसलाई टाढा राख्नु हो। आ–आफ्नै घरभित्र लक्ष्मणरेखा पालन गरेर बस्नु हो। मानिसको जमघट र चलखेल बन्द गर्नु हो।
त्यही प्रावधानअनुरुप विश्वका कतिपय देशले ‘लकडाउन’ अर्थात् राष्ट्रिय तालाबन्दी घोषणा गरेका छन्। नेपालले पनि २०७६ चैत ११ बाट लकडाउन थालेको छ। त्यसको २१ औं दिनमा विक्रम सम्बतको पात्रोले हामीसामु नयाँ वर्ष २०७७ साल पल्टाइदिएको छ। तर, मलाई २०–२५ दिनदेखि गते, तिथि, मिति, बार, महिना र साल सबै उस्तै लाग्छन्। एउटा अनौठो दैनिकी चल्दैछ।
प्रत्येक दिनको नयाँ बिहानीले कोरोना संक्रमित देश र तिनका जनताको मृत्युदरको तथ्यांक उकालो लागेको देखाउँदै छ। कोरोना रोगको उद्गम स्थल चीनमा भने संक्रमण प्रायः नियन्त्रणमा आएको बताइन्छ। अन्यत्रबाट आशाको किरण झुल्केको छैन।
युरोप, अमेरिका लगायत हाम्रै छिमेकी भारतमा पनि रोग सर्ने र मर्नेको तथ्यांक दिनदिनै बढ्दो छ। तथ्यांक नियाल्दा ज्येष्ठ नागरिकको मृत्युदर कहालीलाग्दो छ। यस परिस्थितिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब तीस करोड जनतालाई सम्बोधन गर्ने क्रममा परिवारका ज्येष्ठ नागरिकको सुरक्षालाई पहिलो बुँदामा प्रस्तुत गरे।
उमेरले आठ दशक काटिसकेको एक ज्येष्ठ नागरिकको हैसियतले उक्त कुराबाट म अति नै प्रभावित छु।
कोरोनाले आज सम्पूर्ण मानवजातिको मन र मस्तिष्कमा जुन प्रकारको घात–प्रतिघात गरिरहेको छ, त्यसबाट उत्पन्न डर र चिन्तामाझ छोटो भविष्य साँचेर बाँचिरहेका ज्येष्ठ नागरिकहरू लकडाउनका दिन कसरी बिताउँदा हुन् भन्ने जिज्ञासा धेरैबाट ओइरिन थालेको छ।
नयाँ वर्ष २०७७ को प्रारम्भ तिनै जिज्ञासु नाताकुटुम्ब, शुभचिन्तक, मित्रवन्धुहरूको शुभकामनाबाट थालनी भयो। हामी पनि समाजका अरू वर्गबाट एक्लिएका छौं। सबैको व्यथा एउटै होला, तर कथा बेग्लाबेग्लै छन्।
म र मेरी पत्नीको दाम्पत्य जीवनको ५१ वर्ष अवधिमा अहिलेजस्तो प्रत्येक दिन चौबीसै घन्टा, प्रत्येक घन्टाको साठी मिनेट र प्रत्येक मिनेटको साठी सेकेन्ड आपसी सामीप्यमा बसेर जीवन बिताएको कुनै दिन सम्झनामा छैन। कोरोनासँग बच्ने उपायअन्तर्गत लकडाउनले निम्त्याएका असहज घडीलाई मात्र दुई व्यक्तिको सहअस्तित्वले कसरी सहज बनाउन सकिन्छ भन्ने प्रयासमा हामी लागिपरेका छौं।
आजभोलि बिहानीको ५ः३० बजेतिर आकाश उज्यालो हुन थाल्छ। हामी त्यसलाई ‘द्यो तुइल’ भन्छौं। देवता प्रकट भएको मान्छौं। क्षितिजको त्यो उज्यालो, वैशाखको यो महिना र लकडाउनको गहिरो सन्नाटा चराचुरुंगीको चिरबिरले चिर्न थाल्छ।
टाढाबाट बासेको ढुकुरको कुरकुर आवाज कानैमा ठोक्किन्छ। किन हो कुन्नी, दुई–चार दिन भयो, कोइलीको सुरिलो आवाज सुनिएको छैन। बरू कौवाका काँ...काँ... पनि सुरिलोसँग सुनिन्छ। त्यसपछि भँगेरा र फिस्टेहरूको चहलपहल अलि उत्ताउलो नै हुन थाल्छ।
बिहान ६ देखि ७ः१५ बजेसम्म रेडियो सगरमाथाबाट पत्रपत्रिकाको संगालो र बिहानी कुराकानी सुनेपछि बिबिसी नेपाली सेवा सुन्ने गरेको छु। यस प्रकार आफ्नै निद्रा र अनिद्राको सुताइपछि देश–विदेशको घटना र विचारसँग ब्यूँझिने काम हुन्छ। अनि हुन्छ, कोरोनाको संसार प्रवेश।
मेरो ढोका अगाडिको देव मन्दिरभित्र छिरेर त्यहाँ प्रतिस्थापित गणेश, सूर्य, नारायण, भगवती, शिव, सरस्वती एवं हनुमानका मूर्तिमा प्रातःकाल ढोग्ने बानी थियो। कोरोनाका कारण अब तिनलाई टाढैबाट नमस्कार गर्न थालेको छु। देवतालाई पनि कोरोनाले अछुत बनाइदियो।
सानेपा प्रहरीले सरकारी लकडाउन उल्लंघन गर्ने विभिन्नथरीका मानिसलाई त्यही मन्दिरभित्र थुनेर राख्न थालेको छ। मन्दिरलाई पनि कोरोनाले कारागार बनाइदियो।
सानेपा चोकमा दूध, तरकारी, फलफूल र औषधि पसलमा बिहानै मानिसहरू लाम बस्छन्। हामी एकअर्काबाट टाढाटाढा हुने प्रयास गर्दैछौं। सबैको मुख मास्कले टालेको छ। कोही कोहीसँग बोल्दैनन्, हाँस्दैनन्।
म ज्यान नभएको रोबोटझैं झोला बोकेर दूध, तरकारी किनेर घर भित्रिन्छु।
वैशाखको बिहानी बगैंचा ढकमक्कै छ। गुलाबहरूलाई पनि फिका बनाउने गरी बोगनमिलियाहरू फुल्न थालेका छन्। क्यलिण्डुला, प्यान्जी, डायन्थस तथा पिटुनियाहरूले वसन्तीलाई अझ रंगिलो बनाइदिएको छ। यी अधिकांश फूल मेक्सिको, ब्राजिल, वेष्ट इन्डिजबाट आएका हाम्रा अतिथि फूल हुन्।
मास्कले टालेको मुख खोलेर प्रकृतिका यिनै अतिथिसँग संवाद गर्दै परमानन्द भेट्ने चेष्टा गर्दैछु। यस्तैमा केही सेता पुतली मैरै अगाडि–पछाडि गरेर मेरै ओठ सापट लिएर पुष्प–चुम्बनमा व्यस्त देख्छु।
अलि परतिर मेरी श्रीमतीले छरेका चामलका दाना टिप्न परेवा र भँगेरा कौसीका डिलबाट तल झरेका हुन्छन्। आजभोलि एक–दुई बिराला पनि हाम्रोमा चहार्न थालेका छन्। त्यसैले बगैंचामा मान्छे नहुँदा परेवा चारो खान तल झर्दैनन्। मान्छे हुँदासम्म बिराला आउँदैनन् भन्ने तिनलाई थाहा छ।
आफ्नो प्राण सबैलाई प्यारो हुन्छ। त्यसको सुरक्षा आफैंले गर्नुपर्छ। आफ्नो होसियारी आफैंले गर्नुपर्छ भन्ने कुरा बुझाउँदै हतार–हतारमा परेवाहरूले सबै चामल खाइसक्छन्।
आफ्नै प्राणको सुरक्षाका लागि भनेर एकाबिहानैदेखि भान्छामा अदुवा, ज्वानो, दालचिनी र बेसारको नुनपानी पाक्ने गरेको छ। शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन हाम्रा पुर्खाले अवलम्बन गरेका परम्परागत विधि अपनाउनु उचित हुन्छ। आधुनिक औषधोपचारमा अभ्यस्त जीवनशैलीमा भुलेर हामी प्राकृतिक औषधी सेवनमा चुक्न थालेका छौं। सुत्केरीलाई ज्वानोको झोल खुवाउने पुरानो चलन थियो।
मलाई सम्झना छ, हाम्रा बुवा'हरू मधेस, तराई वा मुग्लानबाट फर्कंदा चिराइतोको झोल खाएपछि मात्र गृहप्रवेश हुन पाउँथे। ल्हासाबाट आउने व्यापारी साहुहरू पनि चिराइतोको तितो झोल ‘खालु’ नपिइकन घरभित्र पस्दैनथे। त्यसैले, म पनि प्रतिदिन ज्वानो र चिराइतोको झोल पिउन थालेको छु।
बिहानीको पेय पदार्थमा ‘ग्रिन टी’ लाई पनि प्राथमिकतामा राख्न थालेका छौं। हामी दुवैको ज्यानमा विगत सात–आठ महिनादेखि मधुमेहको लक्षण बढेकाले हाम्रो भान्छामा चिनी चल्दैन। कार्बोहाइड्रेट-प्रधान आलु पनि पाक्दैन। उसिना चामलको भात, गहुँ, फापर वा कोदोको पिठोको रोटीसँग सागपात तरकारी हाम्रा प्रमुख आहारा बनेका छन्।
ब्लड प्रेसरको औषधि खान थालेको धेरै वर्ष भइसक्यो। चिल्लो, नुन र पिरो घटाउने गरेका छौं। बरू बेसार भातलाई प्राथमिकतामा राख्न थालेका छौं। बेसार एक उत्तम प्रतिरोधात्मक जडिबुटी पनि हो।
जडिबुटीमा आधारित औषधोपचार, विशेष गरेर आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। कुनै रोग विशेषलाई लक्ष्य गर्नुभन्दा शारीरिक प्रणालीलाई यसले बलियो बनाउने काम गर्छ। यसमा परिपूरक काम गर्ने हाम्रा भान्छाका मरमसला हुन्।
त्यसैले, हामी आजभोलि मसालेदार तरकारी र अचारतिर बढी आकर्षित छौं। लसुन, अदुवा, प्याज, ज्वानो, बेसार, जीरा, मरिच, ल्वाङ, अलैंची, सुकमेल, तेजपात, जिम्बू, टिमुर, सिलटिमुर, मेथी र हिङ प्रयोग गर्ने बानी बसालेका छौं।
अचेलका मौसमी तरकारी, विशेष गरेर कोइरालाको फूल, सिप्लीगानको मुन्टा, काभ्रोका मुना पाएसम्म किनेर ल्याउँछु। तिनमा पनि औषधीय गुण हुन्छ भनेर आयुर्वेदिक ग्रन्थले बोलेका छन्।
रुघाखोकी आदि भाइरस रोगबाट बच्न चिकित्सकहरू ‘भिटामिन–सी’ सिफारिस गर्छन्। कोरोना पनि भाइरस भएकाले कागती चिया तथा अमलाका परिकार रुचाउन थालेका छौं।
बिहानीको खाजा अर्थात्, ब्रेकफास्ट जौ र दूध तथा कफीको कपले टार्न थालेका छौं। त्यसपछि संसार चियाउन टिभी च्यानलतिर लागिन्छ। नेपाल, भारत, बेलायत (बिबिसी), अमेरिका (सिएनएन), अलजजिरा, युरोप र फ्रान्सका अंग्रेजी प्रसारणहरू सबैले एकपछि अर्को गर्दै कोरोना संक्रमणले निम्त्याएको संकटको भारी थप्दै जान्छन्।
सञ्चारका वर्तमान साधनले थुपारिदिने सूचना र जानकारीको बोझ हाम्रा मन, मस्तिष्क र मुटुले कति थाम्न सक्छ भन्ने हेक्का राख्न थालेका छौं। आवश्यकभन्दा बढी जानकारी वा सूचना घातक हुनसक्छ। मानसिक सन्तुलन कायम राख्न हामी स्वयंले आ–आफ्नो विवेक प्रयोग गर्न थालेका छौं।
अहिलेको जमाना कस्तो छ भने, संसारभरिका मानिस अत्तालिएको हामी आफ्नै कोठाबाट चियाउन मिल्छ। मजदुर र ज्यालादारी गर्न काम र मामको खोजीमा सहरतिर गएकाको बिचल्ली दिल्लीदेखि धार्चुलासम्म मात्र होइन, काठमाडौंदेखि काँकडभिट्टासम्म छताछुल्ल छ। बाटोमै अलपत्र र कन्तबिजोगले कसको मन पो रुँदैन?
हामी भने आफ्नै घरमा सुरक्षित छौं। तर, बालुवामुनि टाउको लुकाएर सुतुरमुर्गझैं सुत्ने हाम्रो औकात छैन। त्यसैले, तनावमुक्त हुन कठिन अनुभव हुन्छ।
भान्छामा हामीलाई कुनै समस्या छैन। सबै जोहो छ। तै पनि मितव्ययी व्यवहार बसाल्नुपरेको छ। भारतको नाकाबन्दीले यस्तो चिन्ता ब्यूँताइदिन्छ।
बिहानीको खाना आदि तयार गर्न श्रीमतीजी विशेष जाँगरिलो भइदिन्छिन्। घरमा कामकाज सघाइदिने सहयोगी पनि कीर्तिपुरमा लकडाउन छिन्। तरकारी काट्ने, केलाउने तथा भाँडावर्तन सफा गर्नमा मेरो सहयोग पुग्छ। भान्छाको जाँगरमा हामीलाई अहिलेसम्म उमेरले खाएको छैन। यसको निम्ति आफैंलाई धन्य सम्झन्छौं।
तर, जब खानाअगाडि र खानापछाडि खानुपर्ने औषधीका ट्याब्लेट र क्याप्सुल अगाडि तयारी अवस्थामा मिलाउन थाल्छौं, उमेरको जोखिमपूर्ण जीवनको आभाष उदांगिन थाल्छ।
घरमा मात्र दुई ज्यान। केही परिहाल्यो भने के गर्ने भन्ने डर पनि लाग्छ। छिमेकीहरू पुराना साथी भएकाले ढुक्क पनि छौं। वर्तमान काठमाडौं उपत्यकाभित्रको सहरी जीवनमा छिमेकीपनको आपसी सहयोग क्षीण हुँदै गएको देख्छौं। यो घरले त्यो घर चिन्दैन। आवास क्षेत्रभित्र बस्नेको जीवन बेग्लै होला।
जहाँ जस्तो बसोबास भए पनि छिमेकीपनको नेपाली संस्कार र संस्कृति पुनर्जागरणमा ल्याउनुपर्ने विषयलाई कोरोनाको संक्रमणले कोट्याएर जानेछ भन्ने मलाई विश्वास हुन थालेको छ।
अवकाशपछिको जीवनमा जागिरे भातको सट्टा पश्चिमा 'लन्च' लाई हामी पछ्याउन थालेका छौं। हुन त खानाको परिकार उही दाल, भात, तरकारी नै हुन्। तर, कोरोनाले विशेष मसालेदार हुन थालेका छन्।
दिउँसो सुत्ने बानी छैन। केही बेर घाम ताप्न र बगैंचा चहार्न मन लाग्छ। त्यसपछि लेखपढ गर्न मन जान्छ। अलेक्सजेन्डर हुमबोल्टको यात्रा विवरण र प्रकृति अध्ययनको विवरण निकै रोचक र रोमाञ्चकारी ढंगले प्रस्तुत गरिएको आन्द्रिया उल्फको पुस्तक ‘द इन्भेन्सन अफ नेचर’ पढ्दैछु।
मेरी श्रीमती भने कम्प्युटर गेम र मोबाइलतिर लहसिएकी हुन्छिन्। डिजिटल संसारसँग अभ्यस्त रहने अभ्यासले निकै ठूलो परिपूरक भूमिका निर्वाह गरेको छ।
अपराह्न केही मनोरञ्जनात्मक हिन्दी टिभी सिरियलतिर मन जान्छ। हाँस्यप्रधान तर सामाजिक चेतलाई बढावा दिने ‘तारक मेहताका उल्टा चस्मा’ रुचिकर लाग्छ। कपिल शर्माको हाँस्यप्रधान कार्यक्रम एवं इन्डियन आइडलका कार्यक्रम रमाइला लाग्छन्।
साँझतिर साईबाबाको धारावाहिक निकै सन्देशमूलक लाग्छ। केही चमत्कारी विशेष दृश्य छाडेर अरू सन्देश उपयोगी लाग्छन्। त्यस कार्यक्रमको मूल सन्देश ‘श्रद्धा और सबुरी’ आजभोलिको कोरोना संक्रमण र लकडाउनको माहोलमा विशेष उपयोगी लाग्छ। आफ्नो श्रद्धा र आस्था अटल राख्ने एवं संयम र धैर्य बनाइराख्ने सबभन्दा उत्तम उपाय हो। यही सन्देश अमेरिका बस्ने छोराबुहारी र छोरीज्वाइँलाई पनि प्रवाह गर्न थालेको छु।
आफ्ना छोराछोरी र नयाँ पुस्ता विदेशमा बस्ने हामीजस्ता पाका उमेरका मानिसको ठूलो जमात खडा भइसक्यो नेपालमा। कोरोना संक्रमणको विश्वव्यापी सन्त्रासमाझ आफूलाई भन्दा आफ्ना सन्ततीको चिन्ता अधिक सवार हुन्छ दिमागमा।
रोजीरोटी एवं शिक्षादिक्षाका सिलसिलामा विश्वभर छरिएका नेपाली आज घर फर्कन आतुर छन्। काम, माम र पढाइसमेत गुमाएर बसेका लाखौं युवायुवती विदेशमै विचल्ली छन्। मध्यपूर्व, मलेसिया एवं भारत लगायत सयौं मुलुकमा ज्याला मजदुरी गरिरहेका लाखौं नेपाली युवाशक्तिलाई आत्मसात् गर्ने राष्ट्रिय हिम्मत बनिसकेको छैन।
‘उत्तम खेती, मध्यम व्यापार र निर्धिन चाकरी’ भन्थे हाम्रा पुर्खाहरू। वर्तमान नेपालको अर्थतन्त्र नियाल्यौं भने सेवा क्षेत्र (चाकरी) को आम्दानी सर्वोपरी हुन आउँछ। कृषि क्षेत्र बीच कोटीमा पर्छ र व्यापार (उद्योग, वाणिज्य) पनि बलियो छैन, बरू शिथिल छ। तसर्थ, कोरोनापछिको मूल नीतिले आफ्नै माटोमा पसिना चुहाएर आफ्नै माटोको उब्जनीमा आधारित अर्थतन्त्र र जीवन व्यवस्था अवलम्बन गर्नु श्रेयकर हुन्छ भन्ने विचार मेरा मनमा उब्जन थालेको छ।
दैनिकीको उत्तरार्द्ध बेलुकीको भोजन ‘डिनर’ बाट सम्पन्न हुन्छ। बेलुकीको खानामा प्रोटिनका लागि मासुको परिकार थप्ने गरेको छु। र, मासु पकाउने जिम्मा मैले खुद सम्हाल्छु। कोरोनाका निहुँमा विभिन्न मसलाको प्रयोग हुन्छ। थोरै सलाद लिने बानी छ।
भान्छा तयारी अवस्थामा पुगेपछि केही मादक पदार्थ (ब्रान्डी) पिउने गरेको पनि ३०–४० वर्ष नाघिसकेछ। श्रीमती लगायत सबैले यो लत छाडिदेऊ भनेका भन्यै छन्। तर, मसँग पिउने बहानाको कमी छैन। त्यसलाई कोरोना दैनिकीसँग जोड्ने मन त थिएन, तर कोरोना भाइरसको प्रथम बास हाम्रो मुख र घाँटीतिर हुन्छ भन्ने सुनेपछि पहिलो घुट्का शुद्ध ब्रान्डीको ‘माउथवास’ ले सुरू गर्छु।
मुख र घाँटीको भाइरस ब्रान्डीले पखाल्ने यो रणनीति मेरो काँचो बुद्धिको उपज हो। अमेरिकामा राष्ट्रपति ट्रम्पको बुद्धिमा ‘हाइड्रोक्सी क्लोरोक्वीन’ पलाएझैं मेरो बुद्धिमा ब्रान्डी पलाउन थालेको हो।
ओछ्यानमा पल्टनुभन्दा पहिले रेडियो सगरमाथाबाट बिबिसी नेपाली सेवा सुन्ने गरेको छु र समाचारसँगै निद्रामा हराउँछु पनि। रातको दुई—तीन बजेतिर शौचालयको आह्वानले निद्रा खुल्छ। त्यसपछि कहिलेकाहीँ अनेकौं नयाँ सोच–विचारले जागा राख्छ।
कुनै रात संसारभरका पिरले पिरोल्छ। कुनै रात यो गर्न सकिएन, त्यो भएन भनी पछ्तावाको तावामा आफैंलाई सेक्न पुगिन्छ। त्यस अवस्थामा सुत्ने प्रयास गर्न सयदेखि एक सय उल्टो गन्ने क्रमको थाल्छु। नाकको प्रत्येक सासको साथमा सय, उनान्सय, अन्ठानब्बे...भन्दै गन्ती सुरू गर्छु। अधिकांश बेला ४०–५० नपुग्दै निद्राले छोप्छ। निद्रा परेन भने किताब पल्टाएर एक–दुई कविता पढ्छु र फेरि सयदेखि एकसम्म गन्ती सुरू गर्छु।
आजभोलि रातको सन्नाटा यति गहिरो छ, परपरका कुकुर भुकेको आवाज कानैमा ठोक्किन आइपुग्छ। यसबीच बिहानीको मिर्मिरेलाई चराको चिरबिरले चिर्दै उघारिन्छ। र, मेरो अर्को दिनको दैनिकी प्रारम्भ हुन्छ। कोरोना चिन्ता र कोरोना चिन्तनका यी मेरा दैनिकी।