कोरोना मनोवाद हामी सबैको मनमा कुनै न कुनै रूपमा चलेकै छ। बिना उत्तरका प्रश्न चेतन-अवचेतनमा निरन्तर खेलेका छन्— के हुन्छ? कोरोना कहिले सकिन्छ? नेपालमा संक्रमण कति फैलिन्छ? फैलियो भने के हुन्छ? हामी कति जोगिन सक्छौं? हामीलाई कसले जोगाउँछ?
साथीभाइ र परिवारजनबाट मैले धेरै सुन्ने गरेको एउटा उत्तर छ — हामीलाई जोगाए भने पशुपतिनाथले जोगाउँछन्, अरू कसैले सक्दैन!
सायद यो उत्तर तपाईंले पनि सुन्नुभएको छ। वा, आफैं भन्नुभएको छ।
होइन त?
आज म अर्कै उत्तर भन्छु— पशुपतिनाथले होइन, हामीलाई कोरोनाबाट जोगाउनेछन् स्थानीय तहमा काम गरिरहेका राजनीतिज्ञ र स्वास्थ्यकर्मीले। जोगाउनेछ उनीहरूले जारी राखेको 'ग्राउन्ड गेम’ ले।
अहिले कोरोना फैलिने सबभन्दा ठूलो त्रास सुदूरपश्चिममा छ। भारतमा संक्रमण बढ्दै गएपछि त्यहाँबाट हजारौंको संख्यामा नेपालीहरू आएका छन्। उनीहरूले संक्रमण लिएर आएको हुनसक्ने धेरैको आशंका छ, त्यो फैलिन सक्छ भन्ने त्रास छ।
सुदूरपश्चिमको 'ग्राउन्ड’ मा जे भइरहेको छ, त्यसको पृष्ठभूमिमा यो आशंका र त्रास कति जायज छ? अहिलेसम्म सुदूरपश्चिमका जिल्लाहरूमा जुन तहको संक्रमण देखिएको छ, त्यसको संकेत के हो? देशभरि नै अहिलेसम्म देखिएको संक्रमणको संकेत के हो?
सेतोपाटी टिमले पछिल्ला केही दिनमा सुदूरपश्चिमका नौ जिल्लाका सिडिओ, स्वास्थ्य संयोजन गरिरहेका नौवटै जिल्लाका अस्पताल संयोजक, करिब डेढ दर्जन स्थानीय नेतृत्व र त्यति नै संख्यामा कोरोनाविरूद्ध अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीसँग कुराकानी गरेको छ।
चार फरक-फरक तहमा बसेर काम गर्ने झन्डै ५० जना व्यक्तिसँग कुरा गर्दा हामीलाई ग्राउन्डको वस्तुस्थिति बुझ्न र ‘क्रसचेक' गर्न सजिलो भएको छ।
मैले यिनै कुराकानीको निष्कर्षका रूपमा हामीलाई स्थानीय तहमा काम गर्ने राजनीतिज्ञ र स्वास्थ्यकर्मीले कोरोनाबाट जोगाउनेछन् भनेर भनेको हो। उनीहरूको काम, उनीहरूको समर्पण, उनीहरूको निगरानी र ग्राउन्डमा देखिएको संकेतका आधारमा भनेको हो।
काठमाडौं खाल्डोमा बस्ने हामीलाई एउटा चिन्ता थियो, धेेरैमा अझै छ। त्यो डर वा चिन्ताबाट म पनि अलग थिइनँ। काठमाडौंलाई लाग्छ— भारतबाट सीमा नाघेर आएका हजारौं नेपाली सुदूरपश्चिमको तराईदेखि पहाडका गाउँगाउँमा पुगेका छन्। तिनैले अब कोरोना संक्रमण भयावह रूपमा फैलाउने छन्।
गाउँ र वडा तहमा दिनरात खट्ने राजनीतिज्ञ र स्वास्थ्यकर्मीका कुरा सुनेपछि हाम्रो यो सहरीया चिन्ता केही पूर्वाग्रह र केही तलको वस्तुस्थितिबारे सही सूचना अभावले जन्मिएको हो भन्ने मलाई लागेको छ।
सुदूरपश्चिमका लगभग सबै गाउँमा वडा तहसम्मै स्थानीय राजनीतिज्ञ र स्वास्थ्यकर्मी खटिएका छन्। वडा तहमै निगरानी संयन्त्र बनेका छन्। कसैलाई ज्वरो आएको छ, कोरोनाको कुनै लक्षण देखिएको छ भने तुरुन्तै खबर गर्नू भनेर वडा, गाउँ र जिल्ला तहसम्मको नम्बर बाँडिएको छ। वडामा चुनिएका प्रतिनिधिहरूको नम्बर बाँडिएको छ।
त्यसमाथि वडा तहमा, टोलटोलमा बनेका समूहले आफैं पनि निगरानी गरेका छन्। कोही बिरामी छ कि, कोही विदेशबाट आएर निस्फिक्री डुल्दैछ कि भनेर उनीहरूले खबरदारी गरेका छन्।
हामीले जति पनि स्थानीय नेतृत्वसँग कुरा गर्यौं, लगभग उनीहरू सबै कोरोनाको शंका लागेका वा लक्षण देखिएका व्यक्तिलाई स्वास्थ्य चौकी वा अस्पताल पुर्याइएकोमा ढुक्क देखिए। केही अपवाद त जहाँ पनि हुन्छ, हामीले पनि भेट्यौं।
हामीले स्थानीय स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसँग कुरा गरेर ग्राउन्डको स्थिति ‘क्रसचेक' गर्यौं। आजका दिनमा सुदूरपश्चिमका गाउँमा कोही कोरोना संक्रमणले निस्लोट बिरामी परेर घरमै सुतिरहेको वा लक्षण देखिएको व्यक्ति गाउँमा निस्फिक्री घुमिरहेको हुन सम्भव छ कि छैन?
लगभग सबैले त्यस्तो सम्भव नभएको बताए।
खलंगा स्वास्थ्य चौकी, दार्चुलाका इन्चार्ज केशरसिंह बुढाथोकीले सेतोपाटीसँग भने, ‘प्रत्येक दस-पन्ध्र घरलाई लक्ष्य गरेर निगरानी समूह बनाएका छौं। स्थानीय शिक्षक, क्लब, आमा समूह, स्वयंसेविकाहरू सक्रिय छन्। उनीहरूले आफ्नो ठाउँमा निगरानी राखेका छन्। कसैले चाहेर पनि कोरोना रोग लुकाएर राख्न सम्भव नहोला।’
उनले यस्तो समूह बनाउनू भन्ने परिपत्र नगरपालिकाबाटै आएको बताए। उनको आफ्नै सक्रियता पनि कम छैन।
खलंगामा भारतबाट फर्किएका १६ जना नेपाली छन्। उनीहरू नेपाल फर्किएको १४ दिनभन्दा बढी भइसक्यो। उनीहरूमाथि बुढाथोकीले निरन्तर चासो राखेका छन्।
‘मैले उनीहरूलाई दिनदिनै फोन गरेर सन्चो-बिसन्चो सोध्ने गरेको छु,’ उनले भने, ‘हामी निरन्तर निगरानी गरिरहेका छौं। अहिलेसम्म कसैलाई केही लक्षण देखिएको छैन।’
टोलटोलमा वडाध्यक्षको नेतृत्वमा बनेका समितिहरूले पनि चनाखो भएर काम गरिरहेको उनले बताए।
सिर्स स्वास्थ्य चौकी, डडेल्धुराका इन्चार्ज संघर्षकुमार धामीले पनि आफ्नो नगरपालिकाको वडामा सम्भावित कोरोनाका बिरामीको राम्रो निगरानी गरिएको जानकारी दिए।
‘हामीले टोलटोलमा समिति बनाएका छौं। २५-३० घरको निगरानी गर्ने पाँच जनाको समिति छ। त्यसले हामीलाई निरन्तर अपडेट गराउँछ,’ उनले भने, 'भारत र अन्य देशबाट आएकाहरूलाई बेलाबेला घरमै पुगेर ज्वरो जाँच्ने गरेका छौं। कसरी होम क्वारेन्टाइनमा बस्ने भनेर सिकाएका छौं।’
हामीले सम्पर्क गरेका झन्डै तीन दर्जन स्थानीय नेतृत्व र स्वास्थ्यकर्मीको कुरा सुन्दा सुदूरपश्चिमभरि नै गाउँ र वडा तहमा निगरानीको प्रबन्ध लगभग उस्तै छ। कसैलाई सामान्य ज्वरो देखिए वडा तहको संयन्त्रले स्थानीय स्वास्थ्य चौकीमा पुर्याउँछ।
धेरै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीका लागि सुरक्षा कवच छैनन्। लगभग सबै ठाउँमा पिपिई अभाव छ। स्वास्थ्यकर्मीहरूले मास्क र पञ्जाका भरमा स्क्रिनिङ (पहिलो जाँच) गरिरहेका छन्।
कैयन स्वास्थ्य चौकीमा 'थर्मल गन’ (बिरामीलाई नछोइकन ज्वरो जाच्ने थर्मोमिटर) सम्म छैन। सोमबार काठमाडौंमा एक जना अर्बपति ‘बिरामी’ आफ्नो नीलो नम्बर प्लेटको गाडीमा तीन हजार पर्ने 'थर्मल गन’ पन्ध्र हजारमा बेच्दै गर्दा पक्राउ परे। त्यही दिन सुदूरपश्चिमका कैयन स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरूले साधारण थर्मोमिटर बिरामीको काखीमा च्याप्न लगाए, ज्वरो जाँचे र कोरोना भाइरसले संक्रमित भए-नभएको आकलन गरे।
सुदूरपश्चिमका लगभग सबै स्वास्थ्य केन्द्रमा 'फिभर क्लिनिक’ सुरू गरिएको छ। त्यहाँ जाँच्दा बिरामीलाई साधारण ज्वरो छ भने स्थानीय क्वारेन्टाइनमा राख्ने गरिएको छ। ज्वरो धेरै छ र कोरोनाको लक्षण देखिएको छ भने नगर/गाउँको संयन्त्रले एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पठाउने गरेको छ।
सुदूरपश्चिमका धेरै गाउँमा स्वाब परीक्षण गर्ने उपकरण छैन। जिल्ला अस्पतालले नै बिरामीको स्वाब झिकेर परीक्षणका लागि पठाउँछ। बिरामीलाई 'आइसोलेसन वार्ड’ मा राख्छ।
अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षा कवचको अभावमा मानसिक दबाबमा छन्। एउटा संक्रमण उनीहरू र उनीहरूको परिवारका लागि जीवन-मरणको प्रश्न हुन सक्छ। कोही स्वास्थ्यकर्मीको सानो बच्चा छ, कसैको घरमा वृद्ध अभिभावक।
डडेल्धुराको सिर्स स्वास्थ्य चौकी, परिगाँउमा काम गर्ने अनमी मनु लेखकको चार महिनाको छोरा उनीसँगै छ। उनको परिवार महेन्द्रनगर, कञ्चनपुरमा बस्छ। ९ र १० वर्षका दुई छोरीले फोन गरेर उनलाई झस्काइरहन्छन्, 'आमा, भाइलाई कोरोना सर्ला है, हात धोएर मात्रै छुनू!'
लोकराज पनेरु सेती प्रादेशिक अस्पतालमा सिएमए छन्। यो अस्पतालले दैनिक ५० जनाजति कोरोना शंका भएका बिरामी जाँच्छ। उनी यो अस्पतालको अग्रपंक्तिमा काम गर्छन्। तर, उनीसँग पिपिई छैन। साधारण गाउन, पञ्जा र मास्क मात्र लगाएर बिरामी जाँचिरहेका छन्।
आफूभन्दा परिवारमा सर्ने हो कि भनेर उनलाई चिन्ता लाग्छ। घरमा ८२ वर्षका बुबा छन्। पाकाहरूलाई कोरोना संक्रमण चाँडै हुन्छ र निको हुन कठिन हुन्छ। ‘सकेसम्म परिवारबाट अलग्गै आइसोलेसनमा बस्छु,’ उनले भने।
सुरक्षा सामग्रीको चरम अभावबीच पनि उनीहरूले जिम्मेवारी छाडेका छैनन्। स्थानीय राजनीतिक नेतृत्वले पनि हामी छौं, गर्छौं भनेर गाउँका स्वास्थ्यकर्मीलाई ढाडस दिएको छ। सक्नेजति सुरक्षा सामग्रीको प्रबन्ध गरेको छ।
बझाङको जय पृथ्वी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकबहादुर सिंह सुरक्षा सामग्री अभावमा स्थानीय तहमा जे जोहो गर्न सकिन्छ त्यसैले काम चलाएको बताउछन्।
'हामीलाई दुईवटा मात्र पिपिई प्राप्त भएको थियो। अरू पिपिई यहीँ घरेलु विधिबाट प्लास्टिक सिलाएर बनाएका छौं। मास्क र स्यानिटाइजरसमेत आफैंले बनाएका छौं,’ उनले भने, ‘हामीले बनाएका स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय गुणस्तरका छैनन् होला, तर नहुनुभन्दा यो राम्रो हो।’
जनप्रतिनिधिहरूले पनि सक्दो सहयोग गरिरहेको उनले बताए।
‘उहाँहरू पनि निरन्तर खटिराख्नुभएको हामीले देखेका छौं। हामीसँग धेरै बिरामी उपचार गर्न सक्ने स्रोतसाधन छैन। त्यसैले हामीले यो रोग लाग्न र फैलिन नदिने गरी काम गरिरहेका छौं,' उनले भने।
अछामको तुर्माखाद गाउँपालिकास्थित धमाली स्वास्थ्य चौकीमा काम गर्ने अहेव शान्ति बिकले आफ्नो स्वास्थ्य चौकीमा सुरक्षा सामग्रीको ठूलो अभाव भोगेकी छन्। तर पनि उनलाई धेरै गुनासो छैन।
‘सामानको अभाव त तुर्माखाद वा नेपालमा मात्र होइन, विश्वमै छ नि,’ उनले भनिन्, ‘हामीले आफ्नो मन बलियो बनाएर काम गरिरहेका छौं।’
अग्रमोर्चामा खटिने यी स्वास्थ्यकर्मी र स्थानीय राजनीतिज्ञबीच तालमेल र आपसी विश्वास पनि राम्रो देखिएको छ। सायद अहिलेको राज्य संरचनाले पनि यो सम्बन्धलाई बलियो र एकअर्काप्रति अन्तरनिर्भर बनाएको छ।
स्थानीय राजनीतिज्ञहरू त्यहाँका नागरिकद्वारा निर्वाचित स्थानीय सरकारका प्रतिनिधि हुन्। उनीहरूले यो संकट बेला आफ्नो जिम्मेवारी निर्वाह गरेका छन्। संघीयताको संरचनामा विद्यालयजस्तै स्वास्थ्य चौकीहरू पनि स्थानीय नगर वा गाउँपालिकाअन्तर्गत छन्। उनीहरूलाई तलब खुवाउने काम नगर/गाउँपालिकाले नै गर्छ। उनीहरूको कामको मूल्यांकन गरेर सरुवा गर्ने वा जिम्मेवारी दिने पनि स्थानीय तहले नै हो।
त्यसैले, स्वास्थ्यकर्मी पनि स्थानीय नेतृत्वप्रति जिम्मेवार छन्। स्थानीय निर्वाचित प्रतिनिधि र स्वास्थ्यकर्मी एउटै समितिमा बसेर कोरोनाविरूद्ध काम गरिरहेकाले उनीहरू आफैं एकअर्काका लागि आड र भरोसा बनेका छन्।
अहिले देशमा निर्वाचित स्थानीय सरकार हुँदैन थियो भने सायद यो संकटको मूल्य हाम्रा लागि धेरै महंगो हुने थियो। केन्द्रमा यति लामो समयसम्म स्वास्थ्य सामग्री खरिदजस्तो आधारभूत काम गर्न नसकेर सरकारले आफ्नो निकम्मापन देखाएको छ। यही बेला गाउँ-टोलमा राजनीतिक नेतृत्वको शून्यता हुन्थ्यो भने अहिले संकटको आयाम धेरै ठूलो हुने थियो।
कोरोनाविरूद्ध लडाइँ जितेपछि केन्द्रीय सरकारको नाकामी र लापरबाहीको इतिहास जुन आलोचनाका साथ लेखिनेछ, स्थानीय राजनीतिज्ञ र स्वास्थ्यकर्मीको सुझबुझ र सक्रियताको इतिहास त्यति नै प्रशंसाका साथ लेखिनेछ।
के त्यसो भए हामीले कोरोनाविरूद्धको लडाइँ जित्दै छौं?
अहिल्यै भन्न हतार हुन्छ। प्रमाणका लागि अब केही दिन पर्खौं। अहिले यति भन्न सकिन्छ— हालसम्मको संकेत उत्साहजनक छ।
नेपालले बुधबार साँझसम्म करिब २४ सय व्यक्तिको स्वाब परीक्षण गरिसक्यो। यो स्वाब परीक्षण सडकमा हिँडिरहेका वा गाउँमा बसिरहेका जोकोहीलाई समातेर गरिएको होइन। कोरोनाको लक्षण देखिएका वा कोरोना लागेको हुनसक्ने शंका गरिएका मानिसमा परीक्षण गरिएको हो। यसमा विदेशबाट आएका र क्वारेन्टाइनमा बसेका थुप्रै मानिस छन्। कोरोना लागेका व्यक्तिका परिवार छन्। अर्थात्, कोरोना भाइरस लाग्ने सबभन्दा धेरै सम्भावना भएका मानिसको स्वाब परीक्षण गरिएको छ।
अहिलेसम्म परीक्षण गरिएकामध्ये ०.३७ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ। संख्यामा भन्दा, जम्मा ९ जनालाई संक्रमण देखिएको छ। त्यसमध्ये ८ जना विदेशबाट आएका हुन्। उनीहरूलाई विदेशमै संक्रमण भएको लगभग पक्का छ।
यी आठमध्ये एक जनाको परिवारको सदस्यलाई संक्रमण सरेको छ। नेपालभित्र अहिलेसम्म दोस्रो व्यक्तिलाई संक्रमण सरेको देखिन्न।
त्यसैले, नेपालभित्रै व्यक्ति-व्यक्तिमा सरेर हामी संक्रमणको दोस्रो चरणमा प्रवेश गर्यौं भनिए पनि अहिलेसम्म कैलालीको घटना 'आइसोलेटेड केस’ कै रूपमा छ।
सुदूरपश्चिममा सबभन्दा ठूलो संख्यामा मानिस क्वारेन्टाइनमा बसेका छन्। झन्डै दुई सातासम्म उनीहरूलाई कोरोनाको लक्षण देखिएको छैन। जसलाई ज्वरो र खोकी छ, उनीहरूको परीक्षणको परिणाम पनि ‘नेगेटिभ' नै आएको छ। देशभर ९ हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्।
बहुसंख्यक क्वारेन्टाइन नाम मात्रका छन्। त्यहाँ एक जनामा कोरोना देखियो भने अरूमा पनि फैलिने सम्भावना छ। अहिलेसम्म देशैभरि बनेका यस्ता क्वारेन्टाइनमा बसेका मानिसमा पनि संक्रमणको समस्या देखिएको छैन।
हामीले 'लकडाउन’ गरेको तेस्रो साता सुरू भयो। आउने मंगलबार तीन साता पूरा हुन्छ। पछिल्ला दिनमा विदेशबाट मान्छे आउने लगभग बन्दजस्तै भएको छ, भारतसँगको खुला सीमाका कारण राति फाट्टफुट्ट भागेर आउने अपवादबाहेक। त्यसरी आउनेलाई पनि समुदायले क्वारेन्टाइनमा निगरानीमा राखेका छन्। त्यसैले कोरोना आउने बाह्य स्रोत लगभग बन्द छ।
देशभित्र संक्रमण कति छ वा छैन भन्ने यकिन गर्न केही दिन कुरौं। बुधबारदेखि र्यापिड टेस्टिङ किटमार्फत् कोरोना परीक्षणलाई व्यापक रूपमा विस्तार गर्ने सरकारको योजना छ। यो किटले परीक्षण गरेको १५ मिनटमा नतिजा दिन्छ। हामीसँग त्यस्ता ७५ हजार किट छन्।
सुदूरपश्चिम र कोरोना फैलिने सम्भावना वा शंका भएका अन्य जिल्ला र पकेट क्षेत्रमा आउने केही दिनमै १० देखि १५ हजार परीक्षण गरौं। त्यसले हामीलाई कोरोनाको संक्रमणबारे सही चित्र देखाउनेछ।
कोरोना संक्रमण नदेखिए वा देखिए पनि हामीले आउने दिनहरूमा, सायद अर्को दुई साताका लागि गर्ने काम भनेको फेरि उही हो— लकडाउन जारी राख्ने। अन्तर्राष्ट्रिय उडान र सीमा बन्दै राख्ने। यो अवधिमा पनि स्थानीय नेतृत्व र स्वास्थ्यकर्मीले सुदूपश्चिममा जे गरिरहेका छन्, त्यसलाई झनै कडाइसाथ जारी राख्ने। देशव्यापी रूपमा त्यही गर्ने।
कोरोनाविरूद्ध लडाइँ जित्न लागेको उत्साह र आत्मविश्वासका साथ अर्को दुई साता झनै डटेर टोलटोलमा निगरानी बढाऔं। मानिसहरू कदाचित् थप संक्रमित भए भने तिनलाई तुरुन्तै आइसोलेट गर्ने वा क्वारेन्टाइनमा पठाउने काम गरौं। सबै पार्टीका राजनीतिक नेतृत्वले देशैभरि चुनिएका आफ्ना प्रतिनिधिलाई सुदूरपश्चिममा जस्तै टोलटोलमा निगरानी गर्न र स्थानीय स्वास्थ्यकर्मीलाई विश्वासमा लिएर काम गर्न निर्देशन दिऊन्।
केन्द्र सरकार स्वास्थ्य सामग्री गाउँगाउँसम्म पुर्याउने काममा अहिलेसम्म चुकेको छ। यो काममा 'फस्ट-हाफ’ सम्म उसको भूमिका खेदजनक छ। दोस्रो हाफमा सरकारले कमब्याक गरोस्, स्वास्थ्य सामग्रीको प्रबन्ध छिटो गरोस्। आफ्नो गुमेको साख केही मात्रामा भए पनि निखनोस्। सेनालाई जिम्मा दिएको छ, अब ल्याउन सकेन भने अपजस उसैलाई जान्छ भनेर ढुक्क बस्नु भएन।
अहिले नै यति सक्रियता र समर्पणका साथ काम गरिरहेका अग्रमोर्चाका स्वास्थ्यकर्मीले सुरक्षा कवच पाए भने झनै गज्जब काम गर्नेछन्। समुदायमै कोरोनाको पाता फर्काउने छन्। गर्नेुपर्ने पनि त्यही हो।
केही गरेर गाउँ र टोलबाट यो संक्रमणमाथि नियन्त्रण फुस्कियो भने हामीले सहरमा बिरामीहरूको उपचारको प्रबन्ध मिलाउन सक्ने छैनौं। हामीसँग त्यसका लागि क्षमता नै छैन।
उदाहरणका लागि, कोरोना उपचारका लागि सुदूरपश्चिमको ‘हब’ तोकिएको सेती प्रादेशिक अस्पतालमा जम्मा एउटा भेन्टिलेटर र पाँच आइसियू छन्। भर्खर थप्ने योजना भइरहेको छ। सन् २०११ को जनगणनाअनुसार सुदूरपश्चिमको जनसंख्या २५ लाखभन्दा बढी थियो। यत्रो जनसंख्यामा संक्रमण र रोग फैलियो भने यहाँका अस्पतालको हालत के होला?
सुदूरपश्चिमका अस्पतालको हालत छाडौं, काठमाडौंका अस्पतालको के होला?
संक्रमण फैलिँदै गएर कोरोनाले आज न्यूयोर्कका अस्पताललाई आच्छु, आच्छु बनाएको छ। ती अस्पतालको हालत देखेर पनि हामी भाइरससँग अस्पतालमा होइन, वडा र टोलटोलमै लडौं।
ठूला डाक्टर र ठूला राजनीतिज्ञको नेतृत्वमा होइन, स्थानीय राजनीतिज्ञ र स्थानीय स्वास्थ्यकर्मीको नेतृत्वमा लडौं, भाइरसलाई जित्न सकिने छ। त्यहाँबाट भाइरस फुत्कियो भने हामीलाई पशुपतिनाथले पनि बचाउन सक्ने छैनन्, पशुपतिनाथ धाउनेहरूको कुरै छाडौं!