किताब चर्चा
यसपालि म ती लेखकको चर्चा गर्दैछु, जसको संगतले लेखपढमा मेरो टक बस्यो। संसार र समाजलाई हेर्ने फरक र फराक दृष्टि मैले उनैबाट पाएँ। म जे छु, जस्तो छु, त्यसमा केही न केही उनको योगदान र उनकै असर छ।
आजको स्तम्भ मेरा उनै आदरणीय गुरू, मेरा रहनूमा र मेरा प्रिय मित्र भवानी सेनगुप्तमा समर्पित।
भारतका यी बंगाली लेखकसँग मेरो पहिलो संयोगपूर्ण भेट काठमाडौंमा भयो।
असी दशक प्रारम्भको कुरा हो। म अस्कल क्याम्पसमा पढ्थेँ। एकदिन कलेज जान नयाँबानेश्वरबाट बस चढेँ। यात्रुहरूको भिडभाड थियो। म सिट नपाएर डन्डी समात्दै उभिएँ। मलाई प्रस्ट याद छ, त्यस दिन मैले निलो जिन्समाथि लामो कुर्ता लगाएको थिएँ। भारतको सावरमती आश्रममा किनेको खादीको झोला काँधमा भिरेको थिएँ। झोलामा 'खादी वस्त्र नहीँ, विचार है' लेखिएको थियो।
म हरेक स्टपमा बस रोकिँदा कुनै सिट खाली होला कि भनेर दायाँबायाँ, अगाडि–पछाडि आँखा डुलाउँदै थिएँ। सिट त भेटिएन, तर एउटा व्यक्तिमा आँखा पर्यो। चिने-चिने झैं लाग्यो। घोरिएर हेरेँ। अनुहार परिचित थियो, तर ठ्याक्कै ठम्याउन सकिनँ।
बसको डन्डीमा झुल्दै गरेको हातमा कुइनो अड्याएर उनैलाई हेरिरहेँ। दिमाग फनफन्ती चक्कर खान थाल्यो।
मैले यस्तरी एकटक हेरेको ती व्यक्तिले फ्याट्टै देखेछन्।
'यङ म्यान, यु सिम्स टू बी कन्फ्यूज्ड!' उनले सोधे।
'मैले तपाईंलाई कतै देखेको छु।'
'म त पहिलोचोटि काठमाडौं आउँदैछु।'
उनले पहिलोचोटि काठमाडौं आएको भन्नेबित्तिकै मेरो दिमागमा झिल्का बल्यो। त्यसमाथि बंगाली लवज मिसिएको अंग्रेजी सुनेर मैले उनको अनुहार खुट्टयाइहालेँ।
त्यो बेला भारतबाट प्रकाशित हुने 'इन्डिया टुडे' पत्रिकामा 'पर्सपेक्टिभ' भन्ने स्तम्भ आउँथ्यो, जसमा लेखकको सानो फोटो छापिएको हुन्थ्यो। मैले सम्झेँ, ती लेखक यिनै हुन्।
'तपाईं इन्डिया टुडेका स्तम्भकार भवानी सेनगुप्त होइन?'
एउटा लेखकको निम्ति उसकै लेखका कारण कुनै पाठकले चिन्नु भनेको मञ्चमा उभ्याएर खादा ओढाएभन्दा ठूलो सम्मान हुन्छ। अझ त्यो पाठक मजस्तो विदेशी भइदिए त लेखकलाई खुसी हुन अरू के चाहियो!
उनको अनुहार एकाएक उज्यालो भयो। बसमा भिड नभइदिएको भए उनले पक्कै मलाई आफूसँगै सिटमा बसाल्थे वा जुरुक्क उठेर अंगालो मार्थे!
'कहाँ पढ्छौ?'
'अस्कल पढ्छु, साइन्स।'
'तिम्रो हुलियाले त साइन्सको विद्यार्थीजस्तो देखिँदैनौ!'
'राजनीति र साहित्यमा पनि अलिअलि रुचि छ,' मैले हाँस्दै जवाफ दिएँ।
भवानीकी पत्नी मायाको केही समयअघि मात्र निधन भएको रहेछ। पत्नीको दाहसंस्कारपछि सामाजिक झ्याउलो पन्छाउन उनी छोरा शिवाजी र छोरी श्रीसँग काठमाडौं आएका रहेछन्। त्यस दिन उनीहरू पशुपति घुमिवरी गौशालाबाट बस चढेर होटल फर्कंदै थिए। बसाइ दरबारमार्गको वुडल्यान्ड होटलमा थियो।
रत्नपार्कमा बसबाट झरेपछि उनले भने, 'तिम्रो क्लास कति बजे छ? भ्याउँछौ भने एक–एक कप कफी खाउँ।'
म 'हुन्छ' भन्दै उनको पछि लागेँ।
तातो कफीबीच भवानीसँग न्यानो अन्तरंग कुराकानी भयो। उनले नेपाल–भारत सम्बन्धबारे मेरो धारणा बुझ्न चाहे। मैले फणीश्वरनाथ रेणुको 'नेपाली क्रान्तिकथा' पढेको थिएँ, त्यसै आधारमा आफ्नो धारणा सुनाएँ, 'भारतले राणा शासन अन्त्य गरी नेपालमा प्रजातन्त्र ल्याउन मद्दत गर्यो, तर ऊ आफूलाई नेपालको नयाँ महाराजाधिराज सम्झिन थालेको छ। सदासयका नाममा नेपालमाथि आफ्नो सुझाव थोपर्न खोज्छ।'
कुराकानीकै क्रममा भवानीका छोराछोरीले नेपाली साहित्यको प्रसंग झिके। कुनै नेपाली साहित्य हिन्दीमा अनूदित छ कि भनेर सोधे।
मैले फणीश्वरनाथ रेणुको 'नेपाली क्रान्तिकथा' र सर्वेश्वरदयाल सक्सेना र किशोर नेपालले संयुक्त रूपमा अनुवाद गरेको 'नेपाली कविताएँ' भन्ने किताबको नाम लिएँ।
'तिमीहरू यी किताब पढ्न चाहन्छौ भने म भोलि ल्याइदिन सक्छु।'
शिवाजीले ठट्टा गर्दै भने, 'खास साहित्यको मान्छे त बुबा हो, तर उहाँ तपाईंसँग राजनीतिक चर्चा गर्दै हुनुहुन्छ, त्यही भएर हामीले साहित्यको कुरा झिक्यौं।'
त्यस दिन वुडल्यान्डको रेस्टुरेन्टमा अबेलासम्म हाम्रो छलफल चल्यो। म कलेज पनि गइनँ। बेलुकीको खाना सँगै खाएर सिधै घर फर्कें। भोलिपल्ट दुवै किताब लिएर म उनीहरू बसेको होटल पुगेँ।
उनीहरू काठमाडौं बसुञ्जेल पटक–पटक हाम्रो भेट भयो। हामीले राजनीति, समाज, साहित्य, दर्शन लगायत अनेक विषयमा घन्टौं–घन्टौं कुराकानी गर्यौं। फर्किने बेला भवानीले मलाई भने, 'तिमी साइन्स पढ्छु भन्छौ, तर तिम्रो व्यवहार हेर्दा समाजशास्त्र पढ्नुपर्नेजस्तो देखिन्छ। दिल्ली आयौ भने मलाई भेट्न आऊ।'
उनका छोराछोरीले पनि खुसुक्क भने, 'हामी प्रायः दिल्लीमा हुँदैनौं। तपाईं आउँदा बाबालाई भेट्नुहोला। दुई–चार दिनको संगतमै बाबाले तपाईंलाई मन पराउन थाल्नुभएको छ। तपाईं घर आउनुभयो भने बाबा खुसी हुनुहुन्छ।'
दिल्ली फर्केको केही समयमै 'इन्डिया टुडे' को आफ्नो स्तम्भमा भवानीले 'नेपाल बुझ्न मद्दत गरेको' भन्दै मलाई धन्यवाद दिए। लामो चिठी पनि पठाए।
सन् १९८४ अक्टोबर ३१ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो। यसबाट उत्पन्न परिस्थितिलाई नजिकबाट हेर्न र बुझ्न म भारत घुम्न गएँ। भवानीले मलाई आफ्नो फोन नम्बर टिपाएका थिए। तीन महिना भारत घुमुञ्जेल मलाई फोन गरूँ कि नगरूँ अन्यौल भइरह्यो। विदेशमा दुई–चार दिन भेटेको ठिटोलाई उनी चिन्ने हुन् कि होइनन् भन्ने मलाई धरमर थियो।
विभिन्न सहर घुमेर दिल्ली पुगेपछि मैले उनलाई फोन गरेँ। छोरा शिवाजीले उठाए। मेरो स्वर सुन्नेबित्तिकै खुसी हुँदै भवानीलाई डाकिदिए।
'कहाँ बसेका छौ?'
'कालिवाडी धर्मशाला।'
'त्यहीँ बस्दै गर्नू, म एकैछिनमा आउँछु।'
उनी केही बेरमै आफ्ना चालक हरनाम सिंहका साथ कालिवाडी धर्मशाला आइपुगे। धर्मशालामा दैनिक डेढ रुपैयाँ भाडा तिर्नुपर्थ्यो। मैले बाह्र रुपैयाँ धरौटी बुझाइसकेको थिएँ। एकदिनको भाडा र अरू खर्च कटाएर उनले बाँकी धरौटी फिर्ता लिन लगाए र मलाई आफ्नै घर लगे।
'दिल्लीमा जति दिन बस्न मन लाग्छ, तिमी यहीँ बस,' भवानीले भने, 'हामी सँगसँगै मर्निङ वाक जाउँला, लेखपढ र छलफल गरौंला।'
त्यसपछि हरेकचोटि दिल्ली जाँदा उनकै घरमा बस्न थालेँ। उनले मलाई दिल्लीका ठूल्ठूला हस्तीसँग भेटाए। कला प्रदर्शनीदेखि किताब चर्चा र भरतनाट्यमदेखि रंगमञ्चसम्म दिल्लीका अनेक जीवनशैली दर्शन गराए।
त्यो समय दसैं बेला कलकत्ता वा प्रवासी बंगाली समुदायमा ठूल्ठूला लेखकका कथा, कविता, संस्मरण लगायत लेख–रचना समेटेर साहित्यिक पत्रिका निकाल्ने चलन थियो। पत्रिका बिक्रीबाट आएको पैसाले टोल–टोलमा दुर्गा पूजा गरिन्थ्यो। बंगाली लेखकहरू कसैले लेख्न आग्रह गर्यो भने ठूलो सम्मानका रूपमा लिन्छन्। जतिसुकै ठूलो लेखक होस्, लेख–रचना माग्न आउनेलाई सकभर 'नाइँ' भन्दैनन्, बरू आफ्नो इज्जत बढेको ठान्छन्।
भवानीकहाँ पनि हरेक दसैं आसपास युवा केटाकेटीहरू लेख–रचना माग्न आउँथे। उनी तीन–चारवटा पत्रिकाको काम लिएर आफ्नो एम्बेसडर कारमा कहिले नैनीताल, कहिले मसुरी जान्थे। यस्ता धेरै भ्रमणमा म उनको साथ गएको छु। उनी एक बसाइमै लामो–लामो कथा र सानो आकारको 'डकु–नोभेल' लेखिभ्याउँथे।
मैले उपन्यासको यो विधा उनैबाट थाहा पाएको हुँ। आख्यानका रूपमा लेखिने सत्य घटनालाई उनी 'डकु–नोभेल' भन्थे। हिजोआज यसलाई सिर्जनात्मक गैरआख्यान भनिन्छ। त्यस्तै एउटा 'डकु–नोभेल' उनले मेरो र आफ्नो सम्बन्धबारे लेखेका छन्। बंगाली भाषामा लेखिएको त्यो किताबको नाम 'प्रतिवेशी' हो, जसको अर्थ हुन्छ– छिमेकी।
छोरासँगको सम्बन्धबारे लेखेको अर्को 'डकु–नोभेल' मा पनि उनले मसँग जोडिएका सम्झना र सन्दर्भ प्रशस्त समेटेका छन्।
सत्याग्रहपछि नेपालको अन्यौलपूर्ण राजनीतिक अवस्थाले रनथनिँदै म पढाइ बीचमै छाडेर दिल्ली पुगेको थिएँ। उनकै प्रेरणा र सहयोगमा सन् १९८५ मा चण्डीगढ विश्वविद्यालय पढ्न गएँ।
पत्रकार तथा स्तम्भ–लेखक भवानी सेनगुप्तको निधन सन् २०११ मा भयो। उनी ८९ वर्षका थिए। उनले लेखेका राजनीति, समाजशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका किताब खुबै चर्चित छन्। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्यापन गरेका उनी अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अतिथि प्राध्यापकसमेत थिए।
बंगाली भाषामा उनका ३५ उपन्यास प्रकाशित छन्, जसमध्ये ३० वटा राजनीतिमा केन्द्रित छन्। उनी आफ्नो असली नामबाट उपन्यास लेख्थेनन्। उनको साहित्यिक नाम 'चाणक्य सेन' हो। उनका केही बंगाली उपन्यास हिन्दीमा समेत प्रकाशित छन्। तीमध्ये 'राजपथ–जनपथ', 'मुख्यमन्त्री', 'ये दिन वे दिन', 'रक्तबीजोँके खिलाफ', 'पाकिस्तानका सच' र 'जमाना बदल गया है' चर्चित छन्। 'सारिका' पत्रिकाले उनलाई भारतीय साहित्यमा 'राजनीतिक उपन्यास लेख्ने अग्रणी लेखक' को खिताब दिएको छ।
बंगालले एक–से–एक उम्दा सर्जक जन्माएको छ। शरतचन्द्र चटर्जी प्रायः पारिवारिक विषय उठाउँछन्। रवीन्द्रनाथ टैगोरका कृतिमा राजनीति रङ त देखिन्छ, तर सामाजिक विषयवस्तु नै प्रधान हुन्छ। यी लेखकहरूको दाँजोमा भवानी सेनगुप्त भने राजनीतिलाई केन्द्रमा राखेर साहित्य रचना गर्छन्। उनलाई राजनीतिक नेता, संस्था र पात्रहरूमाथि उपन्यास लेख्ने पहिलो बंगाली साहित्यकार मानिन्छ।
यिनै लेखकका दुइटा किताब — 'राजपथ–जनपथ' र 'मुख्यमन्त्री' — बारे म यहाँ चर्चा गर्दैछु।
दिल्लीमा भवानीसँग बस्दा एकदिन मैले उनको पुस्तकालयमा 'राजपथ–जनपथ' को हिन्दी अनुवाद भेटेँ। मैले यो किताब उनकै पुस्तकालयमा बसेर पढेको हुँ।
राजपथ भनेको राजनेताहरू हिँड्ने बाटो हो, जनपथ जनता हिँड्ने बाटो। यी दुई बाटाहरू कहाँ मिसिन्छन्? यसमा हिँड्नेहरूको स्वार्थ कसरी एकअर्कासँग बाझिन्छन्। लेखकले यहाँ सडकको बिम्ब समातेर नेता र जनताबीच अपेक्षा र स्वार्थको टकराव चित्रण गरेका छन्।
उनी लेख्छन्ः 'राजपथ र जनपथ कहिल्यै सँगसँगै हिँड्न सक्दैनन्। कहिले एउटाले अर्कोलाई काट्छ, कहिले दुवै आपसमा मिसिन्छन्। कहिले उनीहरूबीच संघर्ष हुन्छ, कहिले सहयोग, कहिले सान्निध्य र कहिले व्यवधान। राजपथ आफ्नो शानशौकत जनपथबाट पाउँछ र बदलामा उसलाई दिन्छ बल र व्याप्ति। यहाँ सान्निध्यभन्दा व्यवधान नै धेरै हुन्छ।'
'राष्ट्रपति भवनको विशाल महलसामुन्ने सचिवालय छ, जहाँ राजपथको प्राण बस्छ। उसको पहिलो कदमले विजय चोक काम्छ। योजनागत ढाँचामा बसालिएको यो सहरको सबभन्दा सुन्दर र हरित बगैंचाले घेरिएको ठाउँमा सम्मानित पाहुनाहरू बस्ने बंगला छन्। तीभन्दा एक तहमुनिका महानुभाव सहरकै अर्को सुसज्जित इलाकामा बनेका नयाँ ढाँचाका फ्ल्याटमा बस्छन्। जनपथमा आममान्छेका लागि दुई वा तीनकोठे फ्ल्याट लामबद्ध छन्। ती आममान्छे शरणार्थी शिविर र सहरको पुरानो इलाकाका भिडभाडमा पनि बस्छन्। राजपथका यात्रु आफ्नै गाडीमा आउजाउ गर्छन्। जनपथवालाहरूको भने गाडी छैन। उनीहरू या त पैदल हिँड्छन् वा साइकल र घन्टौं कुर्नुपर्ने सार्वजनिक बस।'
'राजपथ र जनपथका कार्यालयमा पनि भेद छ। राजपथका कर्मचारी ठूल्ठूला कोठामा बसेर काम गर्छन्, जहाँ महँगा–महँगा फर्निचर र चौडा कुर्सी–टेबल छन्। जहाँ भित्ताहरू सुन्दर तस्बिरले सजिएका छन्। जनपथवासी भने पच्चीस जना एकै कोठामा गुम्सिएर काम गर्छन्। कुर्सी–टेबल पुराना छन्, जहाँ अतीतको फोहोर वर्तमानको पसिनासँग मिसिएर एउटा अजीब थकान र शिथिलता जन्माउँछ। ती कुर्सीहरू पनि कुनै साबुत छैनन्। कसैका खुट्टा लड्खडाएका छन्, कसैको हात गायब छ। वरिपरि पुराना दराज र भुइँमै धुलाम्मे फाइलहरू छरिएका देखिन्छन्, जहाँ देशको अतीत, वर्तमान र भविष्य कैद छ।'
'जनपथ काम गर्छ, राजपथ काम गराउँछ।'
उपन्यासबाट अनूदित माथिका यी पंक्तिले नेता र जनताबीच जुन खाडल झल्काउँछ, त्यस्तै खाडल हामी नेपालमा पनि देख्छौं।
हाम्रा धेरै नेताले पञ्चायती व्यवस्थाको तीन दशकमा खाली खुट्टा हिँडेर भोकभोकै प्रजातन्त्रको लडाइँ लडे। तिनै नेताले २०४६ पछिका तीन दशकमा समृद्धिको उत्साहजनक उकालो चढे। उनीहरूको चढाव हामी सबैका अगाडि छर्लंग छ। अचेल राजनीतिक पार्टीहरूका बैठक पार्टी कार्यालयमा कमै बस्छन्, तर जब बस्छन्, आँगनमा महँगा गाडीहरूको लश्कर राजधानीमा जारी 'अटो शो' भन्दा कम हुँदैन। यही तीन दशकमा जनता हिँड्ने सार्वजनिक यातायातको भने बेहाल छ।
गरिब देशका हाम्रा नेताहरू उपचारका लागि भारत, अमेरिका, सिंगापुर र बैंकक पुग्छन्। कोही राज्यको स्रोतमा, कोही आफ्नै वा आफ्ना नाममा खर्च गरिदिने व्यापारीको बलमा। जनपथमा हिँड्ने आममान्छेका अस्पतालमा भने न पुग्दो डाक्टर, न राम्रो उपचार, न चाहिँदो ओखती।
भवानीले भनेजस्तै राजपथमा हिँड्ने नेताहरूले जनताको बलमा आफ्नो शानशौकत त बढाए, तर बदलामा उनीहरूलाई तीनथोक मात्र थमाए — आश्वासन, सपना र प्रतीक्षा।
नेताहरूको यस्तो अस्वाभाविक समृद्धि देखेर आज हरेक सचेत नागरिकको मनमा एउटै प्रश्न जन्मेको छ– हिजो चप्पल लगाउन नसक्ने नेताहरू यत्रो ठूलो हैसियतमा कसरी पुगे?
यो प्रश्नको जवाफ हामी सायदै भेटौंला। राजपथ र जनपथबीच सदियौंदेखि जुन संघर्षको सम्बन्ध छ, यो प्रश्नको जवाफ त्यही संघर्षमा लुकेको छ।
उपन्यासले तत्कालीन नवलोकतन्त्र भारतको अलोकतान्त्रिक तस्बिर पनि उजागर गर्छ।
सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि भारत संसारकै निम्ति 'रोलमोडल' थियो। महात्मा गान्धी, जवाहरलाल नेहरू, बल्लभभाइ पटेल, मौलाना आजादजस्ता नेताहरूलाई संसारले नै आफ्नो 'दिशानिर्देशक' मानेका थिए। धेरै अफ्रिकी र ल्याटिन अमेरिकी देशले भारतकै बाटो पछ्याउने राजनीतिक धार समातेका थिए।
नेहरूले आफ्नो समाजवादी योजनाअनुरुप ठूल्ठूला विश्वविद्यालय निर्माण गरे। विदेशी विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने योजनाको नीब हाले। त्यही क्रममा केन्या, तान्जेनिया लगायत अफ्रिकी मुलुकबाट धेरै विद्यार्थी भारत पढ्न आए। गोराहरू पनि आए, कालाहरू पनि। के भारतले ती सबै पाहुनालाई बराबरी सम्मान दियो?
'राजपथ–जनपथ' मा दुई जना पात्र छन्, पीटर काबाकू र सोलोमन कुचिरो जो अफ्रिकाबाट आएका काला जातिका हुन्। अरनेस्ट लङफेलो भने अफ्रिकाबाटै आएका गोरा हुन्।
भारतले जतिसुकै स्वतन्त्रताको कुरा गरे पनि १९५० दशकमा रंगभेद र जातिभेदको कति गहिरो जकड थियो भन्ने उपन्यासले देखाउँछ।
विदेशी विद्यार्थीलाई पाहुना बनाएर राख्दा गोरालाई मात्र राख्न पाए हुन्थ्यो भन्ने मनोवृत्ति लेखकले चित्रण गरेका छन्। काला जातिका अफ्रिकीसँग त उनीहरू बोलचाल गर्न पनि रुचाउँदैनन्। कुनै घरमा काला जातिका पाहुना आइहाले सकभर छोराछोरीलाई टाढै राखिन्थ्यो।
उपन्यासको एउटा दृश्यमा सोलोमन कुचिरो जुन घरमा पाहुना लाग्न जान्छन्, त्यहाँ उनको स्वागत गर्न बसेकी सुलोचना शर्माको अनुहारमा मुस्कानधरि देखिन्न। सोलोमन घरभित्र छिर्दा आफ्नी छोरी अगाडि नपरून् भनेर उनी सतर्क हुन्छिन्। सोलोमन त्यहाँ बसुञ्जेल छोराछोरीलाई बढी घुलमिल नहुन नसीहत दिन्छिन्।
पीटर काबाकूलाई भेट्दा भारतीयहरू यसैगरी नाक खुम्च्याउँछन्, तर्किन्छन्। जबकि, गोरा जातिका लङफेलोले मृदुमुस्कान, न्यानो अंगालो र मायालु चुम्बनको स्वागत पाउँछन्।
यस्ता दृश्यबाट लेखकले स्वतन्त्र भारतको राजनीतिक तथा सांस्कृतिक विरोधाभाष झल्काएका छन्। विश्वशक्ति बन्न उद्यत र आफूलाई संसारकै ठूलो लोकतन्त्र मान्ने देशभित्र हुर्केको आन्तरिक मतभेद र रंगभेदी नीति उनले दर्शाएका छन्।
'भारत गोराहरूको राजनीतिक शासनबाट स्वतन्त्र भए पनि मानसिक शासनबाट मुक्त हुन अझै धेरै वर्ष लाग्नेछ,' लेखक भन्छन्, 'पहिले राजनीतिक रूपमा नतमस्तक थियो, अब सामाजिक र सांस्कृतिक रूपमा नतमस्तक छ।'
यो उपन्यासको अर्को सुन्दर पक्ष के भने, यसले राजपथ र जनपथबीच बाँडिएको राष्ट्रको अन्यौललाई सजीव चित्रण गरेको छ।
राजपथ भनेको खासमा जनपथबाटै निस्कने मार्ग हो। जनपथले साथ नदिने हो भने राजपथको जन्म सम्भवै छैन। भन्नुको मतलब, जबसम्म लोकतन्त्रको लडाइँ जारी रहन्छ, नेता होस् वा जनता, सबै सराबरी हिँड्ने जनपथमै हो। त्यही मार्गमा उभिएर नेता र जनता एकसाथ मुठ्ठी कस्छन्, स्वतन्त्रताको आवाज उराल्छन्।
जब लोकतन्त्र प्राप्त हुन्छ, जनपथबाट राजपथ छुट्टिन्छ। समयक्रममा जब राजनीति सत्तामा केन्द्रित हुन थाल्छ, राजनीतिबाट मानवीय संवेदनशीलता हराउँछ। जनपथको चौडाइ साँघुरिन्छ, राजपथ फराकिलो हुँदै जान्छ।
हामी जनपथको प्रतिनिधित्व होला भनेर लोकतन्त्र ल्याउँछौं, तर सत्तामा पुगेपछि नेताहरूमा राजपथकै मात हाबी हुन्छ।
हाम्रैमा हेरौं न, राजपथमा नेताहरूको सवारी चलाउन जनपथसँग जोडिने चोक र गौंडाहरूमा जनताको बाटो रोकिन्छ। जबसम्म राजपथ 'क्लियर' हुँदैन, जनताले आफ्नै बाटोमा हिँड्न पाउँदैनन्। सवारी चलाइने र सवारीका नाममा बाटो रोकिने यी दुवैथरी वर्ग कुनै समय एकैबाटो सँगसँगै हिँड्थे।
सत्तामा पुग्नुअघि र पुगेपछि नेताहरूमा कसरी अन्तर आउँछ र कसरी उनीहरू आफ्नै जनताबाट टाढिँदै जान्छन् भन्ने नै 'राजपथ–जनपथ' को मूल खुलासा हो।
राजनीतिक नेताहरूको यस्तै चारित्रिक ह्रास भवानी सेनगुप्त, उर्फ चाणक्य सेनको अर्को उपन्यास 'मुख्यमन्त्री' मा पनि देखिन्छ।
भवानीले साठी दशकको मध्यमा मध्यप्रदेशका मुख्यमन्त्री द्वारिकाप्रसाद मिश्रको प्रेस अफिसर भएर काम गरेका थिए। त्यस क्रममा उनले भारतको राजनीतिलाई नजिकबाट हेरे। राजनीतिमा जातीय, वर्गीय र लैंगिक विभेद देखे। त्यही बेलाको आफ्नो अनुभवलाई 'मुख्यमन्त्री' उपन्यासमा मिहिन चित्रण गरेका छन् भवानीले।
मूलभाषा बंगालीमा सन् १९६६ मा प्रकाशित यो उपन्यास त्यसको अर्को वर्ष नै हिन्दीमा अनूदित भएको थियो। यसमा भारतको समकालीन राजनीतिक जीवनको आश्चर्यजनक यथार्थ छ। खासगरी जातीय राजनीतिको आयाम कति क्रूर छ भन्ने यसले देखाउँछ।
लेखकले कृष्ण द्वैपायन भन्ने पात्रका माध्यमबाट राजनीतिक नेताहरूको द्वैध चरित्र उजागर गरेका छन्। उनी रसिक छन्, उनको राजनीतिक दाउपेच कुटिल छ। उनी आफ्ना राजनीतिक सहकर्मीहरूको दोष, कमजोरी र मजबुरीबाट फाइदा उठाउँदै सत्ता हत्याउन माहिर छन्। सत्ता हत्याउन सिद्धान्तको हत्या गर्न पनि पछि पर्दैनन्। नेताहरूको यस्तै आमचरित्र झल्काएकैले 'मुख्यमन्त्री' लाई भारतीय राजनीतिक उपन्यासको श्रेणीमा अब्बल दर्जा दिइन्छ।
भारतमा स्वतन्त्रता लगत्तैका वर्ष सत्ता प्राप्त गर्न र कायम राख्न स्थापित समीकरणले नै अन्ततः सम्पूर्ण भारतीय राजनीतिमा चारित्रिक प्रदूषण फैलाएको लेखकको निष्कर्ष छ। स्वतन्त्रतापूर्वको आदर्श त्यसपछिको राजनीतिमा कसरी एकांगी वा असहाय हुँदै गयो भनेर देखाउनु नै यो उपन्यासको मूल उद्देश्य हो।
'स्वतन्त्रताको वर्षौंपछि पनि भारतीय राजनीतिको व्यथा योभन्दा अलग छैन,' भवानी लेख्छन्।
के हाम्रो राजनीतिको व्यथा योभन्दा अलग छ?
भारतको 'नेसनल स्कुल अफ ड्रामा' ले यही उपन्यासमा आधारित नाटक तीन सय ५० चोटिभन्दा बढी मञ्चन गरिसकेको छ। मन्नू भण्डारीको 'महाभोज' नाटक पनि भवानीको 'मुख्यमन्त्री' बाट प्रभावित छ।
यी दुवै उपन्यासमा एउटा अर्को समानता पनि छ। दुवैमा लेखकले महिलालाई राष्ट्र र राष्ट्रियताको प्रतीकका रूपमा उभ्याएका छन्।
'राजपथ–जनपथ' की सुलोचना शर्माको सुडौल शरीर, लामो नाक, ठूला आँखा, श्यामल वर्ण, उनको पवित्रता र खुलापनबाट अरनेस्ट लङफेलो आकर्षित छन्। यहाँ सुलोचनाको शारीरिक बनोट र स्वभावलाई भारतसँग दाँज्न खोजिएको छ। लङफेलोको उनीप्रति आकर्षणलाई भारतप्रतिकै आकर्षणका रूपमा देखाइएको छ। यस्तै प्रसंग 'मुख्यमन्त्री' मा पनि छ।
हुन त महिलालाई राष्ट्रको बिम्बका रूपमा प्रस्तुत गर्ने चलन पुरानै हो। आज पनि देशलाई आमासँग दाँजिन्छ, र सगौरव मातृभूमि भनिन्छ। महिलालाई पवित्रता, परम्परा र संस्कृति धान्ने वाहकका रूपमा हेरेर यस्तो बिम्ब रचना भएको हुनसक्छ। अहिले आएर राष्ट्र वा राष्ट्रियतालाई महिलाको प्रतिरूप मान्ने चलनमाथि प्रश्न उठ्न थालेको छ। यस अर्थमा आजको दृष्टिबाट हेर्दा भवानी सेनगुप्तको यो प्रस्तुति हामीलाई पुरातन लाग्नसक्छ।
'मुख्यमन्त्री' उपन्यासको अन्त्य रोचक छ।
उदयाचलका मुख्यमन्त्री श्री कृष्ण द्वैपायन कौशल आफ्नो कोठामा सुतिसके। बाहिर बादलको मृदुगर्जन सुनिँदैछ। कोठाभित्र नाकको गुरूगर्जन सुरू हुन्छ।
जगमोहन अवस्थी ढोकामा आएर उभिन्छन्। उनी देख्छन्, बोल्न र सुन्न नसक्ने एक सुन्दरी स्त्री सुतिरहेका कृष्ण द्वैपायनको अनुहार निहारिरहेकी छन्।
ती स्त्रीको भेषभूषा अस्तव्यस्त छ। उनी त्यसलाई सम्हाल्न जरुरी ठान्दिनन्।
यी सुन्दरी स्त्री उपन्यासको अन्त्यमा एकाएक आएकी हुन्। त्यसअघि उपन्यासभरि कतै पनि उनको प्रसंग छैन।
'को हुन् यी पात्र?' मैले भवानीलाई सोधेको थिएँ।
उनको जवाफ थियो, 'इन्डिया।'
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)