लोकतन्त्र स्वतन्त्र इच्छामा आधारित शासन व्यवस्था हो। हामीले स्वतन्त्र इच्छापूर्वक दैनिक जीवनमा यावत् कुरा गर्छौं। तीमध्ये सामाजिक सञ्जाल लगायत नयाँ प्रविधिको उपयोग पनि हो। हाम्रो इच्छाविपरीत कसैले पनि तिनबाट छुटाउन सक्दैन, छुटाउने अवस्था हुनु हुँदैन। सरकार वा कुनै संस्थासँग त त्यस्तो अधिकार हुनै हुँदैन।
तर त्यसको अर्थ बजारमा उपलब्ध हरेक नयाँ वा पुराना प्रविधि उपयोग गर्नैपर्छ भन्ने छैन। के अपनाउने, के छाड्ने? यो हाम्रो स्वतन्त्र इच्छाको विषय हुनुपर्छ। हाम्रा जुनसुकै निर्णय सुसूचित भएर लिएको हुनुपर्छ।
सामाजिक सञ्जालमा रहिरहने वा छाड्ने विषयमा स्वतन्त्र इच्छापूर्वक निर्णय गर्न जस्ता सूचना आवश्यक हुन्छन्, हाम्रो परिवेशमा तिनको अभाव पूर्ति गर्ने सानो प्रयास हो यो लेख।
कसको सामाजिक सञ्जाल?
केही दिनअघि भारतीय फिल्म निर्देशक अनुराग कश्यपले आफ्नो ट्विटर खाता डिलिट गरे। कारण, उनका आमाबाबु र छोरीलाई आउने धम्कीहरू उनलाई असह्य भयो।
आफ्नो अन्तिम ट्विटमा उनले भनेका छन्- नयाँ भारतमा सबैलाई बधाइ छ, सबैको भलो होस्। सबैलाई खुसी र सफलताको शुभकामना। मैले ट्विटर छाड्न लागेकाले यो मेरो अन्तिम ट्विट हुनेछ। म मनको कुरा भन्न सक्दिनँ भने नबोलेकै ठीक। गुडबाइ।
कश्यपको दोष? उनी नरेन्द्र मोदी सरकारका एक आलोचक हुन्।
यही वर्ष मे महिनामा सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीका एक समर्थकले ‘बाउको मुख नथुनेमा बलात्कार गर्ने’ भन्दै छोरीलाई धम्की दिएपछि कश्यपले प्रहरीमा जाहेरी दिएका थिए। साथै उक्त धम्कीपूर्ण सन्देशमा कश्यपले प्रधानमन्त्रीलाई ‘ट्याग’ गर्दै यस्तो समस्या समाधान गर्न आग्रह गरेका थिए। जुलाइमा मोदीलाई एक पत्रमार्फत भिडले गर्ने अल्पसंख्यकको हत्या तत्काल रोक्न आग्रह गर्ने ४९ जना बौद्धिकमध्ये कश्यप पनि एक थिए।
कुनै आपराधिक मानसिकताको मानिसले त्यस्तो धम्की दिन्छ भने व्यक्ति पो दोषी, त्यसमा सञ्जालको के दोष? त्यस्ता व्यक्तिलाई कारवाही गर्न सके सञ्जाल आफैं स्वस्थ र सुरक्षित माध्यम बन्छन्।
यही मान्यताका साथ कश्यपले महिनौंसम्म आँत बलियो पारेर सञ्जालमा भिडिरहे। मेमा जाहेरी दिएपछि ट्विटरमार्फत महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभीस र प्रधानमन्त्रीलाई धन्यवाद दिँदै लेखे- बाबुका रुपमा म अहिले बढी सुरक्षित छु।
कति राम्रो हुन्थ्यो, त्यस्तो भएको भए। भएन। उनीमाथि आक्रमण र असुरक्षा चुलिँदै गए।
चुनावअघि कश्यप भन्थे- आफ्नो क्षेत्रका मुद्धा बोक्ने, आफ्ना काम गर्न सक्ने मान्छेलाई भोट हाल। ‘अरुलाई हैन प्रधानमन्त्री मोदी (र उनको पार्टी)लाई नै भोट हाल’ भन्नेहरूको अनलाइन सेना उनको घाँटी च्याप्न आइपुग्थ्यो। चुनावमा विजयी भएपछि जब उनले मोदीलाई ट्याग गरेर आफ्नो व्यथा बिसाए, त्यही सेना ‘त्यो काम प्रधानमन्त्रीको हुँदै हैन’ भनेर कश्यपमाथि खनियो।
असुरक्षा बढेर आमाबाबुले समेत धम्की व्यहोर्न पर्ने भएपछि हात उठाउँदै कश्यपले भनेका छन्- म मनको कुरा भन्न सक्दिनँ भने नबोलेकै ठीक।
उनको यो वाक्यले शायद सामाजिक सञ्जाल युगमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दुरुस्त चित्रण गर्छ।
कश्यपको अनुभवले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ- सामाजिक सञ्जाल भनेर अहिले जेलाई बुझिन्छ, त्यो के? सन् २००४ मा मार्क जुकरवर्ग र उनका चार साथीले सुरू गरेको फेसबुक र २००६ मा ज्याक डोर्सी र उनका तीन साथीले सुरू गरेको ट्विटर? वा फेसबुकका अर्बौं र ट्विटरका करोडौं मानिसले त्यसयता दुवै भीमकाय सञ्जाललाई जुन रुप दिएका छन्, त्यो?
सामाजिक सञ्जालको पछिल्लो अवतार धान्नमा कश्यपले सत्तारुढ दल र प्रधानमन्त्रीको भद्र आलोचना गर्दैमा उनकी छोरीलाई बलात्कारको धम्की दिने ‘chowkidar_ramsanghi’ जस्ता मान्छे कति हावी छन्? अनि त्यस्तो 'ह्याण्डल' भएको मान्छे कुनै सञ्जालमा कहिल्यै छँदै थिएन भनेर कश्यपलाई उल्लीबिल्ली पार्ने र चर्चा कमाउन उनले 'छोरीको इज्जत दाउमा राखेको' भनेर ट्विटरमा उनीमाथि हमला गर्नेहरू?
उसो भए अब सामाजिक सञ्जाल कसका भए? अर्थात्, त्यहाँको बहसलाई कसले दिशानिर्देश गर्छ? कसका विचार र अडान त्यहाँबाट सबभन्दा बढी फैलन्छन् र अधिकतम मानिसलाई प्रभावित गर्छन्?
यी प्रश्नका उत्तर सबै समाजका लागि समान छैनन्। तर भारतमा अनुराग कश्यप र साउदी अरबमा मनल अल–शरीफजस्ता अभियन्ताहरूले ट्विटर छाडिरहेका छन्। र, तिनलाई बहसको मैदानबाट हटाउन सफल अतिवादीहरू त्यहाँ हावी छन् भने त्यसको जवाफ अनुमान लगाउन सकिन्छ।
मैदान छाडेर किन भाग्ने?
सामाजिक सञ्जालमा यावत खराब पात्र र प्रवृत्तिहरू त छँदैछन्। शालीन, तर्कशील र फरक मत राख्ने मानिस त्यहाँबाट निस्कनु भनेको मैदान पूरै खराब पात्रलाई छाड्नु हो। अतिवादीहरू छन् भन्दैमा तर्कको मैदान छाड्दै जाने हो भने भोलि मध्यमार्ग अलप हुन्छ, आलोचनाको स्थान निन्दाले लिन्छ। बहस बन्द हुन्छ। सत्ता संस्थापनले ठूलो मिहिनेत गरेर सञ्जालमा उपस्थिति बढाउने समयमा विरोधीहरू त्यहाँबाट हट्नु भनेको सत्तालाई जवाफदेही बनाउने महत्वपूर्ण हतियार गुमाउनु हो। मूलधारे मिडियाहरूमा यसै पनि भुइँ तहका कुरा नआउने समयमा सामाजिक सञ्जालबाट अलग्गिनु भनेको जनसंख्याको मुख्य हिस्सासँग विच्छेदित हुनु हो।
सामाजिक सञ्जाल छाड्नुअगाडि मलाई यस्तो लाग्थ्यो। आज पनि लाग्छ। खासगरी सत्ता संस्थापनलाई भुइँ तहबाट चुनौती दिन र जवाफदेही बनाउन सामाजिक सञ्जाल जत्तिको प्रभावकारी हतियार अर्को कुनै छैन र निकट भविष्यमा हुने पनि देखिँदैन। मैले चिनेका धेरै भद्र नागरिकहरू यही बलियो विश्वासका साथ सामाजिक सञ्जालमा भिडिरहेका छन्।
सामाजिक सञ्जाल छाड्नु वा नछाड्नु, सक्रिय हुनु वा खाता खोलेर छाडिरहनु बेग्लै निर्णयका विषय हुन् तर हाम्रो सक्रियता कुन मूल्यमा भइरहेको छ भन्नेमा प्रस्ट हुनु जरुरी छ।
तपाईंले फेसबुक वा ट्विटरका मद्धतले बाटो वा टोल सफा राख्नुभयो, अर्को साथीले अभियान चलाएर कुनै कार्यालयमा भ्रष्टाचार कम गर्यो। अझ ठूूलो समूहले सामाजिक सञ्जालकै मद्धतले वर्षभर अभियान चलाएर राज्यलाई कुनै मुद्धामा जवाफदेही बनायो। कुनै ठाउँमा सामाजिक सञ्जालबाट संगठित अभियानहरूले तानाशाही शासक नै ढलाए। सञ्जालकै दबाबका कारण अर्को निरंकुश सरकार कुनै विरोधीलाई जेलबाट मुक्त गर्न बाध्य भयो। सञ्जालमै फैलिएको खबरबाट दुर्लभ समूहको रगत पाएर कसैको ज्यान बच्यो। कतै वर्षौं हराएको मानिस फेला पर्यो।
यी सामाजिक सञ्जालका उज्यालो पाटा भए।
त्यही सञ्जाल उपयोग गरेर बर्मामा अतिवादी बौद्धमार्गीहरूले रोहिंग्या मुस्लिमको दानवीकरण गरे, सेनाले आम नरसंहारका लागि जनमत तयार पार्यो, नरसंहार गर्यो र त्यसको औचित्य समेत पुष्टि गर्यो। अल्पसंख्यक रोहिंग्यामाथि हत्या, हिंसा र बलात्कार, तिनका सम्पत्तिमा आगजनी राष्ट्रिय अभियानजस्तै बन्यो। सिंगो समाजमा कतै उल्लेख्य अपराधबोध हुन सकेन। साउदी अरबमा सञ्जालका डिलिट गरिसकिएका खाताका पुराना विवरण र अभिव्यक्ति हेरीहेरी अभियन्ताहरू राज्यको शिकार बनाइए।
भारतमा अपहरणकारीको हौवा फिँजाएर निर्दोष अपरिचितहरू भिडबाट मारिए। अनुराग कश्यप'हरू' सञ्जालबाट खेदिए। आमिर खान'हरू' आवाजहीनको आवाज बोल्ने सेलिब्रेटीबाट राज्यले पचाउने कुरा मात्रै बोल्ने मेसिन वा बुख्याँचाजस्ता बने। अल्पसंख्यकमाथि ज्यादतीको विरोध गर्ने नेतृत्वदायी बौद्धिकहरूमाथि सञ्जालमा दानवीकरण र राज्यको हमला समानान्तर रुपमा चले।
सञ्जालमै झुटा समाचार र षड्यन्त्रका कथाको उभारमाथि चढेर अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भए, बेलायतको जनमतसंग्रह 'इयू' छाड्नुपर्छ भन्नेहरूले जिते। अमेरिकामा अश्वेत र अन्य अल्पसंख्यकले शताब्दीयौंको संघर्षपछि पाएको अधिकार र आत्मसम्मानमा अकल्पनीय प्रतिगमन भोग्नुपर्यो। न्युजिल्याण्डमा केही महिनाअघि दुई मस्जिदमा भएको आक्रमणको फेसबुकमा प्रत्यक्ष प्रसारणै गरे आक्रमणकारीले। सञ्जालबाटै भर्ति गरिएका जेहादीहरूले सिरिया वा इराकै नपुगी इस्लामिक स्टेटका तर्फबाट संसारभर दर्जनौं हिंस्रक बमकाण्ड गराए। हजारौं मारिए।
नेपालमै महिला वा पिछडिएको समुदायको पक्षमा बोल्न चाहने कसैमाथि निर्मम हमला गर्न सञ्जालको एउटा 'ट्रोल सेना' तयार छ। त्यस्तो सेनाको बिगबिगी मैले ती सञ्जाल छाडेयताका पौने तीन वर्षमा खुब बढेको छ भन्छन् साथीहरू। कुनै हत्या वा बलात्कार हुनासाथ पीडितको आत्मसम्मान र न्यायको मूल्यमा चर्चा र दर्शक कमाउन आतुर ब्वाँसातूल्य सञ्जालेहरूको भिड छ अहिले युट्युब, फेसबुक र ट्विटरमा।
यी सामाजिक सञ्जालका अँध्यारो पाटा भए।
सामाजिक सञ्जालका दुई पाटामध्ये म एउटा हेर्छु, अर्को हेर्दिनँ भन्न मिल्छ कि मिल्दैन? दुर्लभ समूहको रगत जुटाइदिएकोमा सञ्जाललाई धन्यवाद दिन सकिन्छ भने लाखौं रोहिंग्यामाथिको हिंसा र विस्थापनको माध्यम बनेकोमा त्यसको निन्दा गर्न मिल्छ कि मिल्दैन?
सञ्जालको विध्वंशक उपयोग हेरेपछि मान्छेमा दुई किसिमका प्रतिक्रिया हुन्छन्। एक, यति खराब विरासत निर्माण गरिरहेका माध्यममा रहनु उचित छैन। दुई, खराबी त छँदैछन् तर तिनको प्रभाव कम गर्ने हो भने असल कर्म गर्ने र असल वचन बोल्नेहरू त्यहाँ रहिरहनुपर्छ।
पछिल्लो अडान लिएर मैदानबाट नभागी सञ्जाल प्रयोग गरिरहँदा एउटा नैतिकताको प्रश्न भने उठ्छ। सामाजिक सञ्जालमा जोडिएर निष्क्रिय रहने वा असल व्यवहार गर्नेहरूले ती सञ्जाललाई जुन आम्दानी, लोकप्रिय वैधता र प्रभाव सञ्चय गर्न सघाउँछन्, त्योबिना ती सञ्जालका माध्यमबाट हुने विध्वंशक काम कति सम्भव थिए? अर्थात्, सानो संख्यामा मात्रै भएर पनि त्यहाँ हावी भएका सबै खालका अतिवादी मात्रै रहने र आमनागरिक नरहने काल्पनिक अवस्थामा के सामाजिक सञ्जाल यति प्रभावकारी र शक्तिशाली हुन सक्थे? सक्थेनन्।
फेसबुक खोल्ने साढे दुई अर्बमध्ये एक भागले यसका राम्रा–नराम्रा दुवै पक्षका लागि जिम्मेवारी लिनुपर्दैन?
अझै मूर्त प्रश्न सोध्नुपर्दा, अहिले सामाजिक सञ्जाल नभएको भए बर्मामा रोहिंग्याको आमनरसंहार वा न्युजिल्याण्डको क्राइस्टचर्च आक्रमणजस्ता घटना हुने नै थिएनन् त?
यसको यकिन जवाफ दिन गाह्रो छ तर सम्भवतः हुन्थे। सामाजिक सञ्जालसँगै विश्वमा हिंसा सुरू भएको हैन। यी सञ्जाल बन्द हुनासाथ रोकिने पनि हैन। तर क्राइस्टचर्चमा मस्जिद आक्रमण गर्ने हत्याराले भयावह आक्रमण 'लाइभ' गर्न फेसबुकको अस्तित्व अनिवार्य थियो। संसारभरका श्वेत सर्वोच्चतावादी अतिवादीहरू ऊबाट प्रभावित भएर संगठित हुन, एक–अर्कालाई प्रोत्साहित र उत्प्ररित गर्न अनि केही दिनअगाडि अमेरिकामा भएको दोहोरो ‘मास सुटिङ’ जस्ता घटना दोहोरिनमा ती सञ्जालको भूमिका बलियो थियो, छ।
खराबीबिनाको सामाजिक सञ्जाल सम्भव छ?
पाठकका मनमा एउटा निर्दोष प्रश्न उठ्न सक्छः सामाजिक सञ्जालका असल गुण कायम राखेर खराबीहरू निमिट्यान्न पार्न मिल्छ होला नि?
सिद्धान्ततः मिल्छ। व्यवहारमा मिल्दैन। कारणः सञ्जालहरूको 'बिजनेस मोडल'।
‘सबैको भलो गर, कसैमाथि हिंसा नगर’जस्ता सन्देश मात्रै हुने हो भने ती सञ्जालमा सीमित मान्छे मात्रै रहन्छन्। सीमित गतिविधि हुन्छन्। त्यस्ता सञ्जालले विज्ञापन पाउने र पैसा कमाउने सम्भावना झनै सीमित हुन्छ।
अर्कोतिर अतिरञ्जित, सनसनीपूर्ण वा सफेद झुट समाचार वा सन्देश, अतिवादी र तीव्र ध्रुवीकरण गराउने सामग्री तथा भयावह फुटेजहरू, जसले मानव मस्तिष्कका भय र चिन्ताजस्ता आदिम भावना उत्तेजित गर्छन्, तिनको प्रवाह हुने सञ्जालमा मानिस मौरीझैं झुम्मिन्छन्। गतिविधि बढ्छ। विज्ञापन बढ्छ। आम्दानी बढ्छ।
सञ्जालको अतिरन्जना, सनसनी र झुटा समाचारको प्रवाह सहजै हिंसा प्रवर्द्धन गर्ने र त्यसको औचित्य पुष्टि गर्ने हदसम्म पुग्छ। स्वीकार्य र अस्वीकार्य सामग्रीबीच जस्तोसुकै लक्ष्मणरेखा भए पनि त्यसको प्रभाव न्यून हुन्छ। आइएसलगायत आतंककारी समूहले फेसबुक र ट्विटरका शर्त र 'अल्गोरिदम' छलेर कसरी सभ्य शब्दमा हिंसा प्रवर्द्धन गर्ने भन्नेमा विद्वता नै हासिल गरिसकेका छन्।
त्यसबाहेक, अमेरिकी कम्पनीका सेयरहोल्डरहरूले बर्मा, फिलिपिन्स वा भारतमा आफ्नो कम्पनीको उत्पादनलाई माध्यम बनाएर मान्छे मारिने अवस्थाप्रति राख्ने चासो सीमित हुन्छ। त्यस्ता मुलुकमा तीव्र बिस्तारबिना फेसबुकलाई स्थापनाको डेढ दशकभित्र संसारकै छैठौं धनी कम्पनी बनाउनु असम्भव थियो। अतिरञ्जना, सनसनी र झुटा समाचार प्रवाह ती समाजमा फेसबुक विस्तारका मुख्य औजार थिए भने तिनलाई ‘फिल्टर’ गर्न फेसबुकले परिचालन गरेका स्थानीय भाषा बुझ्ने जनशक्ति हात्तीका मुखमा जीराजस्तै थिए।
अर्थात् जहाँ खराब वा दुराशययुक्त सामग्रीको बाढी आउने निश्चित थियो, त्यसको रोकथाम गर्न फेसबुकले बालुवाको पर्खाल लगाएको थियो।
कतिसम्म भने, केही वर्षअघि फेसबुक बदनाम गर्ने ‘क्याम्ब्रिज एनालिटिका’ काण्डका लागि मार्क जुकरवर्गले अमेरिकी संसदमा गएर समेत सफाइ दिए। तर उक्त कम्पनीले अवैध रुपमा फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको फेसबुकलाई वर्षौंअघिदेखि थाहा थियो। जस्तै प्रलय भए पनि नाफा बढिररहँदासम्म मार्ग नबदल्ने प्रविधि कम्पनीहरूको चरित्र त्यसबाट प्रस्टै हुन्थ्यो। जुन अहिले झनै टड्कारो हुँदै गइरहेको छ।
के गर्ने?
सामाजिक सञ्जालभित्रै रहेर त्यसको धूलोमैलो पखाल्न अलिकति पनि योगदान गर्न सकिन्छ जस्तो लाग्छ भने तपाईं सञ्जालमा रहेकै उत्तम। तपाईंको जीविका सामाजिक सञ्जालमा आधारित छ भने वैकल्पिक आयस्रोट नजुटाइदिने कसैले तपाईंलाई त्यहाँबाट बाहिरिने सुझाव दिनुको अर्थ छैन।
ती सञ्जालको ज्यादती भित्रभित्रै पिलो जस्तो भएर तपाईंको विवेकमा काँटी गडेजस्तो भएको छ भने तत्काल त्यहाँबाट निस्केको उत्तम।
त्यहाँ रहँदारहँदा अरू मानिसको चर्तिकला हेर्दाहेर्दै आफ्नो रचनात्मकता खिइँदै गएको जस्तो लाग्छ भने पनि छिट्टै त्यहाँबाट बाहिरिनु राम्रो। खास गरी सिर्जनशील रचनाकर्ममा हुनेहरूलाई सञ्जाल प्रयोगका कारण सिर्जनामाभन्दा प्रचारप्रसारमा ध्यान बढी दिइएछ भन्ने लाग्छ भने त त्यहाँबाट निस्कनु अनिवार्य छ।
सञ्जालबाट त निस्कने तर त्यहाँ रहेका सम्पर्क र सूचनाका माध्यमको विकल्प कसरी खोज्ने भन्ने दुविधामा हुनुहुन्छ भने विकल्पमा अलिकति गृहकार्य गरेर त्यहाँबाट निस्कनु राम्रो।
याद गर्नैपर्ने कुरा यत्ति- संसार सामाजिक सञ्जालसँग सुरू भएको हैन र यसको अन्तसँगै अन्त हुने पनि छैन।
स्वतन्त्र इच्छाले चल्ने समाजमा कसैले पनि अरू कसैलाई ‘तिमी यो माध्यम प्रयोग गर, यो नगर’ भन्ने अधिकार छैन। तर हामीले आफ्ना लागि गर्ने छनोट सही सूचनामा आधारित हुनुपर्छ। ‘यी, यस्ता प्रयोजनका लागि म खास माध्यमको प्रयोग गर्छु’ भन्ने तपाईंको स्वतन्त्र छनोटको विषय हो भने ‘यी, यस्ता कमजोरी र समस्याका कारण म खास माध्यम प्रयोग गर्दिनँ’ भन्नु पनि स्वतन्त्र छनोटकै विषय हो।
अन्तमा एउटा तुलना। इतिहासमा हरेक नयाँ आविष्कार हुँदा यस्तै चिन्ता प्रकट गरिएका छन्। तर समयले ती चिन्ता दुर गरिदिएको छ- प्रिन्टिङ मेसिन, मोटरगाडी, टेलिफोन, पत्रिका, टेलिभिजन उदाहरण हुन्।
यीमध्ये एउटालाई सामाजिक सञ्जालसँग तुलना गरौं। गाडी र जहाज आविष्कार भएपछि धेरै मान्छे दुर्घटनामा मरेका छन्। त्यसो भनेर हामीले ती साधन परित्याग गरेका छौं र?
दुर्घटनामा हुने मृत्युको मूल्यमा ती साधनले मानव जीवनलाई जति सहज बनाएका छन्, व्यक्तिका जति भौतिक, मानसिक र सामाजिक आवश्यकता पूरा गरेका छन्, त्यससँग अहिले सामाजिक सञ्जालले पुर्याएको योगदानको तुलना हुन्छ?
हुन्छ जस्तो लाग्छ भने तपाईंले सामाजिक सञ्जाल चलाइराखेको राम्रो, हुँदैन जस्तो लाग्छ भने छाडेको राम्रो।