पारिजात फूल चोरेको कसुरमा देवराज इन्द्रलाई हातखुट्टा बाँधेर चोक–चोकमा ठड्याई सार्वजनिक बेइज्जति जात्रा देखाउने पर्वलाई हामी इन्द्रजात्रा भन्छौं। काठमाडौंवासीले जात्रा गरेर इन्द्रलाई चोर साबित गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ।
पारिजात र इन्द्रको सम्बन्धमा पौराणिक कथा र किम्बदन्तीहरू निकै फेला पर्छन्। ‘काठमाडौंको इन्द्रजात्रा’ विषयक किम्बदन्तीको भने आफ्नै मौलिकता छ।
विभिन्न पौराणिक कथामा इन्द्रको बगैंचाबाट पारिजातको चोरी हुन्छ वा हरण हुन्छ। काठमाडौंको कथामा इन्द्रले पारिजातको बिरुवा यस उपत्यकाबाट आफ्नो स्वर्गको बगैंचामा लगेको बेग्लै प्रसंग छ।
पारिजातलाई एक वनस्पतिका रूपमा वैज्ञानिक दृष्टिले हेर्यौं भने जाई, जुई, चमेलीजस्ता सुवासिलो पुष्प परिवार (ओलिएमी) भित्र पर्न आउँछ। रातमा फुल्नु र बिहानी पहरमा सबै फूल भुइँमा झर्नु पारिजातको विशेषता हो। यसको सुगन्ध ज्यादै सुमधुर र पुष्पाकृति पनि कुनै कलाकारले रचेको सुनचाँदीका गहनाजस्तै देखिनु पारिजातको विशेषता हो।
पारिजातको पात ज्यादै खस्रो हुन्छ। कसैलाई पनि हात लगाउन मन लाग्दैन। यस वनस्पतिको बोट मझौला कदको हुन्छ। तिनलाई विशेषतः सीमा पर्खालको अडेसमा लगाइन्छ। बिरुवा सामान्यतया ५–७ मिटरसम्म अग्लो भएर पर्खाल वरपर पुष्पवृष्टि गर्न सफल हुन्छ।
भनिन्छ, सबै देवदेवीलाई यसको फूल अत्यन्तै प्यारो छ। भदौ र असोज महिना बेला काठमाडौंका सबैजसो देवदेवीको शिरमा यो फूल चढाइन्छ। तर, पारिजातको फूल बोटबाट टिप्नु पापकर्म मानिन्छ। तसर्थ, बिरुवाको फेदमा शुद्ध कपडा आदि ओछ्याएर शुद्ध फूल संकलन गरिन्छ। त्यसो त जमिनकै फूल पनि पवित्र मानिन्छ।
अंग्रेजीमा पारिजातलाई ‘नाइट ज्यास्मिन’ भनिन्छ। वैज्ञानिक नामाकरणले ल्याटिन भाषाअनुसार ‘निक्टान्थस’ अर्थात्, रातमा फुल्ने भन्ने अर्थ बुझाउँछ। प्रजातीय नाम ‘आर्बोर–ट्रिस्टिस’ ले दुःखीवृक्ष भन्ने अर्थ दिन्छ। पारिजातको सन्दर्भमा प्रचलित पौराणिक कथाका आधारमा त्यस्तो नामाकरण भएको अनुमान गर्न सकिन्छ।
कथाअनुसार पारिजात एक राजकुमारी थिइन्। तिनको सूर्यसँग प्रेम बस्छ। ती दुईबीच अघात प्रेम भए पनि पछि सूर्यले पारिजातलाई छाडेर जान्छ। प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यही खरानीबाट एउटा वनस्पतिका रूपमा पारिजातको जन्म हुन्छ। रातभरि फुलेपछि आँसुका विरही फूल भुइँमा झर्छन्। सूर्योदय हेर्न वा देख्न चाहँदिनन्, पारिजात। दुःखान्तको त्यही कथाले पारिजातको वैज्ञानिक नाम ‘निक्टान्थस आर्बोर–ट्रिस्टिस’ स्थापित हुन्छ।
अर्को कथाले पारिजातको उत्पत्ति समुद्र मन्थनबाट भएको मान्यता राख्छ।
समुद्र मन्थनबाट प्राप्त पारिजातलाई इन्द्रले एकाधिकार गरी स्वर्गको बगैंचामा रोपेको र इन्द्रायणीलाई यो पुष्प अत्यन्तै प्यारो लाग्ने प्रसंग विभिन्न पुराणहरूमा उल्लेख भएको पाइन्छ।
त्यस वृक्षलाई स्वर्गलोकमा मात्र होइन, पृथ्वीको द्वारकामा ल्याएर रोप्नु पर्यो भन्ने सत्यभामाको इच्छाअनुसार श्रीकृष्णले इन्द्रसँग युद्ध गरेर पारिजातको बिरुवा पृथ्वीमा ल्याउँछन्। श्रीकृष्णकी अर्की प्यारी रुक्मणीलाई पनि पारिजातको चाहना हुन्छ। त्यसैले, श्रीकृष्णले पारिजातको बोट सत्यभामाको बगैंचामा रुक्मणीको साँधमा पर्ने पर्खालको आडमा रोपिदिन्छन्। फलस्वरुप पारिजातको फूल दुवैको बगैंचामा झर्न थाल्छ।
काठमाडौंको इन्द्रजात्रामा पारिजातको प्रसंग झन् बेग्लै छ।
देवराज इन्द्र आमाको इच्छाअनुसार पारिजात लिन मान्छेका रूपमा लुकेर काठमाडौं आइपुग्छन्। धेरै दिनसम्म इन्द्र नफर्केपछि आमालाई चिन्ता हुन्छ। उनी स्वर्गबाट ऐरावत हात्तीलाई इन्द्र खोज्न पठाउँछिन्। आमाले चाल पाउँछिन्, स्थानीय समुदायले पारिजात चोरेको कसुरमा इन्द्रलाई बाँधेर जात्रा गरिराखेको छ।
त्यसपछि आमा स्वयं काठमाडौं अर्थात्, यँदे आइपुग्छिन्। इन्द्रलाई वन्धनबाट मुक्त गर्न उनले यस उपत्यकामा उवर्रा थपिदिने बाचा गर्छिन्। त्यसैअनुरुप काठमाडौंमा कुहिरो र शित लाग्न थाल्छ। धानबाली राम्रो हुन्छ।
इन्द्रलाई मुक्त गर्ने अर्को सर्त पनि थियो। त्यो के भने, त्यस वर्ष मृत्यु हुने सबै मनुष्यलाई स्वर्ग लैजाने। यसै क्रममा काठमाडौंको इन्द्रदहमा स्नान गरेर इन्द्र र उनकी आमा साथमा पारिजात लिएर स्वर्ग प्रस्थान गर्छन्।
उपरोक्त कथाअनुरुप नै इन्द्रजात्रामा ऐरावत हात्तीका रूपमा ‘पुलुकिसी’ लाई देश घुमाउने, इन्द्रलाई बाँधेर चोक–चोकमा प्रदर्शन गर्ने र मृत व्यक्तिलाई स्वर्ग पठाउन ‘यँदे’ (काठमाडौंको सहरी क्षेत्र) परिक्रमा गर्ने ‘उपाको’ यात्राको चलन छ।
उपाको यात्रामा मृत व्यक्तिका परिवार धूपबत्ती चढाउँदै, देवदेवीको आराधना गर्दै लगभग तीन–चार घन्टा पैदल यात्रा गर्छन्। तीर्थनारायण मानन्धरद्वारा लिखित पुस्तक ‘जिगु लुमन्तिइ– यँ दे म्हिगः व थौं’ का अनुसार ३० वटा टोलको बाटो भएर परिक्रमा गरिन्छ।
उपाकोमा परिक्रमा गरिने टोल निम्न छन्– महाःबू, तासिथू गणेद्यः, भ्वंसिक्व–दुगंबही, तेबहाः (पिने), लुँहिति–धरहरा, बागदरबार दुने, चल्चा गल्ली (ताहागल्ली), गणबहाः, लगं, नाय्पाच्व–चल्खु, वन्दे, ह्यूमत, न्हूघः, क्वहिति, भिन्द्यः, क्वपराः क्यब, ख्यःक्यब, मरुध्वाखा, चस्वांद्वँ, दमाइत्वाः–पाछैगल्ली, न्यत, तुंछेँगल्ली, कुलांभुलु अजिमा, छत्रपाती, स्वांछपु गणेद्यः, थँहिति, ज्याथा, नाय्त्वाः, कःमिलाछि, भोताहिति गल्ली र महाःबू।
इन्द्रजात्राको मुख्य आकर्षण भाद्र शुक्ल चतुर्दशी (२०७५ असोज ८ गते) का दिन प्रारम्भ हुने कुमारी रथयात्रा हो। जीवित देवीका रूपमा रहेकी कुमारीलाई रथमा राखेर अन्य दुई रथमा गणेश र भैरवलाई अगाडि लगाई काठमाडौं परिक्रमा गराइन्छ।
पहिलो दिन मरुटोलको दक्षिणी भागमा पर्ने क्वने (तल्लो टोल) र दोस्रो दिन उत्तरी क्षेत्रको थःने (माथिल्लो टोल) परिक्रमा हुन्छ। अन्तिम दिन ‘नानिचाया’ भनेर मध्यभागको इन्द्रचोक, किलागलतिर घुमाइन्छ।
बाजागाजा, पल्टन, धिमेबाजा आदिको हर्षोल्लासमा रथयात्रा र पूजाआजा सम्पन्न हुन्छ। यस अवसरमा विभिन्न मुकुन्डो नाचका टोलीहरू आफ्नो कला प्रदर्शन गर्दै हिँड्छन्। तीमध्ये लाखे, सवः भक्कू, महाकाली नाच, पुलुकिसी आदि लोकप्रिय छन्। यी नाच अरू बेला पनि विभिन्न चोकमा नचाइन्छ।
इन्द्रजात्राको अर्को आकर्षण दसअवतारको मञ्चन पनि हो।
वसन्तपुर दरबार क्षेत्रको डबलीमा इन्द्रजात्राको साताभरि बेलुकी साँझ मञ्चन हुने यो अतिरमाइलो कार्यक्रम हो। नारायणका दसअवतारको दृश्य प्रस्तुत गर्न बडो आकर्षक रूप र सज्जामा कलाकारहरू प्रकट हुन्छन्। कलाकारहरू मूर्तिप्रायः बनेर अचल भाउभंगीमा दसअवतार (मत्स्य, कच्छप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की) प्रदर्शन गर्छन्।
दुःखको कुरा, यो वर्ष दसअवतार नाच प्रदर्शन नगरिने भयो भन्ने बुझिन्छ।
इन्द्रजात्राको अर्को महत्वपूर्ण आकर्षण भैरवको मुकुन्डोहरूको प्रदर्शन हो। हनुमानढोकाको श्वैत भैरव र इन्द्रचोकको आकाश भैरव विशेष हुन्छन्।
श्वेत भैरवको सुनौलो मूर्ति आफैंमा उत्कृष्ट छ। त्यसलाई यथास्थानमै प्रदर्शन गरिन्छ। आकाश भैरवलाई भने मन्दिरबाहिर एउटा मञ्च बनाई फूलै फूलले सिँगारेर प्रदर्शन गरिन्छ। तिनका गलामा सयौं पुष्पमाला टम्म मिलाएर बडो कलात्मक ढंगले सजाइन्छ।
कामाडौंका बगैंचामा फुल्ने अधिकांश फूल त्यहाँ हेर्न पाइन्छ। तीमध्ये पंखा स्वां (केवँरा) को सुवास र महक विशेष हुन्छ। हल्का पहेँलो यस फूलका कोपिलालाई बडो कलात्मक ढंगले गाँसेर हाते पंखाका रूपमा सजाइन्छ। हुन त यो वनस्पति बेसार–अदुवा परिवारभित्र पर्छ। तर, अति सुवासिलो भएकाले वैज्ञानिक नाम पनि ‘हिडिचियम फ्लाभेसेन्स’ पर्न गएको छ। त्यसको अर्थ, सुगन्धित हिम भन्ने खुल्न आउँछ।
आकाश भैरवका गलामा शोभायमान यस्ता पुष्पलाई आजभोलि प्लास्टिकका नक्कली फूलले विस्थापित गर्दैछन्। यो दुर्भाग्यको कुरा हो।
किम्बदन्तीअनुसार इन्द्रचोकको आकाश भैरव यस उपत्यकाका किराँतवंशी राजा यलम्बरको अवशेष हो। भैरव महादेवको रुद्ररूप हो। यलम्बर महादेवको रुद्ररूप लिएर महाभारत युद्ध हेर्न आफ्ना सेना र गणसहित कुरुक्षेत्र पुगेका थिए। उनी न पाण्डवका तर्फबाट, न कौरवका तर्फबाट लड्न भनी गएका थिए। मात्र युद्ध हेर्ने र परिआए हार्नेको पक्ष लिने उनको मनसाय थियो।
यस्तो मनसायले उनी कौरवका पक्षमा लाग्ने सम्भावना देखेर श्रीकृष्णले झट्टै उनको शिरछेदन गरिदिए। र, आकाशमा पुर्याइदिए। उनले आकाशबाटै कुरुक्षेत्रको संग्राम हेरे।
त्यसपछि आफ्नै देश फर्केर आकाश भैरवका रूपमा आजुद्यो बनेर स्थापित भए।
यो देश यलम्बरको देश भएकाले यहाँका आदिवासी नेवारहरू यस देशलाई ‘यँदे’ भन्छन्। यँले काठमाडौं सहरलाई बुझाउँछ। यस सहरको विशेष चाड मनाउने भाद्र पूर्णिमालाई ‘येँ न्याः पुन्ही’ भनिन्छ।
यही बेला भोजभतेरमा सबै लठ्ठ परेको मौका छोपेर पृथ्वीनारायण शाहले आक्रमण गरी काठमाडौं जितेको इतिहास छ। इतिहासको कुनै घडीमा पनि इन्द्रजात्रा लगायत अरू साँस्कृतिक वा धार्मिक पर्वहरूमा शाहवंश वा राणा सरकारहरूबाट कुनै हस्तक्षेपका घटना भने भएका छैनन्।
वर्तमान नेपालको आर्थिक एवं सामाजिक विकास क्रममा हाम्रा परम्परागत साँस्कृतिक सम्पदाहरू २०४६ सालपछि ह्रास हुने क्रममा अगाडि बढ्दैछ। तिनको संरक्षणमा सरकार र जनताका तर्फबाट विशेष कदमहरू चाल्नु परेको छ।
‘ए कहाँबाट हेरुँला संसार सँझ्यालै नरहे,
नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’
राष्ट्रकवि माधवप्रसाद घिमिरेले त्यसै भनेका होइनन्। सँझ्या (सन्झ्याल) एक प्रकारको कलात्मक आँखीझ्याल हो। नेपाली संस्कृतिको एक प्रतीक। आफ्नै सँस्कृतिको आँखीझ्यालबाट संसार हेर्नुपर्छ र संसारमा नेपालको अस्तित्व कायम राख्नुपर्छ। सँस्कृतिप्रति संवेदनशील हुनु हामी सबैको कर्तव्य हो।
येँन्याः पुन्ही नेवारहरूको छ्वयला (पोलेको मासु) र ऐला (रक्सी) को विशेष पर्व हो। यस दिन विभिन्न देवदेवीको मन्दिरमा समयबजी चढाउने गरिन्छ। बजी (चिउरा) र सियाबजी (फुरेको चिउरा) को रासमा कालो भटमास, सेतो बोडी, हाँसको उसिनेको फुल, माछा, अदुवाका टुक्रा, मासको बारा र साँधेको छ्वयला कलात्मक ढंगले सिंगारिएको हुन्छ।
झट्ट हेर्दा थुम्कोजस्तो देखिने त्यो बजीको साथमा माटाका ठूल्ठूला पाला (प्याला) हरूमा ऐला (रक्सी), थोँ (सेतो जाँड), ह्याउँ थोँ (रातो जाँड) आदि पेयपदार्थ पनि सजाइएको हुन्छ। घरघरमा पनि यी सामग्री तयारै हुन्छन्। साँझको भोज भन्नु नै समयबजीको भोज हुन्छ, येँन्याः पुन्ही।
आफ्नो बाल्यकाललाई सम्झनामा ल्याउँदा टोलका आठ–दस जाना साथीहरू मिलेर साँझतिर ‘मासुसमेत आउने गरी समय चिउरा पाउँ’ भन्ने नेवारी भाकामा ‘ला छकु वय्क समेबजी ...’ भन्दै छरछिमेकका घरघर चहार्ने क्षणको मजा अझै मरेको छैन।
‘ला छकु वय्क समयबजी ...’
(सम्पूर्ण फोटोहरू: नारायण महर्जन)
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः