गैरआवासीय नेपाली संघ ( एनआरएन) स्थापना भएको करिब १४ बर्ष पुग्न लागेको छ। ११ देखि १४ अक्टुबर २००३ मा विश्व सम्मेलन आयोजना गरी यो स्थापित भएको थियो। नेपाल सरकार, नेपाल उद्योग वाणिज्य संघ र गैर आवासीय नेपालीहरुको साथ, सहयोग र समर्थनमा डा. उपेन्द्र महतोले सस्थाको नेतृत्व गरेका थिए ।
यस अवधिमा यसले चारजना अध्यक्ष पाइसकेको छ। ७४ देशमा फैलिसकेको छ। यसका आरोह अवरोहका कथा धेरै छन्।
विभिन्न कारणले नेपाल छाडी विदेशमा रहेका नेपालीहरुलाई एकै थलोमा ल्याई तिनीहरुको विकास एवं कल्याणका लागि काम गर्नु यसको मूख्य कार्य हो। यसको मूल नारा नै ‘नेपालीको लागि नेपाली’ र ‘एक पटकको नेपाली सधैंको नेपाली’ हो। यो विशुद्ध नेपालबाहिर रहेका नेपालीको हितको लागि जन्मिएको नेपालीहरुको गैरराजनीतिक छाता संगठन हो।
भनिन्छ, देशको माया स्वदेशमा रहँदाभन्दा विदेशमा झन् बढी हुन्छ। विभिन्न खाले राजनीतिक, शैक्षिक तथा अन्य परिस्थितिको कारणले विदेशिन बाध्य नेपालीहरुको जनसङ्ख्या करिब ४७ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ। देश छाडेसँगै नेपालीहरु विभिन्न समस्याबाट पिल्सिएका छन्। भिसाको समस्या, भाषाको समस्या, कामको समस्या, खाना बस्नको समस्या एवं स्वास्थ्य समस्या आदि। वास्तवमा एनआरएन यस्तै समस्या समाधानमा सहयोग पु¥याउने पवित्र उद्देश्य राखेर स्थापना भएको नेपाली संगठन हो। यसको स्थापनाको औचित्य तबमात्र पूरा हुन्छ, जुन समय हामीले हाम्रो भाषा, संस्कृति एवं रहनसहनलाई मातृत्वका आधारमा विदेशमा जर्गेना गर्न सक्छौं।
स्थापनको प्रारम्भिक कालमा नेपालको बिग्रिंदो आर्थिक तथा राजनीतिक अवस्थामा एनआरएनले ‘नेपालीको लागि नेपाली’ भएर नेपाली अर्थतन्त्रको उत्थानको लागि विभिन्न लगानी तथा रेमिटेन्सबाट देशको राष्ट्रिय ढुकुटीलाई मजबुत गर्ने काम ग¥यो। साथै, विपत तथा प्राकृतिक प्रकोपको समयमा समेत नेपालमा सहयोग र ऐक्यबद्धता जनाएको थियो। यसबाट नेपाल तथा विदेशमा रहेका नेपालीहरु कृतज्ञ भएका थिए।
विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु अध्ययन, पेसा, व्यवसाय, रोजगारीको सिलसिलामा विश्वको जुनसकै कुनामा रहेको भए पनि वास्तविक पहिचान नै हाम्रो आफ्नो राष्ट्रिय पहिचान भएकोले विविध भाषा, भेष, धर्म, संस्कृति र कलाको माध्यमबाट नेपालीलाई संगठित बनाउने नै यसको मुख्य लक्ष थियो। यसैले पनि संघले व्यापकरुपमा राष्ट्रिय तथा अन्तर्रास्ट्रियस्तरमा समर्थन पाएको थियो। तर, जसरी बागमती पहिले जस्तो पवित्र रहिनन्, उनमा रहेको निर्मल जल बिस्तारै प्रदुषित हुन थाल्यो। त्यसरी नै एनआरएनलाई हाल आएर विभिन्न राजनीतिक गुट तथा उपगुटले ग्वाम्मै निल्न लागेको देखिन्छ।
प्रश्न उब्जिएको छ, नेपालबाहिर काम गर्न आएका नेपालीहरुका हितका लागि खोलिएको संघ हो कि व्यापारीहरुको व्यापार गर्ने साझा चौतारी बनाउनका लागि खोलिएको संस्था हो? नत्र, राजनीतिक आस्थाको आधारमा विवाद र गुट सिर्जना गर्नुको औचित्य के? विडम्बनाको साथ भन्नै पर्छ, अहिले एनआरएनमा सामान्य निर्णय तथा कार्यन्वयनमा समेत नेपालको राजनीतिक दुर्गन्ध बढेर गएको छ। खुलेआम उक्त संगठनमा राजनीतिक हस्तक्षेप र भागबण्डाको शिकार बनेको देखिन्छ। नेपालीहरुको बीचमा कैयौं समस्या हुँदाहुँदै पनि एनआरएन भने समस्याहरु हल गर्ने भन्दा पनि राजनीति गर्ने थलोको रुपमा विकसित हुँदै गएको देखिन्छ।
एनआरएन युकेका कुराकरिब १५०००० नेपालीहरु रहेको अनुमान गरिएको बेलायतमा चुनावी सरगर्मी बढ्दै गएको छ। बाहिरबाहिर गैरआवासीय नेपालीको मुद्दालाई उठान गर्दै उनीहरुको हितमा काम गर्ने उद्देश्य भनिएको छ। तर, भित्रभित्र नेतृत्वमा आउनहरु चाहने स्वयंले नेपाली राजनीतिक दलका भातृसंगठनको साथ–समर्थन गुहारिरहेका छन्। जसले गैरआवासीय नेपाली संघमा राजनीतिक रंग देखिन थालेको छ। राजनीतिक आस्थाको आधारमा नै उफ्रिउफ्रि एनआरएनको वकालत गर्दै सदस्यता बढाउँदै हिडेको पनि देखिन्छ। त्यसमाथि अर्को चाखलादो कुरा त, नेपाल सरकारको प्रतिनिधि बनेर विदेशमा पद पाउन कुरिरहेका छन्। एनआरएनमा राजनीतिकरणको चटक चलिरहेको छ। तर देशबाहिर रहँदा पनि अझ राजनीतिक गुटबन्दी गर्नु आफैमा हास्यास्पद कुरा हो।
म सबैलाई भन्न चाहन्छु, राजनीति नै गर्ने भए देशमा खालि मैदान छ। एनआरएनमा राजनीति नगर्नुस्।
आसन्न गैरआवासीय नेपाली संघ युकेको सन्दर्भमा पनि निर्वाचनमा पार्टीका प्रवास संगठनको समर्थनदेखि नेपालका राजनीतिक दलका नेताहरुको साथ आफूलाई रहेको भनी प्रचार गर्न उम्मेदवारहरु बीच प्रतिस्पर्धा नै देखिन थालेको छ। चुनाव जित्नका लागि कांग्रेस र एमाले दुवै हँु भनेर प्रष्ट्याउन खोज्ने कामसमेत नेतृत्वका आकांक्षीबाट हुन थालेको छ। अर्कोतर्फ, गुट नै बनाएर महिना दिन अघिदेखि नै चुनावी अभियान थालिएको छ। यसले पछिसम्म एनआरएन युके विभाजनको बीउ रोप्ने देखिन्छ। एनआरएनएलाई माया गर्नेहरुका लागि चिन्ताको कुरा हो।
गैरआवासीय नेपाली संघलाई सबैको साझा र एकताबद्ध संस्था बनाउन सक्दामात्रै त्यसले सबैको हित गर्न सक्छ। एनआरएन युकेमा देखिएको राजनतिकरणबाट वाक्क भएका एकजना प्राध्यापकले भने– ‘अहिले बेलायतमा महिनौं दिन अघिदेखि प्यानल बनाएर जाने काम भएको छ, कित्ताकाट भइरहेको छ, यो एनआरएन नभएर केवल नेपाली राजनीतिक पार्टीको भर्तीकेन्द्र मात्र हो।’ यसले संस्थालाई सही ठाउँमा लान नसक्ने उनको दाबी थियो। एनले भनेका थिए– ‘प्रजातान्त्रिक अभ्यासमा जानुपर्छ, त्यसमा कसैले नराम्रो मान्नुपर्ने छैन। तर, यो कुनै सरकारी ओहोदा वा संसदीय चुनाव हो र, यसरी कित्ताकाट गर्ने? अझ हुँदाहुँदा आफूलाई नेपालका दल तथा नेताहरुको नजिक छु भनेर प्रचारलाई अघि बढाउँदा भोलि नेपाली डायस्पोरा कता पुग्छ, के त्यसको ख्याल गर्नुपर्दैन?’
एनआरएन युकेमा चुनावी माहोल अघि बढिरहँदा यहाँका नेपालीमा विभाजनको बीउ रोपिने त होइन भन्ने चिन्तासमेत बढेको छ। प्यानल प्यानलमा नेपालीहरु बाडिँदा एकताबद्ध र सशक्त एनआरएन अभियानमा त्यसले बाधा पुग्ने र नेपालीमा फुट ल्याउनेतर्फ सोच्न जरुरी छ। पछिल्लो समय बेलायतमा रहेका नेपालीका सामाजिक सञ्जालमा एनआरएन युकेकै चर्चा चुलिएको छ। सामाजिक सञ्जालमा भोटको आशामात्रै होइन, मेरो समूह यो हो भनेर चित्रित गर्न थालिएको छ। म अरुभन्दा यो कारणले बलियो छु भन्नेदेखि लिएर आन्तरिक रुपमा अर्को पक्षलाई गिराएर नेपालको दलीय राजनीतिको प्रभाव स्वरुप भोटको राजनीतिसमेत गर्न थालिएको छ।
भनिन्छ, राजनीति समाजको मुल निति हो। तथापि कतिपय अवस्थामा भने असान्दर्भिक हुन पनि सक्छ। एनआरएन युके एउटा विशुद्ध अराजनीतिक संस्था हो। तर विडम्बना नै मान्नु पर्छ, यसका हरेक क्रियाकलापहरु राजनीतिक पक्षपोषणमा आधारित देखिन्छन्।