बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा सोमबार बिहान ८.३० बजे ध १ ज १८४ नम्बरको पिकअप जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भिर रहेको र उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर आउँदै गरेको बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिए । मृत्यु हुनेहरुमा बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्ती पाइजा, वडा नं. ८ रणसिंह किटेनीका नर बहादुर शेर्वुजा र गाडी चालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, वडिगाड वडा नंं ८ रणसिंहकिटेनी घर भई हाल ग्वालीचौर बस्दै आएका भीम बहादुर शेर्वुजा, टेक बहादुर पाइजा र दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको बताइएको छ । यसैगरी, घाइतेहरु वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाइजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक बस्दै आएका भीम बहादुर श्रीसलाई उपचारका लागि ग्वालीचौर स्वास्थ्य चौकीमा लागिएको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा हात खुट्टा भाँचिएको प्रहरीले बताएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धारका लागि खटिएको छ । घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको स्थानीय स्वास्थ्यकर्मी प्रदिप खरेलले जानकारी दिए । जलजलाबाट खर्वाङतर्फ आउँदै गरेको सो जीप ब्रेक फेल भई खसेको हुन सक्ने अनुमान गरिएको छ । पिकअप जीप सडकबाट झण्डै ७ सय मिटर तल खसेको छ ।