ग्रान्ड स्लामको प्रतिष्ठित विम्बल्डन उपाधि आठ पल्ट जितेका स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडररले जितको नशाका कारण बिहान ५ बजेसम्म मदिरामा डुबेको खुलासा गरेका छन्।
उनले विम्बल्डनमा इतिहास रच्ने क्रममा आफू बेलगाम भएको र विहानसम्म मदिरामा डुब्दा ‘ह्याङओभर’ भएको बताएका छन्। ३५ वर्षीय फेडररले गत आइतबार सातौं वरियताका माउरिन चिलिजलाई फाइनलमा ६–३, ६–१ र ६–४ को सिधा सेटमा पराजित गरेका थिए।
उनले यसअघि अमेरिकाका पिट सम्प्रासले जितेको सतौं विम्बल्डन उपाधिको कीर्तिमानलाई भंग गरेका थिए।
फेडररको यो १९ औं ग्रान्ड स्लाम उपाधि थियो। उनले स्पेनका राफेल नाडालभन्दा ४ वटा ग्रान्ड स्लाम बढि जितेका छन्। यो वर्ष मात्र फेडररको तेस्रो मध्ये दोस्रो ग्रान्ड स्लाम उपाधि थियो। उनले अस्ट्रेलियन ओपन पनि जितेका थिए।
विम्बल्डन उपाधि जितेपछि उनी महिलातर्फकी विजेता गार्बाइन मुरुगुजासँग परम्परागत डिनरमा समावेश भएका थिए।