प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएपछि अहिले खाल्डा पुर्ने काम धमाधम भइरहेको छ।
प्रधानमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं र ललितपुर महानगरले क्षेत्र छुट्याएर काम थालेका छन्।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले अहिले रात दिन नभनीकन खाल्डा पुर्ने काम भइरहेको बताए। ‘ बुधबारसम्म चाबहिल-चुच्चेपाटी, चाबहिल-गोपीकृष्णका सडकका खाल्डा पुरेका छौं दरबार स्कुल अगाडिको सडकका खाल्डा पनि पुरिसक्यौं तीन दिनभित्र खाल्डा पुरेर कालोपत्रे गरिसक्छौं’, खत्रीले भने, 'तर ठूलो पानी पर्यो भने हामीलाई अलि समस्या हुन्छ।' दिउँसो काम गर्न नसकिने भएकाले राति ९ बजेदेखि काम गर्ने गरेको खत्रीले बताए।
उनका अनुसार मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने जिम्मा पाएको छ भने चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा सडक विभागलाई दिइएको छ।
सडक विभागले जिम्मा पाएको माइतीघर-थापाथली खण्डमा पनि खाल्डाहरू पुरिएको छ भने कालोपत्रे गर्न बाँकी छ। कामको प्रगति विवरणको शनिबार विभागको टोलीले स्थलगत निरीक्षण गर्ने विभागका प्रवक्ता दयाकान्त झाले बताए।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार १५ दिनभित्र राजधानीका सबै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए।