बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले सडकको ८२ फुट क्षेत्रभित्र निर्माण गरिएका बुटवल र बेलहिया क्षेत्रका भौतिक संरचना हटाउन सोमबार ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्म साढे तीन किलोमिटर र बेलहियादेखि भुमही जाने बाईपास सडकसम्मको सातसय मिटरको सडक क्षेत्रभित्र रहेका भौतिक संरचना हटाउन आयोजनाले सो सूचना प्रकाशित गरेको हो ।
सडक विस्तारको लागि गत मङ्सिर १३ गते नै टेण्डर आह्वान गरिएको भएपनि पुस महीनामा आएको सार्वजनिक खरीद नियमावली र त्यस लगत्तै भएका निर्वाचनका कारण तत्कालनको लागि सडक विस्तारको काम अगाडि बढेको थिएन ।
अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सडक मिचेर बनाइएका भौतिक संरचना हटाउन सोमबारदेखि लागू हुने गरी ३५ दिने सूचना प्रकाशित गरिएको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बताएको छ । आयोजनाका ईञ्जिनियर लीला बहादुर भण्डारीले सडकलाई ८२ फुट कायम गर्ने गरी निर्माणको काम शुरू गर्ने भएकोले घरधनी स्वयमलाई संरचना हटाउन ३५ दिनको समयसीमा दिइएको बताए ।
बुटवलतर्फ राजमार्ग चौराहदेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रभित्र सडकको सीमा मिचिएका ३ सय ११ र बेलहियादेखि बाईपास रोडसम्मका ७० वटा घर भत्काउनुपर्ने ईञ्जिनियर भण्डारीले जानकारी दिए । हाल ७५ फुट रहेको सडक अब सडकको केन्द्रविन्दुदेखि दायाँ—बायाँ ८२—८२ फुट कायम हुन लागेको हो । जसको लागि बुटवल बसपार्क, अस्पताल लाईन, ट्राफिक चोकका ठूला घरहरु समेत भत्काउनु पर्नेछ ।
ईञ्जिनियर भण्डारीका अनुसार वि.स. २०३४ साल असार २० गते अगाडि बनाइएका घरहरुको ह्रास कट्टी गरी क्षतिपूर्ति दिने तर त्यसपश्चात बनाइएका घरहरुले भने कुनै पनि क्षतिपूर्ति पाउने छैनन् । सडकमा परेका घरको कति भाग भत्काउनु पर्छ भन्ने बारे चिन्ह समेत यसअघि नै लगाई सकिएको छ । परियोजनाले संरचना हटाउन सूचना सार्वजनिक गरेसँगै बुटवलका घरधनीहरुमा नयाँ तरङ्ग फैलिएको छ ।