पोखरा लेखनाथ महानगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ३ करोड ८५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रममार्फत सरकारी अनुदान २ अर्ब ३१ करोड ९२ लाख र सशर्त अनुदान २५ करोड ५० लाख गरी कुल २ अर्ब ५७ करोड र आन्तरिकसहित ४ अर्ब ३ करोडको बजेट प्रस्तुत गरेका हुन्।
त्यसैगरी कर तथा राजश्वबाट १ अर्ब ३८ करोड, राजश्व बाँडफाडबाट ३ करोड, अन्य आयबाट ५ करोड गरी १ अर्ब ४६ करोड ४० लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष्य रहेको छ। जुन कुल बजेटको ४०.७१ प्रतिशत हुन आउछ ।
सबैभन्दा बढी रकम सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख विनियोजन गरिएको छ। कोष व्यवस्थापन तर्फ १५ करोड ५० लाख, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ३६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रतर्फ १३ करोड ६५ लाख विनियोजन गरिएको छ। त्यस्तै, सामाजिक विकास क्षेत्रतर्फ १५ करोड १० लाख, आर्थिक विकास क्षेत्रतर्फ २ करोड ३० लाख, वित्तिय व्यवस्थापन तथा सुशासन क्षेत्रतर्फ करोड १० लाख विनियोजन गरिएको छ।
संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रतर्फ १ करोड २५ लाख, शसर्त अनुदान ७८ करोड ३९ लाख, लागत सहभागिता १५ करोड, फोहोर मैला व्यवस्थापन ९ करोड, प्रशासनिक खर्च ३० करोड ८४ लाख, वडागत बजेट विनियोजन ३५ करोड १० लाख रहेको छ।
बजेटमा पोखराभित्र मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिनुका साथै पोखरा लुम्बिनी फास्ट ट्र्याकको सम्भाव्यता अध्ययन गर्ने, १५ वर्षभित्र महानगरलाई अन्तर्राष्ट्रियस्तरका पूर्वाधारसहित सुबिधासम्पन्न सहरका रूपमा विकास गर्ने उल्लेख छ। त्यस्तै, सुखी, खुसी, सभ्य र समृद्ध नागरिकहरूको सहर बनाउने पनि बजेटमा भनिएको छ। पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक ठाँउमा सी.सी. क्यामेरा जडान गरी ट्राफिक बत्ती समेतको व्यवस्था गरिने छ।
सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारले लगाएको अंकुशको बेवास्ता गर्दै महानगरले सरकारले दिने सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धहरुलाई दिने बृद्धभत्तामा महानगरले १० प्रतिशत थपेर घरघरमै पुगेर प्रदान गर्ने बताएको छ।
रूपाताल र बेगनासतालको सम्भाव्यता अध्यययन गरी सुन्दरी डाँडामा तालको पानी लिफ्ट गरेर जलविद्युत उत्पादन र बिक्री वितरण गरी उक्त स्थानलाई पर्यटन क्षेत्रको रूपमा विकास गरी महानगरको आयस्रोतमा बृद्धि र रोजगार प्रबद्र्धन गरिने महानगरको योजना छ। सेती नदी र मादी नदीको जल प्रवाह गरी फेवाताल र बेगनास ताललाई जलमार्गबाट जोड्न सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा समावेश छ।