घुँस लिएको आरोपमा फुटबलको सबै गतिविधिबाट प्रतिबन्ध लागेका अमेरिकी फुटबल अधिकारी चुक ब्लाजरको ७२ वर्षको उमेरमा निधन भएको छ। ब्लाजरलाई २०१५ देखि फुटबलको गतिविधिमा भाग लिन नपाउने गरि प्रतिबन्ध लागेको थियो। उनी लामो समयदेखि क्यान्सरपीडित थिए। उनको निधनको खबर उनकै वकिलले दिएका छन्।
उनीमाथि २०१३ मै घुँस लिएको र कलछली गरेको आरोप लागेको थियो। पछि उनी विश्व फुटबल महासंघ (फिफा) मा व्याप्त भ्रष्टाचार विरोधी अभियानअन्तर्गत अमेरिकाले सुरु गरेको छानवीनको प्रमुख सहयोगकर्ता बने।
उनी कनकाकाफ, उत्तरी र मध्य अमेरिकी फुटबलको मुखिया थिए। उनको सूचनाको आधारमा फिफामा कार्यरत १४ पदाधिकारीमाथि भ्रष्टाचारको मुद्धा दायर भएको थियो। जसका कारण फिफा अध्यक्ष सेप ब्लाटरको विरासत भंग भएको थियो।
‘हामी साच्चै नै स्तब्ध भएका छौं, आफ्नो क्लाइन्ट र साथी चुक ब्लाजरलाई गुमाउनु पर्दा’, उनको वकिलले विज्ञप्ती सार्वजनिक गर्दै भनेका छन्। ब्लाजर १९९७ देखि २०१३ सम्म फिफाको कार्यकारी समितिमा थिए।