पोर्चुगलको राजधानी लिस्बोन भन्दा धेरै परको सानो शहर साल्भातेरा दि मागोसमा किसानहरुले बाटैभरी आलु फालेर विद्रोह गरेका छन्। उनीहरुले चल्तीको बजारभाउ भन्दा निकै सस्तोमा दिन खोज्दा पनि ठूला ब्यापारीले मनपरी गरेर भाउ तोकेको विरोधमा आलु फालेर विद्रोह गरेका हुन्।
मंगलबार बिहान ठूला सुपरमार्केट बाहिर, गाडी रोक्ने पार्क र ठूला बजार जाने बाटोभरी आलु आलु थियो। विद्रोही किसान मानुयल मार्कोसका अनुसार उनीहरुले १० टन आलु फाले। किसानहरुको उत्पादन मोल १५ सेन्ट पर्नेमा ठूला सुपरमार्केटहरुले ४ सेन्ट भन्दा बढी दिन नसक्ने भनेपछि किसानहरुले फाल्ने निर्णय गरेका हुन्।
बाटोभरी आलु छ भन्ने थाहा पाएर साल्भातेरा दि मागोसका बासिन्दाहरु बोरा र झोला लिएर आलु टिप्न भीड लागेका थिए। ‘हामीहरुले दुःख मानेर के गर्नु? भाउ दिनेले दिएनन्। बाटोमा भेटियो। जति सकिन्छ बोकेर घर लगिन्छ। उनीहरुको समस्या उनीहरु समाधान गरून्। हामीले त फालेको आलु पाइयो, खुशी छौँ,’ ७१ वर्षकी आमैले टेलिभिजनलाई भनिन्।
यसरी किसानहरुले विद्रोह गर्दा पनि न कुनै सुपरमार्केटका साहू, व्यवस्थापकले प्रतिकृया जनाए न त कुनै स्थानीय जनप्रतिनिधिहरुले। बाटोमा भेटिएका आलु टिपेर घर लगे। किसानहरु मुर्मुरिँदै खेती किसानी पेशालाई धिक्कारे। टेलिभिजन र अखबारमा समाचार आएर नैतिक दबाब भए पनि त्यसको तत्काल असर भने केही देखिएन। पोर्चुगिज कम्युनिष्ट र वामपन्थी दलका सांसदहरुले विरोध गरेपनि त्यसले खासै किसानको हितमा काम गरेको नदेखिएको पोर्चुगिज अखबारहरुले लेखेका छन्।