नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारण सभाको पूर्वसन्ध्यामा दुवै प्यानलका प्रत्यासी समूहले आ आफ्नो जीत सुनिश्चित भएको दावी गरेका छन्। रिपोटर्स क्लवमा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक र प्रगतिशील प्यानलका अध्यक्ष तथा प्रतिनिधिले आ–आफ्नो जित सुनिश्चत भएको दाबी गरे।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका प्रत्यासी रोहन गुरुङले आफ्नो प्यानल ७५ प्रतिशत मतले विजयी हुने दाबी गरे।
‘हाम्रो प्यानलको जित निश्चित् छ, वैदेशिक रोजगारलाई स्वच्छ, सफा र मर्यादित बनाउनको लागि हाम्रो प्यानल कटिवद्ध रहनेछ’ उनले भने ‘थुप्रै मुलुकमा नेपाली कामदारको संख्या कटौति भैरहेको तर नेपाली युवालाई विदेशमा जानैपर्ने बाध्यता नहटेसम्म वैदेशिक रोजगारलाई प्रभावकारी बनाउनतिर हामी लाग्छौं, म यही अभियानमा लागेको व्यक्ति हुँ, त्यसैले मलाई मत दिएर व्यवसायीले विजयी बनाउनुहुनेछ।
विदेश पठाउने रोजगार कम्पनीले तोकिएको तलव, सुविधा दिन नसकेको स्थितिमा त्यस्ता कम्पनीहरुलाई कालोसूचीमा राख्ने र त्यस्ता कम्पनीबाट अन्य नेपाली यूवाले दुःख नपाउन् भन्ने आफूहरुको कामना रहेको उनले बताए।
‘संघभित्रको भष्ट्राचारीतन्त्रको अन्त्यको लागि हाम्रो उम्मेद्धवारी हो, वैदेशिक व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनको लागि सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको आधारमा वैदेशिक रोजगार विभाग खोल्ने हाम्रो योजना छ’ गुरुङले भने।
त्यस्तै कार्यक्रममा लोकतान्त्रिक प्यानलका महासचिवका उम्मेदवार सुजितकुमार श्रेष्ठले आफ्नो प्यानल ६८ प्रतिशत मत ल्याएर विजयी हुने दाबी गरे। उनले भने, ‘हामी बाहिर निस्किँदा चिटिक्क परेर हुँदैन, हाम्रो घर आँगन सफा हुनुपर्छ, सबै भन्दा पहिले हाम्रो संगठन सुधार गर्ने र वैदेशिक रोजगारमा गएका सम्पूर्ण नेपालीको सुरक्षाको लागि हामी तयार रहनेछौँ ।’
फ्रि–भिषा, फ्रि–टिकको व्यवस्थालाई व्यबहारत उतार्नुपर्नेमा उनले जोड दिए। ‘हाम्रो देश खाडीको भरमा बाँचेको छ, अब हामीले संसारका जुनसुकै देशमा पनि हाम्रो वैदेशिक रोजगारलाई व्यापक बनाउनुपर्छ’ उनले भने।
संघको निर्वाचनमा नेपाली काँग्रेस समर्थित बिमल ढकाल समूह र एमाले समर्थित रोहन गुरुङ समूहको भिडन्त हुँदैछ। दुवै पक्षीय आफुलाई बलियो सावित गर्न क्षेत्रीय स्तमा भेला कार्यक्रम गरिहेका छन्। ढकाललाई अन्य केही व्यवसायीक संगठनले सघाउने भएका छन् भने गुरुङलाई माओवादी केन्द्र समर्थित व्यवसायी, विश्वकर्मा समाज, तमुधी व्यवसायी लगायतको समर्थन छ।