यातायात व्यवस्था विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले हैरानी बेहोर्नुपरेको छ। स्कुटरको लाइसेन्सको लागि आज ट्रायल मिति तोकिएको थियो।
सर्भरमा समस्या आएको कारण देखाउँदै विभागले आज बिहान मात्रै सूचना टाँसेर ट्रायलको मिति सारेको थियो। नयाँ मिति पर्सी बिहीबारका लागि तोकिएको छ।
आज ट्रायल दिनका लागि आएका सेवाग्राहीहरु भने सूचना पढेर आक्रोशीत बनेका थिए। उनीहरुले केहीबेर विभागविरुद्ध नारावाजीसमेत गरे। आफूहरु ट्रायल स्थगितको कारण बुझ्न जाँदा प्रहरीले दुव्र्यवहार गरेको उनीहरुको आरोप छ।
विभागको कर्मचारीले बिहान करिब साढे ८ बजेमात्र सुचना टाँसेको र ‘के’ वर्ग अर्थात् स्कुटरको ट्रायल स्थगित भएको जानकारी दिएको सेवाग्राही सिर्जना श्रेष्ठले जानकारी दिइन्। “आफ्नो कामै छाडेर आयौं, तर अहिले सर्भर डाउन छ भन्छन्, यो त अति नै भयो।”, उनले गुनासो पोखिन्।
विभागको जीआइएस सर्भर डाउन भएर यो समस्या उत्पन्न भएको र हिजोदेखि बनाउने प्रयास भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए। “समस्या छिट्टै समाधान हुन्छ।”, उनले भने।
समस्या हल हुनेबित्तिकै वेबसाइटमा राखेर सेवाग्राहीलाई जानकारी दिने यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलका सूचना अधिकारी ईश्वरराज रेग्मीले प्रतिबद्धता व्यक्त गरे।
कार्यालय एक समस्या अनेकस्वम्भूका किताब सिंह लामा लागायतका केही व्यक्तिको समस्या भने छुट्टै छ।
उनीहरु दोस्रो चरणको निर्वाचन अगाडि गराइएको ट्रायलमा फेल भएका थिए। र, अहिले पुनः ट्रायलका लागि आवेदन दिए।
सबै प्रकृया पुर्याएर ट्रायल दिन आउँदा लिस्टमा ४/५ जनाको नाम छुटेको थियो। प्रकृया पुर्याएको रसिद देखाउँदासमेत विभागका कर्मचारीले एकान्तकुनाको कार्यालयमा जान भनेको लामाले बताए।
“दिनमा १५० जनालाई मात्र लिने नियम छ। मेरो ६९ औैं नम्बरमा दर्ता भएको छ। यहाँ ट्रायल दिने सूचिमा भने १६८ औं नम्बरमा दर्ता भएकाहरुको नाम छ तर मलगायत अरु केही साथीहरुको छुट्यो।” उनले आक्रोशित हुँदै भने।