अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट पारेको छ।
जर्मनीको ह्याम्बर्गमा भएको जि २० सम्मेलनमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो ।
सो वार्ताका क्रममा उनीहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो ।
तर सो विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए। उनले रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीबारे कुरा नभएको बताएका थिए।
राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले त्यसको खण्डन स्वरुपमा यो खुलासा गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले उनीहरुबीच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको सोमबार जानकारी दिएका थिए।
यो भेटमा दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग गएका थिए । सो सम्मेलनपछि उनीहरुबीच भेटवार्ता भएको थियो ।
रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन् । सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा गत वर्ष नै बाहिर आएको थियो । यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने होइन ।
यसैगरी उनीहरुबीच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो । उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो ।
राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बएका थिए सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो बिषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । रासस/सिन्ह्वा