नेपाली काँग्रेस भोजपुरले तीन बालबालिकाको मृत्युको रहस्य चाँडो पत्ता लगाउन जोडदार माग गरेको छ।
गत असार १२ गते भोजपुरको मरेङडाँडामा मृत अवस्थामा भेटिएका तीन बालबालिकाको हत्या कस्ले र किन गरेको भन्ने अहिलेसम्म पत्ता लगाउन नसकेकाले तत्काल रहस्य पत्ता लगाउन काँग्रेसले प्रेस विज्ञप्तिमार्फत सोमबार जिल्ला प्रशासनसमक्ष ध्यानाकर्षण गराएको हो।
विज्ञप्तिमार्फत प्रशासनलाई चाँडोभन्दा चाँडो अपराधी पक्राउ गरी कारबाही गर्न माग गरेको छ। यता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले खोजी कार्य तीव्ररुपमा भइरहेको बताए। अनुसन्धान विभागको क्षेत्रीय टोलीले समेत अनुसन्धान गरिरहेको बताइएको छ।
मृत भेटिएका बालबालिका अरुण गाउँपालिका–३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका थिए । रासस