नयाँ नेपालको प्रतिविम्बलाई करिब १५ अग्रज र २० कलाका विद्यार्थीले चित्रमा उतारेका छन्।
समृद्द देशको सपनालाई रङ र कुर्सीले क्यानभासमा कलात्मक रुपमा प्रस्तुत गरेका चित्रको प्रदर्शनी नेपाल कला परिषद्मा चलिरहेको छ। त्रिवि, ललितकला क्याम्पस भोटाहिटी र राष्ट्रिय योजना आयोगको सहकार्यमा पाँचदिने कला प्रदर्शनी आइतबारदेखि सुरु भएको हो।
‘विकासका लागि चित्रकला निर्माण र प्रदर्शनी’ नामक कला प्रदर्शनीमा नेपाली कलामा काँचुली फेर्ने कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको कलाकार तथा लेखक मदन चित्रकारले बताए। उनले थपे, “यो एउटा ऐतिहासिक घटनाको रुपमा रहेको छ । यस प्रदर्शनीमार्फत राज्यले कलाकारलाई समेट्न खोजेको छ ।”
यी कलाकृतिलाई सरकारका उच्च निकायमा राखी कलाप्रति नीतिनिर्माताको ध्यान आकृष्ट गर्नु पनि यसको ध्येय होे। प्रदर्शनीमा मदन चित्रकार, उत्तम नेपाली, रागिनी उपाध्याय, हरिप्रसाद शर्मा, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, शशिकला तिवारी, शशि शाह, किरण मानन्धर, रतनकुमार राई र विपीन घिमिरे सहभागी भएका छन्।
नेपाललाई चिनाउने गौरवका विषयसँगै वातावरण, शिक्षा, भौतिक पूर्वाधार, गरीबी, अशिक्षा, जलवायु परिवर्तन र त्यसको प्रभावलगायत चासोका विषयमा कलाकारले चित्रमा उतरेका छन्। प्रदर्शनीमा ललितकला क्याम्पसका आकाश बुढा मगर, बसुन राई, बिजेन्द्र श्रेष्ठ, बुद्धकुमार विक, दिनेश थापा, हरेराम यादव, जेनी नकर्मी, कलादेवी लिम्बू, निरोज बडे, प्रदीपपल साउद, राजु गिरी, सनबहादुर गुरुङ, सपना सुब्बा, सुचिन श्रेष्ठ, सुदन श्रेष्ठ, उर्मिला महर्जन, किरण गुरुङ, माधव पौडेल, दिनेश्वर महतो र नन्दकुमार श्रेष्ठ सहभागी छन्। रासस