चितवनको कालीखोलामा खसेको पहिरोमा परेर ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरीका परिवारलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराइएको छ।
रातिको समयमा पहिरो पन्छाएर कार्यालयतर्फ फर्कने क्रममा यही असार ९ गते बिहान इलाका प्रहरी कार्यालय, मुग्लिनका चारजना प्रहरीलाई पहिरोले बगाएको थियो । तीनजनाको शव भेटिएको छ भने अर्का एकजना अझै बेपत्ता छन्।
उनीहरुका परिवारलाई विभिन्न सङ्घसंस्था, व्यक्ति तथा प्रहरीहरुबाट सङ्कलित रु पाँच लाख रकम राहतस्वरुप उपलब्ध गराइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
उनकाअनुसार प्रहरीहरुबाट सङ्कलित रकम जनही ३० हजार रुपैयाँ का दरले एक लाख २० हजार रुपैयाँ, इच्छाकामना गाउँपालिकाकोतर्फबाट जनही २० हजार रुयैयाँका दरले ८० हजार रुयैयाँ तथा नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंबाट जनही २५ हजार रुयैयाँका दरले एक लाख रुयैयाँ उनीहरुका परिवारलाई उपलब्ध गराइएको छ।
त्यस्तै नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ चितवनका अध्यक्ष बाबुराम अधिकारीबाट जनही २५ हजार रुयैयाँका दरले एक लाख रुयैयाँ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीबाट जनही २५ हजारका रुयैयाँ दरले एक लाख रकम उपलब्ध गराइएको पनि प्रहरी उपरीक्षक थापाले जानकारी दिए।
इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दीपक मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङलाई उक्त पहिरोले बगाएको थियो। चारजनामध्ये तीनजनाको शव फेला परेको थियो भने सन्दीप कार्की अझै बेपत्ता छन्। रासस