जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन्।
एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पुर्याएका कारण सो अवस्था सिर्जना भएको हो।
सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन्। नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य नगरिदा अप्टिकल र टेलिफोनका तारलाई क्षति पुर्याएको भनी मौखिक जानकारी दिए पनि मर्मतबारे कुनै सूचना नदिइएका कारण बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ।
यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ। कार्यालय प्रमुखद्वारा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, सुरक्षा निकाय र केही सरकारी कार्यालयको टेलिफोन मर्मत गराई अन्य ग्राहकसँग विभेद गरेको भन्दै कर्मचारीका सङ्घ, युनियनले कारबाहीको माग गरेको एक महिना बितिसके पनि कुनै कारबाही वा मर्मत कार्यबारे पहल भएको छैन।
प्रा डा भोगेन्द्र झाले प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंलाई यस सम्बन्धमा ध्यानाकर्षण गराउँदा टेलिफोन मर्मत कार्यबारे कुरा नगर्न भनी समस्याबाट पन्छिने गरेको गुनासो गरे।
त्यस्तै आयोजनाले खानेपानीका पाइपलाई क्षति पुर्याइ हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ भने नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर कार्यालय नालाको पानीले डुबानमा परेको छ। रासस