अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड आइतबार रातिदेखि अवरुद्ध बनेको छ।
उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भिर र चिउरेनी भिरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो।
जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।
पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसलाई पैदल हिँड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए।
त्यसैगरी पहिरो गएका कारण गएरातिदेखि गुल्मीको मुसिकोटदेखि तम्घास सडकखण्डसमेत अवरुद्ध बनेको छ। अविरल वर्षाका कारण वर्षाले गुल्मी जिल्लाका तीन दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। रासस