संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयक पारित गर्ने विषय प्रमुख प्रतिपक्षी दल एमालेको सहभागिता साथ नदिने संकेत देखाएको छ।
राप्रपामा एमाले बिना संशोधनको पक्षमा पार्टीले भोट गर्नु हुन्न भन्ने मत बलियो हुँदै गएको छ।
राप्रपाले संविधान संशोधनमा साथ नदिए सत्तारूढ दलसँग संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्दैन। प्रमुख बिपक्षी नेकपा एमालेले अहिलेको संविधान संशोधन विधेयक पारित गर्न नसकिने अडान स्पष्ट रूपमा राख्दै आएको छ।
संसदमा एमालेका १८१ सांसद छन् भने, राप्रपाका ३७ सांसद छन्। एमाले र राप्रपा बिपक्षमा उभिने बित्तिकै संविधान संशोधनका लागि चाहिने दुई तिहाई मत पुग्दैन।
तराई मधेसका समस्या समाधान हुने शर्तमा राप्रपाले संविधान संशोधन विधेयकमा अलोचनात्मक रूपमा सहयोग गर्न सक्ने राप्रपा नेता दिलनाथ गिरीले सेतोपाटीलाई बताए।
‘तर त्यसका लागि संविधान संशोधनमा संसदका प्रमुख तीन दलबीच सहमति हुनपर्छ,’ गिरीले भने, ‘राष्ट्रको हितका लागि हो भने सरकारले प्रतिपक्षसँग पनि छलफल गरेर उसलाई विश्वासमा लिन सक्नुपर्छ।’
प्रतिपक्ष संसदको महत्वपूर्ण अंग भएको भन्दै उनले एमालेलाई साथ नलिइकन गरिने संविधान संशोधनमा राप्रपा साक्षी नबस्ने स्पष्ट पारे।
‘एमालेले यो संविधान संशोधन राष्ट्रिय हितमा छैन भनेको छ। यो राष्ट्र हितमा छ भने कसरी छ भनेर बहस गर्नुपर्छ,’ उनले भने,‘संशोधनबारे एमालेको पनि धारणा सुन्नुपर्छ। कुन–कुन बुँदामा एमालेले राष्ट्रघात देखेको छ छलफल हुनुपर्छ।’
राप्रपाका अर्का नेता रामकुमार सुब्बाले अहिलेको संशोधन विधेयक ‘राष्ट्रघाती' भएकोले यसलाई समर्थन गर्न नसकिने बताए।
‘अहिलेको संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्छ। यसका लागि दलहरुको सहमति जरूरी छ,’ उनले भने,’ सबै पक्षको सहमति भएपछि मात्रै यो पारित गर्न सकिन्छ। सहमतिका आधारमा तयार हुने प्रस्तावमा सहयोग गर्न राप्रपा तयार छ।’
संविधान संशोधन विधेयकलाई पारित गर्ने या नगर्ने भन्नेमा राप्रपामा शुरू देखिनै दुई धार रहेको थियो। बैशाख १७ संशोधन विधेयकलाई निर्णयार्थ संसदमा पेश गर्ने दिन राप्रपाका दस जना सांसद अनुपस्थित थिए।
उनीहरुको अनुपस्थितिकै कारणले वैशाख १७ गते संसदमा विधेयक पेस गर्नबाट सरकार पछि हटेको थियो।
अहिलेको अवस्थामा राप्रपा सरकारमा जादैनः नेताहरूराप्रपाका नेताहरूले अहिलेको अवस्थामा आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन्। सरकारमा कुन हैसियत हुन्छ भन्ने भन्दा पनि संविधान संशोधन ठूलो कुरा भएको उनीहरुको धारणा छ। संविधान संशोधनसँग सरकार साट्न नसकिने राप्रपाका नेता रामकुमार सुब्बाले सेतोपाटीलाई बताए।
‘पहिला संविधान संशोधन टुंगो लगाउनुपर्छ,’ उनले भने,‘यथास्थितिमा सरकारमा जाने कुरामा हाम्रो बिमती छ। यो अवस्थामा सरकारमा जान सकिन्नँ।’