स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले ३८ लाख रुपैयाँको लगानीमा भेडापालन शुरू गरेका छन्।
वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन्।
कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहेकाले ठूलै लगानी गरेर भेडापालनमा सक्रिय भएको लक्ष्मणले बताए।
मुस्ताङको लेतेस्थित माथिल्लो खर्कमा रहेका भेडाको रेखदेखमा राम रहेका छन भने लक्ष्मणले गाउँकै कृष्ण आधारभूत विद्यालयका शिक्षणका साथै गाउँमा पशुसेवा कार्यालयले उपलब्ध गराएको गोठ र जाडोयाममा आवश्यकपर्ने घाँससहितको जोहो गर्दै आएका छन्। दुवै दाजुभाइले वैदेशिक रोजगारका शिलशिलामा कतारमा करिब आधा दशक बिताए पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि गाउँ फर्किएका थिए।
पुर्जासँगै गाउँकै छविलाल शेर्पुजासमेत भेडापालनमा सक्रिय छन्। शेर्पुजाको दुई सय पाँच भेडा छन्। वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आएका उनले पुर्जा दाजुभाइलाई पनि यो पेशाप्रति आकर्षित गराए। अन्नपूर्ण गाउँपालिकाका विभिन्न खर्कमा ६५ कृषकका करिब ११ हजार भेडा छन्। पशुसेवा कार्यालयमार्फत विभिन्न कार्यक्रम अन्तर्गत ७० लाख रुपैयाँ भन्दा बढी यस क्षेत्रमा लगानी रहेको जनाइएको छ। रासस