गोर्खाल्यान्डको माग राख्दै विगत तीन सातादेखि दार्जिलिङमा सुरु भएको आन्दोलनलाई नियन्त्रणमा राख्न पश्चिम बंगाल सरकारले भारतीय सेनालाई तैनाथ गरेको छ। नेपाली भाषीहरुले गरेको आन्दोलनलाई दबाउने क्रममा गोरखा जनमुक्ति मोर्चा (जिजेएम) का दुई कार्यकर्ताको निधन भएपछि दार्जिलिङ तनावग्रस्त छ।
प्रहरीहरुको दमनविरुद्ध जिजेएमका कार्यकर्ताले चरणबद्ध आन्दोलन गरिरहेका छन्। उनीहरुलाई स्थानीय नेपाली भाषीको समर्थन प्राप्त छ। दार्जिलिङमा भडकिएको हिंसालाई नियन्त्रणमा राख्न मुख्यमन्त्री ममता बनर्जीले वार्ताको आग्रह गरेकी छिन्। तर, बंगाल सरकार बर्बतामा उत्रिँएको भन्दै जिजेएमले वार्ता प्रस्ताव अस्विकार गरेको छ।
भारतीय अखबारले सोनादामा हिंसा भड्किएपछि बिहानदेखि भारतीय सेनालाई तैनाथ गरेको बताएको छ। दार्जिलिङमा विगत २४ दिनदेखी अनिश्चितकालिन बन्द छ।
रक्षा सुत्रलाई उदृत गर्दै भारतीय अखबारले सोनादा र दार्जिलिङमा सय–सय जनाको दुईवटा समूहलाई तैनाथ गरिएको बताएको छ। गोरखा नेशनल लिबरेशन फ्रन्टका प्रवक्ता निरज जिम्बाले सुरक्षाबलले गत राती युवक ताशी भुटियाको गोल हानेर मारेको आरोप लगाएका छन्।
भुटिया सोनादामा औषधी किन्न गएका थिए। प्रहरीले हालसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन्। तर, जिजेएमका नेता विनय तामाङले पनि प्रहरीले निर्दोष युवकको हत्या गरेको आरोप लगाए। ‘हामीले हत्यामा सलग्न प्रहरीलाई कार्यवाही गर्न माग राखेका छौं,’ उनले भने। भुटियाको हत्याको विरोधमा सयौं समर्थक बाटोमा उत्रिएका थिए।