नेपाल ओलम्पिक कमिटीले दिवंगत नेपाली ओलम्पियनहरुको सम्मानमा सातदोबाटोस्थित ओलम्पिक भवनको भित्तालाई सम्र्पण गर्ने भएको छ।
सन् १९९६ एटलान्टा ओलम्पिकमा सहभागी नेपाली भारत्तोलक सुनिललाल जोशीको १३ दिनको पुण्यतिथीमा ओलम्पिक कमिटीले यस्तो घोषणा गरेको हो। शुक्रबार ओलम्पिक भवनमा आयोजित श्रद्धाञ्जली सभामा कमिटीका अध्यक्ष रुक्मशमशेर राणाले विदेशमा पनि यस्तो अभ्यास हुने गरेको भन्दै दिवंगत जोशीबाट यसको सुरुवात गरेको बताए। ‘विदेशमा दिवंगत ओलम्पियनको नाममा ‘हल अफ अनर’ को व्यवस्था गरिएको हुन्छ। खेलाडीलाई खाली एक दिन सम्झेर हुँदैन। उनीहरुको भूमिका महत्वपूर्ण हुने गरेका कारण विशेष सम्मानको आवश्यकता छ। अब हामी अन्य भित्तालाई पनि दिवंगत ओलम्पियनको नाममा राख्छौं,’ राणाले भने।
श्रद्धाञ्जली सभामा विभिन्न खेलसँग सम्बन्धित खेलाडी तथा संघका अध्यक्षहरुको उपस्थिति थियो। दक्षिण एसियाली खेलकुदमा सर्वाधिक १७ पदक जित्ने जोशीको मुटुको सल्यक्रियाका क्रममा निधन भएको थियो।