राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।
केन्द्रीय स्तरको यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुनेछ। सबै खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले जम्मा ७ सय १० खेलाडी सहभागी हुनेछन्। क्रिकेटमा छात्र टोली मात्र सहभागी हुनेछ।
एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी कीर्तिपुर, तेक्वान्दो पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइनेछ।
टिम च्याम्पियनले २५ हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। एथलेटिक्स, भलिबल र कबड्डीको पदकलाई मात्र निश्चित अंक प्रदान गरी समग्रमा टिम च्याम्पियनको घोषणा गरिने छ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै पहिलोदेखि तेश्रो हुने टिमका प्रत्येक खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ। तीनदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।