युरोपका धेरै देशले वैधानिक रूपमा बस्ने बाटो खोलिदिए पनि केही मानव तस्कर र पैसाको आडमा बदमासी गर्न पल्किएका सरकारी कर्मचारीको कारण पोर्चुगिज प्रहरीले आफ्नो कारबाही तिब्र पार्दै अवैधानिक रूपमा बस्ने आप्रवासीलाई धमाधम देश निकालाको कागज थमाइदिन थालेको छ।
जुलाई ४ मा मध्य पोर्चुगलको लाइरिया, मध्य कोयम्ब्रा, ग्वार्दा, भिजेउ एरियाका कृषि कामदारहरुको आवास र काम गर्ने खेतमै गएर प्रहरीले छानविन गर्यो। छानबिनका क्रममा २६ जना गैरकानूनी भेटिएकोमा १९ जनालाई तत्काल देश निकालाको कागज थमाइदियो।जसमध्ये गएको साता मात्रै स्वीजरल्याण्डको बर्न क्षेत्रबाट पुगेका नेपालीहरू पनि छन्। उनीहरु पर्यटकीय भिसामा युरोप छिरेका थिए ।
आफूहरुले कानूनी रुपमा वकिल लगाएर कानूनी लडाइँ लड्न शुरु गरेको हुँदा परिचय नखुलाइदिन देश निकाला गरिएका नेपालीहरुले आग्रह गरे। प्रहरीले पनि समात्ने बित्तिकै अथवा कागज थमाइदिने बित्तिकै परिचय खुलाइदिँदैन।
गएको साता अवैध रुपमा सोसियल सेक्युरिटी कार्ड बनाएर बसिरहेका आप्रवासीसँग लार्खौ रूपियाँ नगद उठाएको अभियोगमा प्रहरीले ६ जना सरकारी कर्मचारी र ६ जना दक्षिणपूर्वी एशियाका व्यक्तिलाई पक्राउ गरेको थियो। साथमा, अवैध रुपमा राखिएको ५० हजार यूरो, कागतपत्र र नक्कली छापहरू समेत भेटिएको थियो ।
आप्रवास हेर्ने प्रहरीले आतंककारी उत्पादन गर्न सहयोगी भनेर पाकिस्तानी नागरिकलाई विशेष कालो सूचिमा राखेको छ । उनै पाकिस्तानीहरु धेरै पक्राउ पर्छन् यस्तो धन्दामा। बंगाली र भारतीयहरू पनि पाकिस्तानीको हाराहारीमा छन् । तर उनीहरुलाई आतंककारीलाई कानूनी बनाउने काममा सहयोग गरेको आरोप भने छैन।
प्रकृयागत रुपमा काम भेटियो भने अझै पनि पोर्चुगलले बस्ने अनुमति पत्र दिन्छ। सधै भन्दा यसवर्षको आप्रवासी दर पोर्चुगलमा घटेको छ । सरकारले भिसा दिन कडाइ गर्ने बित्तिकै कम हुने र भिसा दिने घोषणा गर्ने बित्तिकै हुरूरू ताँती लाग्ने यहाँको चलनै हो। सेफका अधिकृतहरुले टेलिभिजन अन्तवार्तामा भनेका छन्, नियमित रुपमा कर तिर्ने र कानूनी तरिकाले काम गर्नेलाई ढिलोचाँडो वैध हुने सम्भावना रहन्छ तर बदमासी गर्ने , गलत कागज बनाउनेहरुको हकमा भने कानूनी कारवाही हुन्छ नै।