स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ।
बुटवलमा आज पत्रकारसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले लुम्बिनीका ३४६ मतदानस्थललाई अतिसंवेदनशील र २४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताए । यी जिल्लामा १५ हजार प्रहरी परिचालन गरिएको छ ।
प्रत्येक मतदानस्थलमा मतदानअघि, मतदान हुँदै गर्दा र मतदान सकिएपछिको सुरक्षा रणनीति बनाइएको छ । राष्ट्रिय अनुसन्धानका कर्मचारी हरेक मतदानस्थलमा पुग्ने पुडासैनीले बताए।
लुम्बिनीका छ जिल्लाका लागि चार हजार २१२ सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवोधकुमार अधिकारीले जानकारी दिए। उनले ९३ स्ट्राइकिङ टोली, १४३ मोबाइल र १२ वटा विपद् सुरक्षा टोली परिचालन गरिएको बताए।
निवार्चन बिथोल्न सक्ने आशङ्कामा लुम्बिनी अञ्चलबाट नेपाल कम्युनिष्ट पार्टीका ८६ कार्यकर्तालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये १४ जनालाई मुद्दा चलाइएको छ । लुम्बिनीका ६ जिल्लामा ९१० मतदानस्थल छन् । एक उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिकाबाट दुई हजार ९२२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा १३ हजार २४२ जना उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् भने १४ लाख दुई हजार मतदाता छन् । रासस