निर्वाचनका बेला सन्त्रास फैलाउन कञ्चनपुरका दुई स्थानमा राखिएका बम नेपाली सेनाको टोलीले मंगलबार बिहान निष्क्रिय पारेको छ।
अज्ञात समूहले कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउन बजार नजिक र पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वनहरामा बम राखेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कृष्णपुर वनहरामा रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भण्डारीले दुवै बम राति राखिएको बताए । निर्वाचन बहिष्कार गर्दै हिँडेको नेकपाले बम राखेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। नेकपाका कार्यकर्तामाथि सुरक्षा संयन्त्रले विशेष निगरानी बढाएको छ। केही दिनअघि मात्रै नेकपा केन्द्रीय सचिवालय सदस्य विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रासस