नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार काठमाडौँ उपत्यकाका निजी विद्यालयमा हड्ताल गरेको छ।
हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताए।
अखिल क्रान्तिकारी का सचिवालय सदस्य जिपी चौलागाईंले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएकोमा आन्दोलन गरिएको बताए। सो सङ्गठनले गत सातादेखि उपत्यकाका ३३ विद्यालयका लेखा शाखामा तालाबन्दी जारी राखेको छ।
शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत जेठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सहमति भएको थियो। निजी विद्यालय सञ्चालकले भने उक्त सहमति एकतर्फी भएको जनाएका छन्। रासस