घरबाट घाँस काट्न जंगल गएकी रामेछाप सैपु–१, सिरिसे कवैटारकी १४ वर्षीया सुन्तली तामाङ साँझ घर फर्किनन्।
यो २०६८ माघ ५ गतेको घटना हो।
सुन्तली घर नआएपछि आफन्तले सोधखोज गरे। सुन्तलीकी आमा डिल्लीमायाले भोलिपल्ट प्रहरी कार्यालयमा उजुरी दिइन्। त्यसै दिन कवैटारको कुलोमा सुन्तलीको डोको भेटियो। माघ ७ गते सुन्तलीले लगाएको चौबन्दी चोलो, चप्पल र भित्री वस्त्र खुन्दुकी भन्ने स्थानमा फेला पर्यो।
तेह्र दिनपछि माघ २० गते सुन्तलीको शव नग्न अवस्थामा लिखु खोलामा भेटियो। झोलाको फित्ताले घाँटी बेरिएको थियो भने अनुहारभरी चोटै चोट थियो।
पोस्टमार्टम रिपोर्टले सुन्तलीको हत्या बलात्कारपछि भएको भन्ने निष्कर्ष निकाल्यो। डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा गएर श्याम राउतविरुद्ध किटानी जाहेरी दिइन्। तर, तत्कालीन डिएसपी सञ्जीव शर्मा दासले किटानी जाहेरी लिन मानेनन्।
त्यतिबेला महिला र मानवअधिकारवादी संघ–संस्थाले यस घटनाविरुद्ध आवाज उठाएपछि तत्कालीन डिएसपी शर्माले राउतलाई पक्राउ गरे। तर, पक्राउ गरेकै दिन हत्या पुष्टि भएन भन्दै छाडिदिए।
छोरीको हत्या गर्ने राउत खुलेआम हिँडेपछि डिल्लीमाया काठमाडौं आइन्। मानवअधिकारवादी संघ–संस्था गुहारिन्। तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई समेत न्याय नपाएको भन्दै खुलापत्र लेखिन्।
प्रहरी प्रधान कार्यालयले डिएसपी शर्मालाई विभागीय कारबाही भन्दै हेडक्वाटर तान्यो। पछि राउतविरुद्ध किटानी जाहेरीसमेत भयो। त्यतिबेलासम्म राउत गाउँ छाडेर भारत छिरिसकेका थिए।
किटानी जाहेरी दिएको भन्दै राउतका दाजु प्रदीपले डिल्लीमायालाई घरमै गएर थर्काए। पाँच दिनभित्र गाउँ नछाडे राम्रो नहुने धम्की दिएपछि डिल्लीमाया परिवार विस्थापित भयो। उनीहरु सिन्धुलीको चिसापानी गएर ढुंगागिट्टी कुटेर जीविका चलाउन थाले। त्यसको तीन वर्षपछि डिल्लीमायाको परिवार गाउँ फर्कियो।
डिएसपी शर्मा हेडक्वाटर तानिएपछि गोपालचन्द भट्टराई डिएसपी भएर रामेछाप पुगे। त्यसपछि विमलराज कँडेल, दीपककुमार शाह र मोहन परियार डिएसपी भए। नयाँ डिएसपी नियुक्त भएको थाहा पाउनासाथ डिल्लीमाया रामेछाप पुग्थिन्। छोरीको हत्यारालाई पक्राउ गर्न आग्रह गर्थिन्। ‘सबैले हुन्छ हुन्छ भने पनि पक्राउ गरेनन्,’ डिल्लीमायाले भनिन्।
यही क्रममा नौ महिनाअघि कुमोध ढुंगेल डिएसपी भएर रामेछाप पुगे। डिल्लीमायाले छोरीको हत्याबारे जानकारी गराइन्। पुराना फाइल पल्टाउने क्रममा सुन्तलीकै मुद्दाले प्राथमिकता पायो। डिएसपी ढुंगेलले राउतका बारेमा परिवार र साथीभाइ कसैले थाहा नपाउने गरी बुझ्न थाले।
आखिर घटना भएको ६ वर्षपछि प्रहरीले राउतलाई पक्राउ गर्यो।
भारतको अन्डामान निकोबार टापुमा रहेको पाँचतारे होटलमा सेफ काम गरिरहेका उनलाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, अपराध अनुसन्धान महाशाखा र रामेछाप प्रहरीको संयुक्त टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो।
प्रहरीले भैरहवाबाट पक्राउ गरेको बताए पनि उनी काम गरिरहेको अवस्थामा होटलबाटै समातेको स्रोत बताउँछ। सोमबार नेपाल पुलिस क्लबमा पत्रकार सम्मेलन गरेर राउतलाई सार्वजनिक गर्दा उनी सेफ पोसाकमै थिए।
राउतले प्रहरीलाई दिएको बयानका आधारमा सुन्तलीको हत्यापछि उनी चण्डिगढ पुगेका थिए। त्यसपछि नोयडा हुँदै पछिल्लो समय दक्षिण भारतको अन्डामान निकोबार टापु गएका थिए। सुन्तलीलाई बलात्कार गरेपछि पोल खुल्ने डरले हत्या गरेको राउतले प्रहरीसमक्ष बताएका छन्। डिआइजी गणेश केसीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।
[caption id="attachment_52776" align="alignnone" width="825"]
छ वर्षअघिको बलात्कार र हत्या अभियोगमा भारतको अन्डमान निकोबार टापुबाट पक्राउ गरी ल्याइएका अभियुक्त श्याम राउत। तस्बिर: अनीश रेग्मी/सेतोपाटी[/caption]
सुन्तलीकी आमा डिल्लीमायाले ६ वर्षपछि आफूले न्याय पाएको बताएकी छन्। छोरीको हत्यामा आरोपितलाई छ वर्षपछि भेट्दा उनी क्रूध थिइन्। पत्रकार सम्मेलनका क्रममा बारम्बार आरोपितलाई गाली गरिरहेकी थिइन्। ‘सुन्तलीका बाबुले अंशमा लिएको १५ रोपनीभन्दा बढी जग्गा बेचेर न्याय खोज्न हिँडेको थिए, आज पाएँ,’ उनले सेतोपाटीसँग भनिन्, 'आज बल्ल मेरी छोरीको आत्माले शान्ति पायो होला।'
डिल्लीमायाले हत्यारा पक्राउ परे पनि राउतलाई भगाउने डिएसपी शर्मामाथि कारबाही गर्न माग गरेकी छन्।
‘छोरीको हत्यारा पक्राउ गर भन्दै जिल्ला जाँदा उहाँ (डिएसपी शर्मा) ले लिखुखोलामा रहेको २१ रोपनी जग्गा पास गरेर देऊ अनि मात्र हत्यारा खोजदिन्छु भन्नुभयो,’ डिल्लीमायाले भनिन्।
यस विषयमा डिएसपी शर्मामाथि छानबिन हुने मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाका डिआइजी केसीले जानकारी दिए।
‘हत्यारा पक्राउ गरिसकेपछि कसरी उम्कन भ्यायो, अनुसन्धानमा मानवीय त्रुटि भयो कि नियोजित हामी अनुसन्धान गछौं,’ डिआइजी केसीले भने, ‘डिएसपी शर्मामाथि लागेका आरोपमाथि पनि छुट्टै अनुसन्धान हुन्छ।’
रामेछापका प्रहरी प्रमुख ढुंगेलले ६ महिनाको निरन्तर निगरानीपछि सुन्तली हत्याका अभियुक्त समात्न सफल भएको पत्रकार सम्मेलनमा बताए।
तस्बिरहरु: अनिश रेग्मी/सेतोपाटी