२००४ सालमा नरेश–११ बाट सिंहदरबारभित्र अनधिकृत लिग प्रतियोगिता खेलेपछि इन्द्रचौकस्थित पुस्तौनी व्यापारको छैटौं पुस्ताका दुई मुस्लिम ठिटामा एउटा सोच पलाएछ– आफ्नै सक्रियतामा छुटै क्लब किन गठन नगर्ने?
यसपछि उनीहरू आफ्नो अभियानमा जुटे। नभन्दै, इन्द्रचोकका ठिटाहरू जम्मा पारेर समसुद्धिन र मुनिरुद्धिनले एउटा क्लब गठन गरे। नाम जुराए, इन्द्रचौककै प्रसिद्ध भैरवनाथको मन्दिरबाट– भैरव टिम।
उनीहरूले ६ दशकअघि गठन गरेको भैरव टिमले लामो समय आफ्नो अस्तित्व जोगाउन सकेन। कारण थियो, त्यतिबेलाको राजनीतिक अवस्था। २००४ सालतिरै प्रजातन्त्रका लागि देशमा आन्दोलनको वातावरण तयार भइसकेको थियो। त्यसैले २००७ साल अगावै यो टिमले आफ्नो परिचय गुमायो।
क्लब गठन गर्दा यो टिममा मुसलमान मात्र थिएनन्। हिन्दु खेलाडी पनि समावेश थिए। तर, बाहुल्य मुस्लिम खेलाडीको थियो। क्लबमा समसुद्धिनजस्ता नामुद डिफेन्डरलगायत त्यतिबेला राइट आउटबाट खेल्ने मुनिरुद्धिन, फजरुद्धिन (सेन्टर हाफ), नइमुद्धिन (सेन्टर फरवार्ड), इक्रामुद्धिन (डिफेन्डर), सादुराम (लेफ्ट ब्याक), नारायण दाई (राइट आउट) जस्ता खेलाडी थिए ।
प्रायः मुस्लिम खेलाडी ओटुमा बस्थे र उनीहरूको पोतेको पसल थियो, इन्द्रचोकमा। ‘हाम्रो ६ पुस्ता इन्द्रचोकमा पोते पसल चलाएर बसेको छ’, भैरव टिमका सूत्रधार मानिने समसुद्धिनका छोरा अफताव उद्धिन भन्छन् । अफताव सन् १९६३ मा पश्चिम पाकिस्तान (हाल बंगलादेश) मा आयोजना भएको आगा खाँ गोल्ड कपमा राष्ट्रिय टोलीमा सम्मिलित एक्ला नेपाली मुस्लिम खेलाडी हुन् ।
समसुद्धिनको राजा त्रिभुवनलगायत राणा परिवारसँग राम्रो सम्बन्ध थियो। उनीहरूका बाबुबाजे व्यापार गर्न कास्मिरबाट नेपाल आएका थिए । उनीहरू तिब्बतबाट समान ल्याएर काठमाडौंमा व्यापार गर्थे।
[caption id="attachment_52956" align="alignnone" width="675"]
तत्कालिन भैरव फुटबल टिमका कप्तान(रातो घेरामा) समसुद्धिन र उनको टोली। तस्बिरः सेतोपाटी[/caption]
अंग्रेजसँग नेपालको युद्ध हुँदा त्यतिबेलाका शासकले समसुद्धिनका व्यापारी बाजेहरूसँग सहयोग मागेका थिए। ‘त्यतिबेला हाम्रो पुर्खाले नेपाली फौजलाई १ साता रासन ख्वाउने जिम्मा लिएको थियो’, अफताव भन्छन्। युद्वमा नेपाली फौजलाई सहयोग गरेबापत कास्मिरबाट आएको त्यो परिवारलाई तत्कालिन शासकले ‘३२ कोटी महाजन’ को पद्वी दिएको थियो र त्यतिबेला भन्सारसमेत ओटुस्थित समसुद्धिनको घरमा खुल्थ्यो।
समसुद्धिन नेपाली खेलकुदमा शम्भुको नामले चिनिन्थे। उनको त्यतिबेला त्रिभुवनसँग मात्र होइन, सुरेन्द्र शमशेर, नर शमशेर र किरण शमशेरजस्ता राणासँग पनि उठबस थियो। कुस्ती र फुटबल दुवै खेल्ने भएकाले उनी नर शमशेरको नजिक थिए।
२००४ सालमा नर शमशेरको नरेश–११ टिमबाट खेल्दा शम्भु र सादुराम खम्बा मानिन्थे। पछि यी दुवै भैरव टिमको पनि खम्बा बने। समसुद्धिनले कहिल्यै जुत्ता लाएर खेलेनन्। सधैं खाली खुट्टा खेल्थे। २००९ सालमा त्रिभुवन उपचारका लागि स्विट्जरल्यान्ड जाँदा उनलाई छोड्न समसुद्धिन पनि विमानस्थल पुगेका थिए। त्यतिबेला त्रिभुवनले समसुद्धिनलाई सोधेका थिए रे– ‘यत्रो बर्ष सँगै बिताइयो । अब फर्किैर आउने हो कि होइन । भन शम्भु तिमीलाई के चाहिन्छ?’
समसुद्धिनले भनेछन्–‘सरकार, भगवानले दिएको सवै छ। सरकार फर्केर आइबक्सियोस्, मलाई त्यो भए पुग्छ । समसुद्धिनको २०३४ सालमा निधन भयो।
उनी २०२८ सालमा नेपाल मजदुर संगठनको केन्द्रीय सदस्य पनि निर्वाचित भए। एकपल्ट दशरथ रंगशालामा भेट्रानहरूको खेल हुँदा समुसुद्धिन भेट्रानहरूको पुरानो टोलीबाट खेलेका थिए भने उनका छोरा अफताब विद्या व्यायामबाट। विद्या व्यायाम राजा महेन्द्रका साला सुशील शमशेर राणाले ०७ सालपछि बागदरबारस्थित आफ्नै घरमा गठन गरेका थिए ।
भैरव टिम चाँडै अस्तित्वबाट बिलायो । २००७ सालअगाडि भैरव टिमले एउटा मैत्रीपूर्ण खेल महावीर क्लबसँग खेलेको रहेछ, सानो टुँडिखेल (हाल नेपाल आर्मीको हेडक्वार्टर) मा । त्यतिबेला महावीरमा एकजना खतरनाक गोलरक्षक थिए, कालुकाजी । उनको विशेषता नै थियो, बल समातेपछि विपक्षी खेलाडीलाई उडेर हिर्काउने ।
भैरव टिमसँगको खेलमा पनि उनले त्यसै गरेछन् । बल ल्याइरहेका भैरव टिमका स्ट्राइकर शेखलाई । शेख भुइँमा डङरंग लडे । ‘शेख रगत छादिरहेका थिए’, विद्या व्यायामका पुराना खेलाडी दिलेन्द्रबीर पाण्डे सम्झन्छन् । त्यसपछि न भैरव टिम नेपाली फुटबलमा देखापर्यो न समसुद्धिन नै ।
यति हुँदाहुँदै पनि भैरव टिम नेपाली फुटबलमा मुसलमानले खडा गरेको एक मात्र क्लबका रूपमा परिचय बनाउन सफल भयो ।