चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा सुरु भएको छ। चीनको बेइजिङ-सांघाइ रुटबाट यो सेवा सुरू भएको हो।
सोमबार बिहान ११:०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको हो भने सोही समयमा सांघाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङका लागि छुटेको हो।
आज पहिलो पटक बेइजिङबाट सेवा सुरु गरेको चीनको नयाँ पुस्ताको यो रेल सेवाको नाम फक्सिङ दिइएको छ।
यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औसत गति ३५० किलोमिटर छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो ।
यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ । स्वाचालित रुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयोभने यसले आफै नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा छ ।
चाइना रेलवे कर्पोरेसनका सञ्चालक लु दोङफूले यो रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।
चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दा रेलसेवाका रुपमा लिइन्छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल छ ।
सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो ।