डेब्यु खेलमै डाविड मालानले आक्रामक ७८ रन बनाएपछि आयोजक इङ्ल्यान्डले आफ्नो घरेलु मैदानमा तीन टि–२० शृंखलाको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ।
कार्डिफमा भएको खेलमा २ छक्का र १२ चौकाको सहयोगले ४४ बलमा मालानले आक्रामक ब्याटिङ गरेका थिए। जसका कारण इङ्ल्यान्डले ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो। अफ्रिकालाई ७ विकेटको क्षतिमा १ सय ६२ रनमा मात्र रोक्न क्रिस जोर्डनले ३१ रन खर्चेर ३ तथा टम कुरानले २२ रन खर्चेर २ विकेट लिएका थिए।
एबी डीभिलियर्सले ३९ र मागालिसो मोसेलेले २२ बलमा ३६ रन बनाए। तेस्रो खेलको जितसँगै इङ्ल्यान्डले शृंखला २–१ ले आफ्नो पक्षमा राखेको छ। मिडलसेक्सका २९ वर्षीय देब्रे हाते ब्याट्सम्यान मालान टि–२० को डेब्युमै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न पुगेका छन्। यसअघि डेब्यु खेलमा पल कलिङउडले २००५ मा ४६ रन बनाएका थिए।
यी दुई देशबीचको ४ टेस्टको शृंखला ६ जुलाईबाट सुरु हुनेछ।