दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढि पदक जित्ने पूर्व भारत्तोलक सुनिललाल जोशीको निधन भएको छ। गत साता हद्यघातका कारण उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य लाभ गरेर पुनः घर फर्किएका ५२ वर्षीय जोशीको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
जोशीले पहिलोदेखि सातौ दक्षिण एसियाली खेलकुद (साग) मा गरि कूल १५ पदक जितेका थिए। उनी साग गेममा सर्वाधिक पदक जित्ने नेपाली खेलाडी हुन्। आफ्नो खेल जीवनमा नेपालकै बलियो व्यक्तिको उपमा पाएका जोशीले साफ गेममा ६ रजत र ९ कास्य जितेका थिए।
उनी नेपाल ओलम्पिक कमिटीअन्तर्गत ओलम्पियन संघका अध्यक्ष पनि थिए। उनको निधनले ठूलो क्षति बेहोर्नु परेको भारत्तोलनका पूर्व बरिष्ठ प्रशिक्षक पार्थसारथी सेन गुप्ताले सेतोपाटीलाई जानकारी दिए।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दशरथ रंगशाला ल्याइएको छ। उनले एट्लान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए।