नेपालमा ९६ हजार वर्गकिलोमिटर क्षेत्रफलमा खनिज भेटिने सम्भावना देखिएको छ ।
खानी तथा भू–गर्भ विभागले गरेको अध्ययनमा नेपालका पहाडी, मध्यपहाडी र तल्लो हिमाली क्षेत्रमा खनिजको सम्भावना रहेको जनाएको हो । विभागका प्रवक्ता कृष्णदेव झाले सम्भावना रहेको ९६ हजार वर्गकिलोमिटरमध्ये ५० हजार वर्गकिलोमिटरमा अध्ययन गरिसकिएको र केही खानी सञ्चालनमा रहेको जानकारी दिए।
हाल नेपालमा कोइला, फलाम, काइनाइट, चुनढुङ्गा, क्वार्ज, रातोमाटो, खरी, टुर्मालिन लगायतका खानी सञ्चालनमा रहेको प्रवक्ता झाले बताए। उनले भने, “खानी सञ्चालनका लागि १२१ कम्पनीलाई विभागले अनुमति दिए पनि हाल ८५ खानी मात्र सञ्चालनमा छन् ।”
यस्तै, विभागले चालु आर्थिक वर्षमा मात्र छ हजार १६५ वर्गमिटर खानीको अध्ययन गरेको छ । नवलपरासी, धादिङ, मुस्ताङ लगायतका जिल्लामा खानी रहेको विभागले जनाएको छ । विभागका प्रवक्ता झाले खानीको विस्तृत अध्ययन गरेर खानी सञ्चालनका लागि उत्पादक कम्पनीलाई अनुमति दिने बताए । रासस