आयोजक नेपाल वायु सेवा निगमका प्रितम प्रधान अन्तर एयरलायन्स टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार प्रितमले २ खेलमा जित हात पारे। पहिलो खेलमा प्रितमले हिमालयनका प्रभात भण्डारीलाई १२–१०, ११–६ र १३–११ को सोझो सेटमा पराजित गरे। अर्कोमा प्रितमले ड्रुक एयरका सुविर श्रेष्ठलाई ११–९, ११–५ र ११–२ को सिधा सेटमा हराए।
पुरुष सिंगल्समै चाइना इस्टर्नका सविरमान सिंह पनि आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए। उनले कोरियन एयरका विकास खड्काको चुनौती ११–६, ११–३ र ११–२ को सोझो सेटमा पन्छाए।
निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको निगमकै महाप्रबन्धक सुगतरत्न कंशाकारले एक कार्यक्रमबीच उद्घाटन गरे।
प्रतियोगितामा ५ स्पर्धामा विभिन्न १५ एयरलायन्सका ४७ प्रतिस्पर्धीको सहभागिता रहेको निगमअन्तर्गत खेलकुद तथा क्रियकलाप उप कमिटीका संयोजक नवीनबहादुर शाक्यले जनाएका छन्। सिंगल्सतर्फ पहिलो हुनेले काठमाडौं–हङकङ–काठमाडौं, दोश्रोले काठमाडौं–क्वालालम्पुर–काठमाडौं र तेश्रोले काठमाडौं–बैंकक–काठमाडांैको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन्।