स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि दुर्गम गाउँपालिकामा पठाइएको मतपत्र सम्बन्धित मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बुधबार मतदान अधिकृतसहित पठाइएको मतपत्र तीन दिनपछि सम्बन्धित मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए।
दोस्रो चरणको निर्वाचनका लागि पहिलो चरणमा तालिम लिएका मतदान अधिकृत बुधबार देखिनै मतदान केन्द्रमा खटिएको सेनले बताए। उत्तरी भेगमा रहेका २७ मतदान केन्द्रमा २७ मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी गरी १५५ कर्मचारी खटाइएको थियो।
अन्य मतदान केन्द्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी आज मतदान केन्द्रमा जाने मुख्य निर्वाच अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
उनका अनुसार ७० मतदानस्थल र ९२ मतदान केन्द्रमा ९२ मतदान अधिकृत, ९२ सहायक मतदान अधिकृत, १८४ सहायक कर्मचारी र १७६ सहयोगी कर्मचारी गरी ४४४ कर्मचारी र मतपत्र पठाइएको छ।
निर्वाचन नजिकिएसँगै छेडेदह गाउँपालिकामा भएको घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ लामिछानेले बताए।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना खटाइएको सुरक्षा समितिका संयोजक तथा प्रजिअ लामिछाने जानकारी दिए।
बाजुरामा ६४ हजार ९५० मतदाता रहेका छन्। तीमध्ये महिला ३३ हजार ६६७ जना र पुरुष ३४ हजार ५७५ र दुई जना तेस्रो लिङ्गी रहेका जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले बताईन्। रासस